२०७४ सालमा केपी ओलीलाई जनताले संविधानको कार्यान्वयनका निम्ति भनेर करिब दुई तिहाइ नजिकको मत दिएर देशको प्रधानमन्त्री बनाएका थिए । तर, बिडम्बना ओली मात्तिन पुगे । देशले लिनुपर्ने गति र हिड्नुपर्ने बाटो समाएन । अन्ततः मुलुकको सत्तामाथि अनेकन प्रश्न खडा भए । पुराना राजनीतिक दलहरूको कार्य व्यवहारप्रति जनता असन्तुष्ट बने । परणाममा रविहरूको उदय भयो ।
आज देशमा नेपाली कांग्रेस र एमालेको सरकार छ । संसदको संख्याका आधारमा वर्तमान सरकारलाई बलशाली सरकारसमेत भनिएला । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट धोका खाएका र पाएकाहरू (कांग्रेस—एमाले) मिलेर केपी ओली नेतृत्वको सरकार बन्न पुगेको कुरा घाम जस्तै छ ।
यति शक्तिशाली सरकारले गर्नुपर्ने शुसाशन, पारदर्शीता, भ्रष्टाचारमाथि निर्मम, विकासमा तीव्रता नै हो । तर, वर्तमान सरकारले जनअपेक्षा र देशको हितमा राम्रो काम गर्न नसकेको स्वयं नेकपा एमालेले स्वीकार गरेको अवस्था छ । यसमा अर्को कुरा थप्न सकिन्छ, कांग्रेस—एमाले सरकारको नियत र निष्ठा स्पष्ट छैन । पहिलो कुरा त उनीहरूबीचको सत्ता सहकार्य नै लोकतन्त्रका विरूद्ध छ । अराजनीतिक पनि छ । विचार र सिद्धान्त झनै मिल्दैन । अतः प्रधानमन्त्री ओलीको कार्यशैली कांग्रेसका निम्ति भारी बनिरहेको देखिन्छ ।
अवैध ढंगको मिलिभगतले मुलुकलाई फाइदा पुर्याउदैन भन्ने कुरा वर्तमान सरकारले देखाइरहेको छ । संसदको पहिलो र दास्रो पार्टी मिलेर बनेको सरकारले राज्य सत्ता र शक्तिको दुरूप्रयोग गरिरहेको छ । आफ्नालाई लुकाउने र अरूलाई समाउने काम गरिरहेको आम मानिसले देखिरहेकै छन् । अर्को कुरा विरोधिहरूलाई राजनीतिक प्रतिशोध साध्नेमा सरकार उद्धत देखिन्छ । आज मुलुकमा जे भइरहेको छ, सबै सरकारका कारणले भइरहेको छ । केपी ओलीको व्यक्तिवाद, अराजक भाषण, स्वेच्छाचारी प्रवृत्तिका कारण भइरहेको छ । मुलुकमा संविधान जारी भएको करिब १० वर्ष भयो । २०७४ सालमा केपी ओलीलाई जनताले संविधानको कार्यान्वयनका निम्ति भनेर करिब दुई तिहाइ नजिकको मत दिएर देशको प्रधानमन्त्री बनाएका थिए । तर, बिडम्बना ओली मात्तिन पुगे । देशले लिनुपर्ने गति र हिड्नुपर्ने बाटो समाएन । अन्ततः मुलुकको सत्तामाथि अनेकन प्रश्न खडा भए । पुराना राजनीतिक दलहरूको कार्य व्यवहारप्रति जनता असन्तुष्ट बने । परणाममा रविहरूको उदय भयो । दुःखको कुरा रविहरूले लगाएको सुशानशनको नारा र पाराबीच पनि तादात्म्यता भेटिएन । अतः मुलुकले लिनुपर्ने गति फेरीपनि मन्द बन्दै गयो ।
ओली स्टालिन पथमा
अहिले मुलुकमा पुराना र नयाँ राजनीतिक शक्तिको भाष्य जोडले स्थापित गर्न खोजिदैछ । जसको कुनै अर्थ छैन । राजनीति भनेको वर्गीय जिम्मेवारी र दृष्टिकोण हो । वर्षले नभएर वर्गको आधारमा राजनीति चल्छ । नयाँ पुराना नभएर राजनीति विचार, सिद्धान्त, कार्यक्रम र ठोस् योजनाका आधारमा चल्छ । यति भन्दाभन्दै पनि नेतृत्व समय सापेक्ष बनेन वा बन्न चाहेन भने राजनीतिकाप्रति मानिसहरूमा अनेकन शंकाहरू सिर्जना हुन्छन् ।
समग्रतामा हेर्दा प्रधानमन्त्री ओलीको ओरालो दिन सुरू भएको देखिन्छ । ओराली लागेको मृगलाई बाछिले पनि लखेट्छ भनेझैँ आज ओलीलाई लखेट्नेहरू सडकदेखि सदनसम्मै छन् । यसको मुल कारण अरू कोही होइनन् । ओली आफै हुन् । ओली पार्टीभित्र निरंकुश र स्वेच्छाचारी बन्दै गएका छन् । स्मरण रहोस्, तत्कालिन नेकपा (नेकपा) बिभाजित हुनुमा पनि ओलीको व्यक्तिवाद जिम्मेवार थियो । त्यसपछि एमाले संगोल रहन सकेन । आजसम्म पनि एमालेको क्षयिकरण रोकिएको छैन । एमालेभित्र आलोचना, खबरदारी र विरोध गर्नेहरूलाई छानिछानी निष्कासित गर्ने काम जारी छन् । जसले एमाले नामको घर बनाए । उनीहरू नै त्यो विशाल घरमा अट्ने अवस्था रहेन ।
यसको सोझो अर्थ ओली स्टालिन पथमा छन् । नेतृत्वका गलत क्रियाकलापको आलोचना, विरोध गर्न पाइदैन भन्नु स्टालिन पथ नै हो । इतिहासका पानाहरू पल्टाउदा सन् १९३४ देखि १९३९ सम्मको ५ वर्षमा सोभियत संघमा लाखौं पार्टी सदस्यहरू गुटगत प्रतिशोधका कारण प्रताडित भएको भेटिन्छ । जसमध्ये झण्डै ५ लाखको हत्या गरिएको थियो । भनिन्छ, सन् १९३४ मा पार्टीको सत्रौं महाधिवेशनमा भाग लिन आएका १ हजार ८ सय २७ प्रतिनिधिमध्ये सन् १९३९ को अठारौं महाधिवेशनमा ३७ जना मात्र बाँकी रहेका थिए ।
त्यो समय स्टालिनको व्यक्तिवाद यति धेरै हाबी थियो कि, सन् १९४१ देखि १९४५ सम्म पार्टी केन्द्रीय कमिटीको एउटा पनि बैठक बसेन । त्यो समयमा जे थिए, स्टालिन थिए । स्टालिनका अगाडि जनवादको ‘ज’ पनि थिएन । विभिन्न अनौपचारिक सन्दर्भहरू भन्छन् सत्ताको आलोचना गरेकै कारण स्टालिनकालमा झण्डै ३० लाख मान्छेहरूलाई साइबेरिया धपाइएको थियो । आजको एमाले र त्यसको नेतृत्व यहि बाटोमा हो ? यदि यहि बाटोमा एमाले हो भने यो गलत बाटो हो ।
विगतलाई फर्केर हेर्दा ओली पार्टीभित्र विद्रोही र आलोचनात्मक चेतबाटै आजको खास चरित्र निर्माण गरेका हुन् भन्ने देखिन्छ । पार्टीभित्र माधव नेपाल र झलनाथ खनालको आलोचना, विरोध, गुट निर्माण गर्दै ओली पार्टीको प्रमुख नेता बनेको कुरा लुकाएर लुक्दैन । तर, आज उनै ओली अध्यक्ष रहेको पार्टी एमालेभित्र उनको आलोचना गर्नेहरूलाई स्थान छैन ।
पार्टीका जिम्मेवार नेताहरूमाथि अनावश्यक अनुसाशनको डण्डा चलाउने कामलाई एमालेले आन्तरिक मामिला भन्ला तर, त्यो एउटा लोकतान्त्रिक कम्युनिष्ट पार्टीको विषय नीजि हुन सक्दैन । यस्ता गम्भीर विषयलाई नीजि भन्न थालियो भने वाक स्वतन्त्रता र सामाजिक उत्तरदायित्वको सवालबाट च्युत भएको मान्न सकिन्छ । जनताको बहुदलिय जनवादको ठाडो बलात हो । एमाले आजका दिनमा जबजलाई मार्गनिर्देशक सिद्धान्त मान्छ । तर, व्यवहारमा यति नीचता प्रकट गरिरहेको छ ।
हालै भीम रावल, विन्दा पाण्डे र उषा किरणमाथिको ओली कारबाहीलाई यसको उदारणका रूपमा लिन सकिन्छ । २०७४ पछि प्रधानमन्त्री बन्दा ओलीले राज्य शक्ति आफ्नो मुठ्ठिमा राखेर दुनियाँ तर्साउन खोजेका थिए । सोही अभ्यास आज आफ्नो पार्टीभित्र जारी राखेका छन् । ओलीका भित्रिया भनिने गोकुल, महेशहरू उनको खिलापमा गतिविधि गरिरहेका छन् । एमालेमा ओलीले जुन अभ्यास गरिरहेका छन्, उक्त स्वेच्छाचारी र निरंकुश प्रवृत्तिका विरूद्ध उक्त पार्टीभित्र त कोही बोल्दैनन् नै दुःखको कुरा बाहिर वा अन्य पार्टीले समेत कुनै प्रतिक्रिया जनाउदैन । बहुदलिय व्यवस्थामा कुनै एउटा पार्टी नेतृत्व स्वेच्छाचारी रूपमा अघि बढ्यो भने उक्त पार्टीका नेता कार्यकर्ताको मात्रै सरोकारको विषय रहँदैन । त्यो मुलुककै विषय बन्छ र हुनुपर्छ । तर, हाम्रो देशमा अर्काको घरको विषय भन्दै उम्किने गरिन्छ । यो लोकतन्त्रका निम्ति सरासर गलत छ ।
आशावादमाथि तुसारापात
नेपालमा लोकतान्त्रिकीकरण धेरै लामो इतिहास छैन । वि.स. १९९० को दशकदेखि विश्व परिवर्तनको हावा नेपालमा चलेको इतिहासले देखाउछ । त्यसको असर २००७ सालमा आएर देखिएको थियो । त्यसपश्चातका आन्दोलन, युद्ध, क्रान्तिहरूका बारेमा धेरै लेखिरहनु परेन । हरेक आन्दोलन र क्रान्तिले नेता जन्मायो । तर, नेतृत्व भनौं वा राजनेता जन्माएन । अर्को शब्दमा भन्दा नेपाली समाजले जो जती नेता÷शक्तिसँग आशा राख्यो, त्यसले निराश बनाएर छोडेको देखियो । सात सालमा कांग्रेससँग समाजले आशा राख्यो । कांग्रेस आजका दिनमा पनि बलशाली दलकै रूपमा स्थापित छ । तर, नेपाली समाजले त्यो दलसँग खासै आशा बाँकी राखेको देखिदैन ।
त्यस्तै दोस्रो जनआन्दोलन पश्चात नेपाली समाजले माओवादीसँग अपेक्षा र आशा राख्यो त्यसले पनि खासै काम गर्न सकेन । खासगरी बाबुराम भट्टराईसँग नेपाली जनताले बहुत धेरै अपेक्षा र आशा राख्यो । तर, उनले पनि नेपाली समाजलाई खास दिशा निर्देश गर्न सकेनन् । उनी अचेल नयाँ शक्ति निर्माण गर्नेमा भौतिरिदै हिडिरहेका छन् । त्यस्तै पछिल्लो समय नेकपा (नेकपा) सँग नेपाली समाजले ठूलो अपेक्षा राख्यो । तत्कालिन अवस्थामा केपी ओली र प्रचण्डले चलाएको विमान नमजाले दुर्घटनामा पर्यो ।
त्यसपछिको कम्युनिष्ट आन्दोलनका बारेमा धेरै लेख्नुपर्छ भन्ने लाग्दैन । भारतीय नाकाबन्दिको खरो विरोध गरेर राष्ट्रवादी नेताको छवि बनाएका ओलीसँग नेपाली समाजले अपेक्षा राख्यो, तर उनले झन् संसद विघटनसम्म गर्नेमा पुगे । पछिल्लो समय देश बनाउने भन्दै आएका रविहरूको वर्तमानका बारेमा केही भन्नुपर्छ भन्ने लाग्दैन । त्यसैले नेपाली समाज जोसँग अपेक्षा र आशा राख्छ त्यो शक्तिबाट केही पाउदैन । सोही कारण पनि समाजले चाँडै परिवर्तन खोज्छ । समाज सत्य र असत्य के हो ? भनेर जबसम्म थाहा पाउने ल्याकत राख्दैन तबसम्म हुने यस्तै हो । हल्का कुरा, हावा कुरा, भ्रामक कुराको विश्वास गर्ने नेपाली समाजले चाँडै सुख पाउछ भन्ने कम्तिमा मलाई लाग्दैन ।
प्रतिक्रिया