दिंगे काउन्टी केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प : कम्तीमा १२६ जनाको मृत्यु

काठमाडौँ । चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ रेक्टर स्केलको भूकम्प गएको छ । नेपाली समयअनुसार बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पका कारण मंगलबार रातिसम्म तिब्बतमा कम्तीमा १२६ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ । यस्तै, १८८ जना घाइते भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा ३ हजार ४०० भन्दा बढी उद्धारकर्ता र ३४० जनाभन्दा बढी स्वास्थ्यकर्मी खटाइएको छ । सिगात्से सहरका धेरै घरहरू भग्नावशेषमा परिणत भएका छन् । उद्धारकर्मीहरूले भत्किएको घरको भग्नावशेषमा खोजी गरिरहेका छन् । घरबारविहीन भएकाहरूका लागि दुःख थप्दै यस क्षेत्रको तापक्रम मंगलबार माइनस ६ डिग्री सेल्सियससम्म झरेको छ भने राति माइनस १६ डिग्री सेल्सियससम्म ओर्लिने अनुमान गरिएको छ । यसले पीडितलाई थप पीडा थपेको छ ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बू, संखुवासभा, ताप्लेजुङलगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब १०० किलोमिटर टाढा दिंगेमा शक्तिशाली भूकम्प गएको बताए ।

केन्द्रकी उपमहानिर्देशक एवं प्रवक्ता मनिका झाले देशका पूर्वी जिल्लाहरूमा र मध्य नेपालका काठमाडौँलगायत सहरमा भूकम्पको धक्का बढी महसुस भएको बताइन् । यसको परकम्प अझै आउन सक्ने भएकाले नआत्तित उनले अनुरोध गरेकी छिन् । ‘७ रिक्टरको भूकम्प गएकाले यसको परकम्प आइरहन्छ, यसबाट आत्तिनुपर्ने अवस्था छैन । परकम्प बढीमा ४, ५ र ६ रिक्टरसम्मको जान सक्ने भएकाले त्यसले खासै असर गर्दैन,’ उनले भनिन् ।

केन्द्रले ६ देखि ८ रेक्टर स्केलको भूकम्पलाई शक्तिशाली भूकम्प मान्ने गरेको छ । नेपालमा २०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लो केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्पको धक्का महसुस भइरहेको छ । भूकम्पबाट हालसम्म नेपालमा कुनै मानवीय तथा भौतिक क्षति नभएको केन्द्रले जनाएको छ ।

तर, भूकम्पबाट आत्तिएर भाग्ने क्रममा १३ जना घाइते (११ जना बेहोस) भएको प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले विभिन्न जिल्लामा १३ जना घाइते भएको र २ घर पूर्ण, १ आंशिक र ११ घरमा सामान्य क्षति भएको विवरण प्राप्त भएको जानकारी दिए । भूकम्पका कारण काठमाडौँमा १ जना, बारामा ११ जना र काभ्रेमा १ जना घाइते भएका हुन् । काठमाडौँमा भाग्दा घाइते भएका, बारामा ११ जना भूकम्प आएपछि बेहोस भएका र काभ्रेका १ जना माथिबाट ढुंगा खसेर घाइते भएको अधिकारीले जानकारी दिए ।

ओखलढुंगामा १ घर पूर्ण र २ घरमा सामान्य तथा संखुवासभामा १ घरमा सामान्य क्षति भएको छ । सोलुखुम्बूमा १ पूर्ण र १ आंशिक तथा ३ घरमा सामान्य क्षति भएको र ताप्लेजुङमा ३, सिन्धुपाल्चोकमा १ र रामेछापमा १ घरमा सामान्य क्षति भएको छ ।

‘स–साना कम्पकै आधारमा ठुलो भूकम्पको जोखिम छ भन्ने होइन’

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले पटक–पटक भूकम्प जाँदैमा तत्काल अर्को ठुलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको बताए । भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको उनले बताए । पटक–पटक भूकम्प गइरहेको स्थानमा भूकम्पको शक्ति जम्मा भइरहेको हुन्छ । उक्त ठाउँमा स–साना भूकम्प गइरहेका हुन्छन् भने भविष्यमा ठुलो भूकम्प जान सक्ने सम्भावना हुन्छ,’ उनले भने, ‘तर, अहिलेसम्म भूकम्प जाने भविष्यवाणी भने गर्न सकिएको छैन ।’

प्रतिक्रिया