लुम्बिनी लायन्सले चितवन राइनोजलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत हुने १६औँ दिनको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ ।

मंगलबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल बनाएको हो । लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन जोडे । उनले ६८ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए । प्रतियोगितामा आफ्नो दोस्रो अर्धशतक रोहितले ४३ बलमा पूरा गरेका थिए । रोहित लिगमा दुई अर्धशतक पूरा गर्ने पहिलो नेपाली क्रिकेटर हुन् । रोहितले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ९५ रन बनाएका थिए ।

रोहित २६१ रनका साथ सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा छन् । पाँचौ विकेटका लागि कप्तान रोहितले साद विन जाफरसँग मिलेर ११४ रनको शतकीय साझेदारी गरे । यो प्रतियोगितामा पाँचौ विकेटका लागि भएको सर्वाधिक रनको साझेदारी हो । प्रतियोगिताका चौथो शतकीय साझेदारी हो ।

रिजन ढकालले दोस्रो ओभरमा नै २ विकेट लिएर चितवनलाई सुरुवात देखि नै हाबी बनेको थियो । तर,रोहित र जाफरको शतकीय साझेदारीले लुम्बिनी खेलमा फर्किएको थियो ।

जाफरले ३५ बलमा ५२ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे । १०औँ ओभरको अन्तिम बलमा साद विन जाफरले जीवनदान पाएका थिए । उनी कप्तान कुशलको बलमा सोहेल तन्भिरले सहज क्याच छोडेका थिए । जाफर त्यस समय पाँच रनमा रहेका थिए ।

अर्जुन साउद १२ बलमा १५ रन बनाउँदै आउट हुँदा सन्दीप जोरा ४ रनमा नट आउट रहे । रिजनले दोस्रो ओभरको पहिलो बलमा आशुतोष घिरैयालाई १ रनमा बोल्ड आउट गराएका थिए । तेस्रो बलमा उनले उन्मुक्त चन्दलाई शुन्य रनमा विकेटकिपर विपीन रावलको हातबाट क्याच गराएका थिए ।

आठौँ ओभरको पहिलो बलमा कप्तान कुशल मल्लको बलमा टम मुर्सले जीवनदान पाएका थिए । मुर्सलाई रिजन ढकाल र जान निकोल लफ्टी इटनबीचको दुविधाको कारण क्याच मिस भएको थियो । त्यही ओभरको चौथो बलमा छक्का प्रहार गरेका मुर्स लगत्तैको बलमा फेरी छक्काको प्रयास गर्दा बाउन्ड्रीमा लफ्टीबाट नै क्याच भए ।

चितवनका लागि रिजन ढकालले २ तथा रञ्जित कुमार र कतान कुशलले समान १ विकेट लिए । आज नै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच खेल हुँदै छ ।

प्रतिक्रिया