काठमाडौँ । १५ मंसिरमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारसम्म १५ वटा खेल सम्पन्न भएका छन् । आइतबारसम्मका खेलमा जनकपुर बोल्ट्स अंक तालिकाको पहिलो नम्बरमा छ भने लुम्बिनी लायन्स सबैभन्दा पुछारमा छ ।
आफूले खेलेका ४ वटै खेलमा जित निकाल्दै जनकपुर बोल्ट्सले ८ अंक जोडेको छ । जनकपुरको प्लेअफको यात्रा बलियो बनेको छ । उद्घाटन खेलमै जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्यो भने दोस्रो खेलमा कर्णाली याक्सलाई पनि ८ विकेटले नै हरायो । यस्तै, तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध १ रनको रोमाञ्चक जित निकालेको हो ।
यस्तै, सुदूरपश्चिम रोयल्स अंकतालिकाको दोस्रो स्थानमा छ । आफूले खेलेका ४ मध्ये ३ खेलमा जित निकाल्दै उसले ६ अंक जोडेको छ । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले हरायो भने दोस्रोमा काठमाडौँ गुर्खाजलाई ७३ रन तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले हरायो । चौथो खेलमा भने चितवन राइनोजसँग ३३ रनले हार्यो ।
यस्तै, अंक तालिकाको तेस्रो स्थानमा रहेको चितवन राइनोजले ४ खेल खल्दा ३ खेलमा जित निकालेको छ । एउटा खेल हारेको चितवनको पनि ६ अंक छ । यद्यपि, रनरेटका आधारमा चितवन सुदूरपश्चिमभन्दा पछि परेको हो । पहिलो खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हरायो भने दोस्रोमा पोखरा एभेन्जर्सलाई ८७ रनले हरायो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन चौथो खेलमा सुदूरपश्चिमलाई ३३ रनले हराउन सफल भयो ।
यस्तै, औसत प्रदर्शन गरेको कर्णाली याक्स ४ अंकसहित तालिकाको चौथो स्थानमा छ । ४ मध्ये २ खेलमा जित निकालेको कर्णाली याक्स २ खेलमा भने हार बेहोर्न बाध्य भयो । पहिलो खेलमा जनकपुरसँग ८ विकेटले र दोस्रो खेलमा काठमाडौँसँग ३ विकेटले हारेको कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई ७ रनले हराएको थियो ।
यस्तै, कमजोर प्रदर्शन गरेको पोखरा एभेन्जर्स २ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । ३ खेल खेलेकामा एउटामा मात्र जित निकालेको पोखरा २ खेलमा भने पराजित भयो । पहिलो खेलमा चितवनसँग ८७ रन र दोस्रोमा जनकपुरसँग ७ विकेटले हारेको पोखरा तेस्रो खेलमा भने लुम्बिनी लायन्सलाई १० विकेटले हराउन सफल भयो ।
यस्तै, काठमाडौँ गुर्खाज २ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । पहिलो खेलमा चितवनसँग ५ विकेटले हारेको काठमाडौँ दोस्रो खेलमा भने कर्णालीलाई ३ विकेटले हराउन सफल भयो भने तेस्रो खेलमा सुदूरपश्चिमसँग ७२ रनले हार्यो । यस्तै, ४ खेल खेलेको विराटनगर किंग्स जम्मा एउटा जित निकाल्दै अंक तालिकाको सातौँ स्थानमा छ । ४ मध्ये ३ खेलमा हार बेहोरेको विराटनगरले जम्मा २ अंक जोडेको छ । पहिलो खेलमा जनकपुरसँग ८ विकेटले र दोस्रोमा सुदूरपश्चिमसँग ९० रनले हारेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनीलाई २ विकेटले हराएको थियो । चौथो खेलमा कर्णालीसँग ७ रनले हारेको थियो ।
यस्तै, एनपिएलमा सबैभन्दा कमजोर सावित भएको लुम्बिनी लायन्स शून्य अंकसहित तालिकाको सबैभन्दा पुछारमा छ । आफूले खेलेका ४ वटै खेल हारेको लुम्बिनी पहिलो खेलमा विराटनगरसँग २ विकेटले, दोस्रोमा पोखरासँग १० विकेटले, तेस्रोमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथोमा जनकपुरसँग १ रनले पराजित भएको थियो ।
सोमबार कुनै पनि खेल नभएको एनपिएलअन्तर्गत आज मंगलबार २ खेल हुनेछन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।
प्रतिक्रिया