संकल्प यात्रा : सरकारप्रतिको असन्तुष्टि कि राजनीतिक अभीष्ट !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘वर्तमान सरकारद्वारा राम्रो काम भइरहेको’ बताउँदै गर्दा पार्टीभित्रकै केही युवा नेताहरू विभिन्न १० बुँदे एजेन्डा बोकेर देश दौडाहमा निस्किँदै छन् । यही कात्तिक २३ देखि झापाको काँकडभिट्टाबाट सुरु भई आगामी मंसिर ४ गते कञ्चनपुरको महेन्द्रनगरमा समापन हुने यो कार्यक्रमलाई उनीहरूले ‘युवा संकल्प यात्रा’ नाम दिएका छन् । संकल्प यात्राका १० बुँदे एजेन्डामा विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही, सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता, युवालाई रोजगारीको सुनिश्चितता, भ्रष्टाचार उन्मूलन, सुशासन, महँगी र मूल्यवृद्धि नियन्त्रण, उद्यमशीलता, नवप्रवर्तन र कृषिमा लगानीलगायत विषयवस्तु समेटिएको छ ।

पार्टीका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहामन्त्री भूपेन्द्रजंग शाहीको नेतृत्वमा हुन गइरहेको यो अभियानमा रञ्जित कर्ण, धर्मेन्द्र नेम्बाङ, प्रेमिका राना, नरेश यादव, शेख ओकिल, मेदनी सिटौला, चन्द्रादेवी जोशी, राधिका हमाल, उदिराम खड्का, लेलिया विश्वकर्मा, सुनिल थापा, विनोद खनाललगायत करिब ४ दर्जन युवाहरू केन्द्रीय प्रतिनिधिका रूपमा सहभागी हुने जनाइएको छ ।

शब्दमा संकल्प यात्रा भनिए पनि यो एक प्रकारले सरकारमाथि गरिएको असन्तुष्टिको अभिव्यक्ति हो । संकल्प यात्राको आयोजना गर्ने युवाहरूको पृष्ठभूमि तथा पार्टीभित्र उनीहरू आबद्ध रहेको कित्ताले पनि यो असन्तुष्टिको अभिव्यक्ति हो भन्ने कुरा पुष्टि गर्छ । नेपाली कांग्रेस यतिबेला निर्णायक भूमिकाका साथ संघीय सरकारमा सहभागी छ । संघीय सरकारका महत्वपूर्ण मन्त्रालय नेपाली कांग्रेसले नै सम्हालेको छ । धेरैजसो प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । बाँकी प्रदेशमा पनि नेपाली कांग्रेसको निर्णायक सहभागिता छ । देशका करिब ४० प्रतिशत स्थानीय सरकारको नेतृत्वमा नेपाली कांग्रेस छ । बाँकी प्रायजसो स्थानीय सरकारमा पनि कांग्रेसको बलियो उपस्थिति छ ।

यस्तो अवस्थामा भ्रष्टाचार नियन्त्रणका एजेन्डा बोकेर पार्टीकै युवाहरू देश दौडाहामा लाग्नु आफैँमा रहस्यमय छ । नेपाली कांग्रेसमा संस्थापन पक्ष र इतर पक्षबीच फेरि दरार उत्पन्न हुन लागेको संकेतका रूपमा यो अभियानलाई केही विश्लेषकहरूले लिएका छन् । तर, पार्टी पंक्तिले भने खासै वास्ता गरेको देखिन्न । यस्ता अभियान नेपाली कांग्रेसमा नयाँ होइनन् । भ्रष्टाचार प्रकरण हाम्रो देशको सबैभन्दा ठुलो चुनौती हो भन्ने कुरामा दुईमत छैन । त्यसमा पनि अहिले विशेष चर्चामा रहेको सहकारी ठगी प्रकरण देशको अहिलेसम्मकै सबैभन्दा ठुलो संगठित भ्रष्टाचार हो भन्ने कुरामा पनि दुईमत छैन ।

भ्रष्टाचारविरुद्ध खबरदारी भनेको देश र जनताको पक्षधर एजेन्डा हो । त्यसमा पनि सहकारी ठगी प्रकरण सबैभन्दा पेचिलो विषय हो । किनकि वर्तमान सरकार तथा संसद्मा रहेका पार्टीहरूभित्रको संरचनाले सहकारी ठगी प्रकरणलाई टुंगोमा पु¥याउन सक्दैन भन्ने कुरा करिबकरिब स्पष्ट छ । सहकारीका ठगहरूले सरकारमा मात्रै होइन, प्रायः सबै राजनीतिक दलका संगठनहरूमा बलियो पकड जमाइसकेका छन् । सहकारी ठगी गरेर रकम जम्मा गर्ने र त्यही रकम नेताहरूलाई घूस खुवाएर टिकट तथा राजनीतिक नियुक्ति लिने सिलसिला नयाँ होइन । सहकारी ठगीविरुद्ध निष्ठावान् कार्यकर्ताले प्रश्न उठाउन सक्ने अवस्था कुनै पनि पार्टीभित्र छैन । किनकि पार्टी संगठन नै सहकारी ठगहरूको कब्जामा पुगिसकेको छ । सहकारी ठगहरू कुन पार्टीमा धेरै छन् ? कुन पार्टीमा थोरै छन् ? भन्ने प्रश्न नै अहिलेका लागि महत्वपूर्ण हो ।

दलगत आधारमा सहकारीसँग सम्बन्धित संघसंगठन तथा निकायको चुनाव हुने गर्छ । यस्ता चुनावमा कुन पार्टीका उम्मेदवारले के कति भोट ल्याउने गरेका छन् ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने धेरै कुरा छर्लंग हुन्छ । यस हिसाबले पनि अहिले नेपाली कांग्रेसका युवा नेताहरूले गरेको जमर्कोलाई ठुलै आँट मान्नुपर्ने हुन्छ । आफ्नै पार्टी सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध सडकमा निस्कनका लागि सानो आँटले पुग्दैन । तर, उनीहरू आफ्नो अभियानमा कतिसम्म अडिन सक्छन् ? कतै पद प्राप्तिको बार्गेनिङ त होइन ? अथवा सहकारी ठगी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरूको बचाउका लागि हो ? पार्टीले नै गोप्य रूपमा मञ्चन गरेको नाटक पो हो कि ? अथवा राजावादीहरूको घुसपैठ हो ? भन्ने आशंका जीवितै छन् ।

प्रतिक्रिया