मानिसले किन आत्महत्या गर्दछन् ? आफ्नो अमूल्य जीवनलाई किन कोही समाप्त पार्न पुग्दछन् ? के शरीरमा कुनै तत्वको कमी वा बढी भयो भने पनि आत्महत्या गर्न मन लाग्न सक्छ ? यस दृष्टिकोणले पनि अध्ययन भएको हुनुपर्छ । सामान्यतया, मानिसले कुनै पनि निर्णय गर्ने भने उसको परिस्थितिलाई आधार मानेर नै हुनुपर्छ । कुनै विशेष परिस्थितिमा मानिसले सन्न्यासी हुनुपरेको दृष्टान्तहरू अनेक पाइन्छन् ।
संसारमा सबैभन्दा मूल्यवान मानिस र मानिसको जीवन नै हुनुपर्छ । मानिसको जीवनलाई धर्मशास्त्रहरूले पनि सर्वोत्तम मानेका छन् । मानिसको लागि उसको आफ्नो जीवन जति प्रिय अरू केही होला कि भन्ने विषयमा उसले विचार गर्नुपर्छ । कतिपयले आफूभन्दा प्रिय आफ्ना सन्तानसम्म भन्दछन्, तर कतिपयमा चाहिँ सन्तानभन्दा आफू नै महत्वपूर्ण ठान्ने गरेका छन् । परिस्थिति र चेतनाअनुसार यसमा केही भिन्न दृष्टिकोण हुन सक्ला तर जुनसुकै अवस्थामा पनि मानिसको लागि मानिस नै सबैभन्दा ठुलो हो र हुनुपर्छ पनि । कुनै पनि मूल्यमा मानिसको लागि मानिसभन्दा ठुलो अरू केही होइन ।
मानिस बौद्धिक प्राणी हो । चेतना र विवेकले आफूलाई सञ्चालित गरेको ठान्दछ अर्थात् हरेक मानिस आफ्नो चेतना र विवेकद्वारा सञ्चालित हुन्छ । चेतना र विवेकलाई प्रभावित पार्ने तत्वहरूमा उसको परिवेश, शिक्षा, स्तर तथा चिन्तन हुन सक्छन् । मानिसलाई सबैभन्दा बढी उसको तत्कालीन परिवेशले प्रभावित पारिरहेको हुन्छ । मानिसलाई उसको चिन्तनमा कहिलेकाही अध्ययन, परिवार र आफन्तको अवस्था, टोलछिमेकका घटना तथा अन्य परिवेशले पनि प्रभावित पारेको हुन्छ । अनावश्यक तनाव, लान्छना तथा धेरै निराश बनाउने वातावरणले पनि मानिसको मनलाई प्रभावित पार्दछन् । बाहिरी कारणहरू वास्तवमा त्यत्ति जिम्मेवार हुँदैनन् जति आन्तरिक कारण जिम्मेवार हुन्छन् । मानिसलाई उसको बुद्धिले बढी निर्देशित गरिरहेको हुन्छ । बुद्धिमाथि नियन्त्रण निकै महत्वपूर्ण पक्ष हो । यसैले मानिस बढी परिपक्व हुनुपर्छ भन्ने गरिन्छ । बढी परिपक्व हुनको लागि पढ्नुभन्दा काममा लाग्नुपर्छ ।
मानिस पढेरभन्दा निकै बढी परेर सिक्दछन् । अनुसन्धान भइरहेका छन् र भएका पनि छन् । मानिसले किन आत्महत्या गर्दछन् ? आफ्नो अमूल्य जीवनलाई किन कोही समाप्त पार्न पुग्दछन् ? के शरीरमा कुनै तत्वको कमी वा बढी भयो भने पनि आत्महत्या गर्न मन लाग्न सक्छ ? यस दृष्टिकोणले पनि अध्ययन भएको हुनुपर्छ । सामान्यतया, मानिसले कुनै पनि निर्णय गर्ने भने उसको परिस्थितिलाई आधार मानेर नै हुनुपर्छ । कुनै विशेष परिस्थितिमा मानिसले सन्न्यासी हुनुपरेको दृष्टान्तहरू अनेक पाइन्छन् । नेपालमा राणा शासनकालकी एक विद्रोहिणी योगमायामा विद्रोहीपन आउनुमा तत्कालीन व्यक्तिगत वा पारिवारिक कारण तथा राजनीतिक अवस्थाले पनि हो । सामान्य जीवनबाट अलग रहेर कृष्णप्रसाद भट्टराई, जसलाई नेपालीले सन्तनेता भन्दछन्, विवाह गरेनन् । अन्य कतिपय नेता तथा सन्न्यासीहरूको देशको विकासमा ठुलो योगदान रहेको छ । अध्ययन र योगाभ्यास सबैलाई चाहिन्छ भन्नुको कारण पनि यही नै हुनुपर्छ । अध्ययनले संसारलाई चिन्न तथा बुझ्न मद्दत गर्दछ भने योगाभ्यास वा योगसाधनाले मानिसलाई आफैँलाई वा आफ्नो अन्तर्मनलाई पहिचान गर्न मद्दत गर्न सक्छ । सबै कुरा समान रहे पनि नियमित योगाभ्यास र ध्यान गर्ने मानिसले आत्महत्याको बाटो रोज्न मन पराउँदैनन् वा गर्दैनन् । यसमा पनि अपवाद नहोला भन्न सकिन्न तर सामान्यतया योगाभ्यास र ध्यानले मानिसलाई आफ्नो जीवन र जीवनको लक्ष्यतिर केन्द्रित गराउन अभ्यस्त बनाउँछ ।
धेरै त होइन, थोरै हदसम्म यसरी पनि विश्लेषण गर्नुपर्ने हुन्छ । कुन समुदाय, उमेर, भौगोलिक क्षेत्र तथा शिक्षा वा चेतनाको स्तरका मानिसले आत्महत्या गरिरहेका छन् । आत्महत्या गर्ने मानिसको आर्थिक अवस्था कस्तो छ ? पारिवारिक अवस्था कस्तो छ । पहिलेदेखि कुनै किसिमको लक्षण देखाएको थियो कि ? चरम आर्थिक निराशा वा पारिवारिक बोझ थाम्न नसकेर पनि कतिपयमा यस प्रकारको भावना आएको हुन सक्छ । यस दृष्टिकोणले यदि अध्ययन हुने हो भने त्यस किसिमका अन्य मानिसलाई कसरी रोक्न सकिन्छ वा रोजगारमा लगाउन सकिन्छ भन्ने बारेमा पनि विचार गर्नुपर्ने हुन्छ । यद्यपि अन्य वैज्ञानिक कारणहरूको पनि अध्ययन हुनुपर्ने जसरी देखिन्छ । अमूल्य जीवनलाई कोही पनि नष्ट गर्न चाहँदैनन् । जीवन सबैलाई प्यारो हुने भएकोले यदि आत्महत्या भइरहेको छ भने आत्महत्यालाई रोक्न सकिने सबै उपायहरूको खोजी र अवलम्बन गरिनुपर्छ । आत्महत्या गर्ने प्रयासका कारणहरूको खोजी गरेर मात्र हुँदैन, निवारणको प्रयास गर्नै पर्छ । अझ प्रयास मात्र होइन, पूर्ण समाधान गर्नुपर्छ ।
समस्या सबैतिर हुन सक्छ । समस्या नभएको कुनै अवस्था हुनै सक्दैन । उदाहरणको लागि केही वर्ष पहिलेको कोरोनाको कठिन समयमा जब मानिस घरभित्रै बसिरहेका थिए तब सुत्दासुत्दा अल्छी लाग्थ्यो । अरूबेला अल्छी लाग्दा आराम गर्नुपर्छ, तर त्यत्तिबेला आराम गर्दागर्दा नै अल्छी लाग्थ्यो । अनि मानिसले घरभित्रका खेलहरू, व्यायाम तथा सिर्जनात्मक लेखन वा पठनमा ध्यान दिएका थिए । अनि अधिकांश कार्यरत मानिसलाई जहिले पनि समयको अभाव हुन्छ अर्थात् जो जति व्यस्त छ त्यत्ति नै उसलाई यताउतिको कुरा सोच्नलाई समय हुँदैन । मानिस जहाँ व्यस्त हुन्छ त्यहाँ पनि समस्या नहुने होइन । भान्छामा काम गर्ने होऊ्न वा आकाशमार्गमा हवाईजहाज उडाउने होऊन्, सबैलाई आफ्नो काममा समस्या हुन्छ । समस्याबाट डराउनु हुँदैन । समस्याबाट सतर्क रहनु उचित हुन्छ । समस्याको समाधानका लागि प्रयास गर्नुपर्छ, उपायहरू खोज्नुपर्छ । काममा लागिरहनु पनि पर्छ र समाधानको प्रयास पनि गरिरहनु पर्छ । यसको अर्थ हो संघर्ष गरिरहनु पर्छ ।
संघर्षदेखि कहिल्यै डराउनु हुँदैन । संघर्षको अर्थ कोहीसित लडाइँ, झगडा हुँदै होइन । काममा आइरहेका समस्यालाई समाधान गर्नु, बाधा र व्यवधानलाई हटाउनु हो । आफ्नो कर्ममा निरन्तर जुटिरहनु हो र अझ सम्भव हुन्छ भने सबै काम गर्दै, संघर्ष गर्दै पनि आफूलाई रुचि भएको क्षेत्रको पुस्तक पढिरहनुपर्छ ।
यात्रामा देखिन्छ, मानिसहरू कोही एक्लै यात्रारत हुन्छन् भने आफूलाई व्यस्त राख्न पुस्तकको अध्ययन गरिरहन्छन् । पुस्तकलाई एक्लोपनको साथी मान्नेहरू धेरै छन् । आफूलाई व्यस्त राख्नेहरू धेरै छन् । पुस्तकले मानिसलाई कहिल्यै एक्लै हुन दिँदैन । अनि नकारात्मक भावना पनि मनमा आउन दिँदैन, यद्यपि पुस्तकको चयन पनि यस्तै हुनुपर्छ । जहिले पनि जीवनमा सकारात्मक धारणा जगाउने र जीवनको समस्यालाई समाधान गर्ने किसिमका पुस्तकहरूको अध्ययन गरिरहनु पर्छ । आफूलाई अलिकति फुर्सद भयो कि अध्ययन गर्नुपर्छ र अझ त्यस खाली समयलाई बढी उपयोगी बनाउन आफूले सकेको लेखिहाल्नु पर्छ । लेख्नु भनेको आफूलाई सहज बनाउनु पनि हो । यदि आफ्नो मनको भावलाई डायरी वा पानामा अक्षरमा उतार्न सफल हुन्छौँ भने धेरै हदसम्म मनको तनावलाई व्यवस्थापन गर्न पनि सफल हुन्छौँ । मनको तनाव, मानसिक बोझलाई पनि कलात्मक रूपमा अभिव्यक्त गर्न सकिन्छ, निकास दिन सकिन्छ ।
यसले गर्दा मन र मस्तिष्कमा बोझ कम भएको अनुभूति हुन्छ । बोझ जब कम हुन्छ तब आफूलाई आफू नै बोझ हुने बोध कहिल्यै हुँदैन । यस्तो पनि अनुभूति हुन थाल्छ कि मैले गर्नुपर्ने धेरै कामहरू बाँकी नै रहेका छन् । ममाथि धेरै जिम्मेवारीहरू छन् । व्यक्तिगत जिम्मेवारी, पारिवारिक दायित्व, सामाजिक उत्तरदायित्व तथा राष्ट्रिय कर्तव्यहरू पनि ममाथि छन् भन्ने कुराको बोध हुन थाल्छ । जब आफ्नो कामको प्रशंसा हुन सुरु हुन्छ तब झन् जीवनको महत्व वा आफ्नो मूल्य पनि थाहा हुन थाल्छ । म आफ्नो लागि, परिवारको लागि, समाजको लागि र राष्ट्रको लागि महत्वपूर्ण व्यक्ति हुँ भन्ने भावनाको विकास हुन पुग्यो भने आफ्नो उपस्थिति यस संसारमा महत्वपूर्ण छ भन्ने कुरा पनि बुझ्न सकिन्छ । यदि यसप्रकारको अनुभूति हुन थाल्यो भने आत्महत्याको विचार वा जीवनलाई यत्तिकै समाप्त पार्ने भावना मनमा आउँदैन कि ?
जीवनप्रति मोह जगाउने, जीवनको मूल्यलाई बुझाउने, आफ्नो महत्व बताउने र आफूलाई महान् व्यक्ति बनाउने उपायहरू साधारणदेखि साधारण मानिससम्म पु¥याउनु अत्यावश्क छ । अध्ययन–अनुसन्धानले आत्महत्याका कारणहरू के कति देखाउँछन् र हाम्रो परिवेशमा कुन कारक तत्वले आत्महत्यामा भूमिका खेलिरहेका छन्, यसरी मनोविज्ञान वा मनस्थिति, परिस्थितिको विश्लेषण गरी वास्तवमा आत्महत्यालाई समाजबाट पूर्णतः निर्मूल पार्नका लागि सम्पूर्ण उपायहरूको खोजी गर्नुपर्छ । आत्महत्या हुँदै नहुने समाजको परिकल्पना गर्नुपर्छ । सबै पक्ष यदि जागरुक भयो भने यो असम्भव पनि नहोला । आत्महत्यालाई कसैको पनि बाध्यता नहुने वातावरण निर्माण गरिनु सर्वथा उचित हो भन्ने कुरालाई सम्बन्धित निकाय मात्र होइन हरेक सचेत नागरिकले पनि जिम्मेवारीका साथ बोध गर्नुपर्छ ।
प्रतिक्रिया