दलितका आँसुमा दुनो सोझ्याउनेहरु

धनराज वास्तविक

नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा हजारौँ मानिसहरूले जीवनको आहुति दिएको इतिहास साक्षी छ । यसमा पनि सिल्पी समुदायको ठूलो हिस्साले विभेदकारी राज्य व्यवस्थाका विरूद्ध लोकतन्त्र र परिवर्तनका लागि आगो ओकलेको थियो । शिक्षा, स्वास्थ्य, रोजगारी र राज्य तहमा दलितहरूको न्यून उपस्थिति थियो । दलितहरूले आँट गरे । साहासका साथ आफ्नो समुदायमाथिको अन्याय, अत्याचार, शोषण, दमन, विभेद जस्ता अमानवीय प्रवृत्तिका विरूद्ध उभिए । यो समुदायले मूलतः नेपालका लोकतान्त्रिक आन्दोलनहरूमा आफ्नो सीप, दक्षता र क्षमताको उच्च प्रदर्शन गरेकै कारण नेपालको राज्यसत्तामा आमूल परिवर्तन भएको हो । फलस्वरूप ती आन्दोलनहरू सफल बनेको यथार्थ सत्य लुकाउन मिल्दैन । तर, बिडम्बनाको कुरो लोकतन्त्र, गणतन्त्र, संघीयता र समाजवाद हासिलका निम्ति यति ठूलो योगदान र बलिदान दिएको समुदाय संघीय राज्य संरचनामा दयादारीको पात्र बनाइएको देखियो ।

दलित समुदायकै योगदानका कारण राज्यतहमा पुगेका शासकहरूले आज छोइएला जस्तो व्यवहार गरिरहेको देखिन्छ । प्रत्यक्ष निर्वाचन लड्न नदिने, मन्त्री हुन योग्यता नदेख्ने, मन्त्रिपरिषद दलितरहित बनाउने जस्ता काम ‘जनयुद्ध’का कमान्डर प्रचण्ड–केपीहरूबाट निरन्तर भइरहेको कुरा घामजस्तै छ । किन यस्तो भइरहेको छ ? यसरी दलित समुदायलाई दयादारीको नजरले हेर्दा के यो समुदायमाथि न्याय हुन्छ ? कि यो देशमा दलितका दलालहरूले जे चाह्यो त्यहि हुने हो ? यस किसिमका सवालमाथि केही मन्थन गर्न जरूरी देखिन्छ ।

‘जनयुद्ध’मा दलित

खासगरी माओवादीको तत्कालीन १० वर्षे ‘जनयुद्ध’का क्रममा दलित समुदायको जोडदार उस्थिति, योगदान र बलिदान रहेको थियो । त्यसपूर्वका आन्दोलन र क्रान्तिमा पनि दलित समुदायको योगदान र उपस्थिति नभएको भने होइन । पंक्तिकारले नै भोगेको÷लडेको ‘जनयुद्ध’मा राज्यतर्फबाट दलित भएकै कारण मारिनु परेको दृश्य ताजै छन् । मुक्ति आन्दोलनमा होमिएका दलितहरूमाथि तत्कालिन शाही सेनाले गरेको अत्याचार, दमन, उत्पीडन र हत्या सामान्य अपराध थिएन ।

आज केही मान्छेहरूले माओवादीको तत्कालिन ‘जनयुद्ध’लाई लिएर तल्लो तहको टिप्पणी गरेको सुनिन्छ । विश्वको राजनीतिक इतिहासलाई हेर्दा माओवादीको ‘जनयुद्ध’ र दोस्रो जनआन्दोलन जत्तिको क्रान्तिकारी, जनसहभागिता र प्रभावशाली आन्दोलन अन्यत्र कतै भएको देखिँदैन । जनताहरूको उपस्थिति र क्षतिका हिसाबले हाम्रो मुलुकमा सम्पन्न क्रान्तिहरू विश्वकै लागि नमुना हुन् ।

खैर, माओवादीद्वारा ‘जनयुद्ध’ किन गरियो ? के कारण मानिसहरू मर्न र मार्न बाध्य बने ? भन्ने खालका सवालहरूलाई नजरअन्दाज गर्नेहरूका निम्ति भने ‘जनयुद्ध’ केही थिएन होला । तर, जसले आजको परिवर्तनका निम्ति आफ्ना आफन्त गुमाएका छन्, बेपत्ता पारिएका छन्, त्यस्तो वर्ग समुदाय र परिवारका निम्ति अग्रगामी, परिवर्तनकारी र क्रान्तिकारी पक्षका निम्ति ‘जनयुद्ध’ महान क्रान्ति थियो । जो तत्कालिन शाही शासनका विरूद्धको संगठित, सुविचारित लडाइँ थियो । वर्गीय विभेद र असमानताका पहाडहरू भत्काउनका निम्ति त्यो लडाइँ थियो । उक्त क्रान्तिका क्रममा राज्यले जात र क्षेत्रका आधारमा जनतालाई विभाजन गरेर अत्याचार गरेको थियो ।

खैर, आज जसले जे सुकै भने तापनि माओवादीको तत्कालीन ‘जनयुद्ध’ले मानवीय चेतनामा गुणात्मक परिवर्तन ल्याएकै हो । तर, मूलभूत दलित समुदाय, महिला, जनजाति, कर्णाली, मधेसी समुदायका जनताको जीवनदशा परिवर्तन गर्न सकेन । तत्कालीन युद्धले हली, गोठाला, बालीघरे दमाइ दाइहरूले हतियार उठाएर आफ्नो अधिकारका निम्ति बन्दुक बोक्न सक्छन् भन्ने पुष्टि गरेको थियो । जसको प्रभावका तरंगहरू आज पनि शान्त बनिसकेका छैनन् । बरू आज कसैले दलितलाई निम्छरो भाषा, शब्दको प्रयोग गरेर हेपेको खण्डमा जातीय छुवाछुतको कसुर लगाउन कानुनी बाटो समात्न पुग्ने चेतना विकास भएको छ ।

राज्यबाटै विभेद

कुनै बंशमा जन्मेकै कारण ठूलो र सानो देख्ने, ठान्ने सामुदायिक संरचना यथावत छ । हाम्रो समाज यस खालको जडतामा बाँचिरहेको छ । यथास्थितिवादी, परम्परावादी र संस्कृतिको नाममा मानिसको जन्मजात सानो र ठूलो हुने कुरा असली संस्कृतिले स्वीकार गर्दैन । तर, हाम्रोमा यसैलाई नै संस्कृति मान्ने भ्रम छ । यो भ्रमको जालो च्यात्नका निम्ति दलितहरूले प्रयास नगरेका भने छैनन्÷होइनन् । आज पनि यसका विरूद्ध दलित अगुवाहरू उभिरहेकै छन् । तर, एकतावद्ध भएर दलित समुदाय आन्दोलनमा होमिएको भने देखिदैन । यसको एक उदाहरण हुन् खगेन्द्र सुनार । उनी अहिले ‘खोइ दलित ?’ भन्दै माइतीघरमा फलामे साँग्लोले बेरिएर उभिने गरेको देखिन्छ । उनको एक्लो प्रयासले दलित हेपिएको, अन्यायमा परेको र पारिएको सन्देश दिने बाहेक अर्को काम गर्छ भन्ने आधार देखिँदैन । वैचारिक स्पष्टता बिनाका कुनै पनि आन्दोलनले परिणाम हात पार्दैनन् भन्ने कुरा खगेन्द्रलाई थाहा हुनुपर्छ ।

उनले दलित समुदायका नेताहरूको सहकार्यमा यो आन्दोलन सुरू गरेका हुन्थे भने वर्तमान केपी ओली सरकारको मन्त्री परिषद्मा दलित समुदायको प्रतिनिधित्व हुनेगरी आन्दोलन हुनसक्थ्यो । र बाँकी दिनमा दलित समुदायको अनिवार्य उपस्थितिको ग्यारेन्टी हुनसक्थ्यो । यसरी हेर्दा दलित समुदायले आफ्नो नेता नजन्माएको पनि होइन । तर, छिन्नभिन्न छन् । आपसमा एकतावद्ध भएर एउटै पंक्तिमा उभिन दलितहरूलाई किन र कसले रोकेको छ ? यो सवालमाथि विचार विमर्श हुन जरूरी छ ।

भन्दाखेरी दलितहरूको योगदानकै कारण ‘जनयुद्ध’ सफल बनेको बताउने, दलित उत्पीडन, विभेद, अन्याय, अत्याचार र अमानवीय व्यवहारका विरूद्ध भाषण गरेर नथाक्ने प्रचण्डहरू सबैभन्दा ठूलो दलितका दलाल हुन् । दलितको नाम बेचर राजनीति गरिरहेका प्रचण्डहरूले आफ्नो मन्त्री परिषद्मा दलित समुदायको प्रतिनिधित्वसमेत नगरेको स्थिति हामीले नै देख्न पायौैँ । एनजिओ र आइएनजिओ मात्र होइन, यहाँ प्रगतिशील भनिएका कम्युनिस्टहरूले दलितका नाममा राजनीति गरिरहेका छन् । दलितका पीडा, दुःख, दर्द बेचर राजनीति गरिरहेका छन् । पछिल्लो समयमा त दलितलाई दयादारीको नजरले हेर्न थालिएको छ । यो दलित समुदायमाथिको अर्को विभेदको सुरूआती हो । राज्यको संरचना नै दलित मैत्री छैन । दलित समुदायप्रति राज्यको नियत नै खराब छ । विभेद, उत्पीडन, अन्याय, अत्यचारमा परेको दलित समुदायको घाउमा राज्यले नुनचुक छर्किने काम गरिरहेको छ । राज्यबाटै सीमाहीन विभेद हुनु सामान्य अन्याय होइन ।

अन्त्यमा, दलितका आँसु बेचर खानेहरू, दलित समुदायले भोगिरहेको अन्याय, अत्याचार, दमन, शोषण, विभेद अपमानजस्ता अमानवीय कुराहरू उठाएर आफ्नो दुनो सोझ्याउनेहरू दलितका सबैभन्दा ठूला दलाल हुन् । गैरसरकारी संस्थाको नाममा होउन् कि सरकारी नामका, यस्ता संस्था र संगठनहरूले दलितहरूको नाममा आफ्नो भलाइ गर्ने कामबाहेक अर्को काम गरिरहेका छैनन् । सामाजिक जीवनमा क्रान्तिकारी संस्कृतिको सुरूआत नभएसम्म परिवर्तनको प्रत्याभूति गुञ्जाएस हुन सक्दैन । क्रान्तिकारी संस्कृति र राजनीति एउटै सिक्काका २ पाटा हुन् । एकको अभावमा अर्काको अर्थ, अस्तित्व र अमरत्व रहन्न । मूलतः आजको राज्यले दलित, महिला, जनजाति, मधेसी र कर्णालीका जनताको जीवनस्तरको समृद्धीकरण गर्ने, राष्ट्र निर्माणको सशक्तीकरण, विधिको परिपालना र सबलीकरण, समाजिक रूपान्तरण, अनुशासित समाज तथा समतामूलक र न्यायमूलक समाजवादी व्यवस्थाले मात्रै सांस्कृतिक रूपान्तरण गर्नसक्छ । साथै आजको समाज समाजवादको यात्रातर्फ उन्मुख हुनुको विकल्प छैन ।

प्रतिक्रिया