गरीब र निमुखाको जीवनस्तर उकास्न नयाँ सोचका साथ काम गर्न आवश्यक : मन्त्री अधिकारी

काठमाडाैँ । कृषि तथा पशुपंछी विकास मन्त्री रामनाथ अधिकारीले गरीब र निमुखा जनताको जीवनस्तर उकास्ने गरी नयाँ सोचका साथ काम गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद कृषि अनुसन्धान निर्देशनालय खजुराको आज निरीक्षण गर्दै मन्त्री अधिकारीले किसानसँग नजिक हुने र उत्पादन वृद्धि गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले कृषि वैज्ञानिक र प्राविधिकहरुलाई नयाँ नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गरे ।

‘कृषि वैज्ञानिक र प्राविधिकहरु कृषि कर्म गर्नेहरुका अभिभावक हो, त्यसैले उहाँहरुसंग निरन्तर साक्षात्कार गर्नुस्,’ मन्त्री अधिकारीले भने, ‘कृषि सुधार्न तपाईंहरुको अहम भूमिका छ ।’

मन्त्री अधिकारीले कृषि विकासमा देखिएका थुप्रै समस्या सुघार गर्न पर्यत्न भइरहेको बताए । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का समस्या चाँडो भन्दा चाँडो व्यवस्थापन गर्ने गरी काम भइरहेको उनले जानकारी दिए । नार्कमा देखिएको जनशक्ति अभावलाई सम्बोधन गर्न नसकिएको स्विकार्दै मन्त्री अधिकारीले यसमा पनि काम भइरहेको बताए ।

नार्क आफैंमा ऐतिहासिक पृष्ठभूमि बोकेको संस्था भएर पनि लथालिङ्ग र विचलित अवस्थामा पुग्नु दुःखद् भएको उहाँको टिप्पणी छ । मन्त्री अधिकारीले आत्मालोचना, आत्ममूल्यांकन र आत्मसमीक्षा गरेर आ-आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन कर्मचारीलाई आग्रह गरे ।यसैगरी खजुरामै रहेको कोसेबाली अनुसन्धान कार्यक्रमको पनि मन्त्री अधिकारीले निरीक्षण गरे ।

प्रतिक्रिया