स्टार माइक्रोको आइपिओ बिक्री प्रबन्धकमा गरिमा

काठमाडौँ । स्टार माइक्रो इन्स्योरेन्सले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल नियुक्त भएको छ । आइपिओ निष्कासनसम्बन्धी कार्यका लागि गरिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले आइतबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको १०० रुपैयाँका दरले हुन आउने कुल रकम २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्याभूति गर्ने सम्झौता भएको छ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुस १४ मा दर्ता भई २०८० भदौ १ देखि निर्जीवन लघु बिमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बिमासम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया