चितवन । चाडपर्व सकिएसँगै पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडक निर्माणको कामले गति लिएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो ।
शर्मा–जेडआई सिजी जेभीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो । ३ वर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएकामा अहिलेसम्म १८ प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनीका राजमार्ग इन्जिनियर सहन वैद्यका अनुसार पछिल्लो समय कामलाई तीव्र बनाइएको छ ।
दैनिक १५० जनाले काम गरिरहेको उनले जानकारी दिए । १ साताअघिसम्म १०० जना मजदुरले काम गरिरहेकामा अहिले यो संख्या बढाइएको हो । वैद्यले भने, ‘आउँदो सातासम्म २०० जना पुग्छन् ।’ सडकका ६ वटा पुलको काम भइरहेको छ । हुग्दीको पुलको भुइँको काम भइरहेको छ भने ५ वटा पुलमा पिल्लरसम्मको काम सकिएको छ । भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ ।
वैद्यका अनुसार अब केही दिनमा नै कालोपत्रका लागि बेस राख्ने काम गरिँदै छ । निर्माण कम्पनीले नक्सांकनलगायत कारण काम ढिला भएको भए पनि अब तीव्र पारिने जनाएको छ । वैद्यले भने, ‘निरन्तर काम गर्न पाएको भए यतिबेला ४० प्रतिशत सकिन्थ्यो ।’ मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडकखण्डमा विस्तारको काम भइरहेको छ । वैद्यका अनुसार विस्तार ४ ढंगले गरिँदै छ । निकै साँघुरा र भित्तो काट्न एवं पर्खाल उठाउन कठिन ठाउँहरूमा २ लेन अर्थात् ९ मिटर फराकिलो सडक बनाइँदै छ । उकालो ठाउँमा ३ लेन अर्थात् १२ मिटर हुनेछ । झन्डै डेढ किलोमिटर सडक यस्तो ठाउँमा पर्छ ।
बजार क्षेत्र कुरिनटार, चरौदी, विशालटार, चुम्लिङटार, मझिमटारलगायतको करिब ६ किलोमिटर क्षेत्रमा ४ लेन अर्थात् १८ मिटर फराकिलो सडक बनाइँदै छ । मुग्लिन, बेनीघाट र मलेखु बजारमा ६ लेन अर्थात् २६ मिटर फराकिलो सडक बनाइँदै छ । १ किलोमिटरभन्दा बढी क्षेत्रमा फराकिलो सडक बनाउन लागिएको हो ।
नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का इन्जिनियर विजय दरैका अनुसार चाडपर्व सकिएसँगै कामलाई तीव्र बनाइएको छ । पृथ्वी राजमार्गमा पर्ने नागढुंगा–मुग्लिन सडकलाई २ भागमा विभाजन गरेर स्तरोन्नतिको काम गरिएको हो । भारतीय परामर्शदाता कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा तथ्यांक गलत भएपछि सुधार गरेर पुनः तयार गर्दा थप ६ महिना काम गर्न नपाएकाले प्रगति कम भएको दरैले जानकारी दिए ।
विश्व बैंकको सहयोगमा सडक निर्माण थालिएको हो । शर्मा–जेडआई सिजी जेभीले ४ अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुद काम गर्नुपरेको उनको भनाइ छ । त्यसका कारण चाहेर पनि तीव्र गतिमा काम गर्न सकिएको छैन ।
पृथ्वीराज मार्ग दैनिक साढे ४ घन्टा बन्द
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड सोमबारदेखि २० दिनसम्म दैनिक साढे ४ घन्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डको कामलाई तीव्रता दिन २३ मंसिरसम्म दैनिक साढे ४ घन्टा सडकमा सवारी आवागमन बन्द गर्न लागिएको हो ।
उक्त सडकखण्ड २ चरणमा बन्द गरी काम गरिने मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार सोमबार राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी सडक निर्माण गरिनेछ । राति १ देखि साढे १ बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति साढे १ बजेबाट बिहान ४ बजेसम्म सडक बन्द गरी काम गरिने पाण्डेले बताए । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिए ।
उनले भने, ‘मुग्लिन–पोखरा सडक योजनाको पूर्वी खण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारीबाहेक अन्य सवारीसाधनका लागि उक्त अवधि पूर्ण रूपमा बन्द रहनेछ ।’ उक्त अवधिमा रोकिने सवारीसाधनले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्न आग्रह गरिएको छ ।
मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । त्यस्तै, दुइटा ठुला पुल र १०३ वटा कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिए । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ ।
पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । सडकतर्फ ६८ प्रतिशत काम सकिएको छ ।
प्रतिक्रिया