ठगी भन्नेबित्तिकै रवि लामिछानेको अनुहार

हामी धेरैलाई सहकारी ठगी भन्ने बित्तिकै रवि लामिछानेको अनुहार मात्रै देखापर्छ । यो काण्ड रवि लामिछाने र कांग्रेसबीचको झगडा मात्रै हो जस्तो लाग्छ । तर, यो काण्ड रविभन्दा धेरै ठूलो र पुरानो छ । अंककै कुरा गर्ने हो भने पनि रविको संलग्नता केही करोडको होला । यो काण्ड हजार करोडभन्दा बढीको हो । काम गैरकानुनी भए पनि उनको नियत नै ठग्नेचाहिँ थियो या थिएन भन्ने बहसकै विषय होला, तर नियत नै ठग्ने राखेर दलको टिकटमा सहकारी सञ्चालक बनेकाहरू सयौँ छन् ।

नारायण गाउँले

हामी कति धेरै दलदास र संवेदनाहीन भएका छौँ भने देशको इतिहासकै सबैभन्दा ठूलो र लाखौँ नागरिकको जीवनभरको बचत लुटिएको सहकारी ठगीमासमेत हाम्रो दृष्टिकोण, व्याख्या र बचाउ दलअनुसार फरक–फरक छ ।

सुन काण्ड होस् या वाइडबडी, शरणार्थी काण्ड होस् या गिरिबन्धु, यस्ता सयौँ काण्ड र घोटालाले देशको आर्थिक र अन्तर्राष्ट्रिय छवि धुमिल्याउने काम गरेको भए पनि लाखौँ जनता र तिनका परिवारलाई प्रत्यक्ष रूपमा पीडित बनाएको सहकारी काण्ड ती सबैभन्दा फरक र राष्ट्रिय विपत्तिजस्तो काण्ड हो ।

देशभर नै दुःखजिलो र सानोतिनो व्यापार गरेर जीवन र परिवार पाल्नेहरूले दैनिक जम्मा गरेको अर्बौं रुपैयाँ केही दर्जन व्यक्तिले दिनदहाडै लुटेर खाने र तिनलाई राजनीतिक दलले संरक्षण दिने जस्तो अकल्पनीय र दुःखद् दृश्य नेपालमा घटिरहेको छ । लाखौँ सर्वसाधारणको बचत डुबेको छ, तिनका सन्तानको भविष्य डुबेको छ र सपना डुबेको छ । एकैपल्ट लाखौँ नागरिक पीडित र बिचल्ली बनेको यो ठगीमा राजनीतिक संरक्षण र इगो गाँसिएपछि नागरिकको पीडा हाम्रालागि मजाकजस्तै बनेको छ ।

अन्य काण्डबारे बोल्न सजिलो भए पनि सहकारी ठगी र पीडितबारे बोल्न बौद्धिक वर्ग, पत्रकार र राजनीतिकर्मीलाई अप्ठेरो परेको छ । अर्को पार्टीको, अर्को समूहको या अर्को धारको व्यक्तिको नाम मुछिँदा अलिकति बोले पनि आफ्नाहरूको हात नै मैलो भएकाले यो विषयमा निष्पक्ष बनेर बोल्न हामी डराइरहेका त छैनौँ ? यति धेरै नागरिक पीडित बनेका छन् कि, हामीले बचाउन चाहेको नेता या पार्टी बरु टाढाको होला, यसो खोजबिन गर्नुभयो भने पीडितहरू हाम्रै वरपरका छन्, आफ्नै छन् ।

हामी धेरैलाई सहकारी ठगी भन्ने बित्तिकै रवि लामिछानेको अनुहार मात्रै देखापर्छ । यो काण्ड रवि लामिछाने र कांग्रेसबीचको झगडा मात्रै हो जस्तो लाग्छ । तर यो काण्ड रविभन्दा धेरै ठूलो र पुरानो छ । अंककै कुरा गर्ने हो भने पनि रविको संलग्नता केही करोडको होला । यो काण्ड हजार करोडभन्दा बढीको हो । काम गैरकानुनी भए पनि उनको नियत नै ठग्नेचाहिँ थियो या थिएन भन्ने बहसकै विषय होला, तर नियत नै ठग्ने राखेर दलको टिकटमा सहकारी सञ्चालक बनेकाहरू सयौँ छन् । सहकारीमा सञ्चालक समिति छान्ने भन्यो, पार्टीकै कार्यकर्तालाई जितायो अनि उसले पार्टीको आडमा रकम हिनामिना गरेर भाग्यो । वास्तविक बचतकर्ता या सदस्यलाई ऋण लिन पर्यो भने तीन पुस्ते कागज र अनेक झमेला हुने तर उच्च पहुँच भएकाले न्यूनतम कागज र प्रक्रिया पनि पूरा नगरी ऋण लिने र भोलि मलाई थाहा छैन भने हुने अवस्था निकै दुर्भाग्यपूर्ण छ ।

रवि लामिछानेको नाम नजोडिएको भए शायद रास्वपाभित्रका धेरैले अन्य काण्ड र मुद्दाभन्दा पहिले यही मुद्दा उठाउने थिए । किनकि अन्य मुद्दाभन्दा यो निकै निकै ठूलो र संगीन छ । तर आज रवि र सहकारी पर्यायवाचीजस्तै प्रयोग हुन थालेपछि ती उच्चारण गर्न नै डराउन थालेकोजस्तो देखिन्छ । नाम आउँदैमा छानबिन गर्न हुन्न भन्नेजस्तो एकदम खतरनाक नजीर जान अनजान रास्वपाले नै निर्माण गरेको थियो ।

कांग्रेसले रविको नाम नमुछिएको भए शायदै यो मुद्दा उठाउने थियो । रविभन्दा पहिले नै सहकारीबाट पीडित भएर लाखौँ सर्वसाधारण प्रहरीदेखि सडकसम्म पुगेकै थिए, तर दल चुपचाप थिए । एमालेमा केन्द्रीय सहकारी विभाग नै छ । अर्ब बढी रकम ठगी गरेको आरोपमा गत महिना पक्राउ नपर्दासम्म केबी उप्रेती त्यो विभागको सचिव थिए । सहकारी ठगीको जग हाल्ने र अर्बौं रुपैयाँ ठगी गर्ने इच्छाराज तामाङ त एमालेका सभासद नै थिए । पीडितहरूले वर्षौंसम्म हारगुहार गर्दासमेत राजनीतिक संरक्षणमा उनी लामो समय ठगी धन्दामा संलग्न रहे ।

कांग्रेसका नेताहरूको नाम मात्रै जोड्ने हो भने करोड होइन, ६०–७० अर्ब नाघ्छ । भर्खरै बाहिर साधुजस्तो स्वरूपमा प्रस्तुत गरिने उपसभापति धनराज गुरुङबारे खबर पढनु भएकै होला । अन्य दल पनि चोखा छैनन् । यहाँसम्म कि नयाँ भनिएको रास्वपाका केन्द्रीय नेताहरू समेत सहकारीबाटै आएका छन् र आज ती सहकारी संकटग्रस्त छन् ।

साह्रै पीडादायी कुरा के छ भने, केही मान्छे समाएर, केही मुद्दा दर्ता गरेर पनि सबै पीडितले न्याय पाउने अवस्था छैन । खर्ब बढी रकम हिनामिना भएको देखिन्छ । ठग र पीडितहरू यति धेरै छन् कि, हाम्रो मौजुदा संयन्त्रले समेत छानबिन र कारबाही गर्न बर्षौं लाग्न सक्छ । हरेक दलको एकाउन्टसम्म पुगेको त्यो रकम केही मान्छे थुनेर फिर्ता आउने सम्भावना देखिन्न । अहिले पनि कांग्रेस र एमालेका केही सहकारी ठग जेलमै छन् । तर पीडितले केही पाएका छैनन् । भोलि जिबी राई पक्राउ परे भने पनि उनले ठगेको त्यत्रो अर्बौं रुपैयाँ उनकै गोजीमा मात्रै त पक्कै छैन, कसरी असुल होला र ? ठगहरूले खाएको खर्ब बढी रकम राज्यले फिर्ता गर्न सक्ने अवस्था पनि छैन । आज पक्राउपर्नेहरू भोलि जेलबाट छुट्दा २० किलोको माला बोकेर जानेको पनि कमी छैन ।

र, यस्तो संगीन ठगीमा ठोस कारबाही नहुँदा र संसदमा समेत एकमत नहुँदा ठगहरूको मनोबल दिनदिनै बढ्दो छ । दिनदिनै ठगीका थप घटना सार्वजनिक हुँदै छन् । सहकारी क्षेत्रमा यति ठूलो समस्या आउनुमा नीतिनिर्माण तहको कमजोरी पनि पक्कै होला । अनुगमन या कार्यान्वयनकै कमजोरी हो भने पनि यी सबैमा मुख्य दल दोषी छन् । यसको दोष अरूलाई देखाएर उम्किने ठाउँमा दल छैनन् ।

यो मुद्दा नाकको लडाइँ बनाइएको छ । तर लाखौँ पीडितको जीवनमरणको लडाइँ हो यो । लुटिनेको सर्वश्व लुटिएको हुन्छ । यस्तो गम्भीर आपराधिक मुद्दामा समेत पक्ष र विपक्षमा दलहरू विभाजित हुनु निकै दुःखद् छ । सबैको नाम आएपछि सिंहदरबारमा त यो फास्फुस होला तर यो ठगी, यो पीडा र यो बर्बादी यति ठूलो छ कि, एउटा ठूलै डढेलो कतै पर्खिरहेकोजस्तो लाग्छ ।

प्रतिक्रिया