काठमाडौँ । नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को अन्तर्राष्ट्रिय सार्वजनिक प्रदर्शन हुने भएको छ । टोरोन्टो, बुसान र हङकङ लगायत विश्व प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा प्रदर्शन भईसकेको चलचित्र थाइल्यान्ड, इन्डोनेसिया, यूके, इटालीलगायका देशमा सर्वजनिक प्रदर्शन हुन लागेको हो ।
‘गाउँ आएको बाटो’लाई हङकङको गोल्डेन सिन सिनेमाले शनिबार र आइतबार सार्वजनिक प्रिमियर भयो । गोल्डेन सिन सिनेमाले पहिलोपटक नेपाली चलचित्रको वितरण अधिकार किनेर सार्वजनिक रुपमा प्रदर्शन गरेको हो ।
यसअघि यो चलचित्र हङकङको नेपाली दर्शकलाई लक्षित गरी प्रदर्शन गरिएको थियो । गोल्डेन सिन सिनेमाको हलमा १२ शोमा बाँडेर देखाईएको चलचित्रलाई झन्डै ८०० दर्शकले हेरेका थिए । प्रदर्शनमा सहभागी हुन नेपालबाट निर्देशक नवीन सुब्बासहित अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राई, लाइन प्रोड्युसर मिङ्सो लिम्बू हङकङ पुगेका थिए ।
चलचित्रलाई अंग्रेजी र चिनियाँ सबटाइटलमा हङकङका पाँच वटा हलमा प्रदर्शन गरिनेछ। गोल्डेन सिनले आफ्नो वेवसाइडमा ‘गाउँ आएको बाटो’को चिनियाँ पोस्टर सार्वजनिक गर्दै २५ अक्टोबरदेखि बक्स अफिस खुला गरेको थियो । हङकङबाट प्रकाशन हुने ‘साउथ चाइना मर्निङ पोस्ट’ले ‘गाउँ आएको बाटो’लाई हङकङमा साताको गरिएको उत्कृष्ट कामको पाँचौ सुचीमा रोखेको छ । यस्तै अन्य स्थानीय सञ्चारमाध्यमहरूले पनि ‘गाउँ आएको बाटो’को चर्चा गरेका छन् । हङकङमा रहेका देवराज राई कार्यकारी निर्माता रहेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, प्रेम सुब्बालगायतको अभिनय छ । चलचित्रको सहनिर्माताका रुपमा हङकङबाट अरुण राई, मातृदिप राई, रामली राई, सुमन वोनेम, मायादेवी राईलगायत रहेका छन् ।
प्रतिक्रिया