नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण

विश्वमा हेर्ने हो भने कुनै पनि एकीकरण निर्विवाद र निर्विकल्प बनेका छैनन् । यसर्थ पृथ्वीनारायण शाहद्वारा गरिएको नेपाल एकीकरणका क्रममा भएका भनिएका अपवादस्वरूपका त्रुटि र कमजोरी उछालेर राष्ट्रनिर्माणको अभियानलाई मानमर्दन गर्नु उचित होइन । पृथ्वीनारायण राजकुलमा जन्मेको र राजा भएकै कारण सम्मान र तारिफयोग्य पात्र बनेका होइनन् । उनले गरेको ऐतिहासिक योगदानलाई छायामा पार्ने प्रयास गरिनु धरातलीय यथार्थ माथि आँखा चिम्लनुसरह हो ।

विश्वनाथ खरेल

विभिन्न राज्य–रजौटा, भुरे–टाकुरे, स–साना आकारमा छरिएर रहेका राज्यहरूलाई एकीकरणको सूत्रमा बाँधी बलियो नेपाल राष्ट्र खडा गर्ने अभियन्ताका रूपमा पृथ्वीनारायण शाहको पहिचान छ । देशको सिमाना व्यापक र सुदृढ बनाउने चाहना राख्ने चिन्तकका रूपमा उनको अर्को प्रकारको पहिचान पाइन्छ । कतिपयले उनलाई राजाका रूपमा मात्रै हेर्ने गरेका छन । तर, उनको क्रियाकलाप अध्ययन गर्दा नेपाल राष्ट्र निर्माता, राष्ट्राध्यक्ष, राष्ट्रप्रेमीको मात्रै होइन राजनेतनाको पहिचानसमेत छ ।

२००७ सालको परिवर्तनपछि उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसमा रूपमा राज्यले मनाउने गरेको थियो । तर, २०६२–२०६३ को आन्दोलनपछि माओवादीको दबाबमा केही वर्ष सरकारले वास्ता गर्न छाड्यो । व्यापाक जनदबाबपछि उनको जन्म जयन्ती मनाउने क्रम फेरी सुरु भएको छ । देशमा गणतन्त्र आइसकेकोले पूर्वराजाको जन्म दिवस किन मनाउने ? भन्ने प्रश्न उठाइनु एक हिसाबले अस्वभाविक थिएन । तर पृथ्वीनारायण शाह पूर्वराजा मात्रै नभएर राष्ट्रनिर्मातासमेत हन् भन्ने कुरा माओवादीले पनि बुझ्दै गयो । यति मात्रै होइन उनी दूरदर्शी राजनेता पनि थिए । पृथ्वीनारायण शाह नेपालका राष्ट्रनिर्माता, युग, पुरुष, राष्ट्रभक्त र सर्वोपरी रूपमा आधुनिक नेपालका निर्माता हुन् । सारा जीवन राष्ट्र निर्माणको निम्ति लगाउने एक मात्र ठूला तपस्वी हुन् ।

नेपाल एकीकरणका दौरानमा विविध संघर्ष र पराजयको सामना गर्नु परे तापनि क्रमशः १–१ खुडकिला पार गर्दै जानु उनको अदभ्य साहस र तीव्र देशभक्तिको परिचायक हो । राष्ट्रप्रेमी युग पुरुषको चर्चा गर्दा हामी नेपालीहरूको मनमस्तिष्कमा सर्वप्रथम राष्ट्रनिर्माता पृथ्वीनारायणतर्फ उन्मुख हुन्छ । उनको विराट व्यक्तित्वका अमूल्य भावनाहरूको चर्चा नेपालीहरूले जति गरे पनि थोरै नै हुन्छ । वास्तवमा २५० वर्ष अघिको नेपालको सामाजिक, राजनीतिक र आर्थिक अवस्थालाई वर्तमान समयको मापदण्डबाट मूल्यांकन गरेर निष्कर्ष निकाल्नु सर्वथा अतिशयोक्ति ठहर्दछ । उनको एकीकरण अभियानको क्रममा केही ज्यादति भए होलान् वा केही कमिजोरी भए होलान् तैपनि सिंगो देशको जन्म भयो । उनको योगदानको परिणामस्वरूप आज हामी स्वतन्त्र राष्ट्र नेपालको नागरिक हुने गौरव प्राप्त गरेका छौँ । उक्त समयमा नेपालको एकीकरण हुन नसकेको भए वर्तमान नेपालको भूभाग तत्कालीन ब्रिटिस साम्राज्यको एक अंग हुन पुग्ने थियो ।

पृथ्वीनारायण शाहले टुक्राटुक्रामा विभाजित राज्यहरूलाई एक सूत्रमा आवद्ध गरी नयाँ नेपालको जग बसालेका मात्र होइनन्, तत्कालीन नेपालको सामाजिक, राजनीतिक, आर्थिक आदि विभिन्न तहको राम्रो अध्ययन, मनन, विश्लेषण गरी त्यसका आधारमा निचोड निकालेर विभिन्न विषयमा नीतिहरू निर्धारण गरेका थिए । जसलाई दिव्योेपदेश भन्ने गरिन्छ । नेपाल र सम्पूर्ण नेपालीको अस्तित्व जोगाउन विभाजित नेपाललाई एक सबल र अखण्ड राष्ट्रको रूपमा खडा गराउने महान कार्य पृथ्वीनारायण शाहबाटै भएकोमा इतिहास साक्षी छ । यसर्थ नेपाल राष्ट्रको स्वतन्त्रता अक्षुण्ण राख्ने पृथ्वीनारायण र उहाँका उत्तराधिकारी राजाहरूबाट ब्रिटिस भारतको जङजुलबाट बच्न धेरै कालपछिसम्म सजग र सावधान रहनुप¥यो ।

विशाल भारत र अरू वरपरका कतिपय देशहरूलाई आफ्नो अधिनमा पार्न सक्ने अत्यन्त शक्तिशाली बृटिस साम्राज्यवादसँग एउटा सानो देश भएर पनि नेपालले सामना गर्न सक्नु अवश्यै पनि राम्रो परिणाम हो । यसरी देशभक्ति, वीरता र स्वाभिमानले ओतप्रोत भएका पृथ्वीनारायणले नेपालको अस्तित्व जोगाउन चाहिने नेतृत्व मात्र प्रदान गरेका होइनन्, स्वयं निरन्तर राष्ट्रको बिस्तार र बिकासमा समेत क्रियाशील रहे । जब एसियाको यस भूभागमा तमाम राज्य रजौटाहरू एकपछि अर्को विदेशी सत्ताको सामुन्ने नतमस्तक भई आत्मसमर्पण गर्न वाध्य भइराखेका थिए । पृथ्वीनारायण शाहले एकीकरणमार्फत राज्यको सीमा बिस्तार गर्नुका साथै एकीकृत र विजित क्षेत्रका धार्मिक सांस्कृतिक सम्पदा र परम्पराको संरक्षणमा समेत ध्यान दिएका थिए । यही नीतिको परिणामस्वरूप नै एकीकरण अभियानमा व्यापक सहयोग र सहभागिता जुटन संभव भयो ।

विश्वमा हेर्ने हो भने कुनै पनि एकीकरण निर्विवाद र निर्विकल्प बनेका छैनन् । यसर्थ पृथ्वीनारायण शाहद्वारा गरिएको नेपाल एकीकरणका क्रममा भएका भनिएका अपवादस्वरूपका त्रुटि र कमजोरी उछालेर राष्ट्रनिर्माणको अभियानलाई मानमर्दन गर्नु उचित होइन । पृथ्वीनारायण राजकुलमा जन्मेको र राजा भएकै कारण सम्मान र तारिफयोग्य पात्र बनेका होइनन् । उनले गरेको ऐतिहासिक योगदानलाई छायामा पार्ने प्रयास गरिनु धरातलीय यथार्थमाथि आँखा चिम्लनुसरह हो । यसमा पनि जित्नेले आफूअनुकूल केही प्रभाव, छाप र निर्णय गराउने स्वभाविक प्रक्रियालाई तत्कालीन चेतनाको आँखाबाट पनि हेर्नुपर्छ । अस्वभाविक प्रभुत्व जमाएको भनेर आरोप लगाउने ठाउँ इतिहासमा कहीँकतै भेटिँदैन । देश बनाउन कसै न कसैको महत्वाकांक्षी योजना साहस, संकल्प र दूरदर्शिता चाहिन्छ । पृथ्वीनारायण दूरदर्शी राजा मात्रै होइन लडाकु र राजनीतिज्ञ पनि थिए । उनको सम्मान नेपालकै सम्मान हो ।

पृथ्वीनारायण शाह दार्शनिक पनि थिए । नेपालको इतिहासमा उनको गरिमा विशिष्ट र अतुलनीय रहिआएको छ । राष्ट्र निर्माता पृथ्वीनायण शाहको अथक प्रयास र पराक्रमबाट वर्तमान नेपालको एकीकरण भयो र हामी नेपाली कहलाउन पायौँ । नेपाल ४ वर्ण ३६ जातको फूलबारी भएको कारणबाट यहाँ जाति, धर्म र सम्प्रदायका बीचमा कहिले पनि झैंझगडा र मनोमालिन्य भएको घटना त्यति देखिएको छैन ।

ऐतिहासिक पृष्ठभूमिलाई पल्टाएर हेर्ने हो भने यो देशमा लिच्छवीकालीन युगका राजा अंशुबर्माका पालालाई नेपालको स्वर्णयुग मानिन्थ्यो । यस युगमा सुनका सिक्कासमेत चलाइन्थ्यो । यही सत्यतालाई नेपालका पूर्वजहरूले अँगाल्दै आउँदा बीचमा केही समय बाइसी–चौबिसी राजा रजौटाहरूले मुलुकको स्वतन्त्र अस्तित्वलाई खल्बलाउने प्रयत्न गरे तापनि त्यस्तो प्रयास निष्फल हुन गयो । पृथ्वीनारायण शाहले टुक्रिन लागेका भूभागलाई एक सूत्रमा बाँध्ने अभिलाषाले बाइसी–चौबिसी राजाहरूको उन्मूलन गरेर काठमाडौँ, ललितपुर, भक्तपुर र अधिराज्यभरका सम्पूर्ण प्रान्तलाई एउटै राष्ट्रिय झण्डामुनि एउटै राजाको नेतृत्वबाट सञ्चालित राज्य व्यवस्थाको धोषणा गरियो र आज आएर विश्वको सामु नेपालको शिर झुकाउनुपरेको छैन ।

पृथ्वीनारायण शाहको सम्पूर्ण जीवन युद्धमा नै बिते तापनि उनले शासन सुधार्ने र जनतालाई सुख सुविधा दिने कार्यमा प्रशस्त ध्यान दिएका छन् । जातीय तथा वर्गीय भेदभाव नराखी सबै जनताको सहयोगमा विशाल मुलुक स्थापित गरे । उनी परराष्ट्र मामिला सम्बन्धमा अत्यन्त सचेत र दूरदर्शी भएको प्रष्ट हुन्छ । आज नेपालले जुन असंलग्न परराष्ट्र नीति अपनाइरहेको छ त्यसको आरम्भकर्ता उनी नै हुन् ।


पृथ्वीनारायण शाहको तुलना उनका उत्तराधिकार अरू राजासँग गर्न मिल्दैन । पृथ्वी जयन्तीलाई राष्ट्रिय महत्वका दिवसहरूको सूचीबाट हटाउनु उनको अवमूल्यन गर्नु हो भन्ने कुरा माओवादीले समेत बुझ्यो । इतिहास शासकको चाहनाअनुसार लेखिन्छ भन्ने वक्रोक्ति पृथ्वीनारायण शाहका हकमा पूरै चरितार्थ भएको छ । यसैले पृथ्वीनारायण शाहको योगदानको उपेक्षा गर्ने सरकारको पहिलेको गलत निर्णय सच्याउने समय आएको छ । वर्तमान नेपालको भौगोलिक एकीकरण अभियानको नेतृत्व गर्ने पृथ्वीनारायण शाहको सम्मान गर्न सरकारले २०७९ सालदेखि राष्ट्रिय पर्वको रूपमा मनाउन पृथ्वी जयन्ती पर्व घोषणा गरेको थियो । यसर्थ पृथ्वीनारायण शाहको पुनस्र्थापनाले राष्ट्रिय अखण्डताका पक्षमा र विखण्डनविरुद्ध सन्देश दिनेछ । नेपालमा लोकतन्त्र र राष्ट्रियताको अभिन्न सम्बन्ध छ । यसैले राष्ट्रियतालाई गौण भयो भने लोकतन्त्र पनि बलियो हुने छैन ।

प्रतिक्रिया