पशुपति शर्माको ‘लुट्नसके लुट कान्छा…’ भन्ने गीत सम्झेँ । त्यस गीतले धेरैजसो नेता र कर्मचारीहरूलाई ब्यंग्य गर्दछ । तर यात्राको अवस्था हेर्दा त्यो गीतमा सडक छेउमा बसेर यात्रु लुट्ने यी सडक व्यापारी, होटलवाला र सवारीवालाहरूको प्रतिविम्व झल्कन्थ्योे । नेताहरूले त ठुलै अंकमा लुट्दै आएका छन्, तर तिनै नेताहरूलाई गाली नगरी पानी ननिल्ने ती सर्वसाधारण नागरिकहरू नै पाइलैपिच्छे, अझ आपत्विपत्मा अनेक बहानामा लुट्न पछि पर्दैनन् भन्ने यात्रामा देखियो । आखिर ठुलो अंशमा लुटे पनि, सानो अंशमा लुटे पनि लुटै हो, मानवतामाथिको बेइमानी नै हो ।
गएको ११ देखि १३ असोजसम्म बाढीपहिरोले जताततै भयावह बनाइरहेको थियो । यात्रा गरिरहेका यात्रुहरू जताततै अलपत्र परिरहेका थिए । ती यात्रुहरूलाई गन्तब्यसम्म पुर्याउन हिँडेका सवारीसाधनहरू लहरै बाढी र पहिरोको चपेटामा परेका थिए । यसैबीचमा हामी पनि अलपत्रै परिरहेका थियौँ । बाढीपहिरोले बाटोहरू बन्द हुँदै जाँदा सवारी साधनहरू भने हामी काठमाडौँ बेलुकासम्म पुर्याइहाल्छौँ भनेर यात्रुलाई जबर्जस्ती तान्दै थिए र भाडासमेत डेड्गुणा–दुगुणा असुलिरहेका थिए ।
अर्कोतिर यात्रा नटुंगिउन्जेलसम्म अनेकथरीका ब्यापारीहरू मनपरी मूल्य तोकेर यात्रुहरूमाथि शोषण गरिरहेका थिए । बुटवलबाट अगाडि बढेपछि दाउन्नेमा पहिरो गएका कारण बर्दघाटसम्मै गाडीहरूको लाइन लाग्यो । गाडी रोकिनै नपाइ केही महिलाहरू मुखैमा कोच्याउलान् झैँ पानीका बोतल लिएर भित्र पसे । कति रुपैयाँ ? १ बोतल पानीको ६० रुपैयाँ । सामान्य दरभन्दा ३ गुणा बढी । प्यासले आकुल–ब्याकुल भएकाहरूले किन्नुको विकल्प थिएन । केही अगाडि सार्वजनिक शौचालय थियो । हामी केही यात्रुहरू त्यता लाग्यौँ । सरसफाई गर्ने भाइले पिसाब गरेको १० रुपैयाँ माग्यो । ‘बोर्डमा त ५ रुपैयाँ लेखेको छ त भाइ, किन १० ?’ मैले सोधेँ । उसले झर्किंदै भन्यो, ‘सबैले दिइरहेका छन्, १० रुपैयाँ खुरुक्क दिनु न ।’ मैले पनि खुरुक्कै तिरेँ ।
आलुचप, काँक्रा, मकै, चिप्स बेच्नेहरू तँछाडमछाड गर्दै बसमा पसे । तिनका दर पनि उस्तै, २–३ गुणा बढी । चिया पिउन मन लाग्यो, चिया पसलमा पस्यौँ । पसलेले साविकको गिलासमा पाउनेभन्दा आधा मात्र अटाउने कागजी गिलासमा दिएर ३० रुपैयाँ लियो । करिब ८ घन्टापछि झमक्कै साँझ पर्दा हामी नारायणघाट आइपुग्यौँ । मोबाइलको हरेक ट्युनिङ्मा सवारी नगर्नु, गरे पनि सुरक्षित साथ गर्नु भनि बजिरहेकै थियो । सवारी दलाल, खलासी र ड्राइभरहरूलाई बाटो बन्द छ भनेर थाहा छ । तर त्यहाँ पनि उनीहरू काठमाडौँ काठमाडौँ भन्दै यात्रुहरू तानिरहेका थिए । उनीहरूमा यात्रुहरूलाई गन्तब्य पुर्याउनेभन्दा थप पीडा दिएर कमाउने ध्येय मात्र थियो ।
होटलवालाहरू पनि के कम, बाटामा लहरै बसेर हामी अलपत्र यात्रुलाई तान्न हरप्रयास गरिरहेका थिए । पुल्चोक एरियाका होटलहरू प्रायः सबै प्याक भएपछि बसपार्कतिरका केही होटलमा सोधेँ । १५ सय २ हजार रुपैयाँभन्दा कम कसैले भन्दैनन् । मानौँ उनीहरूलाई हाम्रो आपत्विपत् त उत्सव झैँ लागेको छ । खोज्दैजाँदा एउटा छिँडीको सिंगलवेड कोठालाई ८०० रुपैयाँ तिरेर सुतियो । जबकि केही समयअगाडि ५०० मा मानिसहरू सहजै बस्ने गर्दथे ।
१२ गते बिहानै एउटा माइक्रोबस आएर काठमाडौँ खुलिसक्यो जान सकिन्छ भन्यो । अर्कोले माथि नौबिसेअगाडि बाटो बिग्रेको हो, हामी नुवाकोट वा धार्के भएर पुर्याउँछौँ भन्यो । उसको विश्वासले हामी हिँड्यौँ । तर, २ महिनाअगाडि २ वटा बस खसेर ६५ यात्रु बेपत्ता भएको सिमलताल पुग्दानपुग्दै जाम लाग्न थाल्यो । माथिबाट पहिरो आएर नारायणीमा कतिवेला हामीलाई पनि झार्ला भन्ने मानसिक त्रासले सबैको होस उडिरहेको थियो । चालकलाई बाटो छैन भन्ने जान्दाजान्दै किन ढाँटेको ? भनेर सोध्यौँ ? ‘नौविसे पो बन्द भनेर थाहा थियो त, यो त भरखर पो बन्द भा’को, नजाने भए झर्नुस् न त !’ उसले हामीलाई झर्केर उत्तर दियो । झरेर कता जाने ? धेरै बोल्यो भने जानीजानी गाडी नै त्रिशुलीतिर हालेर ड्राइभर भाग्ला भन्ने अर्को डर ! चुपचाप सह्याँै ।
पानी बेच्नेहरू लहरै आए । कति रुपैयाँ ? १०० रुपैयाँ प्रतिबोतल । चाउचाउ बेच्ने आयो, प्रतिप्याकेट ५० रुपैयाँ । काँक्रो बेच्न ल्यायो, एउटा चिराको ५०, जबकी किलोको १०० रुपैयाँ परे पनि किलोमा पर्दा ४ वटा र त्यसलाई ८ टुक्रा बनाउँदा एउटा पिसको साढे १२ रुपैयाँ पर्छ । तर उनीहरूले ४ गुणा बढी मूल्यमा हारालुछ गरी बेचे । गाडी घसिँ्रदै र बढ्दै जाँदा एउटा टहरे पसलमा रोकियो । त्यहाँ पनि ग्राहकको मेला लागेको र ४ जनाले बेच्दा पनि भ्याइनभ्याइ थियो । १० रुपैयाँमा पाउने टेस्टी बिस्कुटको २० र २० रुपैयाँ पर्नेलाई ४० लिइरहेका । त्यसकै अगाडि चटपटे बेचिरहेको एउटा मधेसी भाइलाई चटपटे बनाउन भनेँ । उसले अगाडि नै भन्यो, ‘हजुर १०० रुपैयाँभन्दा घटीको चट्पटी बन्दैन ।’ जबकी पहिले–पहिले ३० रुपैयाँमा एक मानाजति चट्पटी जताजतै बन्थ्यो ।
त्रासैत्रासका बीचमा भगवान् भरोसा गर्दै रातभरी पहरा र खोला किनारको बीचमा गाडीभित्रै सुतेपछि बिहान गाडी अगाडि बढ्यो । गल्छी आइपुग्दा काठमाडौँका पठाऊहरू मौका यही हो भनेर उहीँ पुगेका थिए । हामी छिटो पुर्याउँछौँ भन्दै उनीहरूले १ हजार ५०० देखि २ हजार मागिरहेका थिए । यसैगरी जहाँजहाँ जाम् पर्छ त्यहाँ माग्नेहरू पनि पुगेकै थिए । उनीहरूलाई समेत कमाउने अवसर यही थियो ।
नारायणघाट–काठमाडौँ मात्र होइन, यस्ता यात्राहरू खुर्कोट र हेटौँडाबाटसमेत भइरहेको थियो । जतासुकै प्रकोप र आपत्विपत् । तर त्यही मौका छोपेर चौका हान्नेहरू निसंकोच लुट्न र ठग्न जताततै मस्त । मैले केहीलाई भनेँ, ‘यस्तो आपत्विपत्मा त धर्म पो गर्नुपर्छ, सके सित्तैमा, नसके बढी दाम नलिइकन सेवा गर्नुपर्छ ।’ तर उनीहरू निर्लज्ज भएर मौकाको फाइदा उठाइरहेका थिए ।
होटल क्षेत्रमा रोकिँदा त्यहाँ पनि छोइसक्नु थिएन । खाजाको ३००, सादा खानाको ४०० र मासु खानाको ५००–६०० रुपैयाँ । अझ तिनका होटलका ढोकाभित्र छिराएवापत मिठोमिठो निःशुल्क खान पाएपछि दलाल, खलासी र चालकहरू (उनीहरूकै भाषामा दले–खले–चले) ले एकान्त होटलमा पुर्याएर हामीलाई थप शोषण गरिरहेका थिए । न ब्यापारी न सवारीवालामा कसैमा पनि यात्रुहरू आपत्विपत्मा छन्, यिनीहरूसँग पैसा छ छैन, कति दिनदेखि खाएपिएका छन् छैनन्, कुनै मानवीय चिन्ता वा सोधनी थिएन । उनीहरू दया, माया र मानवता खोसिएका चाण्डालहरू झैँ यात्रुहरू मरेमरुन् जतिसक्दो पैसा कमाई हालौँ भन्ने व्यवहार देखाइरहेका थिए ।
गल्छी आइपुगेपछि बसले प्रतियात्रु थप ३०० रुपैयाँ भाडा माग्यो । किन भनेर हामीले सोध्यौँ, उसले नुवाकोट घुमाएर लैजानुपर्ने हुनाले थप्नु नत्र यही उत्रिनु भन्यो । तर नुवाकोटमा भरखरै माइक्रो खसेको सूचना पाएपछि प्रहरीले त्यताको बाटो रोक्यो । अनि हामी घिस्रिंदै र रोकिँदै धार्के आइपुग्यौँ । धार्केबाट सीतापाइला निस्कने बाटो मोडिनासाथै चालकले २००–२०० रुपैयाँ थप्न पर्ने नत्र गाडी त्यहीँ रोक्ने चेतावनी दिएपछि हामीले थप झगडा गर्न सकेनौँ र काठमाडौँ पुग्नु नै उचित ठानी पैसा थप्यौँ । जबकि नौबिसेबाट कलंकी निस्कनुभन्दा धार्केबाट सीतापाइला निस्कनु ८ किलोमिटर छोटो पर्दथ्यो । यी सबै थाहा पाएर पनि त्यहाँ प्रहरीहरूको कुनै चासो र निगरानी थिएन ।
पशुपति शर्माको ‘लुट्नसके लुट कान्छा…’ भन्ने गीत सम्झेँ । त्यस गीतले धेरैजसो नेता र कर्मचारीहरूलाई ब्यंग्य गर्दछ । तर यात्राको अवस्था हेर्दा त्यो गीतमा सडक छेउमा बसेर यात्रु लुट्ने यी सडक ब्यापारी, होटलवाला र सवारीवालाहरूको प्रतिविम्व झल्कन्थ्योे । नेताहरूले त ठुलै अंकमा लुट्दै आएका छन्, तर तिनै नेताहरूलाई गाली नगरी पानी ननिल्ने ती सर्वसाधारण नागरिकहरू नै पाइलैपिच्छे, अझ आपत्विपत्मा अनेक बहानामा लुट्न पछि पर्दैनन् भन्ने यात्रामा देखियो । आखिर ठुलो अंशमा लुटे पनि, सानो अंशमा लुटे पनि लुटै हो, मानवतामाथिको बेइमानी नै हो । अतः अवसर पाए लुट्न र मार्नका लागि नेताभन्दा जनता कहाँ कम छन् र !
प्रतिक्रिया