भौतिकवादी दर्शनले पदार्थलाई सृष्टिको आदितत्व तथा चेतनालाई पदार्थको विशिष्ट गुण मान्ने र संसारलाई बुझ्न, विश्लेषण गर्न र बदल्न सकिन्छ भन्ने ठान्दछ । भौतिकवादी दर्शनले पदार्थलाई निर्णायक मान्दछ, जीवन र जगतलाई बुझ्न सकिने र त्यसका लागि वैज्ञानिक अनुसन्धान गर्नुपर्ने मान्यतामा विश्वास राख्छ । यसले सम्पूर्ण भौतिक वस्तुहरू गतिशील रहेका हुन्छन् भन्ने यथार्थ बोध गराउँछ ।
नेपाली कम्युनिस्ट आन्दोलनका शिखर पुरुष पुष्पलालको जन्म शतवार्षिकी सन्दर्भमा दर्शनका क्षेत्रमा उहाँले ध्यान दिएका महत्वपूर्ण कुराहरू हेर्दा उहाँले ग्रहण गरेको दर्शनमा निम्न महत्वपूर्ण तथ्य र निष्कर्ष रहेको हामी पाउँछौँ । संसार अर्थात जीवन र जगतलाई हेर्ने, बुझ्ने, र व्याख्या गर्ने तथा फेर्ने दृष्टिकोण नै दर्शन हो । यसलाई प्रकृति र मानव समाजलाई हेर्ने सुक्ष्म आँखा पनि भनिन्छ । यसले हरेक बस्तु र घटनाहरूलाई हेर्ने, जाँच्ने, बुझ्ने र त्यस अनुरूप आफ्नो धारणा बनाउने र जीवन व्यवहारलाई निर्धारण गर्ने गर्दछ । दर्शनलाई कार्ल माक्र्सले हरेक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्व र संस्कृतिको जीवन्त आत्मा हो भनेका छन् । तर यसलाई रूढ रूपमा बुझिनु हुन्न यो गत्यात्मक हुन्छ र दर्शनले संसारको व्याख्या मात्र गर्ने होइन यसले संसारलाई बदल्ने बाटो देखाउँछ भनेका छन् । दार्शनिकहरूले अहिलेसम्म संसार यस्तो छ उस्तो छ भनेर व्याख्या मात्र गरे तर दर्शनको मूख्य काम त यो संसारलाई बदल्नु हो भनेर दर्शनको प्रयोजनीयतको दिग्दर्शन काल माक्र्सले गराए ।
इतिहास हेर्दा अहिलेसम्म यो ग्रिक भाषाको प्रेम र विवेक अर्थात फिलो र सोफियाबाट अग्रेजीमा फिलोसफी भनेर दर्शन शब्दको बनेको देखिन्छ । दर्शनको विकास २ हजार ५ सयदेखि ३ हजार वर्षअघि युनानबाट भएको मानिएको छ । यसको प्रथम प्रयोगकर्ता गणितशास्त्री पाइथागोरस मानिन्छन् ।
आदर्शवादी दर्शनको जन्मदाता प्लेटो हुन् । त्यसरी नै थेल्स प्रथम प्रकृतिवादी युनानी दार्शनिक थिए । यसअन्तर्गत हेराक्लिट्स, पाइथागोरस र डेमोक्रेट्स लगायतका दार्शनिकहरू पर्दछन् । हेगेल आध्यात्मवादमा आधारित द्वन्द्ववादी दार्शनिक थिए भने फायरवाख अधिभूतवादी भौतिकवादी दार्शनिक थिए ।
माक्र्सभन्दाअघि थोमस मेन्जर, थोमस मोर, सेन्ट साइमन, चाल्र्स फुरियर, रोवर्ट ओवेन लगायतका काल्पनिक समाजवादी र मानवतावादी दार्शनिकहरू देखापरेका थिए । पछिल्ला प्रसिद्ध जर्मन शास्त्रीय दार्शनिक हेगेल र फायरवाखको एकलकाटे द्वन्द्ववाद र भौतिकवादलाई जोडेर या मिलाएर कार्ल माक्र्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको आविष्कार गरे । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन सर्वहारा वर्गीय दर्शन हो ।
दर्शनको क्षेत्र जीवन र जगतको अन्तरसम्बन्ध, पदार्थ र चेतनाको अन्तरसम्बन्ध, प्रकृति र समाजलाई सञ्चालन गर्ने चालक नियमहरूको अध्ययन नै दर्शनको क्षेत्र हो । प्रकृति र मानव समाज एवं चिन्तनका अधिशासित नियमहरू, पदार्थ र चेतना बीचको अन्तरसम्बन्धका क्षेत्रहरू र सत्य वा यथार्थ वास्तविकताको ज्ञान एवं जीवन र जगतको विकास वा परिवर्तनका नियमहरूको समग्र पक्ष नै दर्शनको क्षेत्रभित्र पर्दछ ।
मानिसलाई साँचो कुरा बुझ्न, सही दृष्टिकोण वा धारणा निर्माण गर्न, मानव समाज रूपान्तरणको लागि मार्गदर्शन गर्न, चिन्तनका आमनियमहरू लागू गर्न, पदार्थ र चेतनाको अन्तरसम्बन्धको अध्ययन गर्न र समाजको वास्तविकता बोध गर्न दर्शनको महत्वपूर्ण भूमिका हुन्छ । सर्वहारा वर्गीय दर्शनले संसारलाई बुझ्न, व्याख्या गर्न र बदल्न सम्भव तुल्याउँछ ।
चिन्तन र सत्ताको सम्बन्धको प्रश्न दर्शनशास्त्रको मौलिक प्रश्न हो । पदार्थ र चेतनामध्ये कुन प्राथमिक हो भन्ने बहस नै दर्शनको मूख्य प्रश्न हो । जीवन र जगत बोधगम्य छ कि छैन भन्ने प्रश्न दर्शनको दोस्रो महत्वपूर्ण प्रश्न हो । आदर्शवादले विश्व अज्ञेय भएको निष्कर्ष निकाल्छ भने भौतिकवादले विश्व बोधगम्य भएको निष्कर्ष निकाल्छ । यसरी पदार्थ र चेतनाको प्राथमिकतामा रहेको बहस र जगतको बोधगम्यताबारे विवाद नै अहिलेसम्मको दर्शनकामूल प्रश्न बनेर रहेका छन् ।
दार्शनिक सिद्धान्तहरू २ खालका छन् । आदर्शवादी र भौतिकवादी । यी २ सिद्धान्तका बीचमा हुने बहसले नै दर्शन र मानव समाजलाई २ वर्गमा वर्गीकृत गर्छ । आजसम्मको मानव समाजको सम्पूर्ण इतिहास २ वर्ग दृष्टिकोण बीचकै बहस र संघर्षको उपज हो । यो संघर्षमा आदर्शवादी वा आध्यात्मवादी दर्शनले विश्व व्रम्हाण्ड ईश्वर, परमात्मा वा अदृश्य शक्तिबाट पैदा भएको, चेतना वा आत्मालाई सृष्टिको आदितत्व तथा पदार्थको अस्तित्व निर्धारक स्वीकार गर्ने साथै संसारलाई बुझ्न नसकिने र अपरम्पार ठान्ने गर्छ । यसले जीवन र जगतलाई अलौकिक शक्तिको उपज र अपरिवर्तनशील एवं अज्ञेय मान्छ ।
भौतिकवादी दर्शनले पदार्थलाई सृष्टिको आदितत्व तथा चेतनालाई पदार्थको विशिष्ट गुण मान्ने र संसारलाई बुझ्न, विश्लेषण गर्न र बदल्न सकिन्छ भन्ने ठान्दछ । भौतिकवादी दर्शनले पदार्थलाई निर्णायक मान्दछ, जीवन र जगतलाई बुझ्न सकिने र त्यसका लागि वैज्ञानिक अनुसन्धान गर्नुपर्ने मान्यतामा विश्वास राख्छ । यसले सम्पूर्ण भौतिक वस्तुहरू गतिशील रहेका हुन्छन् भन्ने यथार्थ बोध गराउँछ ।
वास्तवमा यी २ दर्शनका बीच ठूलो अन्तर छ । आदर्शवादले चेतना पहिलो वा प्राथमिक, चेतनाले स्वयं अस्तित्व निर्धारण गर्ने मान्यता राख्छ । यसले संसारलाई जान्न नसकिने अज्ञेय ठान्दछ । ईश्वरलाई सर्वशक्तिमान, निराकार, नित्य, अविनाशी र सर्वव्यापी भएको मान्छ । आदर्शवादका दृष्टिमा ज्ञान ईश्वरबाट प्राप्त हुन्छ । यस प्रकार आदर्शवादले मानव संसार ईश्वरको रचना हो, आत्मा अमर रहन्छ, जीवनको पूर्वजन्म र पुनर्जन्म हुन्छ, धर्मशास्त्रमा लेखिएका कुराहरू सत्य हुन् भन्ने ठान्छ । यसरी यो दर्शन यथास्थितिवादी विचार र प्रतिक्रियावादी वर्गको वर्गहितको रक्षा गर्ने दर्शन बन्छ ।
भौतिकवादी दर्शनले आध्यात्मवादी दर्शनको ठीक विपरीत पदार्थ पहिलो वा प्राथमिक हो र पदार्थबाटै चेतनाको निर्माण वा विकास हुने मान्यता राख्छ । भौतिकवादी दर्शनका दृष्टिमा संसार बोधगम्य वा ज्ञेय छ, ईश्वर कल्पना हो, अलौकिक र अदृश्य शक्ति छैन, ज्ञानको श्रोत व्यवहार हो, समाज वस्तुगत जगतको विकासको परिणाम हो भन्ने मान्यता प्रष्टसँग दर्शाउँदछ । यसले विज्ञानमा विश्वास गर्दछ, पूर्वजन्म र पुनर्जन्म हुँदैन, ईश्वर, धर्मजस्ता मान्यता शोषणमा आधारित शासक वर्गले आफ्नो हितको रक्षार्थ खडा गरेका हतियार मान्दछ । भौतिकवाद सर्वहारा वर्गको दर्शन हो ।
दर्शन कहाँबाट जन्मिन्छ ? माओत्सेतुङका अनुसार दर्शन सामाजिक व्यवहारबाट जन्मिन्छ । मानिसले जीवनयापनका क्रममा प्रकृतिसँग संघर्ष गर्दछ, मानव जीवनमा उत्पादनका निम्ति गरिने संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगका क्रममा नै ज्ञानको विकास हुन्छ । ज्ञानको आधुनिक र उच्चतम रूप नै दर्शन हो । हाम्रा सम्पूर्ण आर्थिक सामाजिक गतिविधिहरूको संश्लेषण नै दर्शन हो ।
माओत्सेतुङले दर्शन अघाएकाहरूबाट होइन, भोकाहरूबाट जन्मिन्छ पनि भनेका छन् । अघाएकाहरूसँग संघर्षको भोक जाग्दैन, तृप्तिले ज्ञानको ढोका बन्द गरिदिन्छ । तसर्थ, मानिस जीवन संघर्षका क्रममा गर्ने सामाजिक व्यवहारबाट नै दर्शनको विकास हुन्छ । माओले थप्दै भनेका छन्, ‘दर्शन दरबार र महलहरूबाट होइन, झुपडीहरूबाट जन्मिन्छ । श्रमिक–किसान नै त्यस्तो वर्ग हो, जसले आधुनिक समाजको सिर्जना गर्दछ, त्यस क्रममा प्राप्त हुने व्यावहारिक ज्ञानको संश्लेषण नै दर्शन हो ।
यसरी यी २ आध्यात्मवादी र भौतिकवादी दर्शनका बीचको प्रष्ट भिन्नता र मर्म बुझ्नु भएका कामरेड पुष्पलालले द्वन्द्वात्मक भौतिकवादी दर्शनको अबलम्बन गर्नुभयो र त्यसै अनुरूप जीवन र जगतको अध्ययन गर्दै नेपाली समाजको व्याख्या र विश्लेषण गर्न पनि यो दर्शनलाई आधार बनाउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभन्दा पहिला विश्व प्रसिद्ध ‘कम्युनिस्ट घोषणापत्र’को नेपालीमा अनुवाद गर्दै गर्दा त्यसको पृष्ठभूमि या भूमिका लेख्दा होस् यो ‘नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र’ लेख्दा होस् या नेपाली जनआन्दोलनको समीक्षा गर्दै ‘नेपाली जनआन्दोलन ः एक समीक्षा’ लेख्दा या ‘नेपालमा मातृसत्तात्मक समाज’ नामको सानो पुस्तिका लेख्दा होस् या ‘नेपालको सर्वेक्षण’ बारे लेख्दा या ‘समाजशास्त्रीय फुटकर शब्दहरूको व्याख्या’ गर्दा होस् उहाँले यही द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई आधार बनाएको प्रष्ट देख्न सकिन्छ । अनि ‘नयाँ जनवादी सांस्कृतिक संघको घोषणापत्र या अखिल नेपाल किसान संघको घोषणपत्र’ लेख्दा वा प्रगतिशील बुद्धिजीवीको कर्तव्यसम्बन्धी लेख या बुद्धिजीवी सम्मेलनलाई सम्बोधन गर्दा होस् द्वन्द्वात्मक भौतिवादलाई नै उहाँले अनुशीलन गर्नुभएको छ । यसरी उहाँ नेपालमा पहिलो द्वन्द्वात्मक भौतिकवादी दर्शनको व्याख्याता तथा अग्रज अनुशीलनकर्ताको रूपमा खडा हुनुभएको प्रष्ट छ ।
माक्र्सवादी दर्शन, चिन्तन र चरित्रलाई अनुग्रहण गर्ने तथा त्यसबाट अनुप्राणित हुँदै त्यसलाई अनुशीलन गर्ने कमरेड पुष्पलालको प्रगतिशील राजनीतिक यात्रा प्रगतिशील दर्शन र प्रगतिवादी चिन्तनधाराको दिशामा अग्रसर छ । यसरी उहाँको दृष्टिकोण स्वभावतः द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आधारित हुन पुग्छ । त्यसै आधारमा उहाँले समाज र प्रकृतिलाई तिनको निरन्तर गत्यात्मकता र परिवर्तनलाई हेर्ने, केलाउने र सही संश्लेषणमा पुग्ने गर्नुहुन्थ्यो । उहाँले जीवन र जगतलाई हेर्ने दृष्टिकोण प्रगतिवादी, अग्रगामी र परिवर्तनमुखी दर्शनमा आधारित थियो र हो ।
प्रतिक्रिया