काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत हुने १६औँ दिनको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध चितवन राइनोजले टस जितेर पहिला बलिङ गर्दै छ । मंगलबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।
खेलेका सबै ४ मा पराजित लुम्बिनीले दबाबमा छ । आजको खेल पनि गुमाएमा लुम्बिनीको प्लेअफ सम्भावना निकै कमजोर हुनेछ । लुम्बिनी लायन्स यसअघि विराटनगर किङ्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग लगातार पराजित भएको थियो ।
चितवन भने ४ खेलमा ३ जित र १ हारका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । सुरुवाती दुई खेल जितेको चितवन तेस्रो खेलमा भने पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो । पछिल्लो खेलमा भने चितवनले प्रतियोगिताकै बलियो मानिएको टोली सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो ।
चितवनले आइतवार सुदूरपश्चिम रोयल्ससँग खेलेको टिममा २ परिवर्तन गरेको छ । चितवनले हसन इसाखिल र दिपक बोहारालाई बेन्चमा राख्दा ल्युक बेनकेनस्टन र नर बहादुर सार्कीलाई खेलमा मौका दिएको छ । नरको यो एनपिएल डेब्यु खेल हो ।
घाइते भएर एनपिएल गुमाएका कमलसिंह ऐरीको स्थानमा नरलाई टिममा राखिएको थियो । चितवन राइनोजको प्लेईङमा कप्तान कुशल मल्ल, रञ्जित कुमार, रवि बोपारा, जान निकोल लफ्टी इटन, ल्युक बेनकेनस्टन, रिजन ढकाल, विपिन रावल (विकेटकिपर), नरबहादुर सार्की, अमरसिंह राउटेला, सन्तोष कार्की र सोहेल तन्विर रहेका छन् ।
त्यसैगरी आइतबार जनकपुर बोल्ट्ससँग खेलेको लुम्बिनीको टिममा १ परिवर्तन भएको छ । लुम्बिनीका बेन कटिङको स्थानमा उन्मुक्त चन्दलाई मौका दिइएको छ । लुम्बिनी लायन्सको प्लेइङमा कप्तान रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, आशुतोष घिरैया, अविषेश गौतम, अर्जुन साउद, दुर्गेश गुप्ता, टम मुर्स, उन्मुक्त चन्द, साद वीन जाफर र रेमन सिमोन्डस रहेका छन् ।
प्रतिक्रिया