सूचना प्रविधिकै कुरा गर्ने हो भने २०४७ सालअघि बिजुली बत्तीसमेत थिएन । टेलिफोन थिएन, नेट इन्टरनेट थिएन । स्वदेशभित्र सूचना प्रविधिको पठनपाठन गराउने संस्था थिएनन् । अहिले देशभर यो सन्जाल पुगेको छ । अरू क्षेत्रमा कमजोरी पक्कै भएको छ, तर सूचना प्रविधिका पूर्वाधार विकासको सन्दर्भमा नेपालमा भएको प्रगति अन्य देशको तुलनामा निराशाजनक छैन ।
बाख्राको ठूलो बथान ल्यापटप बोकेर कीर्तिपुरको थुम्कोतर्फ उक्लिइरहेको काल्पनिक तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । यो तस्बिरको परिकल्पनाकार को हो ? भन्ने खुलेको छैन, तर सामाजिक सञ्जालमा भाइरल बनाउनेहरू भने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू हुन् भन्ने खुलेको छ । यो तस्बिरको परिकल्पना गरिनु र रास्वपाका कार्यकर्ताहरूले सामाजिक सञ्जालमा भाइरल बनाउनुको विशेष कारण छ ।
भरखरै सम्पन्न स्थानीय उपनिर्वाचनको प्रचारका क्रममा आयोजित सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उत्तेजक भाषण गरेका थिए । त्यो भाषणको एउटा सार थियो, ‘विदेश जत्तिकै पारिश्रमिक स्वदेशमा पाउन सक्ने अवस्था नबनेसम्म युवाहरू विदेश पलायन हुने क्रम रोकिनेवाला छैन, त्यसैले हाम्रा मेयर पदका उम्मेदवारले कीर्तिपुरकै डाँडोमा कम्पुटरमा बसेर महिनाका ४ लाख कमाउन सक्ने पूर्वाधार बनाउने कुरा घोषणापत्रमा उल्लेख गर्नुभएको छ ।’
यसैगरी करिब २ दशकअघि गगन थापाले व्यावसायिक बाख्रापालन सुरु गरेको र समाचार भाइरल बनेको थियो । तर, केही समय बित्दानबित्दै उनको बाख्रापालन व्यवसाय हरायो । सरकारी अनुदान ठग्नका लागि गगन थापाले बाख्रापालनको समाचार प्रवाह गरेको भन्दै एमालेका नेता केशव स्थापितले प्रश्न गर्न थाले, ‘बाख्रा खोई ?’ स्थापितले गरेको बाख्रा खोई ? भन्ने प्रश्न धेरैको थेगो बन्यो । गगन थापालाई मन नपराउनेहरूले यसलाई भाइरल बनाए । यता गगन थापाले बाख्रापालनका लागि सरकारी अनुदान लिएको कुरा त परै जाओस्, बैंकबाट ऋण लिएको प्रमाणित भएछ भने पनि झुण्डिन तयार छु भन्दै स्पष्टीकरण दिइरहे । तै पनि केशव स्थापितको यो आरोपले गगन थापाको पीछा छाडेन ।
जसरी गगन थापाका ससुरा अर्जुननरसिंह केसीका भाइहरूले लगाएको ‘जस्तापाता चोर’को आरोपले नुवाकोटका कांग्रेस नेता रमेश महतलाई छाडेको छैन, त्यसैगरी गगन थापालाई पनि बाख्रा खोई ? भन्ने प्रश्नले छाडेको छैन । यही प्रश्नका सन्दर्भमा केही महिनाअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेले संसद् बैठकबाट निस्कँदै गर्दा पत्रकारहरूसँग भनेका थिए, ‘जसरी गगन थापाजीलाई बाख्रापालनका नाममा भ्रष्टाचार गरेको आरोपले छाडेको छैन, त्यसरी नै मलाई सहकारी ठगी गरेको आरोपले नछाड्ने भयो, तर न उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छ, न ममाथि लागेको आरोपमा कुनै सत्यता छ ।’ तर यसको केही दिनपछि उनै रवि लामिछानेले बाख्रापालनको सन्दर्भ मात्रै होइन त्रिचन्द्र कलेजमा स्ववियु सभापति बन्दादेखि यताका करिब एक दर्जन प्रकरणमा मुछ्दै गगन थापालाई भ्रष्टाचारी करार गरेका थिए ।
यतिबेला भारइरल बनेको तस्बिर गगन थापाले २ दशकअघि गरेको बाख्रापालन तथा डेढ साताअघि गरेको कीर्तिपुरको भाषणसँग जोडेर परिकल्पना गरिएको हो । राजनीतिमा यस्ता घटना अनौठा होइनन् । नेपालमा मात्रै होइन लोकतन्त्र संस्थागत भइसकेका विकसित देशहरूमा समेत चुनावका क्रममा प्रतिस्पर्धी दल तथा नेताहरूबीच यस्ता आरोप प्रत्यारोप चलिरहन्छन् । जनमत आफूतिर आकर्षित गर्न प्रतिस्पर्धीलाई खुइल्याउने प्रयत्न गर्नु भनेको चुनावी राजनीतिको विशेषता नै हो । तर प्रतिस्पर्धीलाई खुइल्याउने नाममा लगाइएका आरोप प्रत्यारोपहरूमा के कति सत्यता छ ? भन्ने कुराको पारख गर्ने खुबी मतदातामा हुनै पर्छ । यदि मतदाताहरूले यो खुबी राखेनन् भने लोकतन्त्रको दुरुपयोग गर्नेहरू सत्तामा हावी हुने संभावना बढ्छ ।
गगन थापाको बाख्रापालन व्यवसाय
काठमाडौँ जिल्लाको फर्पिङ क्षेत्रमा व्यावसायिक बाख्रापालन गर्न थालेको समाचारले त्यतिबेला कांग्रेसका युवा नेता गगन थापा निकै लोकप्रिय भएका थिए । दोस्रो जनआन्दोलन सफल बनाउन खेलेको उल्लेखनीय भूमिकाका कारण गगन थापाको राप र तापले उचाइ लिइरहेको बेला उनी बाख्रापालन व्यवसायमा संलग्न भएको समाचार आएको थियो । त्यही क्रममा उनले सामाखुसीमा मासु पसलसमेत सञ्चालन गरेको समाचार आयो । मासु पसल उद्घाटनका क्रममा उनले भनेका थिए, ‘हरेक राजनीतिकर्मीको आफ्नै व्यवसाय हुनुपर्छ । राजनीतिकर्मीहरूले आफ्नो खर्च आफैँले धान्ने आम्दानी भएन भने राज्यकोषको दुरुपयोग बढ्ने संभावना रहन्छ । भ्रष्टाचार बढ्छ ।’
बाख्रापालन तथा मासु व्यवसायको समाचारले गगन थापालाई थप लोकप्रिय बनायो । उनलाई अन्य पार्टीका समर्थकहरूले पनि उदाहरणीय युवा नेताका रूपमा प्रस्तुत गर्न थाले । किनकी हाम्रो देशका अधिकांश राजनीतिकर्मीहरूको वैधानिक आम्दानीको स्रोत नगन्य छ । तर, जीवनयापन भने राजा महाराजाको जस्तै छ । यो रकम कहाँबाट आयो ? भन्ने प्रश्न उठाएर गगन थापा लोकप्रिय बनेका थिए । यस्तो प्रश्न उठाउने गगन थापा स्वयंले बाख्रापालन जस्तो देशका लागि उपयुक्त व्यवसाय सुरु गरेकोले प्रशंसा पाउनु स्वभाविकै थियो ।
गगन थापाले बाख्रापालन व्यवसायलाई १–२ वर्षभन्दा बढी टिकाउन सकेनन् । उनले सरकारी अनदान पचाउन तथा बैंकबाट ऋण लिनकै लागि बाख्रापालन व्यवसाय गरेको आरोप खेपिरहेका छन् । तर यो आरोपमा सत्यता छ भनेर अनुमान लगाउन सकिने संभावना छैन । किनकी तत्कालीन गृहमन्त्री रवि लामिछानेले टर्च लाइट बालेरै खोजेका हुन् । तत्कालीन गृहमन्त्री लामिछानेलाई सहकारी ठगको आरोप लगाउँदै ३ महिनासम्म संसद्को बैठक अवरुद्ध गर्ने प्रकरणको नेतृत्व गगन थापाले गरेका थिए । राजीनामाको माग गरेका थिए । यो ३ महिनाको अवधिसम्म तत्कालीन गृहमन्त्री लामिछाने पक्कै पनि कानमा तेल हालेर, आँखामा पट्टी बाँधेर, हातमा दही जमाएर बसेका थिएनन् । पक्कै पनि उनले गगन थापाको बाख्रापालनमा कहाँ कहाँबाट अनुदान आयो ? ऋण कहाँ कहाँबाट आयो ? भन्ने खोजीका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको हुनुपर्छ । तर प्रमाण भेटाउन सकेनन् ।
गगन थापाको बाख्रापालन व्यवसायले निरन्तरता पाउन सकेको भए राम्रो हुन्थ्यो । तर टिक्न सकेनन् । उनी टिक्न नसके पनि धेरैले प्रेरणा पाए । देशका थुप्रै युवाहरू व्यावसायिक बाख्रापालनमा संलग्न भए । २ दशकको यो अवधिमा बाख्रापालन व्यवसायले नेपालमा ठूलो फड्को मारेको छ । २ दशक अघिसम्म नेपालमा वार्षिक १५–२० अर्ब रुपैयाँको खसीबोका भारतबाट आयात हुन्थ्यो । तिब्बतबाट पनि त्यसरी नै भेडा च्याङ्ग्रा आयात हुन्थ्यो । तर, अहिले खसी–बोका तथा भेडा–च्याङ्ग्राको आयात करिब करिब ठप्प छ । आयातमा प्रतिबन्ध लगाउन सरकार सक्षम भएको छ । खसीको मासुको मूल्य ५ वर्ष अघिको भन्दा अहिले सस्तो छ । वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै बाख्रापालन व्यवसाय गर्न थालेका युवाहरूको संख्या निकै ठूलो छ । नेपालमा फस्टाउँदो बाख्रापालन व्यवसायको श्रेय गगन थापालाई दिन कन्जुस्याइँ गर्नु पर्दैन ।
कीर्तिपुरको भाषण
राजनीतिमा नआउँदासम्म रवि लामिछाने गगन थापाका सहयोगी थिए । गगन थापाको लोकप्रियतामा लामिछानेले गर्ने गरेको प्रशंसाले ठूलो मद्दत गरेको थियो । गगन थापाका लागि पनि मिडिया परिचालनमा एक्ला लामिछाने काफी थिए । जस्तापाताको प्रकरण लामिछानेले टेलिभिजनमार्फत के कति फुके भन्ने एकीन छैन, तर गगन र लामिछानेबीचको सम्बन्ध ‘ढुंगाको भर माटो, माटोको भर ढुंगा’ भने जस्तो थियो । लामिछाने स्वयं राजनीतिमा आएपछि यी २ एकअर्काका सहयोगीको सट्टा प्रतिस्पर्धी बने ।
गगन थापाले कीर्तिपुरमा गरेको त्यो चुनावी भाषणबाट रास्वपालाई औडाह हुनुको खास कारण लामिछानेमाथि छानविनका नाममा भइरहेको प्रहरी ज्यादती मात्रै होइन । गत आमनिर्वाचनका क्रममा लामिछानेको पार्टी रास्वपाले वैदेशिक रोजगारीमा गएका युवाहरूलाई स्वदेश फर्काउने कुरा घोषणापत्रमा लेखेको थियो । हरेक वर्ष कम्तीमा १०० जनालाई विदेशबाट फर्काएर स्वदेशमै रोजगारी दिने वाचा गरेको थियो । चुनावपछि रास्वपा सत्तारूढ भयो । आफ्नो वाचाअनुसार रास्वपाले प्रयास पनि गर्यो । तर सफल हुन सकेन ।
रास्वपाको यही असफलतालाई गगन थापाले कीर्तिपुरको भाषणमा लक्षित गरेका थिए । उनको भनाइ थियो, ‘विदेशमा भन्दा राम्रो कमाइ हुने अवशर सिर्जना गर्न नसकेसम्म उनीहरूलाई स्वदेश फर्काउन सकिन्न, त्यसैले विदेशमा भन्दा राम्रो कमाइ हुने संभावनाहरू नेपालमा के कति छन् ? भन्ने खोजी गर्नुपर्छ । मेरो विचारमा सूचना प्रविधि व्यवसाय नै यसका लागि सर्वोत्तम हो ।’
हुन पनि रास्वपाले वैदेशिक रोजगारीमा गएका युवाहरूकै लागि भनेर किटानी गरेरै जागिरका लागि केही पदहरूमा दरखास्त आह्वान गरेको थियो । तर आवेदन नै परेन । त्यसैगरी गगन थापा स्वास्थ्य मन्त्री हुँदा साविकको तलवभन्दा ३०० प्रतिशत बढी भत्ता हुने गरी दुर्गम क्षेत्रका अस्पतालका लागि डाक्टर मागियो । तर, आवश्यक कोटाको आधा पनि आवेदन परेन । महिनाको २ लाख रुपैयाँ तलव दिने सर्तका साथ डाक्टर माग्दा समेत आवदेन नपर्नुको कारण स्पष्ट छ । किनकी अमेरिकामा गएर भाडा माझ्नेले मासिक न्यूनतम ३ हजार डलर (४ लाख रुपैयाँ) पारिश्रमिक पाउँछ । ८ कक्षा पास गरेर अमेरिका जानेले मासिक ४ लाख रुपैयाँ न्यूनतम पारिश्रमिक पाउने अवस्था छ भने एमडी डाक्टरको नेपालमा तलब स्केल मासिक ५५ हजार रुपैयाँ छ ।
कि त पञ्चायतकालको जस्तै भारतबाहेक अन्य देशमा रोजगारीका लागि जान प्रतिबन्ध लगाउनुपर्यो, राजदरबारसँग पहुँच हुनेबाहेक अरूले पासपोर्ट नै नपाउने व्यवस्था गर्नुपर्यो, होइन भने युवाहरू वैदेशिक रोजगारीमा गए, देश रित्तियो भनेर रोइलो गर्न छाड्नुपर्यो । तर एउटा उपाय भने अझै छ । त्यो उपाय हो, ‘स्वदेश बसेर पनि विदेशको जत्तिकै कमाई गर्न सक्ने अवशरको सिर्जना ।’ यस्तो अवसरको सिर्जना आजको भोलि गर्न सकिन्न । यसका लागि दशकौँसम्म समय लगाएर पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ । त्यो पूर्वाधार भनेको सूचना प्रविधि नै हो ।
अहिले पनि हजारौँ नेपालीहरूले स्वदेशमै बसेर अमेरिकी कम्पनीमा काम गरिरहेका छन् । मासिक ४–५ लाख रुपैँया कमाई गरिरहेकै छन् । सूचना प्रविधिको विश्वव्यापी संजालले त्यो अवसर सिर्जना गराइदिएको छ । नेपालमा पनि कुनाकाप्चासम्म सूचना प्रविधिको पूर्वाधार पुगिसकेको छ । तर जनशक्तिको अभावमा त्यो पूर्वाधारको सदुपयोग हुन सकेको छैन ।
भाँडा माझ्नका लागि अमेरिका पुग्ने जनशक्ति तयार गर्नुको सट्टा नेपालमै बसेर अमेरिकामा रहेका कम्पनीहरूमा काम गर्न सक्ने जनशक्ति तयार गर्ने कुरा कीर्तिपुरका मेयरका उम्मेदवारले घोषणापत्रमा लेखेका रहेछन् । यसका लागि आफ्नो पालिका भित्रका सरकारी विद्यालयबाट नर्सरी कक्षादेखि नै कम्युटरको ज्ञान दिन थाल्ने कुरा उनले आफ्नो घोषणापत्रमा लेखेका रहेछन् । त्यही घोषणापत्रलाई गगन थापाले स्पष्ट पार्ने क्रममा सोझो भाषा प्रयोग गर्दै भने, ‘कीर्तिपुरकै डाँडामा बसेर मासिक ४ लाख रुपैयाँ कमाउन सकिन्छ ।’
सेटलाइटमार्फत बिजुली निर्यात गर्ने भाषण सुन्दा ताली लगाउने जनता भएको देश हो हाम्रो । ५०० किलोमिटर दुरीमा पर्ने हिमालपारीको शिगात्सेबाट ३ वर्षभित्र काठमाडौँमा रेल ल्याउने भाषण गर्दा ताली पिट्ने जनता भएको देश हो हाम्रो । यस्ता जनता भएको देशमा सूचना प्रविधिको रोजगारीबारे धेरैलाई ज्ञान नहुनु आश्चर्यको कुरा होइन । यदि यस्तो ज्ञान हुन्थ्यो भने सेटलाइटमार्फत बिजुली बेच्ने भाषण सुनेर ताली पड्कने थिएन, ३ वर्षभित्र सिगात्शेबाट काठमाडौँमा रेल ल्याउँछु भन्ने भाषण सुनेर कसैले ताली पिट्ने थिएन । प्रश्न गर्ने थिएन । तर प्रश्न गरे गगन थापाको यथार्थपरक भाषणमाथि ।
३० वर्ष के गर्यौ ?
गगन थापाले कीर्तिपुरको भाषणमा व्यक्त गरेका कुरा कत्ति पनि असंभव होइनन् । सूचना प्रविधिको क्षेत्रमा काम गर्ने हजारौँले मासिक डेढ–२ लाख रुपैयाँ घरमै बसेर कमाइ रहेका छन् । यो पहुँच आमयुवाहरूमा पुर्याउने घोषणा गर्नु कत्ति पनि अन्यथा होइन । गर्नै पर्ने काम हो यो । ढिला भइसकेको छ । त्यसैले असंभव छ भन्नुभन्दा पनि ३० वर्षसम्म के हेरेर बस्यौ ? भन्ने प्रश्न गर्नु सान्दर्भीक हुन्छ ।
गगन थापा विगत १८ वर्षदेखि लगातार देशको नीति निर्माण तहमा छन् । ४ वटा कार्यकाल सांसद भइसकेका नेता हुन् उनी । उनको पार्टी नेपाली कांग्रेस २०४७ सालदेखि केही अपवादबाहेक लगातार सत्तामा छ । त्यसैले २०४७ सालदेखि अहिलेसम्मको ३५ वर्षसम्म के हेरेर बस्यो नेपाली कांग्रेसले ? अब अढाइ वर्षभित्र कीर्तिपुरलाई आइटी हब बनाउँछ भनेर कसरी विश्वास गर्ने ? भन्ने प्रश्न गरिनु स्वभाविकै हो । तर, यो प्रश्न उठाउने अधिकार सबैले राख्दैनन् । जनवादी राज्य सत्ता स्थापना गर्ने भन्दै १० वर्ष हत्या हिंसाको राजनीति गरेर देशलाई तवाह बनाउने माओवादीलाई यो प्रश्न गर्ने अधिकार छैन । किनकी प्रजातन्त्रले काम गर्न नपाउँदै हत्या हिंसा मच्चाएर माओवादीले १० वर्षको समय खेर फाल्यो । यसैगरी २०७२ सालको भूकम्पले ध्वस्त बनाएका संरचना निर्माण गर्न ११ खर्ब रुपैयाँ खर्च भयो । त्यो ११ खर्ब रुपैयाँ भौतिक पूर्वाधार निर्माणमा खर्च गर्न सकेको भए यतिबेलासम्म देशले धेरै नै फड्को मारिसक्ने थियो । माओवादी हत्या हिंसाको चपेटामा मुलुक नपरेको भए पनि अहिलेसम्म धेरै थोक भइसक्ने थियो ।
नयाँ राजनीतिकदल भएकोले रास्वपाले यो प्रश्न गर्ने नैतिक अधिकार राख्छ । तर रास्वपामा आवद्ध हुने सबैले गगन थापालाई यो प्रश्न गर्ने नैतिक अधिकार राख्दैनन् । यो ३० वर्षको अवधिमा देश र जनताका लागि गगन थापाले के के गरे ? रवि लामिछानेले के के गरे ? भन्ने सूची बनाएर उत्तरका केस्रा केस्रा केलाउन सक्ने क्षमता भएका नागरिक पनि देशमा उल्लेख्य छ । त्यसैले ३० वर्षसम्म के गर्यौ ? भन्ने प्रश्न सोध्ने नैतिक अधिकार अरूलाई होला तर रवि लामिछानेका कार्यकर्तालाई छैन । सामान्य नागरिकको कर्तव्यसमेत निर्वाह नगरी जो विदेश पलायन भएको छ, स्वदेशको नागरिकता त्यागेको छ त्यस्तो व्यक्ति तथा उसका समर्थकहरूले जनअधिकार बहालीका लागि सर्वस्व गुमाएको आफ्नै उमेरको नेतालाई के गर्यौ ? भन्ने प्रश्न सोध्ने नैतिक अधिकार राख्दैनन् ।
यसका बाबजुद २०४७ साल यता देशमा केही पनि भएन भन्नु पूर्वाग्रह हो । भौतिक पूर्वाधारहरू प्रायःजसो निर्माण भइसकेका छन् । सूचना प्रविधिकै कुरा गर्ने हो भने २०४७ सालअघि बिजुली बत्तीसमेत थिएन । टेलिफोन थिएन, नेट इन्टरनेट थिएन । स्वदेशभित्र सूचना प्रविधिको पठनपाठन गराउने संस्था थिएनन् । अहिले देशभर यो सन्जाल पुगेको छ । अरू क्षेत्रमा कमजोरी पक्कै भएको छ, तर सूचना प्रविधिका पूर्वाधार विकासको सन्दर्भमा नेपालमा भएको प्रगति अन्य देशको तुलनामा निराशाजनक छैन ।
प्रतिक्रिया