नेताहरूमा देशभक्तिको भावना नै छैन । जसले देशलाई माया गर्छ, जनतालाई राजनीतिको सर्वेसर्वा ठान्छ, उसँग मात्र देशभक्तिको भावना हुन्छ । देशभक्तिको भावना नभएको व्यक्तिले देश र जनताको हित अनि देश विकास गर्न सक्दैन
मुलुकको वर्तमान अवस्था डरलाग्दो रूपमा देखा पर्दै गएको छ । जनताहरू पेसा व्यवसायलगायत अर्थोपार्जन गर्ने अनुकुल परिस्थिति नभएर दिनदिनै विदेशिन बाध्य भएका छन् । युवा विद्यार्थीहरू देशको झण्डा बोकेर विदेशमा अध्ययन गर्न जान बाध्य भएको देखिन्छ । यी कुराको प्रमाण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने दैनिक हजाराले गरेका छन् । विद्यार्थी पढ्ने सिलसिलामा र युवाहरू रोजगारीको शिलशिलामा देश छोड्दै गएकोले पुष्टि हुन्छ ।
नेपाल यस्तो देश हो, जहाँ नेताहरू सरकारमा गएर अर्थोपार्जन गर्ने काममा सक्रिय भएको देखिन्छ । जनताका जल्दाबल्दा समस्यातिर ध्यान गएको देखिदैन । राजनीतिलाई व्यवसाय बनाउने काम गरिरहेको देखिन्छ ।
राजनीति भनेको जनता र राष्ट्रको सेवा गर्ने हुनु पर्नेमा नेताहरू भ्रष्टाचारमा संलग्न भई राजनीतिलाई कमाई खाने दुहुनो गाई बनाउदै गरेको देखिन्छ । राजनीतिको मुख्य उदेश्य नै भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउने रहेको देखिन्छ । नेता र सरकारमा बस्नेको यस्तो व्रिmयाकलापबाट जनताहरू वाक्क हुँदै गएका छन् । उनीहरू भन्छन्–‘ भ्रष्टाचारको नियन्त्रण यी नेता र अहिलेको राजनीतिक व्यवस्थाबाट सम्भव छैन । र यो व्यवस्थालाई परिवर्तन गर्न आबश्यक भएको छ ।’
वास्तवमा नेपालको अवस्थालाई हेर्दा अहिले संचालनमा रहेको राजनीतिक व्यवस्था धेरै महँगो र नेपाली जनताले धान्नै नसक्ने भएको देखिन्छ । यसले पनि यो व्यवस्थामा राजनीति गर्ने व्यक्तिले पैसाको अभावमा राजनीति गर्न सक्न अवस्था छैन । चुनाव लड्न ठुलो धनराशी आवश्यक पर्ने हुनाले पनि भ्रष्टाचार गर्ने र भ्रष्टाचार गर्नेलाई उत्प्रेरित गरेको विज्ञहरूको तर्क छ । यो व्यवस्था अन्तर्गतका प्रदेश संरचना अनावश्यक खर्चिलो भएको, भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरूले राजनीतिक दबाबमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको देखिन्छ ।
यस्तो अवस्थामा सरकार र सत्तामा बस्ने दलहरूसँग मुलुकको समस्या समाधान गर्न राजनीतिक एजेण्डा नभएको स्पष्ट हुन्छ । सरकारमा बस्ने मन्त्रीहरू कमाउ धन्दामै लागि परेको देखिन्छ । उर्जा मन्त्री दिपक खड्काले बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर आफ्नो मान्छे ल्याई प्राधिकरणलाई दुहुनो गाई बनाउने प्रपञ्चमा लागेको देखिदैछ । समग्रमा भन्नु पर्दा मुलुक अस्तव्यस्त, असुरक्षित र राजनीतिक गति सुन्य भएको देखिन्छ ।
भ्रष्टाचार नियन्त्रण सँग सम्बन्धित कानूनहरू प्रभावकारी कार्यान्वयन हुन नसकेको तथा खर्चिलो राजनीतिक प्रणाली भएकोले राजनीति गर्ने मान्छेहरू र कर्मचारीहरूलाई भ्रष्टाचार गर्न मलजल गरेको अवस्था छ । मुलुक आर्थिक रूपमा कमजोर, नैतिक मुल्य मान्यताको सन्दर्भमा मर्यादाहिन अवस्थामा पुगेको छ । समाज भ्रष्टाचारको विरुद्ध केही गर्न सक्ने अवस्थामा छैन । नेताहरूले गरेको भ्रष्टाचार विरुद्ध जनताको उजुरी, आवाज सुनिदैन । भ्रष्टाचार दिनदिनै मौलाउदै गएको देखिन्छ ।
नेपालमा विकास नहुनुका वुदागत रूपमा भन्नु पर्दा पहिलो राजनीतिक नेताहरूमा देशभक्तिको भावना नै छैन । जसले देशलाई माया गर्छ, जनतालाई राजनीतिको सर्वेसर्वा ठान्छ, उसँग मात्र देशभक्तिको भावना हुन्छ । देशभक्तिको भावना नभएका व्यक्तिले देश र जनताको हित अनि देश विकास गर्न सक्दैन । दोस्रो कुरा राजनीति गर्ने नेताहरूसँग देशको विकास कसरी गर्ने भन्ने भिजन (दृष्टिकोण) नै देखिदैन । जो सँग विकास यो तरिकाबाट यसरी गर्ने भन्ने भिजन हुन्छ, उसले मात्र विकास योजनाहरू तर्जुमा र कार्यान्वयन गर्न सक्छ । हाम्रो देशका नेताहरूमा कसरी सत्तामा जाने र त्यसको दुरुपयोग गरेर अकुल सम्पत्ति कमाउने मात्र मनसाय छ । यस्ता नेताहरूबाट देशको विकास कसरी सम्भव हुन्छ ?
नेताहरूमा सरकारमा कसरी जाने अथ्वा सरकार कसरी विगार्ने भन्ने चिन्तनमा अहोरात्र लागि रहेको देखिन्छ । उनीहरूमा देश विकास गर्ने चिन्तन नै छैन । विदेशीसँग ऋण मागेर र युवाहरूलाई विदेशमा काम गर्न पठाएर भित्र्याएको रेमिट्यान्सबाट मुलुक जेनतेन चलेको देखिन्छ । ठोस आर्थिक योजना र तीनको कार्यान्वयनतर्फ उनीहरूको ध्यान गएको देखिदैन । यस्ता नेताहरूबाट देश र जनताले आर्थिक विकासको परिकल्पना गर्नु दिवा सपना मात्र हो । यस्ता नेताहरूलाई जनताले विश्वास गर्नु नै महाभुल हो ।
नेपालका जनताहरू अहिलेको राजनीतिक व्यवस्थाले सामाजिक, आर्थिक, राजनीतिक र साँस्कृतिक लगायतका कुनै पनि क्षेत्रमा काम नगरेको गुनासो गरिरहेका छन् । अहिलेको व्यवस्था भन्दा त राजतन्त्र ठीक भन्ने ठम्याइमा धेरै नेपाली पुगिसकेका छन् । यो व्यवस्था सुरु भएदेखि विदेशी राजनीतिक हस्तक्षेप बढेको, सामाजिक सद्भाव र एकता खलबलिएको, राजनीतिक क्षेत्र भ्रष्टाचार अत्याचारले ग्रष्त भएको आफ्नो मौलिक धार्मिक र साँस्कृतिक मान्यतामाथि फिरगीहरूको हस्तक्षेप बढेर धार्मिक र साँस्कृतिक विचलन पैदा भएको, नेपाली नेपाली बीचमा फुटाउने अनि धर्म परिवर्तन गर्ने कार्यहरू बढेर गएको अवस्था भएकाले यो व्यवस्थालाई परिवर्तन गर्नु पर्छ भनेर जन आवाज उठिरहेको पाइन्छ ।
कुनै पनि समाज र राष्ट्रको पहिचान भनेको त्यहाँका जनताले परापूर्व कालदेखि अनुसरण गर्दै आएको धार्मीक, साँस्कृतिक मान्यता नै हो । यसैले उक्त मान्यतालाई जर्गेना गर्न जनताहरू आफ्नो जिउ ज्यान दिन पनि तयार हुन्छन् । आफ्नो मान्यतालाई जर्गेना गर्न, प्रवद्धन गर्न, राष्ट्रलाई पनि बरोबर उनीहरूले सजग र सतर्क गराई रहेका हुन्छन् । र राज्य र राजाको स्थापना र सुरुवात पनि परापूर्व कालमा यिनै जनताले पालन गरि आएका आफ्नो समाजको पहिचान राख्ने उपरोक्त मुल्य मान्यताहरूको संरक्षण र सम्वर्दनको लागि नै हो ।
यो मुलुक निर्माणकर्ता पृथ्वीनारायण शाहले पनि नेपाली समाजको भावनाको कदर गर्दै नेपाल चार जात छत्तिस वर्णको साझा फूलवारी हो भनी आफ्ना रितिरिवाज अनुसार काम व्यवहार गर्नु भन्ने दिव्य उपदेश दिएका थिए । यो कुराले अहिलेको समयमा पनि ठुलो महत्व राख्छ । नेपाल राष्ट्रको निर्माणदेखि पृथ्वी नारायण शाह र तिनका सन्तानहरूले यहि मुल्य र मान्यतालाई संरक्षण गरि यसकै आधारमा नेपाली समाजमा एकता, सौहार्दता कायम गरि नेपाली समाज र राष्ट्रको पहिचान र परिचय विश्व समक्ष प्रस्तुत गरेका हुन ।
राजाहरूको भूमिकाबाटै नेपाली समाजका जुन सुकै जातजाति, भाषा संस्कृति भए पनि नेपाली नेपाली एक हौं भन्ने भावना विकास भई नेपाली राष्ट्रियता सवृद्ध हुँदै आएको हो । यहि कुरालाई विदेशीहरूले पचाउन नसकेर नेपाललाई कमजोर तुल्याई आफ्नो दुरासय पुरा गर्न पहिलो राजसंस्था हटाउने र दोस्रो नेपाली समाजले परापूर्वकालदेखि अंगालेको धार्मिक र सांस्कृतिक मुल्य मान्यता माथि प्रहार गरेका छन् । यसमा नेपाली अनुहारका विदेशीका गुलाम बनेका नेताहरूले मलजल पु¥याइ नेपालबाट राजसंस्था हटाएको प्रष्ट छ । अब नेपाली जनताले ती विदेशी र नेपाली अनुहारका गुलामहरूलाई राम्ररी बुझिसकेकाले त्यो षड्यन्त्रको भण्डाफोर गर्दै आइरहेका छन् ।
अब नेपालको पहिचान, नेपालको धार्मिक, साँस्कृतिक मुल्यताको पहिचानको संरक्षण सबै नेपालीलाई एकताको सुत्रमा बाध्ने अनि सबैलाई बराबर गर्ने राजसंस्थाबाट मात्र संभव हुन सक्दछ । यसको लागि राजसंस्था पूनस्थापना गर्न नेपाली जनता स्वयं जागरुक हुदै गएको र वर्तमान राजनीतिक व्यवस्थालाई परिवर्तन गर्न आन्दोलन गर्ने भनि जनआवाज उठिरहेको छ ।
नेपालको भूराजनीतिक अवस्थालाई हेर्दा उत्तरतिर विशाल मुलुक चीन र दक्षिणतिर त्यतिकै ठुलो मुलुक भारत रहेका छन् । यी हुदै देश विश्वका विकसित देशको रूपमा स्थापित हुन निरन्तर कोशिस गरिरहेका छन् । आफ्नो देशको विकासलाई तीव्रता दिनको लागि उनीहरूलाई आफ्नो देशभित्र र छर–छिमेकमा पनि शान्ति र स्थायित्वको आवश्यकता पर्छ । विगत केही वर्षदेखि नेपालको राजनीतिमा धेरै विकृति विसंगति बढेको, सरकार पुरा अवधि चल्न नसकेको, सरकार गठन विघटन घोडा दौडमा लागेको, सामाजिक विश्रृखलता बढ्दै गएको, सामाजिक सद्भाव खलवलिएको कारण देशभित्र समाजिक असुरक्षा र अस्थीरता बढेको छिमेकी मुलुकले महसुस गरेको बुझिन्छ ।
यो स्थिति अझ बढ्दै गएमा यसले नेपालभित्र मात्र होइन छिमेकिहरू र वरपरका देशहरूमा पनि असर र प्रभाव विस्तार हुन सक्छ । जसबाट विश्वमा विकसित देशको रूपमा रहेका छिमेकी देशहरूलाई असर पर्न सक्छ । त्यसैले नेपालको भुराजनीतिक अवस्था र नेपाल भित्रको राजनीतिक व्यवस्था र तिनका संचालकहरूले नेपाल भित्र राजनीतिक स्थायित्व कायम गर्न नसक्ने निचोडमा पुगेको चर्चाहरू सुनिन थालेको छ । यदि यो सत्य हो भने नेपाली जनताको चाहाना अनुसार नेपालमा त्यो राजनीतिक स्थायित्व दिने र नेपालभित्र शान्ति, सुरक्षा र अमनचयनको प्रत्याभुति दिन सक्ने शक्ति भनेको राजसंस्था हो भन्ने छिमेकी देशहरूको बुझाईले नेपालमा राजसंस्था पुनरवहाली हुने वातावरण बन्दै गएको बुझ्न सकिन्छ ।
(लेखक काफ्ले वरिष्ठ अधिवक्ता हुन् ।)
प्रतिक्रिया