काठमाडौं । अमेरिकासहित विश्वका २५ देशहरुमा हुँदै आएको डान्सको चर्चित स्टेज ‘वल्र्ड अफ डान्स’ (डब्लु.ओ.डी) अब नेपालमा पनि हुने भएको छ । नृत्यमा भविष्य खोज्नेहरुका लागी उत्कृष्ट मानिने यस स्टेजको फ्रेन्चाइज मण्डला इन्टरटेनमेन्टले नेपाल भित्र्याएको हो ।
वल्र्ड अफ डान्स नेपाल आगामी माघ २४ गते बिहीबार हुने आयोजकले जनाएको छ । आइतबार पत्रकार सम्मेलन गरि जुरी टिम, ट्रफिसँगै विजेताले पाउने पुरस्कारलगायतका विषयमा आयोजकले जानकारी गराएका छन् ।
यसमा देशैभरीबाट आवेदन परेका डान्सरहरुले विभिन्न चरण पार गर्दै विजेता बन्ने आयोजक कम्पनी मण्डला इन्टरटेनमेन्टकी सिइओ सजिना तामाङले जानकारी दिइन् । अहिलेसम्म डिजिटल अडिसनबाट तीन सयभन्दा बढीको आवेदन परेको र छनोटको काम भइरहेको तामाङले बताइन् ।
उनका अनुसार यो रियालिटी शो नभई एक डान्स कम्पिटिसन शो हो । जसमा डिजिटल, फिजिकल अडिसन पार गर्दै विजेता छनोट गरिनेछ । विजेता टिमले अमेरिकामा यही २०२५ जुलाई १६ देखि जुलाई २१ सम्म आयोजना हुने वल्र्ड अफ डान्समा सहभागी जनाउन पाउनेछन् । जसमा २५ देशका विजेताहरुबीच प्रतिस्पर्धा हुनेछ ।
यसमा सहभागी हुने टिमहरुलाई तीन डिभिजनमा राखिएको छ । पहिलो अपर टिम डिभिजन, यसमा जुनसुकै उमेर समुहका डान्सरले सहभागी लिन पाउनेछन् । साथै यसमा एक जना, दुई जना, तीन जना अथवा चार जनासम्मको एक टिम बनेर डान्स गर्न पाउने सिइओ तामाङले बताइन् ।
दोस्रो सिनिअर टिम डिभिजन, यसमा १८ वर्षभन्दा बढी उमेरका डान्सरले सहभागी हुन पाउनेछन् । तेस्रो जुनिअर टिम डिभिजन, यसमा १८ वा १८ वर्षभन्दा मुनिका डान्सरहरुले सहभागी हुन पाउनेछन् । सहभागी तीन डिभिजनकै विजेताले एक–एक लाख नगद पुरस्कार पाउनेछन् ।
यस्तै अमेरिकामा हुने डब्लु.ओ.डीमा भने सिनिअर र जुनिअर टिम डिभिजनमा विजेतासँगै दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमले पनि सहभागी जनाउन पाउने तामाङले जानकारी दिइन् ।
सिनिअर टिम डिभिजन र जुनिअर टिम डिभिजनले मात्र अमेरिकामा हुने डब्लु.ओ.डी.मा सहभागी हुन पाउने पाउने प्रावधान रहेको शोका नेशनल डिरेक्टर रोशन गहतराजले जानकारी दिए । रोशनका अनुसार नेपालमा अहिलेसम्म नृत्यकै लागी भनेर यस्तो किसिमका शो नआएको र डब्लु.ओ.डी नेपाल नृत्यमा भविष्य बनाउन चाहनेहरुका लागि उत्कृष्ट शो बन्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया