खतरा परमाणु शस्त्रास्त्रका माझ विश्वका मानिस

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत चेतावनी दिइसकेका छन् कि यदि उनको देशमाथिको सम्प्रभूता या त्यस क्षेत्रमा कुनै खतरा बढ्यो भने उनको देशले परमाणु हतियार उपयोग गर्न पनि पछि पर्ने छैन । उनले यो वक्तव्य ५ जुन २०२४ मा दिएका हुन् । रुसले २०२२ मा युक्रेनमाथि ठुलोरूपमा आक्रमण गरेपछि पहिलोपटक अन्तर्राष्ट्रिय सञ्चारकर्मीहरू र ती संस्थाका सम्पादकहरूसँग उनले व्यक्तिगत भेटघाटको बेला यसो भनेका हुन् ।

लोकनारायण सुवेदी

विश्वमा आज परमाणु हतियारको उपस्थिति र त्यसको बिस्तार विकास प्रलयकारी खतरा भन्ने कुरा त दोस्रो विश्वयुद्धको अन्त्यसँगै पुष्टि भएको हो । जापानले सबै युद्ध मोर्चाबाट पराजित भएर फर्केपछि अनावश्यकरूपमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेर हजारौँ, निर्दोष जापानीहरूको निर्मम हत्या गरेबाट नै प्रष्ट भएको हो ।

दक्षिण अफ्रिकालाई रंगभेद, नश्लभेद र उपनिवेशबाट मुक्त गर्ने महान नेता नेल्सन मण्डेलाले हिरोसिमा र नागासाकीमाथि अमेरिकाले खसालेको आणविक बमका विषयमा बोल्ने क्रममा भनेका थिए, ‘विश्वमा मानवतामाथि जघन्य अपराध गर्ने र मानिसलाई मानिस नगन्ने कुनै देश छ भने त्यो अमेरिका हो जसले विश्वमा मानवतामाथि अवर्णनीय अत्याचार गरेको छ । अमेरिकी शासकहरूलाई मानिस र मानवताको कुनै अर्थ छैन । उसले युद्धका सबै मोर्चाबाट पराजित भएर फर्किसकेको जापानमाथि १९४५ अगस्ट ६ र ९ मा आणबिक बम खसालेर हजारौँ हजार निर्दोष जापानीहरूको हत्या गरेको थियो । त्यसको असर आजसम्म पनि उनीहरूले बेहारिरहनुपरेको छ । तर, त्यो बम जापानकाविरुद्ध मात्र खसालिएको थिएन । त्यो त समाजवादी सोभियत संघका विरुद्ध थियो र हामी यत्तिका शक्तिशाली छौँ हाम्रो विरुद्ध लाग्यौ भने यस्तै(जापानको जस्तै) हविगत हुन्छ भनेर उनीहरूले सोभियत संघलाई धम्काएका थिए । मानिसलाई मानिस नठान्ने अमेरिका कति दम्भी छ भन्ने कुरा यसरी प्रष्ट छ । आज पनि विश्वको प्रहरी सरदार अमेरिकाले आफैँलाई ठान्छ ।’

यो कुरा रंगभेदविरुद्ध उपनिवेशवादविरुद्ध लड्दा २७ वर्षसम्म अविछिन्न जेलमा थुनिएका साहासी र निडर योद्धा नेता मण्डेलाले त्यत्तिकै तीतो पोख्न भनेका थिएनन् । एउटा गम्भीर विश्व बास्तविकता औँल्याएका थिए । त्यसैले बम खसाल्ने कुरा त आज कल्पनैसम्म पनि गरिनु हुन्न । किनभने परमाणु हतियारहरू दोस्रो विश्व युद्ध समाप्ती यता यति धेरै थुप्रिसकेका छन् कि तिनको उपस्थिति नै अत्यन्तै भयावह र अकल्पनीय खतराको कुरा बनेको छ । तिनको उपयोग नगरिहाले पनि तिनको राखनधरन, सुरक्षा आदिमा अत्यन्तै ठूलो खर्च छ । त्यसको प्रभाव विश्वको स्वास्थ्य, शिक्षा र अन्य सामाजिक आधारभूत आवश्यकतामा गरिने लगानीमाथि अवश्य नै पर्छ र परिरहेको छ ।

भनिन्छ पहिले जापोरिज्जिया र अहिले कुस्र्कमा स्थित परमाणु ऊर्जा संयन्त्रमा ठूलो खतरा छ र त्यो अत्यधिक चिन्ताको विषय बनेको छ । संयुक्त राष्ट्र परमाणु ऊर्जा अनुगमन गर्ने संस्था अर्थात् अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आइएइए)का प्रमुख राफेल ग्राँसीले गएको २७ अगस्टका दिन रुसको कुस्र्क परमाणु संयन्त्रको भ्रमणको क्रममा चेतावनी दिँदै भनेका पनि थिए कि स्थिति बहुतै गम्भीर छ । किनभने यो संयन्त्र युद्ध क्षेत्रबाट केबल ५० किलोमिटर मात्र टाढा छ ।

अनि यो संस्था आइएइएले परमाणु ऊर्जा संयन्त्रको खतराका बारेमा धेरै चेतावनीहरू जारि गरिसकेको छ । खासगरी रुसी सेनाद्वारा दक्षिणी युक्रेनको अपराज्जियामा स्थित परमाणु ऊर्जा संयन्त्रमाथि कब्जा गरिसकेपछि उनले चेतावनी दिँदै भनेका थिए कि परमाणु संयन्त्रमाथि कहिल्यै पनि आक्रमण गरिनुहुन्न । बास्तवमा यो एउटा अत्यन्तै गम्भीर चेतावनी हो जुन आइएइएका प्रमुखको मुखबाट निस्केको छ । थ्रि माइल आइल्यान्ड, चेर्नोबिल र फुकुसिमामा घटेका र परमाणु ऊर्जा संयन्त्रमा उत्पन्न भएका भयावह सम्झनाले मात्रै पनि हामीलाई ती क्षेत्र र तिनका वरिपरिका क्षेत्रहरूको मानव जीवन र आधारभूत संरचनामा जुन ठूलो नोक्सान भयो र त्यसले गम्भीर पाठ पढाएको हो । तिनको विषालु विकीरण फैलिएर दीर्घकालीन असर अहिलेसम्म पारिरहेको कुरा पनि कम खतरनाक छैन । यसकारण विश्व समुदाय यतिबेला केबल चिन्तित मात्रै छैन अत्यन्तै भयभित पनि छ । यदि युक्रेन युद्ध अझै बढ्दै र फैलिँदै जाने हो भने परमाणु दुर्घटनाको कुरालाई अवश्यंभावी छ भन्ने कुरा अस्वीकार गर्न सकिने स्थिति पनि छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटीनले समेत चेतावनी दिइसकेका छन् कि यदि उनको देशमाथिको सम्प्रभूता या त्यस क्षेत्रमा कुनै खतरा बढ्यो भने उनको देशले परमाणु हतियार उपयोग गर्न पनि पछि पर्ने छैन । उनले यो वक्तव्य ५ जुन २०२४ मा दिएका हुन् । रुसले २०२२ मा युक्रेनमाथि ठुलोरूपमा आक्रमण गरेपछि पहिलोपटक अन्तर्राष्ट्रिय सञ्चारकर्मीहरू र ती संस्थाका सम्पादकहरूसँग उनले व्यक्तिगत भेटघाटको बेला यसो भनेका हुन् ।

यो रुसको युक्रेन क्षेत्रका अतिरिक्त पेलेस्टिनको गाजा क्षेत्रमा निर्दोष महिला तथा बालबच्चाहरूमाथि चलिरहेको घोर अमानवीय इजरायली आक्रमण मुटु नै कम्पायमान गराउने खालको छ । गाजाका नागरिकहरूलाई पशुहरूको बथान धपाएजस्तै गरी जताततै लखेटिएको विश्वले देखिरहेको छ । इजरायली फौजले तिनलाई ‘सुरक्षित स्थानमा जाउ या मृत्युको सामना गर भन्ने अत्यन्तै क्रूर र अमानवीय आदेश दिएको छ । तर इजरायली फौजले भन्ने गरेका तथाकथित सुरक्षित स्थानहरूमा पनि लगातार हमला गरिरहेको छ र बाल बच्चा र महिलाहरूलाई तिनको कुनै दोषबिनै दिनदिनै मारिने गरेको छ । ७ अक्टोबरदेखि यता विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सुविधाहरूमा मात्र कुल ८९० पटक हमला भएको तथ्य दर्साइसकेको छ । ती मध्ये गाजा क्षेत्रमा ४४३ र पश्चिमी किनारामा ४४७ पटक हमला गरिएको जनाइएको छ ।

अस्पतालहरूलाई आमरूपमा युद्धका समयमा सुरक्षित स्थान मान्ने गरिन्छ । किनकि जेनेभा कन्भेसनअनुसार युद्धरत पक्षबाट स्वास्थ्य सेवामा हमला गर्न नपाइने प्रावधान राखिएको र त्यसो गर्नु नहुने अपेक्षा गरिएको छ । त्यो संबिदामा भनिएको छ कि ‘घाइतेहरू र बिमारीहरू, अशक्त तथा सुत्केरी महिलाहरूको रेखदेख गर्नका लागि संगठित नागरिक अस्पतालहरू कुनै पनि हालत या परिस्थितिमा हमलाको लक्ष हुन सक्तैनन् । यसका अतिरिक्त संघर्षमा सामेल पक्षहरूद्वारा हरेक समयमा तिनको सम्मान र संरक्षण गरिनुपर्दछ । त्यसले गर्दा यस्तो असुरक्षाका बेला नागरिकहरू अस्पतालहरूमा जाने प्रयत्न गर्ने गर्दछन् ।

यतिबेला गाजामा गम्भीर र भीषण संकट छ । किनभने गाजााबासीहरूसम्म मानवीय सहायता पुर्याउन नदिने अनेकौँ अड्चनहरू छन् । त्यसैले विश्व स्वास्थ्य संगठन र युनिसेफले पनि त्यहाँ बिमारीहरू वृद्धि भएको बारेमा गम्भीर चिन्ता व्यक्त गर्दै चेतावनी पनि दिएको छ । त्यहाँका निवासीहरूमा पोलियो भाइरस फैलिएको पत्ता लागेपछि चिकित्सक समुदाय नै पनि नराम्रोसँग तरंगित हुन पुगेको छ । अहिलेको त्यहाँ भएको ४० हजारभन्दा बढी मानिसको मृत्यु बास्तवमा १९४८ भएको ‘नकबा’भए जस्तै त्यसैको पुनरावृत्ति जस्तो मानिएको छ । त्यो नकबाका बेलामा पनि दर्जनौँ नागरिकहरूको नरसंहार भएको र त्यसमा पेलेस्टिनी र अरबीहरूलाई तारो बनाइएको थियो । त्यतिबेला ५०० भन्दा बढी अरब–बहुल सहर, गाउँ र अरू सहरी इलाकाहरू उजाड बनाइएका थिए । ती मध्ये कैयौँ त पूरै नष्ट भएका थिए भने कतिपयमा यहुदीहरूले पुनः बस्ती बसाएर आवाद गरेका तर त्यसलाई हिब्रु नाम राखेका थिए ।

यतिबेला त्यहाँ प्रत्येक दिन बित्दा युद्धको क्षेत्र लेबनानतर्फ बढिरहेको छ । त्यसलाई अर्को एउटा गम्भीर खतरा मानिँदै छ । किनभने इरान र इजरायलका बीचको तनाव अझ बढिरहेको छ । इजरायल पहिलादेखि नै एउटा परमाणु शस्त्रास्त्र बनाउने वा राख्ने देश मानिन्छ अनि इरानसँग पनि परमाणु शक्ति रहेको छ । इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको मन्त्रिमण्डलका १ जना अति दक्षिणपन्थी सदस्य मानिएका अमिचाई एलियाहुले पनि परमाणु हतियार प्रयोग हुनसक्ने कुरालाई अस्वीकार गरेका छैनन् । जानकारहरू भन्दछन् उनको त्यो बयानबाजीलाई पूर्णरूपले बेवास्ता या अस्वीकार गर्न सकिन्न । यहाँ के पनि ध्यान दिनुपर्ने कुरा छ भने इजरायलले अन्तर्राष्ट्रिय न्यायालय(आइसिजे) र अन्तर्राष्ट्रिय अपराधिक न्यायालय(आइसिसी)को फैसलालाई भने पूर्णरूपले अस्वीकार गरिरहेको छ । स्पष्टै छ यस सम्बन्धमा इजरायललाई अमेरिकाको पूर्ण समर्थन छ ।

अनि यो पनि सर्वविदितै कुरा नै हो कि युद्धका बेला मानव कल्याणका मुद्दाहरूमा कसैले वास्ता गर्दैन । ती पछाडि पर्ने गर्दछन् । कतिपय अफ्रिकी देशहरूमा अहिले अनिकाल, अभाव र अस्वस्थता आन्तरिक अन्तरकलह र मनोमालिन्यका कारण बन्न पुगेको उदाहरण छन् । तिनमा बुर्किनो फासो, केमरुन, मध्य अफ्रिकी गणराज्य(सिएआई), कंगो लोकतान्त्रिक गणराज्य, इथियोपिया, माली, मोजाम्बिक, नाइजेरिया, नाइजर, सेनेगल, सोमालिया, दक्षिण सुडान आदि सामेल रहेको बताइन्छ । संयुक्त राष्ट्रका मञ्चहरूमा ती देशहरूको स्थिति सहज बनाउनेबारे बहुतै कम मात्र चर्चा हुने गर्दछ ।
युद्धहरूकै अर्थ हुन्छ कि सैन्य औद्योगिक परिसरहरका लागि धेरै ठुला मुनाफा कमाउनु ।

भनिन्छ अहिलेको विश्वको सैन्य गतिविधिका कारण पर्यावरणलाई हुने नोक्सानी कुल पर्यावरणीय स्खलनमा झण्डै ६ दशमलव ४ प्रतिशत छ । परमाणु हतियारहरूको उपस्थिति नै एउटा भयंकर ठूलो खतरा हो । ती हतियारहरको प्रयोग नभइहाले पनि तिनका राखनधरन, सुरक्षा, संभारमा लाग्ने लागतले त्यसको प्रभाव स्वास्थ्य, शिक्षा तथा अन्य सामाजिक आवश्यकतामाथि गरिने लगानीमा पर्दछ । परमाणु हातहतियार समाप्त गर्नका लागि अन्तर्राष्ट्रिय अभियान(आइसिएएन)ले यी हतियारहरूको उत्पादन गर्न र सुरक्षित राख्नका लागि बर्बाद गरिने सम्पत्तिको उपयोगितको तुलना गर्दै तथ्यांक प्रस्तुत गरेका छन् ।

त्यसका अनुसार विश्वमा स्वास्थ्य हेरचाह प्रणाली आज मानिसको हेरचाह गर्न असमर्थ हुन पुगेका छन् । तर, अर्कोतिर परमाणु हतियार सम्पन्न देशहरूले २०२३ मा आफ्ना परमाणु शस्त्रागरलाई उन्नयन गर्नमा ९१ दशमलव ४ अर्ब अमेरिकी डलर बर्बाद गरेका छन् । त्यसको रिपोर्टले बताए अनुसार यो धनराशि संयुक्त राज्य अमेरिकामा ७ लाख १८ हजार ९३० जना नर्सहरूको वर्ष दिनको तलब पुग्दथ्यो ।

बिश्वमा स्थायी शान्ति तथा परमाणु निशस्त्रीकरणका लागि प्रस्ताव पारित गर्ने तथा तिनलाई लागू गर्ने सयुक्त राष्ट्र सुरक्षा परिषद्(युएनएससी) को एउटा प्रमुख र प्राथमिक कर्तब्य नै हो । जी–२० जुन शक्तिशाली देशहरूको एउटा समूह हो, त्यसले पनि परमाणु निशस्त्रीकरणलाई सुनिश्चित गर्न जोडदाररूपमा लाग्नुपर्यो । अन्य असैन्य समाजले पनि परमाणु सम्पन्न देशहरूलाई परमाणु हतियारको निषेधमाथि बहुपक्षीय संयुक्त राष्ट्र सन्धि(टिपिएनडब्लु)मा सामेल हुनका लागि पहिलाभन्दा धेरै नै बढी सबलताकासाथ आवाज उठाउनुपर्यो भन्ने सुझाहरू प्नि आइरहेका छन् । नाफाका लागि मानव र प्रकृति विरोधी ती युद्धवादीहरूले भने कुनै टेरपुच्छर लगाउने सुरसार कतै देखिँदैन । यो प्रवृत्ति विश्व मानवता प्रकृति विरुद्ध छ ।

प्रतिक्रिया