पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चूडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै १ किलोमिटर तल रहेको हेवा खोलासम्म पुगेको छ । पहिरोले उनका २ छोरासहित १३ परिवार गाउँलेको खेतबारी बगाएको छ । गत १२ असोज बिहानको पहिरोले तिम्सिनाको परिवारसहित यी सबै परिवार फालेलुङ गाउँपालिकाको सेवा केन्द्र थकेपुङमा बसेर हालै मात्र गाउँ फर्किएका छन् ।
९ असोजदेखि नै वर्षा हुनुका साथै हेवा खोलामा आएको बाढीले १२ असोजको बिहान गाउँ नै हल्लाइरहेको थियो । सोही बिहान जमिनमा धाँजा फाट्न थालेका कारण गाउँलेहरू सचेत भए । बिहान गाईवस्तु सार्नलाई किलो काट्दै गर्दा गाउँपालिकाबाट प्रहरी आएर लगेकाले आफू बचेको तिम्सिना बताउँछन् । ‘गाउँले आएर गाईवस्तु सारिदिएछन्,’ उनले भने ।
वर्षा र पहिरो त रोकियो । तर, गाउँमा बस्न सक्ने अवस्था भने छैन । लुङपिन्ताङमा सबैतिर धाँजा फाटेका छन् । कसैको घर लच्किएका छन्, कसैको खेतबारी । ‘हिउँदभरि मात्रै हो, बर्खामा यहाँ बस्न सकिँदैन,’ सरकारले केही गरिदेओस् भन्ने माग गर्दै तिम्सिनाले भने, ‘हेरौँ अब सरकारले के गर्छ ? यहाँ बस्न सक्ने अवस्था छैन । डर त लाग्छ नि ! अन्यत्र सर्ने ठाउँ पनि छैन ।’
पूर्वी पहाडमा २०२५ सालमा बाढीपहिरो आएको बूढापाका बताउँछन् । ७३ वर्षका तिम्सिनाले सो बाढीपहिरो प्रत्यक्ष देखे । अहिले सडकको छेउमा रहेको घर नजिकैबाट उक्त पहिरो गएको तर अहिलेजस्तो धेरै क्षति नभएको तिम्सिनाको सम्झना छ । ‘मेरो पाली (मतान) बगाएको थियो,’ उनले भने, ‘यस पटक गाउँ केही नरहने गरी पहिरो झर्यो ।’
पहिरोले दिएको पीडा यति मात्रै छैन । तिम्सिना दम्पतीसँगै रहेका छोराका १० र ४ वर्षका बालबच्चा थिए । बूढेसकालमा बोलाउने र मन भुलाउने नातिनातिनी पहिरोपछि झापा झरेका छन् । ‘जाने कुरै थिएन । फेरि पहिरो आयो भने साना बच्चालाई बचाउन कठिन हुने भएपछि बुहारीले झापा लिएर गइन्,’ तिम्सिनाले भने, ‘छोरोचाहिँ विदेशमा छ ।’
सोही वडाको शीतलपाटीको अवस्था झनै भयावह छ । हेवा खोला नजिकैको यस गाउँमा १० परिवारको बसोबास छ । यहाँ यत्रतत्रमा पहिरो झरेको छ । सबैका घर लच्किएका छन् । कसैका भत्किएका छन् । पाक्न लागेको बालीनालीमा क्षति भएको छ । घरमुनि सामुन्नेमा देखिने हेवा खोलाले धेरै जमिन खण्डहर बनाएको छ । वर्षा रोकिएपछि गाउँ फर्किएका गाउँलेहरू अर्को बर्खामा कहाँ गएर ज्यान जोगाउने भन्ने पीरमा देखिन्छन् ।
यहाँकी नरमाया लिम्बूको घर र खेतबारी फरक–फरक ठाउँमा छ । पहिरोले खेतबारी सबै बगाएपछि अब के खाने भन्ने पिरलो लिम्बूमाथि आइलागेको छ । श्रीमान्को निधनपछि आमाछोरा बस्दै आएका लिम्बूको पाक्न लागेको धानखेत पहिरोले बगाएको छ । ‘हामी त धेरै पीडित भयौँ, वडामा गएर निवेदन दिएका छौँ,’ लिम्बूले भनिन्, ‘केही त सहयोग पाइएला कि !’
फेदाङ्वा (झाँक्री) समेत रहेका मानबहादुर केरुङको घरमा १२ असोजअघि छोरीतर्फका १ नाति र १ जना भतिज बस्दै आएका थिए । ४ जना छोरीमात्रै भएका मानबहादुरका सबै छोरीहरू विवाह गरेर घर गएपछि भतिज र नाति सहारा थिए । तर, १२ असोजमा उनको घर वरिपरि पहिरो झरेपछि परिवार नै विस्थापित भई नजिकैको मच्छेबुङमा विद्यालयमा शरण लिएर बस्यो । वर्षा रोकिएपछि मानबहादुर र उनीकी श्रीमती सुखमाया त घर फर्केर आए, भतिज र नाति भने पहिरोको डरले आ–आफ्नो घरतर्फ लागे ।
यहाँ (शीतलपाटीमा) पहिरोले समस्या हुने भयले भतिजो र नातिलाई आ–आफ्नो घर पठाएको मानबहादुर बताउँछन् । ‘हामी बूढाबूढी त अन्त जानलाई पैसा छैन । पैसा नभएपछि के गर्ने त ? वरपर भाग्यो, बस्यो,’ निराश हुँदै ७० वर्षका मानबहादुरले भने, ‘त्यस्तै त होला नि अब । झापा झरौँ भने पैसा छैन ।’
पहिरोका कारण घरमा बस्न नसकिने भएपछि यहाँका युवा शर्णकुमार केरुङको परिवार विस्थापित भई मच्छेबुङमा बस्न थालेको छ । ‘१० घरपरिवारमा कुनै न कुनै क्षति भएको छ । यहाँ बसेका सबै जना बाहिर निस्किने योजनामा छौँ,’ छिमेकीहरूलाई मद्दत गर्दै आएका शर्णकुमारले भने, ‘बर्खायाममा बस्न नसकिने सबैको निष्कर्ष छ । कसैको पनि कमाइ (खेतीबाली) लगाएर खाने स्थिति छैन ।’
उक्त गाउँलाई चारैपट्टिबाट पहिरोले घेरेको छ । कुनै पनि घर सग्ला भेटिँदैनन् । यत्रतत्र पहिरो झरे पनि स्थानीयबासीको चलाखीले मानवीय क्षति भने हुन नपाएको शर्णकुमारको भनाइ छ । ‘खोला ठुलो आएपछि सबै गाउँले भेला भएर सबैतिर हेर्यौँ । पहिरो जान्छ भन्ने एकिन भएपछि समयमै सचेत हुँदा बाँच्न सफल भयौँ,’ शर्णकुमारले भने । सो स्थानबाट २ घर बसाइँ सरेर अन्यत्र गइसकेका छन् भने शर्णकुमार र उनका भाइ नजिकै मच्छेबुङमा बसेका छन् ।
भान्साघर बगाउनुका साथै घर पहिरोको जोखिममा भएपछि काइँलो छोराको घरमा शरण लिएर बस्दै आएका खड्गबहादुर केरुङ उमेरले ६९ वर्ष पुगे । ‘एकछिन त जिउ जोगाउनुप¥यो होला नि ! उता पनि पानी, यता पनि पानी । सबैतिर पहिरो झरेको छ,’ खड्गबहादुरले भने, ‘भगवानले यस्तै गरिल्याए । कति दिन यसरी बाँच्नुपर्ने हो थाहा छैन ।’
फालेलुङ गाउँपालिका–३ का लुङपिन्ताङ र शीतलपाटी जस्तै सोही गाउँपालिका–४ का चेम्फुवा, खुर्बुक, गैरीगाउँ, गुरुङटार र तालखर्क, वडा नं ५ का लुङ्मादिन, सिरिसे, लुदिन र फेङ्लीटार, वडा नं ६ का ठाडे, नाम्ले र खोलाघारी गाउँ पहिरोको अत्यधिक जोखिममा छन् । फेङ्लीटारका दर्जनभन्दा बढी परिवार अझैसम्म विस्थापित भई अन्यत्रै बस्दै आएका छन् ।
फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङका अनुसार सबै वडामा गरेर ७० घरमा पूर्ण क्षति भएको छ भने २९३ घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोले फालेलुङमा भौतिक तथा कृषि क्षेत्रमा अत्यधिक क्षति भएको उनले बताए । यहाँका अधिकांश विस्थापित घर फर्किन थालेका छन् । तर, कतिपय विस्थापित भने यहाँबाट बसाइँ सर्न थालेका छन् । अध्यक्ष थाम्सुहाङले भने, ‘सबैलाई केही समय नआत्तिन आग्रह गर्दै आएको छु । तर, गाउँ विरक्तलाग्दो भएपछि कसको मन अडिनु र ?’ अत्यधिक प्रभावित बस्ती स्थानान्तरण गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।
‘अहिलेसम्म विस्थापितहरूलाई सुरक्षित स्थानसम्म पुर्याउन हामी लागिपरेका थियौँ । अब दीर्घकालीन समाधानबारे सोच बनाउन थालेका छौँ,’ अध्यक्ष थाम्सुहाङले भने, ‘गाउँपालिकाले मात्रै त के गर्न सकिएला र ? प्रदेश र संघीय सरकारसँग सहयोग मागेर जोखिममा रहेका बस्तीलाई एकीकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्नुको विकल्प छैन ।’
यसका यसका लागि पालिका स्तरमा छलफल चलिरहेको गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगू बताउँछन् । बाढीपहिरोका कारण यस गाउँपालिकामा कालोपत्रसहित ग्रामीण सडक क्षतविक्षत भएका छन् । खानेपानी, सिँचाइ, विद्युत्, विद्यालय, स्वास्थ्य संस्थालगायत संरचनामा समेत क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया