काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा प्रवेश

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्स काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै प्लेअफमा प्रवेश गरेको छ ।

बिहीबार काठमाडौंमाथि ५ विकेटको जितका साथ जनकपुर प्लेअफमा प्रवेश गर्ने पहिलो टोली बनेको हो । टस जितेर ब्याटिङ गर्दै काठमाडौंले दिएको १०२ रनको झिनो लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

जनकपुरका लागि हर्ष ठाकरले नट आउट रहेर सर्वाधिक २७ रन बनाए । उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । जिमी निशम २५ बलमा १ चौका र १ छक्काको सहित २५ रनमा आउट भए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९.३ ओभरमा अल आउट हुँदै १०१ रनको झिनो योगफल तयार गरेको थियो । काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ चौका प्रहार गरे । कप्तान करण केसीले १३ बलमा १९ रन बनाए ।

माइकल लेभिट ६ बलमा ८ रन बनाउँदै किशोर महतोको बलमा आउट भए । लेभिट मोहम्मद मोहसिनबाट समातिए । सातौँ ओभरमा ललितनारायण राजवंशीले दुई विकेट निकाले पछि जनकपुर खेलमा पुर्णतः हाबी भएको थियो ।

ललितले १७ रन बनाएका स्टेफन स्किनाजी र रनको खाता नै नखोलेका सुमित महर्जनलाई पेभिलियनको बाटो देखाएका थिए । शेर मल्लले २०औँ ओभरमा २ विकेट लिदै काठमाडौंलाई अल आउट गरे ।

जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले समान ३, मोहम्मद मोहसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए । बिहीबार नै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा १३ रनले हराएको थियो ।

प्रतिक्रिया