नयाँ दल होइन, नयाँ प्रवृत्ति चाहिन्छ : महामन्त्री शर्मा

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको राजनीतिमा परिवर्तनका लागि नयाँ प्रविधि र प्रवृत्तिको विकास गर्नुपर्ने बताएका छन् । मकवानपुरमा गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित तथा प्रत्यासी नेताहरूसँगको अन्तरसंवादमा महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

पार्टीको स्थानीय तह समन्वय विभागले आयोजना गरेको कार्यक्रममा शर्माले जन्मकै आधारमा पार्टी नयाँ र पुरानो नहुने बताए । सामाजिक रूपान्तरणको कुरा ससाना कुराबाट हुने भन्दै महामन्त्री शर्माले निर्वाचनमा हारजित जे भए पनि ५ वर्ष जनताका बीचमा रहेर काम गर्न निर्देशन दिए । पार्टीबाट टिकट लिएर निर्वाचित भइसकेपछि कतिपयले पार्टीलाई बेवास्ता गर्ने गरेको भन्दै उनले भने, ‘आफूले गरेका कामको विवरण लिखित रूपमा पार्टीका जिल्ला, प्रदेश र केन्द्रमा बुझाउनुस् ।’

पार्टीले टिकट दिएर निर्वाचित भए पनि जनप्रतिनिधि भइसकेपछि आमजनताको पक्षमा पहिले काम गर्नुपर्ने उनको भनाइ थियो । मुस्कानसहितको सेवा मात्र सेवाग्राहीका लागि पर्याप्त नहुने भन्दै शर्माले जनप्रतिनिधिको कार्यालयबाट निस्कँदै गर्दा सेवाग्राही मुस्कुराउँदै निस्कन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बिपी कोइरालाका विचार र सिद्धान्तलाई व्यवहारमा उतार्ने कांग्रेस आजको आवश्यकता भएको बताए । पार्टीभित्रको आन्तरिक द्वन्द्वका विषयमा कडाइका साथ प्रस्तुत भएका नेता बानियाँले भने, ‘निर्वाचनमा हारेपछि आफूलाई हराइयो भन्नु गलत हो । कांग्रेसभित्र कांग्रेसले नै भ्रम सिर्जना गर्न बन्द गर्नुपर्छ ।’

नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति रघुरमण न्यौपानेले सम्बोधनका क्रममा उठाएका प्रश्नप्रति बानियाँले प्रश्न राखेका थिए, ‘पार्टीले बनाएको अनुशासन समिति काम छैन भन्ने हो भने काम लाग्ने र योग्यचाहिँ को ?’

पार्टीका तर्फबाट स्थानीय निकायको निर्वाचनमा निर्वाचित उम्मेद्वारहरूले आफ्नो कार्यकालमा गरिरहेका कामका बारेमा जानकारी लिनका लागि स्थानीय तह समन्वय विभागको देशव्यापी कार्यक्रमको सुरुआतस्वरूप अन्तरसंवाद आयोजना गरिएको हो ।

मकवानपुरबाट सुरु भएको अन्तरसंवाद कार्यक्रम देशव्यापी रूपमा सबै जिल्लाहरूमा पुग्ने विभागका प्रमुख कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए । उनका अनुसार यस क्रममा विभागले स्थानीय निर्वाचनका बेला जारी गरिएको चुनावी घोषणापत्र कार्यान्वयनको अवस्थाका विषयमा समेत जनप्रतिनिधिहरूसँग जानकारी लिनेछ ।

प्रतिक्रिया