चितवन राइनोजले पोखरा एभेञ्जर्सलाई दियो १६२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेञ्जर्सलाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ । मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारीत २० ओभरमा ७ विकेट गुमउँदै १६१ रनको योगफल तयार गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्सका कप्तान कुशल भुर्तेलले टस जित्दै चितवन राइनोजलाई ब्याटिङको निम्तो दिएका थिए । जारी प्रतियोगितामा पोखरा एभेञ्जर्सको यो पहिलो खेल हो ।

चितवन एक समय ५.२ ओभरमा ३–४६ को अवस्थामा थियो । चौथो विकेटका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले ६८ रनको साझेदारी गरे । रवि ५१ रन बनाउँदै क्याच आउट भए । ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका रवि रेमोन रेइफरको बलमा क्याच आउट हुन पुगे ।

कप्तान मल्ल ३८ रन बनाउँदा सागर ढकालको बलमा विकेट किपर कुशल भुर्तेलको हातबाट आउट भए । मल्लले २३ बलमा १ चौका र ४ छक्का प्रहार गरे । लुक वेनकेन्स्टाइन १६ रन बनाउँदा बास डे लिडको बलमा आउट भए । ओपनर दिपक बोहोरा २ रन बनाउँदा विपिन खत्रीको बलमा बोल्ड आउट भए ।

अर्का ओपनर हसन इसाखिल १४ रन बनाउँदा विपिन कै बलमा क्याच आउट भए । सोहेल तनविर गोल्डेन डकआउट भए । सन्तोष कार्की १० रन थप्दै आउट भए । पोखराका लागि विपिन खत्री, बास डे लिड र रेमोन रेइफरले समान दुई विकेट लिए । सागर ढकालले एक विकेट लिए ।

सोमबार काठमाडौं गोर्खाजलाई पाँच विकेटले पराजित गरेको चितवन राइनोज आज दोस्रो जितको खोजीमा छ । आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई ९० रन पराजित गरेको छ ।

प्रतिक्रिया