अंग्रेजी नयाँ वर्ष र नेपालीहरूको टोपी दिवस

नेपालीहरू विश्वका धेरै देशमा छरिएका छन् । नेपालीहरू बसोबास गर्ने विश्वका अधिकांश देशमा जनवरी १ लाई नयाँ वर्षका रूपमा मनाइन्छ । यसैगरी हाम्रो देशको तीनैतिर खुला सिमाना रहेको तथा रोटीबेटीको सम्बन्ध भएको छिमेकी भारतमा पनि जनवरी १ लाई नयाँ वर्षका रूपमा मनाइन्छ । नेपालीहरूले पनि विगत केही वर्षदेखि जनवरी १ लाई अन्तर्राष्ट्रिय टोपी दिवसका रूपमा मनाउने गरेका छन् ।

विश्वनाथ खरेल

विश्वमा आउँदो बुधबारदेखि अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२५ सुरु हुँदै छ । विभिन्न देशहरूमा आ–आफ्नै तरिकाले नयाँ वर्षको हार्दिक शुभकामना एकआपसमा दिइने प्रचलन रहिआएको छ । ग्रेगोरियन पात्रोअनुसार जनवरी १ तारेखमा नयाँको हार्दिक स्वागत गरिने परम्परा रहिआएको छ । त्यसैले उक्त दिन विश्वभर नयाँ वर्ष हर्षोल्लासका साथ मनाइन्छ । पश्चिमी देशहरूमा प्रचलनमा रहेका विभिन्न पात्रोमध्ये ग्रेगोरियन पात्रोलाई आमरूपमा प्रचलनमा ल्याइएको छ । इशाइ धर्म सम्प्रदायका प्रवद्र्धक यशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो नामाकरण गरिएको थियो ।

विश्वमा धेरै क्यालेन्डरहरू प्रचलनमा छन् । तर सबैभन्दा धेरै देशहरूले प्रयोगमा ल्याएको क्यालेन्डर इस्वी सनको हो । त्यसैले इस्वी सनको नयाँ वर्षलाई विश्वभरी नै उत्सवका रूपमा मनाउने चलन छ । नयाँ सालको सुरुआतलाई नयाँ उमंगका साथ मनाउने चलन निकै पुरानो हो । किनकी साल परिवर्तन अनन्तकालीन समय चक्र हो । बितेको साल फेरि फर्कंदैन । तर बितेको सालको अनुभवका आधारमा नयाँ सालका लागि मार्गचित्र तय गरिन्छ । यो कुरा हरेक व्यक्ति, परिवार, समाज तथा देशको हकमा लागू हुन्छ ।

हामी नेपालमा विक्रम संवतको नयाँ वर्ष वैशाख १ गते नयाँ वर्ष मनाउँछौँ । त्यसैगरी विश्वका धेरै देशले अंग्रेजी नयाँ वर्ष अर्थात इस्वी सन्को नयाँ वर्ष जनवरी १ मनाउने गर्छन् । विक्रम सम्वत् सुरु भएको २ हजार ८१ वर्ष भएको छ भने इश्वी सम्वत् सुरु भएको २ हजार २४ वर्ष भएको छ । विश्वमा यी दुई सम्वत्बाहेक अन्य धेरै खाले पात्रो अनुसारका सम्वत् पनि प्रचलनमा छन् ।

सबैका आ–आफ्ना नयाँ वर्ष हुन्छन् । विश्वमा सबैभन्दा पहिले नयाँ वर्ष मनाउने चलन कसले सुरु गर्यो होला ? विश्वमा नयाँ वर्ष मनाउने तरिका तथा शैलीहरू के को होलान ? भन्ने जिज्ञासा उठ्नु स्वभाविकै हो । वास्तवमा जनवरी १ मा नयाँ वर्ष मनाउने चलनको सुरुआत आजभन्दा २ हजार ६४ वर्ष पहिले भएको हो । रोमन सम्राट जुलियस सिजरले इशापूर्व ४५ मा एउटा नयाँ पात्रोको सुरुआत गरे । उक्त पात्रोलाई जुलियन क्यालेन्डर भनियो । त्यही बेला विश्वमा पहिलोपटक १ जनवरीलाई नयाँ वर्षको पहिलो दिनको रूपमा मानिएको थियो ।

तर अर्को रोचक कुरा के भने जुलियन क्यालेन्डरले इशापूर्व ४७१३ को जनवरी १ लाई आफ्नो पात्रोको पहिलो दिन मानेको थियो । यसअनुसार हालको अंग्रेजी नयाँ वर्षको सुरुआत ६ हजार ७३२ वर्ष पहिले भएको मानिन्छ । त्यस यता अहिलेसम्मै अंग्रेजी क्यालेन्डरमा नयाँ वर्षको रूपमा जनवरी १ लाई मानिँदै आएको छ । जुलियस सिजरले नै वर्षमा १२ महिना र ३६५ दिन हुने प्रचलन बसाले । जुलियन क्यालेन्डर झण्डै १६ सय वर्षसम्म प्रचलनमा रह्यो । त्यसपछि जुलियन क्यालेन्डरको ठाउँमा ग्रेगोरियन क्यालेन्डर प्रचलनमा आयो । जसलाई पोप ग्रेगरी प्रचलनमा ल्याए । यो क्यालेन्डर इस्वी सन्का रूपमा विश्वका सबैभन्दा धेरै देशमा प्रचलनमा छ ।

नेपालमा पनि व्यवहारतः इस्वी सन् प्रचलनमा छ । पहिलो कुरा त संयुक्त राष्ट्र संघको आधिकारिक क्यालेन्डर इस्वी सन् भएकोले नेपाल अछुतो रहन सक्ने अवस्था छैन । दोस्रो कुरा नेपालीहरू विश्वका धेरै देशमा छरिएका छन् । नेपालीहरू बसोबास गर्ने विश्वका अधिकांश देशमा जनवरी १ लाई नयाँ वर्षका रूपमा मनाइन्छ । यसैगरी हाम्रो देशको तीनैतिर खुला सिमाना रहेको तथा रोटीबेटीको सम्बन्ध भएको छिमेकी भारतमा पनि जनवरी १ लाई नयाँ वर्षका रूपमा मनाइन्छ । नेपालीहरूले पनि विगत केही वर्षदेखि जनवरी १ लाई अन्तर्राष्ट्रिय टोपी दिवसका रूपमा मनाउने गरेका छन् ।

नेपालका सन्दर्भमा भन्नुपर्दा बिदा हुँदै गरेको भएको सन् २०२४ अघिल्लो वर्षको तुलनामा कम उतारचढाव र धेरै हदसम्म सन्तोषप्रद रह्यो । विगतका जस्ता अकल्पनीय तथा दुःखदायी घटनाहरू खासै भएनन् । नेपालका लागि २०२४ खासै नराम्रो भएन । विगतमा कोराना महामारीका कारण अर्थतन्त्र थला परेकोले महँगीको मार निरन्तर बढ्यो, मुद्रास्फिती बढ्यो । जनताको आम्दानी बढ्न सकेन, क्रय शक्ति घट्यो । आर्थिक मन्दीले देश आक्रान्त भयो । विकास निर्माणका काम ठप्प भए । मुलुकको आम्दानीले कर्मचारीको तलब खुवाउन नसकिने अवस्था मुलुकको इतिहासमै पहिलोपटक देखा पर्यो ।

तर, रेमिट्यान्स र पर्यटक आगमनका वृद्धि भएका कारण आशाको दियो निभ्न पाएन । २०२४ नेपालको भौतिक पूर्वाधार विकासमा निकै निराशाजनक रहे पनि पर्यटकीय क्षेत्रमा भने आशालाग्दा संकेतहरू देखिएका छन् । त्यसो त सन् २०२४ मा विश्वमा धेरै नै उथलपुथलका घटना भए । रुस र युक्रेनबीचको युद्धले झन भयावह रूप लिँदै गयो । रुस र युक्रेनको लडाइँ रोक्न संयुक्त राष्ट्र संघको शान्ति प्रयास असफल भइरहँदा इज्राइल र प्यालिस्टाइनको हमासबीच सुरु भएको अर्को ठूलो युद्धले चरम रूप लियो । रुस र युक्रेन युद्धसँग नेपालको लेना देना छैन, तैपनि यो युद्धले नेपाल नराम्रोसँग प्रभावित भइरहेको छ ।

यसै गरी इजराइल र हमासबीचको युद्ध पनि नेपालका लागि सरोकारको विषय होइन, तर यो युद्धले नेपाल पनि नराम्रोसँग प्रभावित भएको छ । जमाना बदलिएको छ । विश्वमा करिब २०० देशहरू छन् । त्यसमध्ये करिव १८० वटा देशमा नेपालीहरू कार्यरत छन् । त्यसैले विश्वका हरेक कुना काप्चामा जे जस्ता घटना तथा दुर्घटना हुन्छन्, त्यसमा नेपाल अछुतो रहन सक्ने अवस्था छैन ।

हामी नेपालीहरू सरकारी कामकाजका रूपमा विक्रम सम्वत् मनाउँछौँ । धार्मिक संस्कार तथा संस्कृतिहरू नेपाल संवत्को क्यालेन्डरअनुसार मनाउँछौँ । तर हामी नेपालीका निम्ति इस्वी सम्वत पनि अनिवार्य भइसकेको छ । नेपालीहरू ९० प्रतिशतभन्दा बढी ओमकार परिवार भित्रका हुन् । करिब ८१ प्रतिशत नेपालीहरू वैदिक सनातन धर्म मान्छन् । वैदिक सनातन धर्मलाई भारतको देखासिखी गर्दै हिन्दू धर्म पनि भन्ने गरिएको छ ।

वास्तवमा हिन्दू धर्मसँग इसाइहरूको इस्वी सन्सँग गोरुबेचेको पनि साइनो हुनु नपर्ने हो । तर छिमेकी देश भारतले इस्वी सम्वत् अँगालेका कारण नेपालमा पनि यसको ठूलो प्रभाव छ । नेपालमा पनि व्यवहारतः इस्वी सन् प्रचलनमा छ । पहिलो कुरा त संयुक्त राष्ट्र संघको आधिकारिक क्यालेन्डर इस्वी सन् भएकोले नेपाल अछुतो रहन सक्ने अवस्था छैन । दोस्रो कुरा नेपालीहरू विश्वका धेरै देशमा छरिएका छन् । नेपालीहरू बसोबास गर्ने विश्वका अधिकांश देशमा जनवरी १ लाई नयाँ वर्षका रूपमा मनाइन्छ ।

यसैगरी हाम्रो देशको तीनैतिर खुला सिमाना रहेको तथा रोटीबेटीको सम्बन्ध भएको छिमेकी भारतमा पनि जनवरी १ लाई नयाँ वर्षका रूपमा मनाइन्छ । त्यसको प्रभाव नेपालमा पर्नु स्वभाविकै हो । इस्वी सम्वतको जनवरी १ तारिखलाई नयाँ वर्षका रूपमा मनाउने चलन नेपालमा सुरु भएको धेरै दशक पहिलेदेखि हो । तर पछिल्ला केही दशकदेखि नेपालीहरूले इस्वी सन्को नयाँ वर्षलाई आफ्नै देशको मौलिकतासँग जोडेर मनाउन थालेका छन् ।

नेपालीहरूको मौलिक पहिचान भनेको ढाकाको टोपी र चौबन्दी चोली हो । त्यसैले विश्वमा छरिएर रहेका नेपालीहरूले जनवरी १ लाई टोपी दिवसका रूपमा मनाउन थालेका छन् । टोपी पुरुषको पोसाक भएका कारण टोपी दिवस भन्नुभन्दा राष्ट्रिय पोसाक दिवस भन्ने कि ? भनेर तर्क पनि नगरिएका होइनन् । तर जनवरी १ टोपी दिवसका रूपमा प्रख्यात भइसकेको छ । अंग्रेजी क्यालेन्डरको नयाँ वर्ष जनवरी १ लाई अन्तर्राष्ट्रिय टोपी दिवसका रूपमा मनाउने प्रचलन कहिलेदेखि सुरु भयो ? कसले सुरु गर्यो ? भन्ने एकिन अभिलेख पाइँदैन । मिडियामा आएको समाचारलाई आधार मन्ने हो भने सन् २०१३ को जनवरी १ अर्थात २०७० साल पुस १७ गते बनेपाका युवाहरूले अन्तर्राष्ट्रिय टोपी दिवस मनाएको अभिलेख छ ।

प्रतिक्रिया