वडाको कामसँगै फलफूलखेती वडाध्यक्ष थापा

बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती थालेका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका उनले किबीखेती थालेका हुन् ।

३ वर्षअघि किबीखेती थालेका उनलाई उत्पादन बेच्न भ्याइनभ्याइ छ । गाउँका अन्य किसानका लागि प्रेरणा बनेका उनले यो वर्ष सय बोटबाट ६ सय क्विन्टल किबी उत्पादन भएको बताए । उनले किबीसँगै कागती पनि फलाएका छन्। जनप्रतिनिधि भइसकेपछि कोदो र धानखेतीमा लाग्न आफूले समय व्यवस्थापन गर्न नसकेको बताए। वडाध्यक्ष थापाका बारीमा एक सय ५० कागती र ५० सुन्तलाका बोट छन् ।

दैलेखबाट रु ३ सय ३० मा एउटा बिरुवा खरिद गरेर ल्याएको जानकारी दिँदै वडाध्यक्ष थापाले बृहत् रूपमा किबीखेती गर्ने चाहना सुनाए । किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गरेका थापाले किबी बजार पठाएपछि फलामबाट बनाइएको थाक्रो राख्ने योजना बनाएको बताए । हाल स्थानीय बजारमा प्रतिकेजी रु २ सय ५० देखि रु ३ सयमा किबी बिक्री हुँदै आएको छ । किबी बेचेर आफूले हालसम्म रु २ लाख आर्जन गरेको बताए ।

गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने सिलसिलामा तित्याङको खानीगाउँमा २ हजार ६ सय ओखर १ सय ४० रोपनी जग्गामा लगाइएको थियो, भने यो वर्ष नगरपालिकाले किम्बोट क्षेत्रमा ओखर लगाउन रु १२ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष थापाले जानकारी दिए । अलैँची पकेट क्षेत्र विस्तारका लागि रु १५ लाख बजेट विनियोजन भएको छ । साथै वडा नम्बर ९ तित्याङको साबिक १, २, ३, ४ र ५ वडामा अलैँचीखेती प्रारम्भ भएको छ । – रासस

परराष्ट्रमन्त्री राणा चीन जाँदै, प्रधानमन्त्रीको भ्रमणको तयारी गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने भएकी छिन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंसिर १३ गते (नोभेम्बर अन्तिम साता) उनी चीन जान लागेकी हुन् ।

चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणमा चीन जान लागेकी राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारी गर्ने छन् । उनी भ्रमणको तयारी लगायतका विषयमा काम गठन गठित संयन्त्रको सदस्य समेत छन् । प्रधानमन्त्री ओली मंसिर १६ देखि चीनको औपचारिक भ्रमणमा जाँदै छन् । यद्यपि, प्रधानमन्त्री ओलीको भ्रमणको औपचारिक घोषणा भने भइसकेको छैन ।

परराष्ट्रमन्त्री राणा भ्रमणको तयारी सकेर नेपाल फर्किने वा प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उतै सामेल हुने भन्ने विषय भने अझै टुंगि नसकेको मन्त्रालय स्रोतले बतायो । परराष्ट्रमन्त्री भएयता राणाको यो पहिलो चीन भ्रमण हो। प्रधानमन्त्री ओली पनि आफ्नो तेस्रो कार्यकालको पहिलो औपचारिक विदेश भ्रमण चीनबाट गर्दैछन् ।

प्रतिक्रिया