काठमाडौं । आम मानिसमा बाल्यकालिन सपना धेरै हुन्छन् । तर, सपना केवल सपनामै सीमित हुन्छन् । किनकी उनीहरुले सपनालाई विपनामा फरक रुपमा पुरा गर्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शो तथा ब्यूटी पेजेन्टको कोरियोग्राफीमा स्थापित नेपाली युवा अश्विनीकान्त झाको सपना पनि आम मानिसकै झैं थियो । सर्लाहीको कबलासीका अश्विनीको बाल्यकालिन सपना डाक्टर थियो । स्कुल हुँदै कलेज तहमा पुगेपछि जब उनी मोडलिङको दुनियाँमा पाइला चाले, उनले बाल्यकालिन डाक्टरी सपनालाई भुलेर ग्ल्यामरको दुनियाँमा आफूलाई स्थापित गराए ।
‘मिसेस नेपाल इन्टरनेसनल’, ‘मिसेस नेपाल टुरिजम’, ‘मोडल अफ द इयर’लगायतका राष्ट्रिय सौन्दर्य प्रतियोगिताका कोरियोग्राफर अश्विनी अन्तर्राष्ट्रिय कोरियोग्राफीमा पनि उत्तिकै परिचित छन् । अश्विनीको कोरियोग्राफी यात्रा उत्तिकै रोचक छ ।
‘परिवारले मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो । तर मलाई मोडल बन्ने सोच आयो । फेसन शोमा भाग लियो भने मात्र मोडल बन्न सकिन्छ भन्ने थाहा पाएँ’, अश्विनी भन्छन्, ‘भारतमा केही समय बसेर फेशन शोको बारेमा बुझे पछि त्यहाँ गुरुहरुसँग तालिम लिने मौका पाएँ । भारतमा बस्दा त्यहाँ फेसनको बजार ठूलो देखें । त्यहाँ चाहनु भनें म काम पाउन सक्थें, तर आफ्नै देशमा किन नगर्ने भनेर नेपाल नै फर्किएँ ।’
मोडलिङ र अभिनयमा निखारिन् उनी सन् २००७ मा भारतको नयाँदिल्ली पुगे । जहाँ उनले कौशिक घोषसँग भेटेर कोरियोग्राफी सिके । कौशिकले भारतीय अभिनेता, अभिनेत्री, टेलिसिरियलका स्टार हुँदै मिस इण्डियासम्मलाई कोरियोग्राफ गरिसकेकाले पनि अश्विनीले उनलाई रोजे ।
घोषसँग प्रशिक्षण लिइरहँदा उनले घोषकै सहायक भएर काम गरे । बलिउडमा कोरियोग्राफी बुझ्दै र काम गर्दै जाँदा सन् २००८ मा ‘मिस टिन काठमाडौं’का लागि कोरियोग्राफरका रुपमा उनलाई बोलाइयो । त्यसपछि उनले नेपालमा हुने बिभिन्न कार्यक्रमहरुमा कोरियोग्राफी गर्न थाले । यद्यपी भारतमा पनि उनको माग त्यत्तिकै थियो । जसका कारण भारतका बिभिन्न शहरमा भएका केही व्युटि पेजेण्टहरुमा पनि उनले कोरियोग्राफी गरे ।
यही क्रममा सन् २०१४ मा नेपालमा भएको व्युटि पेजेण्ट ‘फेस अफ दि इयर’मा अश्विनीले कोरियोग्राफी गरे । यो शोमा उनको कोरियोग्राफीले नेपालका अक्सर पेजेण्ट आयोजकको ध्यान तान्यो । भारतमा सिकेको नविनतम् शैलीलाई उनले ¥याम्पमा उतारे । त्यसपछि उनलाई अफरहरुको ओइरो लाग्यो । भारत फर्केर जाने कुरा सोच्ने समय सम्म मिलेन ।
अश्विनीले विशेषत प्रतियोगीलाई बोल्ने, राम्रो देखिनेसहित व्यक्तित्व विकासका विषयमा टिप्स र प्रशिक्षण दिन्छन् । ‘अहिले शारीरिक सौन्दर्यता भन्दा पनि बौद्धिक सौन्दर्यताले प्राथमिकता पाइहरेका छन् । यो खुशीको कुरा हो’, उनी भन्छन् ।
उनको बुझाईमा कोरियोग्राफरले विश्वदेखि नेपालसम्म कोरियोग्राफीमा नयाँ कुरा के भइरहेको छ भन्ने थाहा पाउन आवश्यक छ । ‘नयाँ कुरा के भित्रियो, नयाँ के आउँदैछ, प्रतियोगीहरु कस्तो पृष्ठभूमिबाट आएका छन्, सबै कुराको अपडेट हुन आवश्यक छ’, उनी भन्छन् ।
उनले एक दशक बढी यो क्षेत्रमा बिताइसकेका छन् । बालबालिकादेखि विवाहित महिलासम्मको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा उनको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । फेशन कोरियोग्राफर र ब्युटी पेजेन्ट कोचका रुपमा परिचित अश्विनी नेपालका लागि ‘मिसेस वल्र्ड’का नेशनल डिरेक्टर हुन् । उनले ३ सय बढी सौन्दर्य प्रतियोगिता र फेसन शोमा कोरियोग्राफी गरिसकेका छन् ।
मिसेस इन्टरनेशनल र मिसेस वल्र्डमा नेपाललाई सफलता दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका छन् । सिङ्गापुरमा भएको मिसेस इन्टरनेशनल सिङ्गापुरमा उनी स्वयम् उपस्थित भएर नेपालकी चन्दा थापालाई शशक्त प्रशिक्षण गर्दै ‘मिसेस एसिया प्यासेफिक’ टाइटल जिताउन समेत महत्वपूर्ण भूमिका खेलेका थिए । साथै मिसेस वल्र्डमा नेपालकी पृथ्वीया थापाले पनि ‘ह्युमानिटेरियन’ उप–उपाधी जितेकी थिइन ।
सौन्दर्य प्रतियोगिता संघ नेपालको संस्थापक सदस्य रहेका अश्विनी नेपाल सरकार (युवा तथा खेलकुद मन्त्रालय)द्वारा ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७७’, मधेश सरकार (युवा तथा खेलकुद मन्त्रालय)बाट ‘मधेशका मान सम्मान २०७९’, ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२१’ मा ‘पर्सन अफ द इयर’बाट सम्मान, ‘राष्ट्रिय व्यक्तित्व सम्मान २०२१’बाट सम्मान, सिंगापुरमा ‘गोल्डन ब्राण्ड अवार्ड’बाट सम्मान पाइसकेका छन् ।
नेपाली कोरियोग्राफरहरु माझ उच्च पारिश्रमिक लिने कोरियोग्राफरका रुपमा चिनिने अश्विनी फेसन डिजाइनर काउन्सिल अफ नेपालका सल्लाहकारसमेत छन् । उनले ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड’मा विभिन्न विधामा ‘उत्कृष्ट कोरियोग्राफर’को अवार्ड नै जितिसकेका छन् ।
प्रतिक्रिया