त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मर्मत तथा बिस्तारका लागि २३ कात्तिक शुक्रबारदेखि दैनिक १० घण्टा उडान बन्द गरिँदै छ । विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्यांगर एप्रोन’ लगायत बिस्तार गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । यी काम पूरा गर्न ५ महिनाको समय र करिब १५ अर्ब रुपैयाँ खर्च हुने क्यानले जनाएको छ । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको छ । स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गर्नुपर्ने बाध्यता रहेको प्राधिकरणले जनाएको छ । दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा करिव ३० प्रतिशत उडान कटौती गर्नुपरेको वायु सेवा सञ्चालक संघले जनाएको छ ।
दैनिक २० घण्टा उडान हुँदा पनि निकै चापाचाप रहेको टिआइएमा अब दैनिक १४ घण्टा मात्रै उडान हुँदा ठूलै समस्या उत्पन्न हुने सरोकारवालाहरूले जनाएका छन् । विदेशी पर्यटक आउने मुख्य सिजन सकिएको र अर्को सिजन सुरु हुन अझै ४ महिना लाग्ने भएका कारण अन्तर्राष्ट्रिय उडानमा खासै ठूलो चाप नपर्ने सरकारले जनाएको छ । यही समस्यालाई ध्यान दिँदै सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिआइए)मा उडान गर्न चाहने कम्पनीका लागि ठूलै सहुलियत दिएको छ । केही कम्पनीले अब छिटै नै जिआइए गौतमबुद्ध विमानस्थलबाट उडान गर्ने जनाएका छन् । जिआइए व्यावसायिक उडान सफल भयो भने उपलव्धी नै मान्नुपर्छ, तर भएन भने मुलुकको पर्यटन व्यवसायमा ठुलै क्षति पुग्न सक्छ ।
टिआइएमा ३० प्रतिशत उडान कटौती हुँदा आन्तरिक हवाई कम्पनी तथा यात्रुहरूलाई सास्ती त पर्ने नै भयो, तर सास्तीको आकार कस्तो हुन्छ ? यसै भन्न सकिने अवस्था छैन । हिउँदको समय भएकोले सडक मार्ग प्रयोग गर्न सकिने विकल्प पनि यात्रुहरूलाई छ । तर, सबैभन्दा ठूलो चुनौती भनेको सरकारले निर्धारण गरेको ५ महिना समयभित्र मर्मत तथा बिस्तारको काम सम्पन्न हुन्छ कि हुन्न भन्ने हो । किनकी नेपालको मुख्य पर्यटकीय सिजन भनेको १५ भदौदेखि मंसिरसम्म र १५ फागुनदेखि जेठसम्म हो ।
अहिलेको पर्यटकीय सिजन त करिब करिब सकिनै लागेको छ । आउँदो पर्यटकीय सिजनसम्ममा कुनै पनि हालतमा मर्मत तथा बिस्तारको काम सक्नुपर्नेहुन्छ, नसके ठूलो क्षति हुन्छ । टिआइए भएर आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित १९ हवाई कम्पनी र अन्तर्राष्ट्रियतर्फ ३ नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । आन्तरिकमा दुईतर्फी ३०० भन्दा बढी र अन्तर्राष्ट्रियतर्फ १०० हाराहारी दैनिक उडान हुने गरेका छन् ।
वैकल्पिक विमानस्थलहरू व्यावसायिक रूपमा सञ्चालनमा आउन नसकेको अहिलेसम्मको अवस्थालाई हेर्दा टिआइए नेपालको एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हो । त्यसकारण टिआइएमा निकै ठूलो चाप छ । तर। बेलाबेलामा मर्मत तथा बिस्तारका लागि उडान बन्द गर्ने गरिएका कारण देशले ठूलै आर्थिक नोक्सानी बेहोर्दै आएको छ । २०७५ सालमा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै ४ महिना टिआइएको धावनमार्ग पूर्णरूपमा मर्मत (कालोपत्रे) गरिएको थियो । २०७७ सालमा सो विमानस्थलको धावनमार्ग बिस्तार गरी ३ हजार ३०० मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । यसरी पटकपटक मर्मत तथा बिस्तार गर्नुपर्ने भएपछि पहिले नै विकल्पको व्यवस्था गर्नेतर्फ सरकारले ध्यान दिनुपथ्र्यो ।
काभ्रेको नागिडाँडामा प्रस्ताव गरिएको आन्तरिक विमानस्थल निर्माण सम्पन्न गरेर मात्रै टिआइए मर्मत तथा बिस्तारको काम गर्नुपर्ने सुझावलाई सकारले किन लत्यायो ? भन्ने प्रश्न बेला बेला उठ्ने गरेको छ । यसैगरी अबको १ वर्षभित्र थानकोट सुरुङ मार्ग तथा पृथ्वीराजमार्गको मुग्लिन–पोखरा खण्ड बिस्तारको काम सकिँदै छ । अबको २ वर्षपछि काठमाडौं–निजगढ फास्ट ट्रयाक पनि सञ्चालनमा आउँदै छ । यी काम नसकिएसम्म अन्तर्राष्ट्रिय विमानस्थल बिस्तार र मर्मतको काम थाति राख्नुपर्ने सुझाव पनि सरकारमा रहनेहरूले मानेनन् । किनकी १५ अर्ब रुपैयाँ खर्च गर्न उनीहरूलाई हतार भयो । हातमा आउनै लागेको कमिसन गुम्ने डर उनीहरूलाई भयो ।
प्रतिक्रिया