हिरासतमा रास्वपा

एमाले र माओवादी मिलेर बनेको नेकपा (नेकपा) ले इतिहासमा गुमाएको अवसर सामान्य थिएन । जसको नेतृत्वमा केपी ओली र प्रचण्ड थिए । २०७४ सालपछि आजसम्म मुलुकले इमानदारपूर्वक संविधान कार्यान्वयन गर्ने शासक भेटेको छैन । जति पनि नेताहरू सत्तामा पुगेका छन्, तिनीहरूले प्रतिशोधको राजनीति गरिरहेका छन् । सत्ताको दुरूपयोग गरिरहेका छन् । आफू र आफ्नाहरूका लागि सत्ता भोग गरिरहेका छन् । सत्ता दलतन्त्रभन्दा पर पुग्न नसकेको अवस्था छ ।

धनराज वास्तविक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको १०० दिन पूरा भएको छ । ओलीले १०० अंकमा ७० अंक प्राप्त गरेको भनेर आफैँ दाबी गरेका छन् । तर, सत्ता विपक्षी दलहरूले ओलीको दाबीलाई अस्वीकार गरिरहेका छन् । हुन पनि आज मुलुक कताकता अस्थिरतातर्फ उन्मुख भएको हो कि जस्तो देखिन्छ । मुलुकको राजनीतिमा विभिन्न प्रकारका डरलाग्दा दृश्यहरू देखिन थालेका छन् । प्रतिशोधको राजनीतिले प्रश्रय पाउन थालेको हो, कि ? भन्ने चिन्ता प्रकट भइरहेको पनि सुनिन्छ । यी आममानिसहरूले देखिरहेका र भोगिरहेका वर्तमान हामी नेपालीका दुःख हुन् ।


जे होस्, मुलुकको राजनीति अस्थिर बन्नका निम्ति मुलुकको संविधान जिम्मेवार रहन्छ । जो अहिले नेपालको संविधान र प्रणालीबारे प्रायः राजनीतिक शक्तिको समर्थन र साथ छ । राप्रपालगायत केही शक्तिबाहेक अरू सबै विद्यमान संविधान र प्रणालीका बारेमा विमति राख्नेमा देखिँदैनन् । स्मरण रहोस्, वर्तमान सत्ता समीकरण बन्दाको बखत एमाले–कांग्रेसबीच संविधान संशोधन गर्ने भनिएको थियो । तर, आज त्यो मुद्दा गुपचुप छ । संविधान संशोधनको मुद्दाले एमाले–कांग्रेसलाई थप कमजोर बनाउने र बदनाम बनाउने सम्भावना बलियो बन्दै गएको अवस्थाको विश्लेषण सत्ता पक्षले गरेको हुनुपर्छ ।

मुलुकमा जारी सबै प्रकारका दृश्यलाई हेर्दा केही संशय भने उठेका छन् । संविधान र प्रणालीकाप्रति असहमत राख्ने शक्ति कम भए पनि संविधान कार्यान्वयन गर्ने काममा भने इमानदारीको खाँचो देखिएको छ । हामीले संविधानको एक दशकलाई फर्केर हे¥यौँ भने मुख्य राजनीतिक दलहरूको मनोमानीले सीमा नाघेको स्मरण हुन्छ । तत्कालीन समय एमाले र माओवादी मिलेर बनेको नेकपा (नेकपा) ले इतिहासमा गुमाएको अवसर सामान्य थिएन । जसको नेतृत्वमा केपी ओली र प्रचण्ड थिए । २०७४ सालपछि आजसम्म मुलुकले इमानदारपूर्वक संविधान कार्यान्वयन गर्ने शासक भेटेको छैन । जति पनि नेताहरू सत्तामा पुगेका छन्, तिनीहरूले प्रतिशोधको राजनीति गरिरहेका छन् । सत्ताको दुरूपयोग गरिरहेका छन् । आफू र आफ्नाहरूको लागि सत्ता भोग गरिरहेका छन् । सत्ता दलतन्त्रभन्दा पर पुग्न नसकेको अवस्था छ । लोकतन्त्रको नाममा दलतन्त्र चलिरहेको मुलुकले दुःख अनेक भोग्नुपर्छ । आज भएको यति न हो ।

मुख्य दलका मुख्य नेताहरूको आत्मकेन्द्रित राजनीतिले मुलुकले लिनुपर्ने गति लिन सकिरहेको छैन भन्ने बुझाइ छ । साइकलको रिङ जस्तै मुलुकको नेतृत्वमा ओली, ओली नभए देउवा, देउवा नभए, प्रचण्ड, प्रचण्ड नभए माधव, माधव नभए ओली । यसरी राज्य सत्ताको रिङ चलिरहेको छ । यहि रिङलाई तोड्ने भन्दै उदाएका नयाँ शक्ति, रास्वपालगयात समूहहरू आज अनेकौँ प्रश्नको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अस्तित्वको खोजीमा छ । त्यस्तै रवि लामिछानको पार्टीको वर्तमान अवस्था दुःखलाग्दो छ । फौजदारी अभियोगमा पक्राउ परेका लामिछानेलाई रिहा गर्नभन्दै रास्वपाले पोखरा काठमाडौँमा अनावश्यक र अनैतिक हर्कत गरिरहेको छ ।

१ जना व्यक्तिको रक्षाका निम्ति सिंगो पार्टी शक्ति यसरी जुट्नु लोकतन्त्रका निम्ति पनि राम्रो मान्न सकिँदैन । अरूलाई कानुनी राज्य, सुशासन र नैतिक राजनीति कस्तो हुन्छ ? हामीले सिकाउँछौँ भन्नेहरू नै यति नग्न बन्नु र हुनुलाई स्वभाविक मान्न सकिँदैन । कुरा रास्वपाको मात्रै होइन, सिके राउत र रेशम चौधरीहरूको पनि उस्तै छ । पहिचानको मुद्दा उठाएका उनीहरूको पहिचान श्रीमान श्रीमतीको झगडामा परिणत भएको देखिन्छ । खासगरी यस लेखमा रास्वपाको वर्तमान दुःखका बारेमा संक्षिप्त चर्चा गर्नु व्यावहारिक देखिन्छ ।

हिरासतमा रास्वपा

सहकारी ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्तो गम्भीर र फौजदारी अभियोगमा पक्राउ परेपछि पनि रविजीले पार्टीको सभापति पद गोजीकै बोकेर हिरासत पुगेका छन् । उसो त पहिलोपटक नागरिकता प्रकरणमा अपराध पुष्टि हुँदा पनि पदबाट राजीनामा दिएका थिएनन् । साथै अर्को कसैलाई कार्यवाहकको जिम्मेवारीसमेत तोेकेका थिएनन् । यस मुद्दामा पक्राउ पर्दा पनि उनले पुरानै प्रवृत्ति दोहोर्याएका छन् । कार्यवाहक सभापतिको जिम्मेवारी नदिएर उनले रास्वपालाई आफैसँग हिरासतामा पुर्याएका छन् । योभन्दा अनैतिक, अराजनीतिक र अलोकतान्त्रिक भद्दा मजाक अर्को के हुन् सक्छ ? रवि नै रास्वपा र रास्वपा नै रवि भन्ने व्यक्तिवादी चरित्र यसपटक पनि दोहोरिएको छ ।

फौजदारी कसुरमा पक्राउ परेका सभापतिका बारेमा पार्टीले कुनै विज्ञप्ति प्रकाशित गरेर आफ्नो धारणासम्म सार्वजनिक गरेको छैन । सभापति प्रहरीको गाडीमा । नेता, सांसद र समर्थक आफ्ना गाडीमा पोखरा गएर नांगै नाचिरहेका रास्वपाजनहरूमा राजनीतिक परिपक्वता भने देखिएन । न त उनीहरूमा अदालत र कानुनकै भर देखियो । यति अविश्वासी तवरको राजनीति गर्नेहरूले देश चलाउने भनेर कुन मुखले भनिरहेका होलान् ? यो गम्भीर सवाल हो ।

फन्डा र भ्रम फैलाउन रास्वपाजन बहुत खप्पिस देखिए । अन्तर्राष्ट्रिय आन्दोलनको भिडियोमा भ्वाइस ओभर गरेर भिड देखाउने, भए नभएका नारा लगाउने, जुलुसमा चुम्बन खानेजस्ता हर्कतमा व्यस्त रास्वपाका नेताहरूले रविमाथिको मूल आरोपमा क्लिन चिट पाइयो भन्दै दसैँ मनाएका थिए । तर, तिहार र छठ मनाउन नपाउनेजस्तो देखिन्छ । ३ जना जिबी, रवि र छविको संयुक्त खातामा सहकारीको अर्बौं पैसा आउँछ । त्यहि पैसाले मोजमस्ती गर्छन् । त्यहि विषयमाथि छानविन गर्न संसदीय छानविन समिति बन्छ । उक्त समितिले रविलगायतमाथि कारबाहीको सिफारिस गर्छ । अनि रास्वपाका नेता र समर्थक भन्छन्, रविमाथि राजनीतिक प्रतिशोध साँधियो ।

यो दुनियाँ हसाउने तर्कबाहेक अरू केही हुन सक्दैन । सत्तापक्षका नेता धनराज गुरुङलाई पक्राउ नगर्ने रविलाई मात्रै गर्ने ? भनेर प्रश्न गरिरहेको सुनिन्छ । सूर्य थापा नेतृत्वको समितिले पाएको म्यान्डेटअनुसार छानविन भयो । थप, गुरुङमाथि पनि प्रचलित कानुनअनुसार छानविन गर्न रिफारिस गरेको कुरा रास्वपाका जान्नेहरू पढ्दैनन् । केवल उनीहरू अरूलाई गाली गर्नमा व्यस्त छन् ।

अन्त्यमा, रास्वपाजहरूले ऐना पुछेर आफ्नो अनुहारको कालो पुछ्ने मुर्खता देखाइरहेका छन् । जो तत्काल बन्द गर्न आवश्यक छ । यस्ता लोकतन्त्र विरोधी कुराहरू गरेर जनता झुक्याउने छुट कसैलाई छैन । कुरा सिधा छ, स्पष्ट छ, फौजदारी अभियोगमा दोषी भए रविजी जेलमा । दोषी पुष्टि नभए सभापति रिहा । यत्ति भनेर विश्वास भर्ने त्यो पार्टीमा १ जना नेता भेटिएन र देखिएन । लाज लजाउने गरेर भन्छन्, नीलो क्रान्ति । रविबाहेक सारा भ्रम ठान्ने समाज देशका निम्ति घातक छ ।

फौजदारी अभियोगमा पक्राउ परेकाहरूको पक्षमा नाराबाजी गरेर, उदण्डता मच्चाएर रास्वपाले कस्तो राजनीति संस्कार स्थापित गर्न खोजेको हो ? रविका सारा अपराध केही होइनन्, अरूका साना गल्तीहरू पहाड ? नीलो क्रान्तिका मालिकहरूलाई प्रश्न । यो हर्कतले देशमा परिवर्तन ल्याउने होइन कि, बेथितिविरुद्ध हुने आन्दोलनमा समेत जनताको मनमा शंका उत्पन्न हुन सक्छ । ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखानजस्तो हुन सक्छ । वैकल्पिक शक्तिका रूपमा जनताले भरोषा गर्न थालेका पार्टीहरू स्खलित हुँदै जानु भनेको देश र समाज अझ पछि धकेलिने संकेत हो ।

प्रतिक्रिया