त्रेतायुगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताबीच भएको वैवाहिक महोत्सवको स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी पर्व मनाउने गरिन्छ । यसवर्ष १६ मंसिरदेखि सुरु भएको विवाहपञ्चमी २२ मंसिरसम्म सञ्चालन हुनेछ । त्रेता युगको झल्को दिने विवाहपञ्चमी महोत्सवको रौनक यतिखेर नेपाल र भारतका सम्पूर्ण मिथिला क्षेत्रमा देखिएको छ । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन नेपाल तथा छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट हजारौँ साधुसन्त तथा दर्शनार्थी जनकपुरधाम आउने क्रम जारी छ । आएका दर्शनार्थी बाह्रबिघा मैदान, जानकी मन्दिरको प्रांगण, सडकपेटी, विभिन्न मठमन्दिर, कुटी तथा संघसंस्थामा बास बसेका छन् ।
त्रेतायुगमा अयोध्याका राजा दशरथपुत्र भगवान् श्री राम र जनकपुरका राजा जनकपुत्री माता सीताको विवाह यही जनकपुरमा भएको दिनलाई सम्झँदै प्रत्येक वर्ष अयोध्याबाट जनकपुर जन्ती आउने र विवाह महोत्सव सम्पन्न गर्ने चलन रहँदै आएको छ । यस अवसरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि अयोध्यासहित भारतका प्रसिद्ध तथा प्रख्यात मठमन्दिरका महन्त, जोगी सन्न्यासी, हजारौँ साधु, सन्त, महात्माको उपस्थिति जनकपुरधाममा भइसकेको छ भने कतिपय आउने क्रम जारी छ । सयौँ रथ, बाजागाजा, नाचसहित जन्ती आउने चलन छ । सोहीअनुरूप विगत केही दिनदेखि अयोध्याबाट हजारौँ जन्ती तथा दर्शनार्थी जनकपुर आउने क्रम जारी छ । प्रत्येक वर्ष महोत्तरीको मटिहानी हुँदै जन्ती, लावालस्करसहित जनकपुर आउने गर्छन् भने मटिहानीस्थित लक्ष्मीनारायण मठमा पनि विशेष पूजाअर्जना गर्ने चलन छ ।
मार्गशीर्ष शुक्ल पञ्चमीमा जनकपुरधाममा मनाइने विवाहपञ्चमी महामहोत्सवलाई यो वर्ष प्रदेश सरकारले भव्य रूपमा मनाउने भएको छ । मंसिर १७ गते भारतको अयोध्याबाट आउने जन्तीलाई महोत्तरीको मटिहानी आइपुगेपछि मटिहानी नगरपालिकाले स्वागत गर्ने र मंसिर १८ गते मटिहानीबाट हिँड्ने जन्तीलाई महोत्तरीकै जलेश्वर नगरपालिकाले स्वागत गर्ने कार्यक्रम छ । सोही दिन साँझ जनकपुरधाम आइपुग्ने जन्ती बाह्रबिघा रंगभूमि मैदानमा आयोजना गरिने धनुष यज्ञमा सहभागी हुनेछ । त्यसैगरी मंसिर २१ गते जानकी मन्दिरको प्रांगणमा रातमा मैथिली परम्परानुसार भगवान राम र माता सीताको प्रतीकात्मक विवाह उत्सवको कार्यक्रम हुन्छ ।
१६ मंसिरमा नगर दर्शनबाट सुरु विवाहपञ्चमी महोत्सवअन्तर्गत १७ गते फूलबारी लीला, १८ गते धनुष यज्ञ, १९ गते तीलकोत्सव, २० गते मटकोर तथा २१ गते विवाह उत्सव र २२ गते रामकलेवाका कार्यक्रम रहेका छन् । जनकपुरधामस्थित जानकी मन्दिरलाई मिथिला दरबारका रूपमा लिइन्छ भने राम मन्दिरलाई अयोध्या दरबारका रूपमा लिइन्छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले छोरीको बिहेको आयोजन गरिरहेको जस्तै अनुभव हुन्छ । उनले बिहेमा माता सीताको पिता राजा जनकको भूमिका निर्वाह गर्छन् । रामजानकी विवाह महोत्सवका लागि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ अगाडि रहेको लक्ष्मी सागरबाट विवाहको वेदीको माटो खन्ने चलन रहेको छ ।
महोत्तरी, धनुषालगायत मिथिला क्षेत्रमा विवाहपञ्चमी उत्सव भएपछि मात्रै स्थानीयले आफ्ना छोराछोरीको विवाह गर्ने परम्परा रहेकाले पनि यो उत्सव सबैले धुमधामसँग मनाउने गर्छन् । विवाहपञ्चमीका अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा लाखौँ भक्तजनले उत्सवमा सहभागिता जनाउने गर्छन् । विवाहपञ्चमीमा मिथिलाको लोप हुन लागेको कला संंस्कृतिहरूको झझल्को दिने जस्ता सांस्कृतिक कार्यक्रमहरूमा हेर्न पाइन्छ । यसमा बालबालिकाहरूलाई, राम, सीता, लक्ष्मण बनाई नाटक प्रदर्शन, झाँकी, नाचागान, भजनकीर्तन र भगवान्का रूपमा पूजाआजासमेत गरिन्छ । यसले श्रद्धालुलाई निकै उत्साहित बनाउने गर्छन् । बाहिरबाट आएका श्रद्धालु भक्तजनका लागि विभिन्न संघसंस्था तथा स्थानीय क्लबले निःशुल्क आवास, भोजन, उपचार र माइकिङको ठाउँठाउँमा आयोजना गरेको छ ।
नगर दर्शन
त्रेता युगमा अयोध्या नरेश दशरथपुत्र मर्यादा पुरुषोत्तम भगवान राम र मिथिलाका शिरध्वज राजर्षि जनकपुत्री माता जानकीको विवाह भएको स्मरणमा साताव्यापी रूपमा मनाइने विवाहपञ्चमीको पहिलो दिन १६ मंसिरमा नगर दर्शन विधि गरिन्छ । जसमा राम लक्ष्मणको प्रतीकस्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाम नगरदर्शन गराइन्छ ।
फूलबारी लीला
विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लीला हो । दोस्रो दिन १७ मंसिरमा फूलबारी लीलामा राम जानकीको पहिलो भेट गराइन्छ । त्रेता युगमा भगवान् रामको पहिलो भेट भारतको गिरिजा माई मन्दिरको फूलबारीमा भएको रामायणमा उल्लेख छ । यो विधि जानकी मन्दिरको छेउमै रहेको राम जानकी विवाह मण्डपमा रहेको फूलबारीमा प्रत्येक वर्ष गरिँदै आएको छ । त्रेता युगमा गुरु विश्वामित्रसहित धनुषयज्ञमा अयोध्याबाट मिथिलाको राजधानी जनकपुरधाममा भाग लिन आएका राम र लक्ष्मण फूलबारीमा घुम्न जाँदा राम र सीताको नजर एकअर्कामाथि परेको किम्बदन्ती छ । जहाँ राम र जानकी एकअर्काप्रति आकर्षित भएको र जानकीले आफूलाई राम जस्तै वर पाउन कामना गरेको भन्ने मान्यता रहेको छ ।
धनुष यज्ञ
तेस्रो दिन १८ मंसिरमा धनुष यज्ञ सम्पन्न हुन्छ । सीताले शिवजीको पिनाक (धनुष) लाई बायाँ हातले उठाएर लिपपोत गरेको देख्दा राजा जनक यो धनुषमा प्रत्यञ्चा चढाउन सक्ने वीर पुरुषसँगै आफ्नो छोरीको बिहे गरिदिने बचन दिएकाले धनुष यज्ञको आयोजन गरिएको मानिन्छ । त्रेता युगमा सो धनुष यज्ञको आयोजन रंगभूमि मैदान बाह्रबिघामा भएको मानिन्छ । सोही स्मरणमा धनुष यज्ञ विधि सम्पन्न गरिन्छ ।
तिलकोत्सव विधि
महोत्सवको चौथो दिन १९ मंसिरमा राम मन्दिरको प्रांगणमा तिलकोत्सव विधि सम्पन्न हुन्छ । तिलकोत्सवमा महन्थ राम तपेश्वर दास वैष्णवको नेतृत्वमा जानकी मन्दिरबाट पाहुना राम मन्दिरमा आउँछन्, जहाँ जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र राम मन्दिरका महन्थ राम गिरीबीच अंगमाल (समधी मिलान) हुन्छ । तिलकोत्सवमा सहभागी महिलाले रामजानकीको बिहेका गीत गाउँछन् भने हाँस्य परिहासको माहोलसमेत हुन्छ ।
मटकोर विधि
महोत्सवको पाँचौँ दिन २० मंसिरमा मटकोर विधि हुन्छ । मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाले जनकपुरधामकै पवित्र सरोवर रहेको गंगासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्पराअनुसार गीत गाउँदै माटो खनेर ल्याउने गर्छन् । सोही माटोबाट विवाहका लागि वेदी तयार गरिन्छ ।
स्वयम्वर विधि
छैटौँ दिन २१ मंसिरमा ऐतिहासिक रंगभूमि मैदानमा स्वयम्वर विधि सम्पन्न भएको छ । सो दिन राति वैदिक परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ । स्वयम्वरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रंगभूमि मैदान (बाह्रबिघा) पुग्छन् । डोलाको दर्शन र रामजानकीको स्वयम्वर हेर्न बाह्रबिघा मैदानमा हजारौँको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । स्वयम्वरपश्चात राम र जानकीको डोलालाई नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेर साँझदेखि विवाहको काम सुरु हुन्छ ।
राम र सीताको विवाहको लागि जानकी मन्दिर प्रांगणमा विवाह मण्डप अर्थात मरबा बनाइएको हुन्छ । राम र जानकीको विवाहका लागि जानकी मन्दिरलाई भव्य रूपमा सिंगारिएको छ । वैवाहिक कार्यक्रममा झाँकी कीर्तनसहितको सांस्कृतिक कार्यक्रमहरू आयोजना हुने गर्दछ । जसको अवलोकनका लागि हजारौँ दर्शनार्थीको जानकी मन्दिरमा भिड लाग्ने गर्दछ । वैवाहिक कार्यक्रममा भगवान् रामका बुबा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले भूमिका निर्वाह गर्दछन् ।
रामकलेवा
विवाहपञ्चमीको सातौँ दिन २२ मंसिरमा भारतको अयोध्याबाट जन्तीका रूपमा आएका साधु सन्तहरूलाई भोजन गराउँदै बिदाइ गरिन्छ । जसलाई रामकलेवा भनिन्छ । राम कलेवामा बेहुला पक्षबाट आएकाहरूलाई गालीगलौज गर्नेसमेत परम्परा छ । मन्दिरका पुजारी तथा मिथिलाका नारीहरू गीतकै माध्यमले गाली गर्ने गर्छन् ।
विवाह मोहत्सव हेर्न आउने श्रद्धालुका लागि विभिन्न खाले मनोरन्जनको समेत व्यवस्था गरिएको हुन्छ । महोत्सवलाई व्यवस्थित र भरपर्दो सुरक्षित बनाउन स्थानीय सुरक्षा समितिले विशेष रणनीतिसमेत बनाएको हुन्छ ।
प्रतिक्रिया