नेपाल पहिलो चरणबाट बाहिर

काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) अन्तर्गत पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा बंगलादेशले नेपाललाई ५ विकेटले पराजित गरेको छ । पराजित नेपालको यात्रा पहिलो चरणमा नै सकिएको छ । नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले ५ विकेटको क्षतिमा २८ दशमलव ४ ओभरमा पूरा गरेको हो । जवाद अब्रारले ६५ बलमा ५९ रनको योगदान गरे । उनले ५ चौका र ४ छक्का प्रहार गरे । पहिलो ओभरमा नै कमल सिद्धीकीलाई गुमाएको बंगलादेशका लागि अब्रार र हरिजुल हाकिमले दोस्रो विकेटका लागि ९० रनको साझेदारी गरे । कप्तान हेमन्त धामीले पहिलो ओभरमा सिद्धीकीलाई शून्य रनमा आउट गरेका हुन् ।

२०औँ ओभरको पहिलो बलमा युवराज खत्रीले अब्रारलाई आउट गरेपछि बंगलादेशले दोस्रो विकेट गुमाएको हो । युवराजले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए ।

संयुक्त अरब इमिरेट्को दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको हो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ७७ बलमा ५ चौकाको मद्दतमा ४३ रन बनाएका हुन् । त्यस्तै उत्तम थापा र अभिषेक तिवारीले समान २९–२९ रन बनाए । त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बगलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान २–२ विकेट लिए । साथै साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले समान १–१ विकेट लिए ।

समूह ‘बी’मा रहेको नेपाल २ खेलमा कुनै अंक नजोडी पुछारमा रहेको छ । श्रीलंका र बंगलादेश समान ४ अंकसहित शीर्ष २ स्थानमा छन् । दुवै टोलीको सेमिफाइनल प्रवेश टुंगो लागिसकेको छ । यी २ टोलीको बीचमा हुने खेलको विजेताले समूहमा पहिलो स्थान पाउनेछ । नेपालले समूह चरणको अन्तिम खेल आफगानिस्तानसँग खेल्नेछ । अफगानिस्तान पनि बंगलादेश र श्रीलंकासँग पराजित भइसकेको छ ।
लिग कम नकआउटको आधारमा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता छ । समूह ‘ए’मा युएई, पाकिस्तान भारत र जापान छन् । पहिलो खेलमा पाकिस्तानले भारतलाई हराएको छ भने युएईले जापानलाई हराएको छ ।

प्रतिक्रिया