विगत केही वर्षदेखि ‘साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समिति’को नाममा, त्यहाँ केके स्थापना गर्ने नाममा देश–विदेशमा रहेका आदरणीय नेपाली महानुभाव ज्यूहरूबाट दान–दक्षिणा र चन्दा अनि सर–सहयोग वा भनौँ रकम उठाउँदै आइरहेको देखिन्छ, देखिन्थ्यो । सो क्रममा कहाँ कहाँबाट कति रकम उठाए वा उठ्यो होला ? भनेर एक जिज्ञासु मान्छेको नाताले प्रश्न राख्दैछु । कतै प्रश्नै गर्नै नपाइने पो हो कि ?
हामी नेपालीहरूमा एउटा प्रचलन व्यापक रूपले चलेको छ, जो कसैले कुनै विषयमा जवाफ दिनुपर्ने भएमा अथवा कुनै पनि काम कुरोको जवाफदेहिताबाट आफू पन्छिनुपर्ने भएमा अथवा अरूलाई जेसुकै आरोप लगाएर आफू उक्त जवाफदेहिताबाट उम्किनका लागि एउटा सजिलो भनाइ वा उदाहरण दिने गरिन्छ । त्यो हो, ‘ए त्यो फलानो नाम गरेको मान्छे, ऊ त ढिस्कानोद्वारा परिचालित मान्छे हो, कसैले परिचालन गरेको मान्छे भएकैले गर्दा जथाभावी बोल्छ, लेख्छ । नभए ऊसँग के प्रमाण छ ? प्रमाण छ भने ले भन न । त्यसपछि त सक्की गो ।
मेरो भनाइको मतलब हो, हाम्रो देशमा कुनै पनि विषयमा प्रश्न गर्नु, जिज्ञासा राख्नु, जान्न चाहानु, बुझ्न चाहानु भनेको नै कसै (जो कोही) द्वारा परिचालित हुनु अथवा कसैले परिचालन गरेको मान्छे करार हुनु हो । अर्थात् जो कोही प्रश्न गर्ने, जिज्ञासा राख्ने, जान्न चाहने, बुझ्न चाहने मान्छेहरूलाई चाहिँ हामी नेपालीहरूले फ्याट्ट भनी दिने गर्छौंं, ‘तँलाई कसैले परिचालन गरेको छ, तँ कसैले परिचालन गरेको मान्छे होस् ।’ नेपालमा यस्तो खालको भोगाइ वा भनौँ मार धेरै मानिसहरूले भोगेका छन्, खेपेका छन् । जो मानिस आफ्नै अगाडि गलत काम कारबाही भएको देख्दादेख्दै पनि चुइँक्क नगरी बस्छ, ‘कालोलाई सेतो र सेतोलाई कालो’ एवं प्रकारले ‘रातलाई दिन र दिनलाई रात’ बिनाहिचकिटावट भन्न सक्छ, ऊचाहिँ एकदमै असल र राम्रो मान्छेमा दरिन्छ, गनिन्छ । नेपालमा आमरूपमा योस्तो मान्यता स्थापित हुँदै गएको छ ।
अझ हाम्रो देश नेपालमा यस्तो मान्यता लागू गर्ने मामिलामा कथित् एक जाति ‘राई !’ २२, २४, २६, २७, २८,…भाषी ‘राई !’ भनिने संस्था, तिनका हर्ताकर्ताका साथै उनीहरूका पिछलग्गु ‘राई !’ सर, ‘राईनी !’ म्याडमहरू सबैभन्दा अगाडि छन् भनी दावी गर्न सकिन्छ । त्यतिले मात्रै नपुगेर राई के हो ? के साँच्ँचै एक जाति ‘राई !’ २२, २४, २६, २७, २८ भाषी ‘राई !’ हुन्छ, छन् ? यदि हुन्छ, छन् भने त्यसरी ‘म एक जाति ‘राई !’ हुँ तर मेरो मातृभाषा चाहिँ २२, २४, २६, २७, २८ वटा छ भनेर खरररर…‘२२, २४, २६, २७, २८ भाषामा बोल्न सक्ने कुनै माइकालाल ‘राई !’ देखाउन, भेटाउन सक्छन् ?
उनीहरू यस्तो वास्तविकतातिर नगएर सही कुरो उठाउने, लेख्ने, बोल्नेहरूलाई एक जाति ‘राई !’ फुटाउन आँटेको आरोप लगाउन अघि सर्छन्, नेपालका साथै विदेशमा रहेका ‘राई !’ सर, ‘राईनी !’ म्याडमहरू । उनीहरूले त्यसरी आरोप लगाउनुको कारण अनेक रहेको देखिन्छ । तापनि मुख्य कारणचाहिँ एक जाति ‘राई !’ २२, २४, २६, २७, २८,…भाषी ‘राई !’ भन्दै संख्या र भिड देखाएर, संख्या र भिडलाई भजाएर व्यक्तिगत रूपमा फाइदा लिनुलाई मुख्य मान्नुपर्ने हुन्छ । मैलै यो लेख (र, विगतदेखि नै) मा किन पनि कथित एक जाति ‘राई !’ २२, २४, २६, २७, २८, भाषी ‘राई !’ भनिरहेको छु भने, भोलिका दिनमा कसैले साँच्चै गहन वैज्ञानिक ढंगले अध्ययन–अनुसन्धान गर्दा जाति अथवा समुदाय हुने (जात, वर्ग, समूहचाहिँ हुन सक्छ ।) कुनै आधारहरू नभएको हुनाले नभेटिने–नदेखिने हुनाले कथित् एक जाति ‘राई !’ २२, २४, २६, २७, २८ भाषीवाला ‘राई !’ भन्ने, लेख्ने गरिरहेको हो ।
चुरो कुरो के हो भने, विगत केही वर्षदेखि ‘साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समिति’को नाममा, त्यहाँ के के स्थापना गर्ने नाममा देश–विदेशमा रहेका आदरणीय नेपाली महानुभाव ज्यूहरूबाट दान–दक्षिणा र चन्दा अनि सर–सहयोग वा भनौँ रकम उठाउँदै आइरहेको देखिन्छ, देखिन्थ्यो । सो क्रममा कहाँ कहाँबाट कति रकम उठाए वा उठ्यो होला ? भनेर एक जिज्ञासु मान्छेको नाताले प्रश्न राख्दैछु । कतै प्रश्नै गर्नै नपाइने पो हो कि ? जे होस्, यदि पाइने रहेछ, पाइन्छ भने, हालसम्म कति रकम उठ्यो होला त ? एवं रीतले साल्पा सिलिचुङमा राखिएको त्यो सामान्य मूर्ति बनाउँदा अथवा किन्दा त्यसको दाम कति पर्यो होला ? एवं त्यो मूर्ति त्यहाँ (सिलिचुङ डाँडोमा) लगेर राख्नका लागि कति रकम लाग्यो (खर्च भयो) होला ? के हामी पनि यो देशको एक सामान्य नागरिक भएको नाताले जान्न र सुन्न एवं थाहा पाउन सकिन्छ थाहा पाइन्छ कि ? वा भनौँ म मात्रै नभएर सो सम्बन्धमा नेपालका हर कोही जिज्ञासु मानिसहरूले पनि जानकारी राख्ने हक–अधिकार छ कि ?
अर्को भनेको सुनिएअनुसार कथित् ‘राई !’ जातिका प्रा., डा., प्राडा, विद, विज्ञ, कार अति जान्ने सुन्ने (अजासु) आदि भनिनेहरूलाई काठमाडाँैमा केही पटक कार्यक्रम गरियो अरे । हो, त्यसरी कथित् ‘राई !’ जातिका प्रा., डा., प्राडा, प्राज्ञ, विद, विज्ञ, कार, अति जान्ने सुन्ने (अजासु) आदि भनिनेहरू कार्यक्रममा आउँदा, सहभागी हुँदा उनीहरू कार्यक्रममा आउँदा, सहभागी हुँदा सामान्य चिया–बिस्कुट मात्रै खाएर (त्यो पनि आफ्नै पकेटको पैसा खर्च गरेर ?!) पो कार्यक्रममा सहभागी भए होलान् कि ? किनभने, कतिपय मान्छेहरूले आफ्नो जात, धर्म, समूह, वर्ग, लिंग एवं स्वार्थ मिल्नेहरूका लागि त त्यसरी पनि सहभागी हुन, सरसहयोग गर्न र काम गर्न सक्छन्, सकिन्छ नै ।
अहिलेसम्म साल्पा सिलिचुङ (देवीदेवता) का नाममा कति लाग्यो होला ? अझै पनि मेरो प्रश्न रहिरहनेछ । त्यसैले गर्दाखेरि सो सम्बन्धमा ‘साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समिति’ का हर्ताकर्ता ‘राई !’ सर, ‘राईनी !’ म्याडमहरूले सार्वजनिक रूपमा पत्रकार सम्मेलन गरेर वा विज्ञप्ती जारी गरेर सर्वसाधारण जनको जानकारीमा आउने गरी जनाऊ दिन्छन् कि त ? भन्ने आशा गरौँ । हामीजस्ता सर्वसाधारण जनले पनि ‘साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समिति’ ले पहिलो चरणमा उठाएको रकमको हरहिसाबको फरफारक (कति उठ्यो कसरी खर्च भयो ?) एक–एक गरेर हरहिसाब हेर्न, देख्न, जान्न पाइन्छ कि ? भन्ने आशा गरौँ । मैले एक सर्वसाधारण मान्छेको हिसाबले मात्रै प्रश्न गर्या हो ।
अहिले पुनः साल्पा सिलिचुङ (देवी देवताहरू) को नाममा रकम उठाइँदै गरेको अभियानमा जम्मा कति उठाइने होला ? सो सम्बन्धमा पनि जान्न र बुझ्न पाइन्छ कि ? अनि सरकारी स्तरमा (३ वटै तहमा) पहल भयो, भएन ? भएन भने किन भएन ? त्यसैले म एकपटक जोड गरेर भन्छु, आग्रह गर्छु कि, विश्वका विभिन्न देशमा गएर श्रम गरेर अनि दुःखजिलो गरेर, रगत पसिना बगाएर कमाएको, आफ्नो नानी–बाबुहरूको पढाइ लेखाइलाई समेत दाउमा राखेर वा कटौती गरेर दिएको दान–दक्षिणा र चन्दा अनि सरसहयोग वा भनौँ रकम कसरी र कहाँ खर्च हुन्छ ? खर्च भइरहेको छ ? पारदर्शिता छ, छैन ? बुझेर हेरेर मात्रै दिने, नदिने विचार गरिकन बल्ल कदम चाल्नु हुन्छ कि ?
जथाभावी सहयोग गर्न–दिनुअघि एकपटक, हजारपटक मात्रै होइन, लाखौँपटक सोचेर मात्रै दिनुहुन्छ कि ? दान–दक्षिणामा रुचि राख्ने महानुभाव ज्यूहरूलाई मेरो व्यक्तिगत सुझाव मात्रै हो । मेरो भनाइ नै अनिवार्य लागू हुनुपर्छ, हुन्छ भन्ने होइन । किनभने, यो मेरो व्यक्तिगत धारणा र आग्रह मात्रै हो । जे भए तापनि नेपालमै रहनुभएका तथा विश्वभरि काम गर्न अथवा स्थायी बसोबास गर्न गएका आदरणीय बुबाआमा, दिदीबहिनी, दाजुभाइ तथा साथीभाइहरूले एकपटक सोच्नु होला ।
प्रतिक्रिया