आम नेपालीलाई एक सुत्रमा जोड्ने पर्व माघे संक्रान्ति

माघे संक्रान्तिकै दिन किराँत संवत्को नयाँ वर्ष सुरु हुन्छ । आजदेखि किराँत संवत् ५०८१ सुरु भएको छ । नेपालमा प्रचलित संवत्हरु मध्ये किराँत संवत् सबै भन्दा पुरानो हो । नेपालमा करिव एक तिहाई जनसंख्या जनजाति समुदायको छ । जनजाति समुदायहरु आँफूलाई किराँतका शाखा सन्तानका रुपमा चिनाउँछन् । माघे शक्रान्तिकै दिन किराँतहरुले गोपाल बंशलाई विस्थापित गरेर नेपालको शासन सत्ता आफ्नो हातमा लिएको कुरा इतिहासमा उल्लेख छ ।

अञ्जु कार्की

आज माघ महिनाको १ गते अर्थात पहिलो दिन हो । हरेक महिनाको पहिलो दिनलाई संक्रान्ति भन्ने गरिन्छ । विक्रम संवत्को पात्रो अनुसार वर्षमा १२ वटा संक्रान्ति पर्छन् , जसमध्ये माघ महिनाको संक्रान्ति अर्थात माघे संक्रान्तिको विशेष महत्व छ । ऐतिहासिक तथा पौराणिक दृष्टिकोणले पनि नेपालमा माघे शक्रान्तिको अध्याधिक महत्व छ । आर्थिक गतिविधिको दृष्टिकोणले पनि दशैं र तिहार पर्वपछि सबैभन्दा महत्वपूर्ण स्थान माघे संक्रान्तिकै छ ।
यस पर्वको सबै भन्दा रोचक पक्ष के हो भने नेपालका चाड पर्वमध्ये सबै भन्दा धेरै जनसंख्याको सहभागिता हुने पर्व भनेको माघे संक्रान्ति हो । नेपालका धेरैजसो सांस्कृतिक पर्वहरू निश्चित जाति, क्षेत्र तथा समुदाय केन्द्रित छन्, तर माघे संक्रान्ति यस्तो सांस्कतिक पर्व हो, जुन इसाई र मुस्लिम बाहेक नेपालका सबै जातजाति, धर्मावलम्बी, भाषा–भाषी र क्षेत्रका जनताले मनाउँछन् ।

यसैगरी नेपालका प्रायः सबैजसो सांस्कृतिक पर्वहरू नेपाल संवत्मा आधारित छन् । तर, माघे संक्रान्तिलगायत ज्यादै थोरै पर्व छन् जो विक्रम संवत्मा आधारित छ । चाड पर्वका दृष्टिले नेपाललाई विश्वकै सबै भन्दा धनी देश मानिन्छ । एक सय भन्दा बढी जात जाति रहेको नेपालमा हरेक दिन जसो कुनै नै कुनै सांस्कृतिक पर्वहरु पर्दछन् । धेरै जसो चाड–पर्वहरु संवन्धित जात जाति तथा समुदायमा मात्रै सिमित छन् , तर माघे सक्रान्ति यस्तो चाड हो जो सबै जात जाति, समुदाय तथा भूगोलमा उत्तिकै महत्वका साथ मनाइन्छ ।

दार्चुलाको लिम्पियाधुरा देखि झापाको केचनासम्म र ताप्लेजुङको ओलाङचुङगोलादेखि कन्चनपुरको चाँदनी दोधरा सम्मका सबै नेपालीले उत्तिकै महत्वका साथ मनाउने माघे सक्रान्तिलाई नेपालको मुख्य राष्ट्रिय चाडका रुपमा किन मान्यता नदिने ? भन्ने बहस पनि हुने गरेको छ । बैदिक सानातनीहरुलाई ब्राह्मण , क्षेत्री , बैश्य र शुद्र गरी चार वर्णमा विभाजन गरिएको छ । जसमध्ये ब्राह्मणको चाडका रुपमा जनै पूर्णिमा , क्षेत्रीको चाडका रुपमा बडा दशैं , बैश्यको चाडका रुपमा तिहार र शुद्रको चाडका रुपमा फागु पूर्णिमालाई उल्लेख गरिएको छ ।
नेपालमा शासकहरुको चाड भएका कारण पनि बडादशैंलाई राष्ट्रकै मुख्य चाडका रुपमा मनाउने गरिएको छ । तर मधेसी तथा केही जनजाति समुदायमा दशैंलाई खासै ठूलो महत्व दिइँदैन । धर्मशास्त्रले ब्रह्मण बाहेक अरुलाई जर्नपूर्णिमा मनाउन अनिवार्य गरेको छैन । क्षेत्री बाहेक अरुलाई दशैं मनाउन अनिवार्य गरेको छैन । बैश्य बाहेक अरुलाई तिहार मनाउन अनिवार्य गरेको छैन । शुद्र बाहेक अरुलाई फागु पूर्णिमा मनाउन अनिवार्य गरेको छैन । तर माघे सक्रान्ति यस्तो चाड हो, यो चाड मनाउन बैदिक सानातन धर्म शास्त्रले चारबटै वर्णका लागि अनिवार्य गरेको छ । यति मात्रै होइन बौद्धमार्गी तथा प्रकृति पुजक समुदायले पनि मुख्य चाडका रुपमा माघे सक्रान्तिलाई मनाउने गरेको पाइन्छ ।

खास गरी नेपालमा तीन वटा समुदायको बसोवास छ , खस, जनजाति र मधेसी । यी तीन वटै समुदायमा माघे संक्रान्तिको उत्तिकै महत्व छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले भनेझै नेपाल भनेको चार वर्ण ३६ जातको फुलबारी हो । आधुनिक विज्ञानले भने अनुसार नेपालमा तीन खालका मानिसहरुको बसोबास छ । खासगरी खस आर्य , जनजाति र मधेसी गरी तीन वटा मुख्य समुदायको संगम अर्थात त्रिवेणी मानिन्छ नेपाल । खस आर्य समु्दायको बाहुल्यता पश्चिम नेपालमा छ । जनजाति समुदायको बाहुल्यता पूर्वी नेपालमा छ । मधेसी समुदायको बाहुल्यता तराइमा छ । यो त्रिवेणीमा समाहित भएका नदीहरुमा पनि अनेकथरी जात जाति तथा समुदायमा रहेको पाइन्छ । सबै जात जाति तथा समुदायका आ–आफ्ना मौलिक चाड पर्वहरु छन् । यी सबै चाड पर्वहरु नेपालका सांस्कृतिक धरोहर मात्रै नभएर राष्ट्रिय पुँजी पनि हुन् ।

यस मध्ये माघे संक्रान्ति यस्तो चाड हो , जसलाई के जनजाति , के खश आर्य , के मधेसी ? सबैले उत्तिकै महत्वका साथ आत्मासाथ गरेको देखिन्छ । त्यसमध्ये पनि जनजाति समुदायले भने सबै भन्दा ठूलो चाडका रुमा माघे संक्रान्तिलाई मनाउँदै आएको छ । माघे संक्रान्ति पर्व नेपालको जनजाति समुदायको सर्वाधिक महत्वपूर्ण चाड किन र कसरी हुन गयो ? यसको ऐतिहासिक तथा धार्मिक तथ्य के छ ? भन्ने सन्दर्भ निकै महत्वपूर्ण छ ।

माघे संक्रान्तिकै दिन किराँत संवत्को नयाँ वर्ष सुरु हुन्छ । आजदेखि किराँत संवत् ५०८१ सुरु भएको छ । नेपालमा प्रचलित संवत्हरु मध्ये किराँत संवत् सबै भन्दा पुरानो हो । नेपालमा करिव एक तिहाई जनसंख्या जनजाति समुदायको छ । जनजाति समुदायहरु आफूलाई किराँतका शाखा सन्तानका रुपमा चिनाउँछन् । माघे सक्रान्तिकै दिन किराँतहरुले गोपाल बंशलाई विस्थापित गरेर नेपालको शासन सत्ता आफ्नो हातमा लिएको कुरा इतिहासमा उल्लेख छ ।
किराँतहरुले नेपालको शासन सत्ता आफ्नो हातमा लिएको दिन भएका कारण माघे शक्रान्तिलाई मुख्य चाडका रुपमा मनाउन थालेका हुन् । त्यसो त नयाँ वर्षको पहिलो दिन भएका कारण पनि किराँत समुदायले माघे शक्रान्तिलाई मुख्य चाडमा रुपमा मनाउने गरेको पनि हुन्छ । नेपालको शासन सत्ता कब्जा गरेको दिन माघ १ गतेलाई आधार बनाएर किराँती राजाहरुले आफ्नो संवत् सुरु गरेका हुन् की ? भन्ने अनुुमान गरिएको छ । तर यो अनुुमान नेपालको इतिहाससँग मेल खाँदैन । किनकी नेपालको इतिहासमा किराँतहरुले करिब १५ सय वर्ष शासन गरेको उल्लेख छ ।

यता पौराणिक ग्रन्थ महाभारतलाई आधार मान्ने हो भने आज भन्दा ५ हजार बर्ष अगाडि नेपालमा किराँतहरुको शासन सत्ता रहेको पुष्टि हुन्छ । महाभारत ग्रन्थ ५ हजार वर्ष पुरानो मानिन्छ । महाभारत ग्रन्थमा किराँत राजाहरुको बारेमा उल्लेख छ । नेपालको इतिहासको सबै भन्दा लामो कलखण्डसम्म माघे संक्रान्ति पर्व सबै भन्दा ठूलो राष्ट्रिय पर्वका रुपमा मनाउने गरिएको कुरामा कसैको पनि दुईमत छैन । किनकी माघे संक्रान्ति पर्व मनाउने विधिहरु अहिले पनि प्राकृतिसँग जोडिएको छ ।

माघे शक्रान्तिका दिन शरीरमा माटो लेपन गरेर पानीले पखाल्ने चलन छ । जंगलमा प्राकृतिक रुपमै उमे्रेका कन्दमुलहरु खाने चलन छ । हिन्दू वणाश्रम भित्रको खसआर्य तथा मधेसी समुदायले यो पर्वलाई मकर संक्रान्ति भन्ने गर्छन् । मगर समुदायले माघे सकराती भनेर मनाउने गरेका छन् । त्यस्तै थारू समुदायले माघी र खिचरा पर्वका रूपमा मनाउने गर्दछन् । राई समुदायले येले थेचे र लिम्बु समुदायले माघे संक्रान्तिलाई कक्फेक्वा तङनामको रुमा मनाउँदै आएका छन् । काठमाडौं उपत्यकाको नेवार समुदाय ‘घ्यो चाकु सन्हु’ पर्वका रुपमा मनाउँछन् ।

नेपालका अधिकांश समुदायको साझा चाड रहेकाले माघे संक्रान्तिका दिन सरकारले सार्वजनिक बिदा दिने गरेको छ । समुदाय विशेषमा यो पर्व मनाउने तरिका भने फरक छ । तर, सबैले आपसमा भेटघाट, रमाइलो र आफ्ना परम्परागत परिकारहरूका साथमा यो पर्व मनाउँछन् ।

मगर समुदाय

माघे संक्रान्तिलाई मगर समुदायको राष्ट्रिय पर्वका रूपमा मान्यता दिइएको छ । मगर समुदायमा तारो हान्ने खेल अत्यधिक प्रचलनमा छ । यस पर्वमा मगरहरूले धुमधामका साथ चेलीबेटी र पितृहरूको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुलबिना मगरहरूको संक्रान्ति अधुरो हुने भएकाले उनीहरू १५ दिनअघिदेखि नै जंगलबाट वन तरुल खनेर ल्याउने र संक्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन् ।

घरका पुरुषहरूले धनुषकाँडले तारो हान्दै पर्वमा रौनकता थप्छन् । उनीहरूले काठको फ्ल्याकमा अंगारले गोलो चिन्ह लगाई निसाना लगाउँदै तारो हान्छन् । तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तितेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खान दिइन्छ । मगर समुदायका केटाकेटीहरूचाहिँ साँझमा जम्मा भई घरघरमा गई ‘बासी आन्द्रा पाई कि नपाई’ भन्दै सोध्दै रमाइलो गर्छन् । घरमा रहेका मानिसले ती केटाकेटाहरूलाई बचेखुचेका खानेकुरा दिन्छन् अनि केटाकेटीहरू रमाउँदै अर्को घर जान्छन् ।

थारूको माघी महान पर्व

थारू समुदायले माघे संक्रान्तिलाई ‘माघी’ भन्छन् । यो थारू समुदायका लागि महत्वपूर्ण चाड हो । माघी पर्व मेचीदेखि महाकालीसम्मका थारू समुदायले विशेष उल्लासका साथ मनाउँछन् । मध्य र सुदूरपश्चिमका थारू समुदायको बस्तीमा माघी उत्सव विषेश खालको हुने गर्छ । माघ १ गते थारू समुदायको नयाँ वर्ष सुरु हुन्छ । थारू समुदायमा माघी पर्वमा पुरानो वर्षको समीक्षा र आगामी वर्षका लागि नयाँ योजना बनाउने काम गरिन्छ ।

मान्यजनहरूसँग आशीर्वाद लिने, आफूभन्दा सानालाई आशिष दिने र सम्बन्धहरू नवीकरण गर्ने दिन हो । माघी मनाउन थारूहरू बिदा लिएर टाढाटाढाबाट आफ्नो गाउँघर फर्किन्छन् । चेलिबेटीहरूलाई घरमा बोलाउने, मीठा परिकार खाने–खुवाउने र नाचगान गाउने चलन छ । माछा, सुँगुरको मासु, मुसाको मासु, घोंगी, ढिक्री, जाँड, रक्सी थारू समुदायका विशेष परिकार हुन् । यी परिकार पकाउनका लागि आवश्यक सामग्रीहरूको जोहो गर्न दुई महिनादेखि दौडधुप सुरु हुन्छ ।

थारू समुदायले गाउँको मुखिया (बडघर) चुन्ने काम पनि माघी संक्रान्तिमै गर्दछन् । साथै कमैया र कम्लहरी प्रथा नहटुन्जेलसम्म उनीहरूले काम जारी राख्ने कि छाड्ने निधो पनि यही दिनमा हुन्थ्यो । माघ महिनामा मघौटा नाच नाच्ने गरिन्छ । सो नाचमा गाइने ‘सखिय हो, माघीक गुरी–गुरी जाँर’ भन्ने गीत निकै चर्चित पनि छ ।

राइ लिम्बु

माघे संक्रान्तिका दिन किरात वंशले काठमाडांै उपत्यकामा आक्रमण गरी विजय हासिल गरेको र सोही विजयउत्सवलाई संवतका रूपमा किरात संवत सुरु भएको मानिन्छ । माघे संक्रान्तिसँगै मंगलबारबाट किराँत नयाँ वर्ष ५०८१ पनि सुरु भएको छ । पूर्वमा ताप्लेजुङसँगै पाँचथर, तेह्रथुम, इलाम, धनकुटा र संखुवासभामा बसोवास गर्ने लिम्बू समुदायले धुमधामका साथ किराँत नयाँ वर्ष मनाइरहेका छन् ।

किराँती राजा यलम्बरको शासन सत्तासँग इतिहास जोडिएको किराँत सम्बत नेपाल सम्बतभन्दा ३ हजार ४ वर्ष जेठो रहेको छ । माघे संक्रान्तिलाई किराँत लिम्बूहरूले यले तङबेसँगै ककफेवा तङनाम भनेर पनि मनाउने गर्छन् ।

(कार्की समाजशास्त्री हुन् ।)

प्रतिक्रिया