सडक दुर्घटनाका कारणहरू के के हुन् ?, यिनको निराकरणका लागि अपनाउनुपर्ने विधिहरू के के हुन् ? के कस्ता कानुनहरू निर्माण गरी कार्यान्वयन गर्नुपर्ने हो ? यसतर्फ सरोकारवालाहरूको ध्यान जानुपर्दछ । तीनै तहका सरकारहरूले सडकको नाममा उपभोक्ता र यात्रुहरूसँग कर उठाउने, तर वर्षौंसम्म पनि सडकको स्तरोन्नति नगर्नु कहाँसम्मको न्याय संगत हुन सक्छ ?
आफ्नो गाउँघर पुगेका सर्वसाधारणहरू दसैँ पर्व मनाएर आआफ्नो कार्यस्थलमा समयमै पुगी सेवाग्राहीहरूलाई सेवादिने तथा छोराछोरीहरूको विद्यालय, व्यापार व्यवसाय सुचारु गर्नका लागि फर्कने क्रम जारी नै रहेको छ । करिब ७ लाखको हाराहारीमा काठमाडाँै छोडेका सर्वसाधारण नागरिकहरू काठमाडौँ र्फकँदासमेत यातायातका साधनको कमीका कारण सास्ती बेहोर्न बाध्य भएका छन् । दसैँ अघिको भारी वर्षाका कारण राजमार्ग र सहायकमार्गहरू अवरुद्ध हुँदा सडकमा यातायात पूर्णरूपले सञ्चालन हुन सकिरहेको देखिँदैन ।
सडक मर्मत तथा वैकल्पिक मार्ग प्रयोग गरेर सडक आवागमनको कार्य सडक विभागले तीव्रताका साथ गरिरहेको छ, जुन सकारात्मक मान्न सकिन्छ । असोज २९ गते डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । यसैगरी सिन्धुलीको मरिण गाउँपालिका–७ ठाँटीस्थित सडकमा सिन्धुलीबाट छापतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलचालक १८ वर्षीय सन्दीप स्याङ्तानको मृत्यु भएको छ ।
त्यस्तैगरी मुस्ताङमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भयो भने कैलालीको भजनीमा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको दुःखद् खबरले सडक दुर्घटनाको भयावह अवस्थाको चित्रण गरिरहेको छ । यी घटनाहरू प्रतिनिधि उदाहरण मात्र हुन, दिनहुँ हुने दुर्घटनाबाट अहिले पनि घाइते, अंगभंग र ज्यानै जाने क्रम अझै रोकिएको छैन ।
यसअघि त्रिशूली नदीमा खसेको यात्रुवाहक बसका केहीयात्रुहरू अझै बेपत्ता भएको खबरले सडकमा यात्रुहरू सुरक्षित नभएको महसुस गर्न सकिन्छ । नेपाल सरकारले काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई नागरिक एपबाट भुक्तानी गर्न सकिने र लाइसेन्सको ट्रायल उत्तीर्ण भएकाहरूलाई मोबाइल एपबाट हेर्न सकिने सकारात्मक निर्णय गरेको छ । जुनकार्यको चौतर्फी स्वागत भइरहेको छ ।
दसँै सकिए लगत्तै बिस्तारै वायुमण्डलीय प्रणाली सुधार हुँदै वर्षा रोकिएको र जाडो बढ्न थालेको छ । सँगसँगै सडक दुर्घटनाहरू बढ्न थालेका छन् । तीव्र गति, लेन अनुशासन पालना नगर्नुका साथै पर्याप्त मात्रामा सडक संकेत नहुनु, जथाभावी खोलिएका सडकहरूका कारण दुर्घटना हुने गरेको छ । यसप्रकारको दुर्घटनाले पैदल यात्रु, सडक प्रयोगकर्ता र सडकमैत्री बनाउने अभियानमा लागेका सबैलाई चुनौती थपिदिएको छ । अर्कातर्फ दुर्घटना भइसकेपछि मात्रै सरकारी निकाय र सम्बन्धित सरोकारवालाहरू व्युँझने र अरूबेला निदाउने परिपाटीले गर्दा सडक दुर्घटनामा कमी आउन नसकेको पक्कै हो ।
यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी रहेको छ । सडक दुर्घटनाका कारणहरू के के हुन् ?, यिनको निराकरणका लागि अपनाउनुपर्ने विधिहरू के के हुन् ? के कस्ता कानुनहरू निर्माण गरी कार्यान्वयन गर्नुपर्ने हो ? यसतर्फ सरोकारवालाहरूको ध्यान जानु पर्दछ । तीनै तहका सरकारहरूले सडकको नाममा उपभोक्ता र यात्रुहरूसँग कर उठाउने, तर वर्षौंसम्म पनि सडकको स्तरोन्नति नगर्नु कहाँसम्मको न्याय संगत हुन सक्छ ? ठेकेदारहरूको लापरबाहीका कारण सडक र पुलहरू वर्षांैसम्म नबन्नुमा कस्को दोष हो ? सडक र पुलका नाममा दुःख दिनेहरूलाई हदैसम्मको कानुनी कारबाही गरिनुपर्दछ । राजधानी भित्रैका सडकहरू निर्माणका लागि म्याद थपेकोथपै किन गरिन्छ ? यसको जवाफ सम्बन्धित निकायले दिनै पर्दछ ।
देशैभरीका सडकहरूको अवस्थाहरू दयनीय छ । सडक निर्माणकै लागि भनेर महिनाँै सडक बन्द गरिन्छ । त्यसपछि सडक खुलेको केही महिनामै सडक फेरि बेहाल बन्ने परिपाटी अन्त्यका लागि गुणस्तरीय काम हुनुपर्ने आवश्यकता रहेको छ । वर्षाका समयमा सडक अवरुद्ध हुने क्रमले गर्दा खाद्यान्न, लत्ताकपडा लगायतका सामग्रीहरू भनेको ठाउँमा पु¥याउन नसकिँदा स्थानीयहरू मर्कामा परिरहेका छन् । राजधानी लगायतका मुख्य सहरहरूमा समेत सडक व्यवस्थित रूपमा निर्माण हुन नसक्दा ढलसमेत सडकमै बग्ने र यातायात अवरुद्ध हुने समस्याहरू बढ्न थालेका छन् । सडकको बीचमा भ्वाङ पर्ने, सडकमै पानी बग्ने समस्या फेरि दोहोरिरहेका छन् । सुख्खा पहिरोले पनि सास्ती थपिरहेकै छ ।
मुलुकका विभिन्न स्थानहरूमा सडक दुर्घटनामा थुप्रै नागरिकहरूले ज्यान गुमाएका र कैयौँ घाइते भएका दुःखद् समाचारहरू दिनहुँ आइरहेका छन् । सडक दुर्घटनाहरू न्यूनीकरणका लागि चालक आफैँ सचेत, अनुशासित हुनुका साथै सवारी साधनको अवस्था समेत राम्रो हुनुपर्ने देखिन्छ । तीव्र गति, मदिरा सेवन र ट्राफिक नियम उल्लंघन गरी जथाभावी सवारी चलाउँदा अकालमै नागरिकहरूले मृत्युवरण गर्न पुगेका छन् । सवारी चालकको अत्यधिक लापरबाहीका कारण सडक दुर्घटना बढेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ तर यो मात्रै सडक दुर्घटनाको कारण भने अवश्य हुन सक्दैन । सरकारले सडकसम्बन्धी ठोस कानुन कार्यान्वयनमा कडाइ, समयमै सडक मर्मत, सवारी चालकअनुमति पत्र दिँदा पु¥याउनुपर्ने तालीम लगायतका विषयहरूमा ध्यान दिनु आवश्यक रहेको देखिन्छ ।
सडक दुर्घटना हुने अर्को कारण भनेको पशु चौपाय पनि हो । राजधानीलगायत मुख्य राजमार्गहरूमा जथाभावी पशु चौपाया छोडेका कारण र वर्षौंअघि राखिएका ट्राफिक संकेत चिन्हहरू (बत्ती) नबल्दा थप दुर्घटनाहरू बढेको अवश्य नै हो । राजधानीका सडक चौडा भएको वर्षौं दिन बितिसक्दा पनि पर्याप्त मात्रामा ट्राफिक चिन्हहरू नभएका कारण दिनहुँ सडक दुर्घटना हुने गरेका छन् ।
राजमार्गहरू फराकिलो बनाउने भन्दै सरकारले काम थाले तापनि विभिन्न बाधा अड्चनका कारण समयमै काम सकिएको छैन । कम गुणस्तरका सामग्रीहरू प्रयोग गरी पुलहरू निर्माण हुनु अर्को दुर्भाग्य हो । पुल भासिएको र भत्किएको समाचारहरू हाम्रा अगाडी आइरहेकै छन् । सडक छेउका घरहरू धमाधम भत्काएको पनि वर्ष दिनभन्दा बढी नै भइसक्यो तर ती स्थानहरूमा अहिलेसम्म पनि सडक निर्माण पूरा हुन सकेको देखिँदैन । जनताहरूले आशा गरे बमोजिमका स्थानीय जनप्रतिनिधिहरूले समेत कार्य गर्न सकेको देखिँदैन । राजधानीमा सडक दुराबस्था भएकै कारण दिनदिनै सवारी दुर्घटना हुने क्रम बढ्दै गइरहेको छ । काठमाडाँै उपत्यकाको सडकका ढलमंगल र सडक पेटी नछोपी खुल्ला राख्ने गरिएको छ । कतिपय ठाउँमा सडक भ्वाङ परेको छ । यस्तो अवस्थाबारे सडक विभाग अनभिज्ञ देखिन्छ । समयमा काम नसक्ने निर्माण व्यवसायीलाई किन कारबाही गरिँदैन ? चौतर्फी प्रश्न उठेकै छ ।
विशेषगरी बिहान र बेलुका चक्रपथ बाहिरका साना ठुला सडकहरूमा ठुल्ठुला ट्रिपरहरू चलाइँदा सडक बिगंँदै गइरहेका छन् भने उपत्यका भित्रिने राजमार्गहरूमा क्षमताभन्दा बढीका सामानहरू लोड हुँदा सडक र पुलहरू कमजोर हुँदै गइरहेका छन् । सरकारले सडक सुधार र ट्राफिक व्यवस्थापनका लागि समय समयमा धेरैपटक अनेक नीतिनियमहरू र प्रतिवेदनहरू सार्वजनिक गर्ने गर्दछ, तर ती व्यवहारमा लागू भए, भएनन् भनेर पुनर्मूल्यांकन सरकारले गर्न सकिरहेको छैन । सडक चौडा र फराकिलो हुने बित्तिकै सवारी दुर्घटना कम हुने होइन । जबसम्म आम सवारी चालक, पैदल यात्रुहरू बीच जनचेतना जागृत हुँदैन तबसम्म दुर्घटना घट्न सक्दैन । सडक बिस्तारको क्रममा सडकमै रहेको बिजुली र टेलिफोनका पोल र यत्रतत्र छरिएका नेटका तारहरूले वातावरण बिगारिरहेका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ ।
सहरहरूमा ट्राफिक व्यवस्थापन गर्नका लागि अनिवार्य सडकपेटी हुनु आवश्यक छ । त्यस्तै गरी ट्राफिक चिन्हहरू र जेब्राक्रसहरूको व्यवस्थाका अलावा पर्याप्त पार्किङको व्यवस्था, लेन अनुशासनको पालना, सफा र व्यवस्थित सडक, यात्रुहरूका लागि प्रतीक्षालय र समयानुकूल ट्राफिक नियम हुनुपर्दछ । बाटो बिस्तार गरी चौडा बनाइएता पनि जथाभावी मोटर, मोटरसाइकल पार्किंङ र फुटपाथ पसलेहरूका कारण पहिले सडक नबढाउँदाकै अवस्थाको झझल्को दिइरहेको आभास सजिलै गर्न सकिन्छ ।
अहिले राजधानीभित्र कोटेश्वरदेखि बल्खुसम्म ६ लेनको सडक बनाइएको छ, तर सडकहरू काट्न सर्वसाधारणलाई हम्म्मेहम्मे पर्ने र दुर्घटना हुने अत्यधिक सम्भावना रहेको छ । यसतर्फ सरकारले समयमै ध्यान दिनु जरुरी छ । ती सडकहरूमा पर्याप्त मात्रामा जेब्राक्रस, आकाशे पुल, ट्राफिक संकेत चिन्हहरू अनिवार्य रूपमा राख्नुपर्ने आवश्यकता रहेको छ । सडक फराकिलो भए यता भक्तपुर–कोटेश्वर सडक खण्डमा दुर्घटना झन् बढेको छ । थुप्रै नागरिकहरूले ज्यान गुमाइसकेका छन् ।
तीव्र गतिका कारण मात्रै दुर्घटना बढेको अवश्य होइन । सडकको दुरावस्था, ट्राफिक संकेत चिन्हहरू नभएका कारण, सिकारुहरूले राजमार्ग र मुख्य सडकमा गाडी चलाउनु, सडकको स्तरोन्नति नहुनुका कारणले पनि सडक दुर्घटना हुने गरेका छन् । गाडीले क्षमता भन्दा बढी यात्रु राखेका कारण गाडी अनियन्त्रित हुनु, चालकले मादक पदार्थ सेवन गरी गाडी चलाउनु, सवारी साधन मर्मत सम्भारको अभावमा बिग्रनु, अझैसम्म सिन्डिकेट कायमरहनु आदि सवारी दुर्घटनाका मुख्य कारणहरू हुन् ।
ट्राफिक प्रहरीका अनुसार सडक दुर्घटनाको मुख्य कारण चालकको लापरबाहीलाई लिइएको छ । चालकको लापरबाहीका कारण ६७ प्रतिशत, यात्रुको गल्तीले ४ प्रतिशत, ओभरटेकबाट ४ प्रतिशत, तीव्र गतिका कारण १५ प्रतिशत, यान्त्रिक गडबडीका कारण ४ प्रतिशत र अन्य कारणहरूमा ६ प्रतिशत रहेका छन् ।
मुख्यतया सडक दुर्घटना हुने प्रमुख कारणहरूमा ट्राफिक नियम कार्यान्वयन नगर्नु, सडकको भौतिक अवस्था, यान्त्रिक कारण, मानवीय कारण, मौसम तथा अन्य विभिन्न कारणहरू मुख्य रूपमा रहेका छन् । चालकले आफ्नो व्यवहार सुधार गर्ने र सवारी साधनलाई समयसमयमा मर्मत सम्भार गरी सवारी चुस्त दुरुस्त अवस्थामा राख्न सकिएको खण्डमा सडक दुर्घटना घट्छ । सडकहरू सुधार्ने, यात्रु तथा पैदल यात्रुहरू सचेत हुने र ट्राफिक नियम पालना गर्न सकिएको खण्डमा सडक दुर्घटनालाई केही हद भए पनि न्यूनीकरण गर्न सकिन्छ । नेपालमा सवारी दुर्घटना बढ्नुको प्रमुख कारण मध्ये थोत्रा सवारी साधन चलाउनु हो । दशकौँदेखि सडकको स्तरोन्नति नहुनु, खाल्डाखुल्डी, सडक छेउछाउमा बनाइएका अव्यवस्थित भौतिक संरचनाहरू आदि रहेका छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय उच्च रक्तचाप, तनाव, मोबाइलको प्रयोग, छारे रोग र अनुभव नभएका चालकहरूका कारण दुर्घटना बढेको छ । यस्ता प्रवृत्ति रोक्नका लागि सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।
सडक दुर्घटना न्यूनीकरणका लागि चालक आफैँ सजग र सतर्क हुनु आवश्यक छ । सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक थप ऐन, नीति नियम बनाएर लागू गर्नुपर्दछ र भएका कानुनहरूमा समेत समय सापेक्ष परिमार्जन गर्दै लानुपर्दछ । सडक दुर्घटना रोक्न सरकारी क्षेत्रबाट कडाभन्दा कडा कानुन ल्याउनुपर्दछ ।
सरकारले राजमार्गहरूमा जनचेतना दिनेखालका होर्डिङ बोर्डहरू राख्नुपर्दछ । चालकहरूले रक्सी सेवन नगरी, ट्राफिक नियमको पालना गरी, होसियारी र सावधानीपूर्वक आफ्नो सवारी साधन चेक गरी, बिग्रेका भए मर्मत सम्भार गरी चलाउनुपर्दछ । सडकहरूमा जथाभावी चौपाया छोड््नेहरूलाई कडा कारबाही गरिनुपर्दछ । त्यस्तैगरी सडकअवरुद्घ हुनेगरी सभा सम्मेलन, धर्ना दिने कार्यक्रम राख्नु हुँदैन्, फुटपाथ पसलहरू हटाइनु पर्दछ । ट्राफिक चिन्हहरू पर्याप्त मात्रामा राख्ने, सडकमा भएका खाल्डाखुल्डी समयमै पुर्ने व्यवस्था गर्न सकिएको खण्डमा केही हदसम्म सडक दुर्घटना न्यूनीकरण हुन सक्छ ।
प्रतिक्रिया