बाढीले रसुवागढी नाकामा नेपाल–चीन दुवैतर्फबाट सम्पर्क टुट्यो

प्रधानमन्त्री केपी शर्मा ओली रसुवामा सोमबार राति आएको बाढी र पहिरोले क्षति पुर्याएपछि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै ।– तस्विर रासस

काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा मंगलबार बिहान आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी खोलाको पुल बगाउनुका साथै रसुवागढी नाकामा नेपालबाट जाने बाटो पनि नदीले बगाउँदा दुवैतर्फबाट सम्पर्क टुटेको छ ।

नेपाली कांग्रेसका नेता एवं सांसद मोहन आचार्यले रातभर बाढी प्रभावित क्षेत्र रसुवामा खटिएर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र ऊर्जामन्त्रीसँगै हेलिकप्टरमा रसुवागढी नाका पुगेका उनले त्यहाँको क्षतिका बारेमा जानकारी लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओेलीले खोज तथा उद्धारको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् संरचना तथा जलविद्युत् आयोजना मर्मत, पुनः स्थापना र सम्भावित थप जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तत्परताका साथ अगाडि बढाइने बताएका थिए ।

नेपाल–चीन सीमास्थित एक महिनाअघि खिचिएको मितेरी पुल । चीनको केरुङ क्षेत्रतर्फको अविरल वर्षाले आज बिहान आएको भीषण बाढीले मितेरी पुल बगाएको छ । पुल बगाउँदा चीन र नेपालबीचको सम्पर्क बन्द भएको छ ।– तस्विर रासस

रसुवाबाट प्रतिनिधिसभाको सांसदमा निर्विाचित भएका आचार्य गएराति रसुवागढी नाकामा बास बसी प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग घटनाका विषयमा जानकारी लिँदै आगामी योजनाका बारेमा छलफल गरेका थिए ।

बाढीपहिरोका कारण हाल गोसाइँकुण्ड गाउँपालिका–२ मा पर्ने रसुवागढी, टिमुरे, घट्टेखोला क्षेत्रमा विद्युत् अवरुद्ध हुनुका साथै टेलिफोन सेवाले समेत काम नगरेको सांसद आचार्यले बताउनुभयो । उहाँका अनुसार बाढीले नेपाल(चीन जोड्ने मितेरी पुल, रसुवागढी जलविद्युत् आयोजनाको बाँध, इन्टेक, ट्रान्सपोर्ट र भन्सारमा ल्याएर राखिएका गाडी बगाएका छन् ।

यस्तै, उक्त बाढीमा परेर नौ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन् । बाढीले रसुवागढी नाकाबाट स्याफ्रुबेसीसम्मको बाटोमा क्षति पुर्याएको छ भने सो स्थानमा आवतजावतसमेत बन्द भएको सांसद आचार्यले जानकारी दिए । नयाँ बाटो निर्माण गर्न नसकेसम्म आवतजावतमा समस्या हुने उनको भनाइ छ ।

प्रतिक्रिया