काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको छ ।
दुबईको शारजाह क्रिकेट मैदानमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ३५.४ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनायो । एक सय २४ रनको लक्ष्य नेपालले ४१ दशमलव तीन ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो ।
नेपालका लागि नरेन साउदले सर्वाधिक २६, कप्तान हेमन्त धामीले २२, अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठी र रोशन विश्वकर्माले समान ९–९ तथा सन्तोष यादवले सात रन बनाए ।
नेपालले १२ अतिरिक्त रन प्राप्त गर्यो । बलिङतर्फ अफगानिस्तानका एएम गजानफर र खातिर स्टानिकजाईले तीन–तीन तथा अब्दुल अजिज र महबूब खानले एक–एक विकेट लिए ।
यसअघि अफगानिस्तानका लागि १२३ रन बनाउने क्रममा फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा चार चौका र दुई छक्का प्रहार गरे । खातीर खानले २६ बलमा १५ रन जोडे । अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन बनाए ।
बलिङतर्फ नेपालका लागि युनिशविक्रम सिंह ठकुरी र सन्तोष यादवले तीन–तीन तथा हेमन्त धामी र अभिषेक तिवारीले दुई–दुई विकेट लिए ।
यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान यसअघि पहिलो खेलमा बंगलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग १३१ रनले पराजित भएको थियो । दुवै टोली एसिया कपबाट बाहिरिएका छन् ।
प्रतिक्रिया