‘काठमान्डु सहर’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । नेपाली रक ब्यान्ड झिल्के एन्ड द कम्पनीले गीत ‘काठमान्डु सहर’ को म्युजिक भिडियोलाई ‘थ्री सिटिज ट्रिलोजी’ को अन्तिम भागको रूपमा सार्वजनिक गरेको छ । यो भिडियोलाई ब्यान्डले काठमाडौँ, झापा र दार्जिलिङमा फैलिएका सांस्कृतिक प्रभावको समृद्धि मनाउने भावनात्मक संगीत भिडियोहरूको शृंखला मानेको छ ।

यो भिडियो उनीहरूको एल्बम ‘जवानीको जोश’ को तेस्रो म्युजिक भिडियो हो । गीतका गायक तथा गीतकार स्टिभ देवान ‘थ्रि सिटिज ट्रिलोजी’लाई ब्यान्डको आधारको मार्मिक अन्वेषणसँगै व्यक्तिगत इतिहाससँग जोडिएको दस्तावेज मान्छन् ।

‘मेरो परिवारको काठमाडौँ, झापा र दार्जिलिङसँग गहिरो सम्बन्ध छ । हुर्कंदै गर्दा, मैले यी विभिन्न स्थानहरूका परिवारहरूबाट विविध संस्कृतिहरूको अनुभव पाएँ, गीतबारे उनी भन्छन्, ‘यी हरेक स्थानले मेरो बाल्यकालको सम्झना समेट्नुका साथै ब्यान्डको पहिचानलाई आकार दिने सांस्कृतिक, कलात्मक र सांगीतिक प्रभावहरूको प्रमाणको रूपमा काम गरेको छ ।’

‘जवानीको जोश’ एल्बमको कथासँग थ्रि सिटिज ट्रिलोजी निर्वाध रूपमा मिलेको छ, जसले काठमाडौँमा द्वन्द्वकालको पृष्ठभूमिमा हुर्किएको एक युवकको जीवनको कथा बताउँछ । पहिलो भिडियो ‘१८२’, मार्च २८, २०२४ मा रिलिज भएको थियो, जसमा रक एन्ड रोल, पंक–रक, शु–गेज र अल्टरनेटिभ रकको तत्वहरू मिसाई गीतको शीर्षक विश्वव्यापी चर्चित ब्यान्ड ब्लिन्क १८२ प्रति समर्पित थियो ।

झापामा छायांकन गरिएको उक्त भिडियोले वास्तविकता र सपनाबीचको सीमानालाई पछ्याउँदै आफ्नो पहिचान खोज्ने युवकको चित्रण गरेको थियो । त्यसपछि रिलिज भएको ‘कान्छी तिम्रो नराम्रो बानी’ दार्जिलिङमा छायांकन गरिएको थियो, जसमा क्लासिक रकको धुनमा प्रेम र त्रासदीका विषयवस्तुहरू जोड्ने एक कथा प्रस्तुत गरिएको थियो ।

‘काठमान्डु सहर’ झिल्के एन्ड द कम्पनीबाट उनीहरूको कलात्मक यात्रामा गहिरो प्रभाव पारेको सहरप्रति भावपूर्ण रूपमा समर्पित गीत हो ।
युनेस्को विश्व सम्पदा क्षेत्र काठमाडौँ दरबार स्क्वायरमा छायांकन गरिएको गीतले दरबार स्क्वायरको ऐतिहासिक र सांस्कृतिक महत्वलाई जोड दिएको छ । भिडियोको निर्माण कम्पनी, पिभिई नेटवर्कका विकेश कायस्थ सहरको सम्पदाका लागि दरबार स्क्वायर महत्वपूर्ण रहेकाले यो स्थान छनोट गरिएको बताउँछन् ।

प्रतिक्रिया