काठमाडौं । स्वर्णलक्ष्मी सहकारी प्रकरणकाे मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वागृह मन्त्री रवि लामिछानेको बयान सकिएको छ ।
यो मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान सकिएको अदालत स्रोतले जनाएको छ । अब थुनछेक बहस सुरु हुने बताइएको छ ।
थुनछेक बहसको क्रममा सरकारी वकिलको कार्यालयको तर्फबाट पहिले बहस हुनेछ । त्यसपछि रवि लामिछाने पक्षका वकिल र जाहेरवाला पक्षका वकिलले बहस गर्नेछन् । त्यसपछि सरकारी पक्षबाट जवाफी बहस हुनेछ ।
आज थुनछेक बहस नटुंगिए न्यायाधीशले थुनामा पठाउने वा भोलि सोमबार पुनः अदालतमा हाजिर हुने गरी छाड्ने भन्ने आदेश गर्नेछन् ।
कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएपछि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा बयानका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
गत बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिजकुमार राईको इजलासले लामिछानेसहित सातजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुनविपरीत पाँच करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ । सरकारी वकिल कार्यालयले सभापति लामिछानेलाई सो रकम बिगो माग दाबी गरेर मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया