म रोमान्स देखाउने होइन, महसुस गर्ने व्यक्ति हुँ : राजेश हमाल

राजेश हमालसँग श्रीमती मधुकेन्द्रित कुराकानी

– जसको बच्चालाई हामीले आफ्नो बच्चा मानिरहेका थियौँ उनको आमाबुबा पनि त्यहिँ हुनुहुन्थ्यो । हामीले यो बच्चा लैजाउँ ? भन्दै जिस्काएका थियौँ । मधुलाई बच्चा मन पर्छ, त्यो भाव उनीमा देखिन्थ्यो ।

– वास्तविक जीवनमा हामी सँगै गएर सपिङ गर्ने कपडा छान्ने गर्दैनौँ । मेरो स्वभाव उनीसँगै गएर सपिङमा भुल्ने छैन । यो भिडियोमा चाहीँ सँगै गएका छौँ, सपिङ गरेका छौँ । मधुको चाहना पनि सायद यही भिडियोबाट पूरा भयो कि ।

नायक राजेश हमाल दम्पत्तिले अभिनय गरेका म्युजिक भिडियो कमै आउँछन् । अभिनेता हमालले विभिन्न नायिकाहरूसँग काम गरेको भिडियो आउनु नौलो भएन तर आफ्नै श्रीमती मधु भट्टराईसँग मोडलिङ गरेको भिडियो मुस्किलले आउँछन् ।

आजभन्दा ५ वर्षअघि गायक टंक बुढाथोकीले ‘जिन्दगी’ बोलको गीतमा राजेश हमाल दम्पत्तिलाई अभिनय गराएका थिए । तर, उक्त भिडियोको अन्तिम सिनमा मात्र मधुलाई देखाइएको थियो । अन्य धेरै सिनमा अभिनेता हमाल मात्रै देखिन्छन् । उक्त भिडियोलाई युट्युबमा राजेश हमाल र मधु भट्टराईको पहिलो म्युजिक भिडियो भनेर राखिएको छ । तर, दम्पत्तिले नै पूर्ण रूपमा अभिनय गरेको म्युजिक भिडियो आएको थिएन । यद्यपि विज्ञापनहरूमा भने देखिँदै आएका थिए । यसैबीच २ साताअघि मात्रै ‘जति तारा उदाए पनि’ बोलको गीतका हमाल र भट्टराईले अभिनय गरेका छन् । यो उनीहरू दुवै जनाले पूरा भिडियोभरी अभिनय गरेको यो पहिलो गीत हो । गीतमा सत्यराज आचार्यको स्वर, दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । निशाल पौडेलले खिचेको भिडियोलाई सारांश थपलियाले निर्देशन गरेका हुन् । यसै प्रसंगमा रहेर सौर्य दैनिकका लागि बाबुराम सिग्देलले गरेको कुराकानीका केही अंशः

यत्ति लामो समयपछि दम्पत्ति नै म्युजिक भिडियोमा अभिनय गर्ने अवसर कसरी जुर्यो ?

– मधुले अभिनय गर्न त्यत्ति मन पराउँदिनन्, यो गीतमा हामी दुवै जनाले काम गर्ने अवसर जुटेको मधुलाई त्यो गीत असाध्यै मन परेको कारणले नै हो । म्युजिक भिडियोका निर्देशक श्रमश थपलियाले सुरुमा हामी दुवै जनाले उक्त गीतमा अभिनय गर्नुपर्यो भन्नुभयो तर मधुलाई गीत मनपर्छ कि नाई भन्ने थियो । मधुले गीत असाध्यै मन पराएर राजी भएपछि यो अवसर जुरेको हो ।

मधुजीले नमानेको भए अन्य नायिका हुन्थे ?

– म त एक व्यावसायिक कलाकार हुँ । म त अभिनय गर्छु तर मधु अभिनय गर्ने मान्छे होइन । मुख्य कुरा भनेको उनलाई गीतको बोल र शब्द मन परेपछि, हुन्छ म गर्छु भनिन् । अर्को कुरा भिडियोको कन्सेप्ट पनि निकै मन पराइन् । त्यसपछि मोडलिङमा मधुको नाम नै तय भएको हो । मैले प्रोफेसनल तरिकाले सोच्छु, उनले सायद यो गीतलाई लिएर व्यक्तिगत तरिकाले सोचिन् । हाम्रो यो कुरामा सोच्ने तरिका फरक छ ।

भिडियोमा वास्तविक जीवनसँग मेल खाने सिनहरू कति छन् ?

– छन् नि, कतिपय कुराहरू त्यस्ता छन् । कतिपय कुरा मिल्दैनन् । जस्तो कि वास्तविक जीवनमा हामी सँगै गएर सपिङ गर्ने कपडा छान्ने गर्दैनौँ । मेरो स्वभाव उनीसँगै गएर सपिङमा भुल्ने छैन । तर, सपिङ जान्छु भनेपछि वातावरणचाहीँ मिलाइदिन्छु । यो भिडियोमा चाहीँ सँगै गएका छौँ, सपिङ गरेका छौँ । मधुको चाहना पनि सायद यही भिडियोबाट पूरा भयो कि ! यस्तै अन्य ठाउँमा घुम्न जाने सपनाहरू हुन सक्छ । त्यो यो भिडियोले पूरा गरेको होला ।

वास्तविक जीवनमा नगरेका तर यो भिडियोमा गरेका कुरा अरू के के छन् ?

– मलाई लाग्छ, मधुले मलाई कता कता प्रत्यक्ष रूपमा रोमान्स व्यक्त गरोस् भन्ने सोच्छिन् होला । म अलि प्राक्टिकल छु । तर पनि रोमान्स देखाएन भन्ने गुनासो छ जस्तो लाग्छ । अभिनयमा त फेरि म निकै रोमान्टिक छु । सायद मधुले त्यो चाहना यहि भिडियोबाट पूरा गरिन् कि ? हा… हा… हा… ।

तपाईं वास्तविक जीवनमा कत्तिको रोमान्टिक मान्छे हो ?

– म रोमान्टिक मान्छे हुँ तर देखाइहाल्ने खालको होइन, महसुस गर्ने व्यक्ति हुँ । महिलाहरूलाई देखाइदेओस् भन्ने हुन्छ होला । तर मेरो हकमा जन्मदिनमा पनि ‘मेरो प्यारी’ भन्दै सामाजिक सञ्जालमा लेखिहाल्ने व्यक्ति पनि होइन । मलाई रोमान्स देखाउनेभन्दा पनि महसुस गर्ने हो भन्ने लाग्छ ।

आफ्नै श्रीमतीसँगै अभिनय गर्दाका फरक के रहेछन् ?

– म त प्रोफेसनल कलाकार हुँ । क्यामेरा अगाडि भएपछि जुन भूमिकामा हुन्छ त्यो कुरालाई न्यायपूर्ण तरिकाले गर्नुपर्छ । मलाई त फरक पर्दैन । तर मधु प्रोफेसनल कलाकार होइनन् । त्यसैले थोरै फरक त हुन्छ । मधुले कतिपय कुराहरू व्यक्तिगत रूपमा लिएको हुन सक्छ । त्यसैले अन्यसँग अभिनय गर्दा र श्रीमतीसँग गर्दा फरकचाहीँ हुन्छ । आफ्नै मान्छे हो भनेपछि केही सहजताचाहीँ हुन्छ । केमेस्ट्री अझ राम्रो देखिन्छ ।

उदाहरणका लागि, तपाईंले नायिकालाई अंकमाल गरेको सिन छ, डाइरेक्टरले कट भने । त्यस्तो बेला मधुजी र अन्य कलाकार बीचको भिन्नता कस्तो हुन्छ ?

–म आफैँ व्यावसायिक कलाकार हुँ त भनेँ तर व्यावसायिक कलाकार भए पनि मधुसँग केही फरक त पर्छ । किनकी ऊ आफ्नै मान्छे हो नि । त्यसले गर्दाखेरी मधु र म निकट पक्ष हो तर आफ्नै मान्छेसँग जस्तो बाहिरका व्यक्तिसँग नहुन पनि सक्छ ।

रिलमा त बच्चा पाउनुभएको रहेछ, रियलमा अब कहिले ?

अँ, त्यो सिन पनि यादगार रह्यो । यो भिडियोमा मधु र मेरो १ बच्चा हुन्छ । जसको बच्चालाई हामीले आफ्नो बच्चा मानिरहेका थियौँ उनको आमा बुबा पनि त्यहि हुनुहुन्थ्यो, हामीले यो बच्चा हामी नै लैजाउँ भन्दै जिस्काएका थियौँ । मधुलाई बच्चा मन पर्छ, त्यो उनीमा देखिन्थ्यो । हाम्रो त अहिले प्लान बनाइसकेका छैनौँ ।

प्रतिक्रिया