काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई दियो १०२ रनको झिनो लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको झिनो लक्ष्य दिएको छ । आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाजले खराब ब्याटिङ गर्दा झिनो योगफलमा समेटिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९.३ ओभरमा अल आउट हुँदै १०१ रनको झिनो योगफल तयार गर्यो । काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ चौका प्रहार गरे । कप्तान करण केसीले १३ बलमा १९ रन जोडे ।

माइकल लेभिट ६ बलमा ८ रन बनाउँदै किशोर महतोको बलमा आउट भए । लेभिट मोहम्मद मोहसिनबाट समातिए । सातौँ ओभरमा ललितनारायण राजवंशीले दुई विकेट निकालेपछि जनकपुर खेलमा हाबी भएको थियो । ललितले १७ रन बनाएका स्टेफन स्किनाजी र रनको खाता नै नखोलेका सुमित महर्जनलाई पेभिलियनको बाटो देखाएका थिए ।

शेर मल्लले २०औं ओभरमा २ विकेट लिदै काठमाडौंलाई अल आउट गरे । जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले समान ३, मोहम्मद मोहसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए । ५ खेलमा ४ जित र १ हारका साथ जनकपुर अंक तालिकाको दोस्रो स्थानमा छ ।

यो खेलमा पनि जित निकालेर लिग चरणको एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यमा जनकपुर रहेको छ । जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो । तर, पछिल्लो खेलमा सुदूरपश्चिम लायन्ससँग भने पराजित भएको थियो ।

४ खेलमा २ मा हार र २ मा जितका साथ काठमाडौं तालिकाको पाँचौ स्थानमा छ । यो खेलमा जित हात पार्दै काठमाडौं प्लेअफ सम्भावना बलियो बनाउँन चाहान्छ । आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा हराएको थियो । आजको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया