रेबिज रोगसम्बन्धी जानकारी

सन्दर्भ : विश्व रेबिज विरुद्धको दिवस

हरेका बर्ष सेप्टेम्बर २८ तारिकका दिनमा मनाइने विश्व रेबिज दिवस यस वर्ष १२ असोजमा परेको छ । विश्वमा रेबिज अन्त्यका लागि पहल गरिरहेको संस्था Global Alliance for Rabies Control ले यो वर्षका लागि नारा ‘Breaking rabies boundaries’ तय गरेको छ भने पशु सेवा विभागले सो नारालाई नेपालीकरण गरी ‘अवरोध हटाऔँ, रेबिज उन्मूलन गरौँ’
शब्दावलीसहित रेबिज सप्ताह सुरु गरेको छ । विश्वमा रेबिज रोगको चर्चा विभिन्न समयमा विभिन्न निकायहरूबाट सुनिँदै आएको छ । सन् २०१० मा विश्व स्वास्थ्य संगठनले गरेको ‘विश्वमा रेबिज रोगको अवस्था र आवश्यक पहल’का विषयमा प्रतिवेदन प्रकाशन गरेको रिपोर्टका आधारमा विश्वमा रेबिज रोगको संक्रमणको जोखिम विशेष गरी एसिया र अफ्रिका महादेशका राष्ट्रहरूमा रहेको छ । यसियाका भारत, नेपाल, मंगोलिया, बंगलादेशजस्ता देशहरूमा यो रोगको प्रकोप व्यापक रहेको र नेपालमा यो रोग संक्रमणको जोखिम उच्च रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १५० देशहरूमा रेबिज रोग देखा परेको छ । विश्वभरबाट वर्षमा ५९ हजार मानिसहरूले रेबिजबाट ज्यान गुमाइरहेका छन जसमध्ये ९५ प्रतिशत एसिया र अफ्रिकाबाट पर्दछन् । ९९ प्रतिशत रेबिज लागेका मानिसहरूको मृत्यु कुकुरको टोकाइबाट भएको पाइएको छ र मृत्यु हुनेमा सबैभन्दा बढी ५–१४ वर्ष भित्रका बालबालिका रहेका छन् ।

के हो रेबिज रोग ?

रेबिज रोग एक भाइरल रोग हो । यसका भाइरसहरू विशेष गरी लिस्साभाइरस (Lyssavirus) र रेभ्डोभाइरस (Rhabdovirus) हुन् । यस्ता भाइरसहरू विशेष गरी संक्रमित स्तनधारी पशु–पंक्षीहरूको टोकाइका कारण संक्रमित थुक (Saliva) र रगत बीचको प्रत्यक्ष सम्पर्कका कारण सर्ने गर्दछ रेबिजले मस्तिष्क र मेरुदण्डको क्रमागत र घातक सुजन निम्त्याउँछ । चिकित्सकीय रूपमा, यसको २ रूपहरू छन् (१) युरियस रेबिज – जसको विशेषता हाइपरएक्टिभिटी र भ्रामित रहन्छ भने (२) पक्षघाती रेबिज – जसको विशेषता पक्षघात र कोमा हुने प्रकारको हुन्छ । यो रोग विषेश गरी संक्रमित कुकुर, बिरालो, चमेरा, गाई, भैँसी, बाख्रा आदिको टोकाइबाट मानिसमा सर्ने गर्दछ । यो रोगका भाइसरहरूले संक्रमित प्राणीको केन्द्रीय स्नायु प्रणाली (Central Nervous System) मा (मेरुदण्ड, दिमाग, नसा, भित्री अंगहरूमा) असर गर्दछ । यो रोग लागे नलागेको लक्षण देखा नपरी थाहा पाउन गार्हो हुन्छ । यो रोग प्राणघातक रोग हो किनकी यसको उपचार असम्भव छ । यो रोगबाट संक्रमित भएका मानिस वा पशुपंक्षीहरू लक्षण देखापरेको १० देखि १४ दिन भित्रमा मृत्युको सिकार हुन्छन् । यसको कारण मृत्यु हुँदा संक्रमितले निकै कष्टकर र दर्दनाक अवस्थाबाट गुज्रनु पर्दछ । तसर्थ यस रोगको विषयमा समयमा नै उचित जानकारी लिनु, रोगबाट संक्रमित हुनुबाट बच्न के–कस्ता सावधानीहरू अपनाउनु पर्दछ, यसका लक्षणहरू के–के हुन् र रोगी जनावरहरूमा के–कस्ता लक्षणहरू देखा पर्दछन् भन्ने विषयमा समयमा नै सचेतना फैल्याउनु पर्दछ ।

यो रोग विषेश गरी मानिसमा संक्रमित कुकुरको टोकाइबाट सर्ने गर्दछ । तसर्थ समयमा नै आफ्ना घरपालुवा कुकुर, बिरालो, खरायो, गाई–भँैसी आदि स्तनधारी (बच्चा जन्माउने र स्तनपान गराउने) सबै जीवहरूमा रेबिज विरुद्धको खोप लगाउनुपर्दछ ।

रेबिज रोग संक्रमण भएका संक्रमित जनावरहरूमा देखापर्ने विषेश लक्षणहरूः

१. संक्रमित रोगीको व्यवहार परिवर्तन हुने गर्दछ जस्तै ः नजिकको वस्तुसँग तर्सिरहने, टोक्न जाने, बारम्बार झम्टने, टोलाउने वा उम्ने, आँखा बन्द गरिरहन रुचाउने, कसैसँग नजिक हुन नसक्ने आदि ।

२. अति रिसाहा हुने । संक्रमित कुकुर, बिराला, गाई–बाख्राहरू आक्रमक भई मानिसलाई टोक्ने र झम्टने

३. पानीदेखि तर्सने हाइड्रोफोबिया (Hydrophobia) श्वासप्रश्वासमा समस्या हुने एइरोफोबिया (Aerophobia) जस्ता रोगहरूको लक्षण देखा पर्ने र रोगीले पानी, खाना आदि निल्न नसक्ने हुने ।

४. संक्रमित रोगीको मुखबाट निरन्तर र्याल (Saliva) बगिरहने, मुख सुक्ने, घाटी बन्द भएझैँ सास फेर्न नसक्ने हुने, आँखा रातो हुने गर्दछ ।

५. संक्रमित रोगीका मासंपेसीहरू (विशेष गरी हातखुट्टाहरूको मासु) कडा र साह्रो हुन गई हातगोडा नचल्ने हुने गर्दछ ।

६. संक्रमित रोगीको भित्री अंगहरू बिस्तारै काम गर्न नसक्ने भई कोमा (अचेत) अवस्थामा पुग्ने, पक्षघात (प्यारालाइसिस) हुनेजस्ता भयानक अवस्थाको सिकार हुने गर्दछन् ।

७. रोगको लक्षण देखापरेको १० देखि १४ दिनभित्र संक्रमित रोगीको मृत्यु हुने गर्दछ । हालसम्म यो रोगको कुनै उपचार छैन, केबल रोकथाम नै यसबाट बच्ने उपाय हो ।

रेबिजबाट बच्ने उपाएहरूः

१. आफू, आफ्ना बालबालिका, घरपालुवा जनावरहरू र गाउँटोलका कुकुर, बिराला, खरायो आदि स्तनधारी जनावहरूलाई बर्सेनि रेबिज विरुद्धको खोप अनिवार्य लगाउने । समयमा खोप लगाउने नै यस रोगको रोकथामको प्रमुख उपाय हो ।

२. कुकुर, बिरालो, खरायो, आदि घरपालुवा जनावरले टोकेमाः

–निरन्तर बगिरहेको (धारा, कुलो आदि)को सफा पानीले ५ मिनेटसम्म घाउलाई पखाल्ने ।

–५ मिनेटसम्म निरन्तर बगेको पानीले घाउ पखालेपछि, ३ पटक साबुनपानीले घाउ राम्ररी सफा गर्ने ।

–सम्भव भएसम्म प्राथमिक उपचार (बेटाडिन वा अल्कोहलले) घाउ सफा गर्ने ।

–टोकेको घाउहरू कहिल्यै पनि छोप्नु हुँदैन, तसर्थ घाउलाई झिंगा, भुसुना आदिबाट जोगाउने र खुल्ला राख्ने ।

–तुरुन्त नजिकको स्वास्थ्य संस्था, हस्पिटल गई स्वास्थ्यकर्मी वा डाक्टरको सल्लाह लिने । १ डोज टिटानस खोप र ३–५ डोज रेबिज विरुद्धको खोप लगाउने । रेबिज संक्रमण हुन नदिने खोप छालामा दिने प्रकारको भए टोकाइको ०, ३, ७ दिनमा वा मासुमा दिने प्रकारको भए टोकाइको ०, ३, ७, १४ र २१ दिनमा लगाउनुपर्दछ ।

–जुन जनावरले टोकेको हो, त्यो रेबिज रोग संक्रमित हो वा होइन पत्ता लगाउन टोकेकै मितिबाट उक्त वस्तुलाई बाँधेर वा थुनेर आफ्नो प्रत्यक्ष निगरानीमा १५ दिनसम्म अनिवार्य रूपमा राख्नु पर्दछ ।

–टोक्ने वस्तुमा रेबिज रोगको लक्षण देखा पर्न सुरु गर्नासाथ तुरुन्तै नजिकको पशु सेवा कार्यालय (सम्पर्क कार्यालय) अथवा पशुपंक्षीसम्बन्धी कार्य गर्ने संघ–संस्थाहरू जस्तैः नार्क, हार्ट, स्नेहा केयर आदिलाई सम्पर्क गरी जानकारी गराउने ।

–रेबिज संक्रमणको रोकथाममा जनावरमा प्रयोग हुने खोपभन्दा मानिसमा प्रयोग हुने खोप ५ गुणा खर्चिलो र महँगो हुने गर्दछ । तसर्थ, मानिसमा यो खोप लगाउनै पर्ने बाध्यता हुनुपूर्व नै आफ्ना घरपालुवा स्तनधारी जनावरहरू र गाउँघरका छाडा कुकुर, बिरालोहरूलाई खोप लगाउन सहकार्य गरी सहयोग गराँै ।

कुकुरको टोकाइबाट बच्ने केही उपायहरू

१. कुकुरलाई कहिल्यै पनि ढुंगा, लठ्ठी, धारिलो हातहतियार आदिले हिर्काउनु हँुदैन ।

२. बच्चाको संरक्षणमा खटिएको वा बच्चा कुरेर बसेको आमा कुकुरको नजिक जाने, जिस्काउने, बच्चाहरू बोक्ने चलाउने, आमा कुकुरलाई चलाउने गर्नु हँुदैन ।

३. बाँधेर राखिएको कुकुरहरू रिसाहा प्रवृत्तिका हुने गर्दछन् । त्यसैले बाँधिएका कुकुरहरूको नजिक जाने र जिस्काउने गर्नु हँुदैन ।

४. बसिरहेका कुकुरलाई जिस्काउने, लात्ती हान्ने, ढुंगाले हान्ने, लठ्ठीले घोच्नेजस्ता कुकुरलाई रिस उठ्ने काम गर्नु हुँदैन ।

५. कुकुरको पुच्छर कुल्चिने, तान्ने र बटार्नु हँुदैन ।

६. सधै आफ्नो नजिक र वरपर बस्ने कुकुरहरूलाई खानेकुरा, पानी दिनुपर्दछ र समय हुँदा वा फुर्सदको बेला कुकुरहरूसँग नजिक भई उनीहरूसँग डुल्ने, खेल्ने गर्नुपर्दछ ।

७. कुनै कुकुर कराउँदै आफूलाई झम्टन आएमा खम्बा जस्तो भई सिधा, नचली अडिग उभिनु पर्दछ । नजिक आई कुकुरले सुघेमा, नचली चुप उभिरहनुपर्दछ । कुकुरले भुक्दा डराएर दौडनु वा भाग्नु हँुदैन ।

८. धेरै कुकुरहरूले झम्टन आएमा भुइँमा डल्लो परी सुत्ने, टाउकोलाई दुबै घँुडाको बीचमा राखी टाउको, घाँटी र ढाँडलाई कुकुरको टोकाईबाट जोगाउनुपर्दछ ।
९. कुकुरमाथि निर्दयी व्यवहार देखाइ तातो पानी छ्याप्नु, एसिड छ्याप्नु, धारिलो हतियार प्रहार गर्नु, नजिक आउन नदिई खेद्नु हँुदैन । कुकुर हाम्रो असल मित्र हो, त्यसैले सबै मिली यसको संरक्षण तथा सुरक्षा दिई माया गर्नुपर्दछ ।

कुकुर र मानिस

१. कुकुर र मानिसबीचको सम्बन्ध पौराणिक कालदेखि रहीआएको सम्बन्ध हो । सत्य युगमा समेत देवगण र कुकुरहरूको प्रसंग जोडिएर निकै इतिहास लेखिएका प्रमाणहरू हिन्दूग्रन्थ ‘महापुराण’ मा भेट्न सकिन्छ ।

२. कुकुरलाई हरेक वर्ष यमपञ्चक अर्थात तिहारमा यमराजका दूतको रूपमा पूज्ने चलन आर्यसमाजमा रहिआएको छ । महादेवका अंशअवतार ‘भैरब’ का बाहनको रूपमा पनि कुकुरको पूजा गर्ने चलन सदिऔँदेखि रहिआएको छ ।

३. कुकुर मानिसको सबैभन्दा नजिकको र आत्मीय साथी हो र हुन सक्छ, यो ऐतिहासिक, व्यावहारिक र वैज्ञानिक दृष्टिले सर्वमान्य तथा सर्वसिद्ध प्रमाणित कुरा हो ।

४. कुकुर मानिसको सच्चा साथी मात्र नभई हाम्रो निजी तथा हाम्रो समाजको पहरेदार पनि हो । कुकुरकै कारण सयाँै सामाजिक अपराध नियन्त्रण हुने गर्दछ । त्यसैले सुरक्षाकर्मी र प्रहरीले कुकुरको प्रयोग अपराध अनुसन्धानका लागि प्रयोग गर्ने गर्दछन् ।

५. पौराणिक किम्बदन्तीहरूका आधारमा पृथ्वीमा हुने ८४ लाख जुनीमा कुकुर जुनीपश्चात मात्रै मानव जुनी हुने हँुदा कुकुर मानिसको पुर्खा हो भन्ने मान्यता रहिआएको छ । कुकुर मानिसपछिको चेतनशील प्राणीका रूपमा वैज्ञानिक पुष्टि भएको प्राणी हो ।

के तपाईलाई थाहा छ ?

१. कुकुर वर्षमा २ बेत ब्याउने गर्दछ । एकपटक बच्चा पाउँदा कम्तिमा ५–८ वटा बच्चा पाउने गर्दछ ।

२. कुकुरको जनसंख्या नियन्त्रण गर्न विष खुवाएर मार्ने कामलाई नेपाल सरकारले अमान्य, अवैज्ञानिक तथा गैरकानुनी कार्यको रूपमा दण्डनीय कार्य भनी कानुनी सजाय तोकेको छ ।

३. कुकुरको जनसंख्या नियन्त्रण गर्न जन्मदर नियन्त्रण प्रणालीअनुसार स्थायी बन्ध्याकरण गर्नु एक मात्र सर्वमान्य र वैज्ञानिक कार्य हो । यसले कुकुर र मानिस, दुवैको स्वास्थ्यमा सकारात्मक सहयोग गर्दछ ।

४. बन्ध्याकरण नभएको एक पोथी र एक भाले कुकुरबाट (सन्तान र सन्तानका सन्तान गरी) करिब ६ वर्षमा ६७ हजार अरू कुकुरहरू जन्मन्छन् । यसरी कुकुरको जनसंख्या द्रुत गतिमा हाम्रो समाज र देशमा बढिरहेको छ ।

५. रेबिज रोग मानिसमा विषेश गरी संक्रमित कुकुरको टोकाइबाट सर्ने गर्दछ । यो रोगको नियन्त्रण गर्न कुकुरहरूमा रेबिज विरुद्धको खोप लगाउनु मात्रै एक उपाय हो ।

६. कुकुरको टोकाइ पश्चात मानिसले अनिवार्य रूपमा १ डोज टिटानस र ३–५ डोज रेबिज विरुद्धको खोप लगाउनुपर्दछ । यसको लागि कम्तिमा पनि ३ देखि ५ हजार रुपैयाँ खर्च पर्ने गर्दछ ।

७. हरेक वर्ष कुकुरलाई रेबिज खोप अनिवार्य रूपमा लगाउनुपर्दछ । यसको खर्च २०० देखि ५०० रुपैयाँसम्म पर्दछ, जुन कुकुरको टोकाइ पश्चात मानिसमा लाग्ने खर्चभन्दा १० गुण कम हुन्छ । त्यसैले रेबिज संक्रमणको समस्यापश्चात मानिसमा सिर्जना हुने चुनौती न्यूनीकरण गर्न कुकुरहरूमा रेबिज विरुद्धको खोप लगाउनु अति प्रभावकारी र कम खर्चिलो देखिन्छ ।

(लेखकद्वय पशु स्वास्थ्य तथा पशु अधिकारको क्षेत्रमा २ दशकदेखि कार्यतर छन् । )

प्रतिक्रिया