काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको १८औँ खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै ७२ रनले सहजै सुदूरपश्चिम रोयल्स विजयी भएको छ । जनकपुरको पाँचाैँ खेलमा यो हार यस लिगमध्यकै पहिलो हार हो । यसअघि जनकपुर बोल्ट्सले चार खेलमा लगातार जित हासील गरिरहेको थियो । सुदूरपश्चिम रोयल्स भने यस जितसँगै शीर्ष स्थानमा उक्लिएको छ ।
टस हारेर ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १२.१ ओभरमा अल आउट हुँदै ५१ रन मात्र जोड्न सक्यो । यो एनपिएलमा बनेको सबैभन्दा कम स्कोर हो । यसअघि पोखरा एभेन्जर्सले चितवन राइनोजविरुद्ध ७४ रनमा अल आउट भएको थियो ।
जनकपुरका लागि जोशुवा ट्रम्पले सर्वाधिक १३ रन जोडे । उनले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लाहिरु मिल्न्था ७ रन बनाउँदै आउट भए ।
ओपनर आसिफ शेख ४, कप्तान अनिल साह रनको खाता नखोल्दै र हर्ष ठाकर ५ रन बनाउँदै आउट भए । सुदुरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पान्डेले समान २ तथा स्कट कुगेलेन, नरेन साउद, सेफ अलि जेब र हर्मित सिंहले समान १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रनको सामान्य योगफल तयार गरेको थियो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन जोडेका थिए । तेस्रो विकेटका रुपमा आउट भएका विनोदले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै शेर मल्लको बलमा जोशुवा ट्रम्पबाट क्याच आउट भएका थिए ।
सेफ अलि जेबले २१ बलमा २ छक्काको सहयोगमा २१ रन बनाएका थिए । पहिलो विकेटका रुपमा सेफ आठौँ ओभरको चौथो बलमा आउट भए । सेफ हर्ष ठाकरको बलमा अरनिको यादवबाट क्याच भए । इशान पाण्डेले १४ बलमा १ चौका र १ छक्काको सहयोगमा १७ रन जोडे । इशान किशोर महतोको बलमा जिमी निशमबाट समातिए ।
१८औँ ओभरमा जनकपुरका तीव्र गतिका बलर किशोर महतोले ४ विकेट लिएपछि टोली पूर्णत खेलमा हाबी बनेको थियो । पावर प्लेमा सुदूरपश्चिमले कुनै विकेट नगुमाई ४२ रन जोडेको थियो । पछिल्लो १४ ओभरमा ८१ रन जोड्दै ९ विकेट गुमाएको थियो ।
दोस्रो विकेटका रुपमा यसै खेलबाट एनपिएल डेब्यु गरेका हर्मीत सिंह आउट भएका थिए । सिंहले ३ बलमा १ रन मात्र जोड्न सके । सिंहलाई शेर मल्लले बोल्ड आउट गरे । चौथो विकेटका रुपमा कप्तान दीपेन्द्रसिंह ऐरी रनको खाता नखोल्दै आउट भए । सुदूरपश्चिमको पाँचौं खेल जारी रहँदा कप्तान दीपेन्द्र पहिलो पटक रनको खाता नखोल्दै आउट भएका हुन् ।
दीपेन्द्रले विराटनगर किङ्सविरुद्ध नट आउट ५७, काठमाडौं गुर्खाजविरुद्ध ४३, लुम्बिनी लायन्सविरुद्ध नट आउट ३९ तथा चितवन राइनोजविरुद्ध १ रन बनाएका थिए । पाँचौं विकेटका रुपमा बे्रन्डन मक्मलेन ११ रन बनाउँदै आउट भए । १७ बलको सामना गरेका मक्मलेन अरनिकोको बलमा यसै खेलमा एनपिएल डेब्यु गरिरहेका जोशुवा ट्रम्पबाट समातिए ।
आरिफ शेख ६, स्कट कुगेलेन ७ नरेन साउद ३ रनमा आउट भए । अविनास बोहोरा २ तथा नरेश बुढाऐर ९ रनमा नट आउट रहे । जनकपुरका लागि किशोरले ४ तथा अरनिको यादव र शेरले समान २ तथा हर्ष ठाकरले १ विकेट लिए । पाँचौं खेलमा चौथो जित हात पार्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ ।
पराजित जनकपुर भने पाँचौ खेलमा पहिलो हारका साथ दोस्रो स्थानमा झरेको छ । जनकपुर हारका साथ २ खेल अगावै प्लेअफ पुग्न चुकेको छ । जनकपुरले बिहीबार काठमाडौंसँग खेल्ने छ । सुदूरपश्चिमले आइतवार दिउँसो पोखरा एभेन्जर्ससँग खेल्नेछ । आजै दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्ने छन् ।
प्रतिक्रिया