चन्द्र भण्डारी कुन कित्ताबाट सभापतिका उम्मेद्वार ?

विन्दुकान्त घिमिरे

नेपाली कांग्रेसको इतिहास हेर्ने हो भने मन्त्री बन्न हतार गर्नेहरू प्रधानमन्त्री बनेका छैनन् । शेरबहादुर देउवा अपवाद हुन् । बिपी कोइरालाले केही महिनापछि मन्त्रीपद हापेको इतिहास छ । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरला, सुशील कोइराला कहिल्यै मन्त्री बनेनन् । पटकपटक मन्त्री बनेका गणेशमान सिंह प्रधानमन्त्री बन्न चाहेनन् । पटकपटक मन्त्री बनेका रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने सपना अधुरै रह्यो ।

गत बुधबार एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति पदमा उम्मेद्वार हुने घोषणा गरे । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति घोषणा हुन बाँकी छ । वर्तमान केन्द्रीय समितिको कार्यकाल अझै डेढ वर्ष बाँकी छ । १ वर्ष म्याद थपिने संभावना प्रवल छ । त्यसैले प्रश्न उठेको छ, ‘चन्द्र भण्डारीले सभापति पदमा उम्मेद्वार हुने घोषणा यति छिटै किन गरे ? घोषणा मात्रै गरेका हुन् कि, उनी साँच्चै उम्मेद्वार बन्छन् ?’

उक्त अन्तर्वार्ताका क्रममा नेता भण्डारीले नेपाली कांग्रेसका अहिलेसम्मका सभापतिहरूको संक्षिप्त मूल्यांकन पनि प्रस्तुत गरे । उनको मूल्यांकनअनुसार व्यवस्थापकीय क्षमताको दृष्टिले अहिलेसम्मका सभापतिहरूमध्ये शेरबहादुर देउवा सबैभन्दा अब्बल सावित भएका छन् । देउवालाई उनले अहिलेसम्मकै सबैभन्दा अब्बल पार्टी सभापतिको कोटीमा किन राखे ? भन्ने प्रश्नको उत्तर विवादास्पद हुनु स्वभाविकै हो । किनकी नेपाली कांग्रेसको अहिलेसम्मका सबै पार्टी सभापतिहरूले आफ्नो नाम इतिहासमा कहिल्यै नमेटिने गरी दर्ज गरिसकेका छन् । देउवा मात्रै अपवाद हुन् । उदाहरणका लागि मातृकाप्रसाद कोइरालाको नाम २००७ सालको सफल जनक्रान्तिले अमर बनाएको छ । बिपी कोइरालाको नाम प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा दूरदर्शी राजनेताको रूपमा अमर भएको छ । सुवर्ण शमशेर राणा नेपाली कांग्रेसलाई समाजवादी सिद्धान्तमा अवतरित गराएका कारण अमर छन् ।

कृष्णप्रसाद भट्टराई नेपालको संविधान २०४७ का कारण अमर छन् । गिरिजाप्रसाद कोइराला गणतन्त्र स्थापनाको नेतृत्व गरेका कारण अमर छन् । सुशील कोइराला नेपालको संविधान (२०७२) का कारण अमर छन् । तर, एक कार्यकाल नेपाली कांग्रेस प्रजातान्त्रिकको र २ कार्यकाल नेपाली कांग्रेसको सभापति बनेका देउवाले इतिहासमा नाम अमर हुने गरी काम गर्ने अवसर अहिलेसम्म पाएका छैनन् ।

नांगो आँखाले हेर्दा पनि नेपाली कांग्रेसका अहिलेसम्मका सभापतिमध्ये देउवालाई सबैभन्दा असफल भनेर टिप्पणी गर्ने धेरै छन् । स्वयं देउवाले पनि आफ्ना पूर्ववर्तीभन्दा आफू सफल हुँ भनेर भन्ने आँट गरेका छैनन् । देउवाले २०५९ सालमा प्रतिनिधिसभा विघटन गर्दा भनेका थिए, ‘म गिरिजाबाबुको चेलो हुँ , २०५१ सालमा उहाँले जे सिकाउनुभयो त्यही गरेको हुँ ।’ तर त्यतिबेला गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्रै आमनिर्वाचन गराए । देउवाले भने प्रतिनिधिसभा विघटन गराए मात्रै, आमनिर्वाचन गराउन सकेनन् । बरु आमनिर्वाचन गराउन सकिनँ भन्दै राजालाई निवेदन चढाए । त्यही निवेदनका कारण शासन सत्ता राजाको हातमा पुग्यो ।

बास्तवमा चुनाव हुन नसक्ने परिस्थितिमा संसद् विघटन गरेकै कारण देउवालाई नेपाली कांग्रेसले पार्टीबाट निस्काशन गरेको थियो । तर संसद् पुनवर्हाली गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले आरम्भ गरेको आन्दोलनमा सहभागी हुन देउवा वाध्य भए । आफैँले विघटन गरेको संसद् पुनवर्हालीका लागि आन्दोलनमा सहभागी हुन देउवा के कारणले वाध्य भए ? भन्ने लेखाजोखा इतिहासले अवश्य पनि गर्नेछ । तर तिनै देउवा यतिबेला नेपाली कांग्रेसको शक्तिशाली सभापति बनेका छन् । लगातार दुई कार्यकाल सानदार मतको अन्तरमा देउवाले नेपाली कांग्रेसको सभापति पदमा बाजी मारेका छन् । यो मानेमा देउवाको व्यवस्थापकीय क्षमता कांग्रेसका अहिलेसम्मका सभापतिहरूको भन्दा उत्तम देखियो भन्ने चन्द्र भण्डारीको दृष्टिकोण कत्तिपनि अर्घेल्याइँ होइन ।

यति मात्रै होइन, स्थापनाकालदेखि नै नेपाली कांग्रेसको संस्थापन पक्षले इतरपक्षको कडा चुनौती सामना गर्दै आएको देखिन्छ । बिपी कोइरालालाई समेत इतर पक्षले खुलेआम चुनौती दिँदै आएको देखिन्छ । कृष्णप्रसाद भट्टराईदेखि यताका सभापतिहरूको विश्लेषण गर्ने हो भने त इतर पक्षलाई ४० प्रतिशत हिस्सेदारी दिन सबै बाध्य भएको देखिन्छ । यति ठूलो हिस्सेदारी दिँदा पनि इतर पक्षबाट आलोचना खेप्नुपरेको देखिन्छ । तर, वर्तमान सभापति देउवा इतर पक्षबाट चुनौतीविहीन छन् । उदाहरणका लागि करिब दुई महिनाअघि गठित मन्त्रिपरिषद्लाई लिन सकिन्छ । मन्त्रीहरू बनाउँदा कांग्रेसले जातीय, क्षेत्रीय सन्तुलन मिलाउन नसकेको, देश र पार्टीका लागि योगदान पुर्याएका क्षमतावान नेताहरूको मान मर्दन गरेको आरोप लाग्यो । यो आरोप कांग्रेसमाथि मात्रै लाग्यो, सभापति देउवामाथि लागेन । पार्टीमाथि आरोप लाग्ने, तर पार्टी सभापतिको भने सबैले वाही वाही गर्ने परिस्थिति बन्यो । व्यवस्थापकीय क्षमता भनेको यही हो । यस्तो व्यवस्थापकीय क्षमता नेपाली कांग्रेसका अहिलेसम्मका कुनै पनि सभापतिहरूमा देखिएन भन्ने चन्द्र भण्डारीको दृष्टिकोणमाथि आलोचना गर्ने ठाउँ छैन ।

देउवा पानीमाथिको ओभानो

नेपाली कांग्रेस आलोचित हुने तर सभापति देउवा पानीमाथिको ओभानो हुने परिस्थिति कसरी उत्पन्न भयो ? भन्ने प्रश्नको उत्तर खोज्दै जाँदा पछिल्ला घटनाक्रमले चन्द्र भण्डारीको नाम स्वतः अघि आएको छ । २ महिनाअघि मन्त्रिपरिषद् गठन हुँदा नेपाली कांग्रेसको तर्फबाट चन्द्र भण्डारीको नाम पहिलो सूचीमा पर्ने भन्दै विभिन्न मिडियाले समाचार लेखेका थिए । उपसभापति पदमा झिनो मत अन्तरले पराजित भण्डारी मन्त्री बन्न इच्छुक पनि थिए ।

सार्वजनिक रूपमा उनले यो इच्छा जाहेर गरिसकेकासमेत थिए । मन्त्री पद चन्द्र भण्डारीको व्यक्तिगत उचाइसँग सुहाउँदो होेइन भन्ने आमविश्लेषण हुँदा हुँदै पनि उनले इच्छा जाहेर गरेका थिए । उनको भनाइ थियो, ‘पार्टी उपसभापतिका लागि तयार भइसकेको मान्छे मन्त्रीपद खान जान हुन्न भन्ने मलाई पनि लागेको छ । तर मेरो निर्वाचन क्षेत्रका जनता आफ्नो सांसद मन्त्री बनोस् भन्ने चाहन्छन्, मन्त्रीका रूपमा देश र जनतालाई महसुस हुने काम गर्न सक्छु कि जस्तो मलाई पनि लागेको छ ।’

मन्त्री पदका लागि चन्द्र भण्डारीको नाम मिडियाले धेरै नै लेख्न थालेपछि सभापति देउवाले पनि उनलाई बोलाएर सोधेका थिए । स्वयं चन्द्र भण्डारीले गत बुधबार एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा बताए अनुसार त्यतिबेला देउवाले सोधेका थिए, ‘तैँले मन्त्री बन्ने इच्छा जाहेर गरेको होस् ?’ जवाफमा भण्डारीले भने, ‘हो’ । त्यसपछि सभापति देउवाले भने, ‘तँ अहिले मन्त्री नबन, अहिलेको मन्त्रिपरिषद्मा गइस् भने तेरो भविष्य राम्रो नहुन सक्छ ।’ तर देउवालाई कुनै निधो नदिई उनी फर्के । सायद उनी आफ्नो पक्षबाट कसकसलाई मन्त्री बनाउने ? भन्ने छलफलमा सहभागी हुने प्रतिक्षामा थिए । किनकी सभापति देउवाले कांग्रेसलाई प्राप्त ९ वटा मन्त्री पदमध्ये ४ वटा इतर पक्षलाई दिएका थिए । इतर पक्षले ४ वटा कोटा पाउँदा आफू सूचीको पहिलो नम्बरमा पर्ने कुरामा नेता भण्डारी ढुक्क थिए । किनकी उपसभापति धनराज गुरुङ यसभन्दा अघि नै मन्त्री भइसकेका थिए । महामन्त्री गगन थापा संसदीयदलको नेता पदमा चुनाव लडिसकेका थिए ।

तर इतर पक्षको भागमा परेका ४ वटा कोटा सभापति पदको उम्मेद्वार बनेका डा.शेखर कोइराला र महामन्त्री गगन थापाले आपसमा बसेर बाँडफाँड गरे । अरूसँग सल्लाह गर्नु जरुरी ठानेनन् । शेखर कोइरालाले दीपक खड्का र रामनाथ अधिकारीको नाम पठाएको, गगन थापाले प्रदीप पौडेल र बद्री पाण्डेको नाम पठाएको समाचार मिडियामा आयो । आफूलाई शेखर कोइराला र गगन थापा मिलेर रिङ आउट गरेको कुरा नेता भण्डारीले मिडियामा समाचार पढेर थाह पाए । अन्तिम अवस्थामा चन्द्र भण्डारी र जीवन परियारको नाम काटेर बद्री पाण्डे र प्रदीप पौडेलको नाम थपिँदा नेपाली कांग्रेसले पठाएको सूची असन्तुलित हुन पुग्यो ।

पहिलो कुरा दलितको प्रतिनिधित्व शून्य भयो । दोस्रो कुरा कांग्रेसले वागमती र सुदूरपश्चिमबाट ३–३ जना मन्त्री बनाएको तर गण्डकी र लुम्बिनी प्रदेशबाट १ जनालाई पनि नबनाएको आरोप लाग्यो । कांग्रेसमाथि यो आरोप लाग्दै गर्दा सभापति देउवा पानीमाथिको ओभानो बने । तर इतर पक्षका नेताहरूको शाख हदैसम्म गिर्न पुग्यो ।

अप्ठेरोमा चन्द्र भण्डारी

अहिलेको अवस्थामा चन्द्र भण्डारी जत्तिको नेताले मन्त्री बन्छुभन्दा पनि नपाउनु भनेको आफैँमा आश्चर्य हो । इतर पक्षले भागबन्डा खोज्नु नपर्ने थियो, तर खोज्यो । भागबन्डा लिइसकेपछि आफूभित्र सल्लाह गर्नुपर्ने थियो । तर, २ जना कोठाभित्र सुटुक्क बसेर बाँढ्नु अर्को आश्चर्य हो । यसरी सुटुक्क बसेर बाँढ्दा पनि सन्तुलन मिलाउन सकेको भए, नेपाली कांग्रेसभित्र अन्याय हुँदैन भन्ने प्रत्याभूति दिन सकेको भए पनि हुन्थ्यो, तर इतर पक्षका नेताद्वय डा.शेखर र गगन थापाको यो कोठे बैठकले असन्तुलित निर्णय गर्दा नेपाली कांग्रेसको साखमा धब्ब लाग्यो । यो धब्बाको क्षति शेखर र गगन थापाले मात्रै बेहोर्नुपर्ने अवस्था रहेन । यसको केही न केही हिस्सा चन्द्र भण्डारीको भागमा पनि पर्ने नै भयो ।

अब नेपाली कांग्रेसभित्र चन्द्र भण्डारीको कित्ता कुन हो त ? इतर पक्षबाट उपभापतिका रूपमा चुनाव लडेका कारण उनलाई देउवा पक्षको भन्न मिल्दै मिलेन । इतर पक्षको कित्तामा छन् कि ? भन्ने हो भने पनि सानातिना छलफलमा समेत उनलाई रिङआउट गरिसकेको रहेछ । त्यसैले उनले आगामी १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेद्वार बन्ने निर्णय लिएका हुन सक्छन् ।

चन्द्र भण्डारी आगामी १५औँ महाधिवेशनमा सभापति पदको उम्मेदवार त बन्लान्, तर हार्नका लागि बन्लान कि ? जित्नका लागि ? भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण छ । जित्नका लागि उम्मेद्वार बन्ने हो भने कि त संस्थापन पक्षको आधिकारिक उम्मेद्वारका रूपमा मान्यता पाउनुपर्यो, कि त इतर पक्षको आधिकारिक उम्मेद्वारका रूपमा ।

डा.शेखर र गगन थापाको अहिलेसम्मको हठ हेर्ने हो भने भण्डारीले इतर पक्षबाट सभापति पदमा अधिकारिक उम्मेद्वार बन्न पाउने संभावना देखिँदैन । रामचन्द्र पौडेल जत्तिको नेतालाई त स्वीकार गर्न नसक्ने शेखर र गगनले चन्द्र भण्डारीलाई स्वीकार गर्लान् भनेर अनुमान लगाउनुसमेत मूर्खता हुन्छ । बरु सभापति पदमा इतर पक्षको तर्फबाट शेखर र गगन दुवै जना चुनाव लड्न सक्छन्, एकले अर्कालाई स्वीकार गर्दै गर्दैनन् । त्यो भिडमा डा.शशांक कोइरालासमेत थपिन सक्छन् । यस्तो अवस्थाम चन्द्र भण्डारी न शेखरको प्यानलमा सहभागी हुने अवस्था रहन्छ, न गगनको प्यानलमा । हार्नैका लागि सभापति पदमा उम्मेद्वार हुनुबाहेक उनका लागि अर्को विकल्प छैन ।

अब रह्यो संस्थापन पक्षको कुरा । संस्थापन पक्षमा सभापतिको उम्मेद्वार बन्ने भनेर अहिलेसम्म कसैले मुख खोल्न सकेका छैनन् । सभापति देउवालाई विधानले छेक्छ । विधान संशोधन गरेर बाटो खुुलाउन उमेर तथा उमेरजन्य शारीरिक अवस्था बाधकका रूपमा देखा पर्छ । गत १४औँ महाधिवेशनमा विमलेन्द्र निधिले विद्रोह गरेका कारण अब देउवाको उत्तराधिकारी को ? भन्ने प्रश्न संस्थापन पक्षमा खड्किएको छ । यस्तो अवस्थामा संस्थापन पक्षबाट चन्द्र भण्डारीले पो ठाउँ पाउने हुन् कि ? भन्ने अनुमान लगाउनेहरूको संख्या पनि उल्लेख्य छ ।

कित्ता फरक फरक भए पनि सभापति देउवासँग राम्रै बस–उठ हुने गरेको स्वयं भण्डारीले नै स्वीकार गरेका छन् । भण्डारीको देउवासँग व्यक्तिगत रूपमा जति हार्दिक संबन्ध छ, शेखर र गगनसँग त्यति हार्दिक संबन्ध अवश्य पनि छैन । यो कुरा अहिले देखिएको होइन । देउवा र भण्डारीबीचको हार्दिक सम्बन्ध कम्तिमा पनि ४५ वर्ष पुरानो हो । तर डा.शेखर कोइरालासँग राजनीतिक रूपमा भण्डारीको चिनजान भएको जनआन्दोलन २०६२–२०६३ पछि हुनुपर्छ । गगन थापाको हकमा भन्ने हो भने त अझ छोटो होला । किनकी चन्द्र भण्डारीले बिपी कोइरालासँग प्रशिक्षण लिँदै गर्दा गगन थापा आमाको गर्भमा पनि आइसकेका थिएनन् ।

देउवाले चाहे भने भण्डारी आगामी १५औँ महाधिवेशनमा संस्थापन पक्षको तर्फबाट सभापतिको उम्मेद्वार बन्न सक्छन् । चुनाव जित्ने संभावना पनि रहन्छ । श्रीमती आरजु राणाको पक्षमा कस्तो माहौल बन्छ त्यही अनुसार देउवाले रणनीति बनाउने कुरा स्वयंसिद्ध तथ्य हो ।

भण्डारीले देउवालाई पार्टी हाँक्नका निम्ति अहिलेसम्मकै सबैभन्दा सफल सभापति भनेर व्यंग्य गरेका पनि हुन सक्छन् । यो व्यंग्य आफ्नै कित्तातर्फ सोझ्याएका पनि हुन सक्छन् । तर उनले बोलेको कुरा असत्य भने होइन ।

अभागी कि, भाग्यमानी ?

पञ्चायतकालमा नेविसंघको केन्द्रीयतहमा रहेर काम गर्नेमध्ये अहिलेसम्म राजनीतिमा जो जो सक्रीय छन्, उनीहरू पटकपटक मन्त्री बनिसकेका छन् । तर, चन्द्र भण्डारी अपवाद बनेका छन् । यो कोणबाट हेर्नेहरूले उनलाई नेपालकै सबैभन्दा अभागी नेता भन्ने गरेका छन् । तर, निर्णायक पदमा नरहँदा नरहँदै पनि भूमिका निर्वाह गर्ने अवसर पाउने नेताहरूको सूची हेर्ने हो भने भण्डारीलाई अभागी भन्ने ठाउँ छैन ।

पञ्चायतकालको अन्तिम खण्डमा भण्डारीको हैसियत नेविसंघको केन्द्रीय सदस्य मात्रै हो । तर पाँचौँ महाधिवेशनद्वारा निर्वाचत केन्द्रीय समितिमा भण्डारी सबैभन्दा बढी हावी थिए । रथी अरू कोही थिए होलान, तर सारथी उनै थिए । उनलाई धेरैले छैटाँै महाधिवेशनको सभापतिको रूपमा हेरेका थिए । उम्मेदवार बनेको भए त्यतिबेला उनले जित्न सक्थे । तर महामन्त्रीमा उम्मेद्वारी दिए । सायद उनी जुन कित्तामा सामेल थिए, त्यो कित्ताबाट उनले धोका पाए । महामन्त्री पदमा चुनाव जित्नै पर्ने थियो जिते । तर, यो अवधिमा उनी यसरी चक्रब्यूहमा फँसे कि, त्यो चक्रब्यूहबाट अहिलेसम्म बाहिर निस्कन सकेका छैनन् ।

छैटौँ महाधिवेशनद्वारा बनेको कार्य समिति नेविसंघको इतिहासमै सबैभन्दा बद्नाम भयो । त्यो बद्नामीमा भण्डारीको समेत नाम मुछियो । पार्टी सभापति कृष्णप्रसाद भट्टराई विरुद्ध नेविसंघकै ब्यानरमा अन्तरघात भएका समाचार आए । अन्तरघाती भन्दै मिडियाहरूले महामन्त्री भण्डारीको फोटो टाँसे । ‘पाने (किशुनी), माने (गणेशमानजी) छट्टु हुन्, गिरिजाबाबुका कट्टु हुन्’ भन्ने नारा लगाउँदै नेविसंघको ब्यानरमा सडक जुलुस भयो । यसमा पनि मिडियाहरूले भण्डारीको नाम छापे । अहिले कांग्रेसका सभापति देउवा जे जसरी पानीमाथि ओभानो बनेका छन्, त्यसैगरी त्यतिबेलाका नेविसंघका सभापति एनपी साउद पानीमाथिको ओभानो बने, तर महामन्त्री चन्द्र भण्डारीले आफूलाई विवादमुक्त राख्न सकेनन् ।

सातौँ महाधिवेशनमा नेविसंघको सभापति बन्ने पालो हरेक हिसाबले चन्द्र भण्डारीको थियो । सानदार मत अन्तरले चुनाव जित्न सक्ने हैसियतमा उनी थिए । तर उनले सभापति जित्ने संभावना देखिएकै कारण नेविसंघको सातौँ महाधिवेशन बिथोलियो । टीका लगाएर धनराज गुरुङलाई नेविसंघको अध्यक्ष बनाइयो । चन्द्र भण्डारी सभापति हुनुपर्ने ठाउँमा धनराज गुरुङ टुप्लुक्क आइपुगे । संयोग पनि कस्तो भने नेपाली कांग्रेसको गत १४औँ महाधिवेशनमा इतर पक्षले उपभापतिपदको २ सिटमा चन्द्र भण्डारी र धनराज गुरुङलाई अघि सार्यो । गुरुङले चुनाव जिते, भण्डारीले हारे ।

अघिल्लोपटक गगन थापा र शेखर कोइरालाले नचाहँदा नचाहँदै पनि मन्त्री बन्ने हैसियत धनराजले राखे । तर यसपटक देउवाले भण्डारीलाई घरमै बोलाएर भने, ‘तँ अहिले मन्त्री बन्न नजा ।’ देउवाको यो आग्रह अर्थपूर्ण छ । नेपाली कांग्रेसको इतिहास हेर्ने हो भने मन्त्री बन्न हतार गर्नेहरू प्रधानमन्त्री बनेका छैनन् । शेरबहादुर देउवा अपवाद हुन् । बिपी कोइरालाले केही महिनापछि मन्त्रीपद हापेको इतिहास छ ।

कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरला, सुशील कोइराला कहिल्यै मन्त्री बनेनन् । पटकपटक मन्त्री बनेका गणेशमान सिंह प्रधानमन्त्री बन्न चाहेनन् । पटकपटक मन्त्री बनेका रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने सपना अधुरै रह्यो ।

प्रतिक्रिया