भुस्याहा कुकुरसँगै रात बिताउन बाध्य छन् बाढीपीडित

‘राहतको नाममा आश्वासनबाहेक केही पाएनौँ’

काठमाडौँ । नख्खु खोला किनारमा बाढीले बगाएर ल्याएको लेदो सुकिसकेको छैन । नीता सिजाली त्यही लेदोमाथि कतैबाट मागेर ल्याएका जुटका बोरा बिछ्याउँछिन् र उनीहरूको परिवार त्यही हिलोमाथि ओछ्याएको बोरामाथि रात काट्न बाध्य छ । सुतिरहेका बेला कहिले कुकुर आएर सँगै सुत्छन्, कहिले लामखुट्टे कानमा भुनभुनाउन थाल्छन् । कुकुर र लामखुट्टेको डरभन्दा पनि सिजालीलाई छोराछोरीको स्वास्थ्य र सुरक्षाको डरले चिन्तित बनाउँछ ।


आफन्तको छाप्रोमा आश्रय पाएका सिजालीको परिवार छाप्रोको भुइँमा रात बिताउन बाध्य छ । ‘मान्छे र कुकुरमा केही फरक छैन । बाढीले घरबास सबै बगाएपछि अहिले कुकुरसँग रात बित्न थालेको छ । कुकुरलाई धपाउन सकिन्छ, यो वर्षाको समयमा छोराछोरीको स्वास्थ्य, सुरक्षा कसरी गर्ने भन्ने डर लाग्छ,’ सिजालीले भनिन् ।

शनिबार आएको बाढीले ललितपुरस्थित नख्खु खोला किनारमा रहेको छाप्रो बगाएपछि सिजालीको परिवार विस्थापित बनेको छ । सिन्धुली स्थायी घर भएर काठमाडौँमा मजदुरी गर्ने उनको परिवार अहिले न घर जाने अवस्थामा छ, न यहाँ सुरक्षित बस्ने व्यवस्था नै । बाढीले सबै बगाएर लगेपछि उनीहरूको शरीरमा एकसरो लुगाबाहेक आफ्नो भन्ने केही छैन । आफन्तको छाप्रोमा आश्रय पाउनु अहिलेको समयमा सौभाग्य भएको सिजालीले बताइन् ।

खोलाले सुरुको दिन आँगन भिजाएको थियो । केही समयमा पानी सुकेपछि बाढी नआउने विश्वासले उनीहरू राति मस्त निद्रामा परे । निदाएका बेला अनाचक आएको बाढीले बस्ती बगाएको सिजालीले बताइन् । ‘खासै ठुलो पानी नपर्ला भनेर ढुक्कले सुत्यौँ,’ उनले भनिन्, ‘खोला अचानक झुक्याएर आयो । सबै बगाएर लग्यो ।’
ललितपुरस्थित फूलबारी मार्ग–२५ मा बस्ने नरबहादुर सिजाले मगरको ६ जनाको परिवार पनि अलपत्र परेको छ । ‘कहाँ बस्ने ? के खाने ?,’ उनले प्रश्न गरे, ‘दिनभरि उज्यालोमा डर लाग्दैन । रात परेपछि खोलामा फेरि बाढी आयो भने छोराछोरी र श्रीमतीको सुरक्षा कसरी गर्ने भन्ने चिन्ताले सताउँछ । रातभरि निद्रै लाग्दैन ।’ नख्खुखोला किनारमा छाप्रो बनाएर बस्दै आएका मगरको परिवार दिनभरि मजदुरी गरेर बेलुका हातमुख जोड्ने स्थितिमा समेत छैन ।

नख्खुखोला किनारमा अस्थायी टहरामा बस्दै आएका चतुरराम माझीलाई यतिबेला गाँसभन्दा बासको चिन्ताले सताएको छ । ‘वडाले खाना खुवाउँछ, तर कहाँ रात बिताउँछौ भनेर सोध्दैन,’ उनले भने, ‘फेरि पानी प¥यो भने ओत लाग्ने थलो छैन ।’ माझीसँग शरीरमा एकसरो सर्ट र च्यातिएको पाइन्ट मात्रै छ । आफन्ती कहाँ आश्रय लिएर रात कटाउँदै आएका माझीले अहिले राहतको नाममा आश्वासनबाहेक केही नपाएको बताए । ‘सरोकार भएका निकायले आश्वासन मात्र नदिएर तत्काल हामीजस्ता पीडितलाई राहतको व्यवस्था गर्नुपर्छ । यही अवस्था रहिरहे हाम्रो स्वास्थ्यमा पनि समस्या आउन थाल्नेतर्फ सचेत हुनपर्ने आवश्यकता छ,’ उनले भने ।

ललितपुरस्थित आदिनाथ मार्ग घर भएका आनन्द दासले खोलाले बगाउने चिन्ता हटे पनि घरमा भएका सामान चोरी हुने चिन्ताले सताउन थालेको बताए । बाढीले घर डुबानमा परेपछि आमासँगै उनलाई हेलिकोप्टरबाट उद्धार गरेर सुरक्षित स्थानमा ल्याइएको थियो । आफूहरू सरक्षित भए पनि घरमा रहेका सामान असुरक्षित भएको भन्दै उनले ग्यासको सिलिन्डर चोरी भएको जानकारी पाएको बताए । ‘बाढीको हिलो र माटो पसेर ढोका बन्द गर्न मिल्दैन । हिलोले सबै डुबेको छ । राति ग्यास चोरी भएछ,’ दासले भने । बाढीले थलिएको बस्तीका सर्वसाधारण सबै त्रासमा रहेको बताउँदै उनले सरोकारवाला निकायले तत्काल पीडितलाई उचित बासको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

रामेछाप घर भएकी सरस्वती बस्नेत बुधबार डोजरले खन्दै गरेको बस्तीका सामान कोट्याउँदै थिइन् । घर र ७ वटा गाईसहितको गोठ बगर बनेपछि उनकोे पेट पाल्ने आधार खोसिएको छ । ‘डोजरले खनिरहँदा केही सामान भेटिन्छ कि भनेर दिनभरि कुरेर बसेँ, केही हात लागेन,’ उनले भनिन्, ‘७ वटामध्ये ४ वटा गाई मृत भेटिएका छन् ।’ सरस्वतीको परिवारले २ वर्षअघि गाईपालन व्यवसाय सुरु गरेको थियो । १४ लाख रुपैयाँ ऋण लिएर गाईपालन थालेको भन्दै उनले लगानीसमेत उठ्न नपाउँदै गाई बगरमा मिसिएको बताइन् ।

‘बिमा गरेको १३ दिन मात्र भएको थियो । स्वदेशमा आयआर्जन गरेर जीविकोपार्जन गर्ने योजना बनाएर गाईपालन सुरु गरेका थियौँ । सबै सपना र १४ लाखको लगानी बाढीले बगाएको छ,’ सरस्वतीले भनिन् । अब ऋण तिर्न मुग्लान पस्नुपर्ने उनले बताइन् । ‘२/४ रुपैयाँ कमाएर स्वदेशमा बस्ने रहर पलाएको थियो,’ उनले भनिन्, ‘अब केही रहेन । ऋण तिर्न बिदेसिनुबाहेक अरू विकल्प पनि छैन ।’

नख्खुखोला किनार घर भएकी निर्मला धामी बगरमा दराज खोज्दै थिइन् । ५ तोला सुनका गहनासहित दराज खोलाले बगाएको भन्दै भेटिन्छ कि भन्ने आसले खोजी गरेको धामीले बताइन् । जीवनभरको कमाइ माटोमा विलिन भएको भन्दै अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता लाग्न थालेको उनले गुनासो पोखिन् । ‘बाढीबाट आफू त बाँचियो, अब के खाएर जीवन निर्वाह गर्ने ?,’ उनले प्रश्न गरिन्, ‘दसैँको मुखमा सुकुमबासी हुनुप¥यो ।’ –रासस

प्रतिक्रिया