हेटौँडा । हास्यव्यङ्ग्य विधाका चर्चित कवि लक्ष्मण गाम्नागेको एकल कविता वाचन कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ । बिहीबार सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा भएको कार्यक्रममा गाम्नागेले आफ्ना हास्यव्यङ्ग्य कवितामार्फत दर्शक(स्रोताको मन जितेका छन् ।
सिस्नुपानी नेपालका सचिव सरोज घिमिरेले सहजीकरण गर्दै सिस्नुपानीका अध्यक्षसमेत रहेका गाम्नागेको परिचय गराउँदा नै हाँस्न सुरु गरिसकेका हेटौँडेली उनको ‘१९ रसका कविता’सँगै दंग पर्न थालेका थिए ।
एकपछि अर्को चोटिला व्यंग्य कविता सुनाएका गाम्नागेले आफ्ना कवितामार्फत वर्तमान समाज र राजनीतिलाई कसिलो व्यंग्य गरेका थिए । घरि ‘हेलो ! लक्ष्मण गाम्नागे, सञ्चै ?’ भन्दै आफैँले आफ्नो हालखबर सोध्ने अनि घरि ‘सरकारलाई सघाउनोस्’ भन्दै अनुरोधको शैलीमा सरकारलाई नै हकार्ने गाम्नागे शैलीले सहभागीलाई मोहित पारेको थियो ।
गाम्नागेले ‘बा’ कविता सुनाएर सहभागीहरूलाई हाँसोको बिचमै भावुक समेत बनाएका थिए । जम्माजम्मी १३ कविता प्रस्तुत भएको कार्यक्रममा उनका ‘बाहिर निस्कनु हानीकारक छ’ र ‘जनताको कविता’ शीर्षकका कविता भने चक्र दवाडीले वाचन गरेका थिए ।
यसैबिच सिस्नुपानी नेपाल मकवानपुरको पाचौँ अधिवेशन समेत बिहीबार नै सम्पन्न भएको छ । अधिवेशनले संप्रस पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
मकवानपुर
प्रतिक्रिया