कसरी परिवर्तन हुँदैछ तिज पर्वको मौलिकता ?

नाच–गानका लागि पनि आधुनिक प्रविधिको विकास भइसकेको छ । समाजको ढाँचा परिवर्तन भए सँगै तिज पर्वको मनोरन्जन तर्फको शैलीमा आमुल परिवर्तन भएको छ, यसलाई अन्यथा लिनु हुन्न । तर अस्लीलता तथा तडक भडक प्रदर्शन गर्नु भनेको विकृति हो । यस्तो विकृति केही वर्ष अघिसम्म ह्वात्तै बढेको थियो । तर विकृति फैलाउन खोज्नेहरु पछिल्ला दिनमा आफै बहिस्कृत हुँदै गएका छन् ।

मनिता घिमिरे

गत बुधबार अष्ट्रेलियाकी एक जना महिला सांसद रातो पछ्यौरा ओढेर संसद भवन प्रवेश गरिन् । उनी थिइन, भिक्टोरिया राज्यबाट प्रतिनिधित्व गर्ने संघीय सांसद ‘ डा. मारिया भाम्वा किनु ।’ समाज शास्त्रकी प्राध्यापक समेत रहेकी सांसद डा. मारियाले विशेष समय लिएर नेपाली महिलाको महान चाड तिज पर्वको सांस्कृतिक र सामाजिक पक्षबारे बोल्न थालिन । तिज पर्वको सांस्कृतिक र सामाजिक पक्ष सुनेर अन्य सांसदहरु स्तब्ध बने । तिजको महिमालाई अष्ट्रेलियाको संसदमा प्रवेश गराउने पृष्ठभूमी नेपाली मुलका दुई जना जनजाति महिलाहरुले बनाएका थिए । उनीहरु हुन्– ‘कुशुम मगर र माधुरी मास्के ।’

पछिल्ला केही दशकदेखि नेपाली महिलाहरुको मौलिक चाड तिजले वृहत आकार ग्रहण गर्दै गएको छ भन्ने ज्वालन्त उदाहरण हो , अष्ट्रेलियाको यो घटना । विशेष गरी कर्णाली पूर्वको पहाडी भेगका क्षेत्री–बाहुन समुदायका महिलाहरुले सनातनदेखि मनाउँदै आएको तिज पर्व पछिल्ला केही दशकदेखि अरु जाति तथा समुदायका महिलाहरुले पनि मनाउन थालेका छन् ।
तिज भनेको महिलाका लागि हाम्रो समाज तथा संस्कृतिले प्रदान गरेको बिशेष अवशर हो । त्यसै गरी तीन पर्व किन र कसरी मनाउने ? भन्ने सन्दर्भमा धार्मिक संस्कार तथा पौराणीक कथाहरु छन् । विभिन्न कालखण्डमा पौराणीक कथाहरु पनि फरक फरक ढंगले लेखिँदै आएका छन् । आम मान्यता अनुसार पार्वतीले भगवान शिव सँग विवाह गर्न पाउँ भनेर तपस्या तथा पुज आजा गरेको र उनको मनोकामना पूर्ण भएको सन्दर्भ सँग पनि तिज पर्वको पौराणिक कथा जोडिएको छ ।

तिज पर्वलाई महिला स्वतन्त्राका प्रतिकका रुपमा पनि लिने गरिन्छ । त्यसैले तिज पर्वलाई विश्वले यतिबेला नारी दिवसको रुपमा पनि हेर्ने गरेको छ । नेपालीहरुले सनातान देखि नै नारी दिवस मनाउँदै आएका रहेछन् भन्ने कुरा पछिल्ला दशकहरुमा विश्व समुदायले पनि थाह पाउन थालेको छ । निश्चित जाति तथा समुदायले मनाउँदै आएका चड पर्वहरु शहरीकरणको वृद्धि सँगै अन्य समुदायमा पनि विस्तारित हुँदै गएका छन् । तिज पर्व पनि त्यसरी नै विस्तार हुँदै गएर आम नेपाली महिलाहरुको साझा चाड बनेको छ । तिज पर्व विस्तारित हुँदै जानुको अर्को पक्ष लचकता पनि हो ।
तिज पर्व सांस्कृतिक पर्व त हुँदै हो , सँग सँगै मनोरन्जन समेत गरेर मनाइने पर्व हो । मनोरन्जन प्रधान भएकै कारण तिज पर्व बिस्तारित हुँदै गएको हो ।

धार्मिक रुपमा तिज पर्व भाद्र शुक्ल द्धितियादेखि पन्चमीसम्म पाँच दिन मनाइन्छ । तर नाच गान , खानपिन तथा मनोरन्जन भने करिव एक महिनादेखि नै सुरु हुन्छ । नाच गान , खानपिन तथा मनोरन्जनमा सबै समुदायका महिला सरिक हुने प्रचलन बढ्नु स्वभाविकै हो । किनकी केही अपवाद बाहेक हाम्रो समाज बहुजातिय छ । एउटै समाजमा धेरै जात तथा समुदायको बसोबास छ । तिज पर्वको मौलिकता माथि संकट आउन थालेको विश्लेषण विगत केही दशकदेखि नभएका होइनन् ।

कतिपय विश्लेषणहरु बुझेर गरिए , कतिपय विश्लेषणहरु नबुझी गरिए । तिज पर्वको धार्मिक तथा भक्ति आरधानाको मौलिकतामा परिवर्तन आएको होइन , तर मनोरन्जनात्मक पाटोको मौलिकतामा परिवर्तन आएको कुरा भने सत्य हो । तिजका अवशरमा बढ्दो माछामासु खपत र पार्टी प्यालेस तथा रेष्टुरेन्टहरुको भरिभारउको विषयलाई लिएर टिका टिप्पणीहरु नभएका होइनन् । भवगान शिव , गणेश र ऋषिहरुको पूजा आराधाना गरिने पर्वमा माछा–मासु तथा मदिराको बढ्दो खपत किन ? भन्ने प्रश्न पनि आए ।

तर यस्ता प्रश्न उठाउनेहरुले तिज पर्वको अवशरमा पूजा आराधाना गर्ने दिन अलग अलग हुन् र मनोरन्जन तथा खानपिन गर्ने दिन अलग हुन् भन्ने कुरा बुझ्दै गए । तिज पर्वको अवशरमा गाइने गीतहरुको लय, भाका तथा विषय बस्तु मौलिक हुन्छ भन्ने हेक्का नभएका कतिपय कलाकारहरुले ल्याएका म्युजिक भिडियोका विषयमा आलोचना समेत भयो । तर तिजको गीत भन्दै ल्याइएका अपाच्य म्युजिक भिडियोहरु पछिल्ला वर्षमा आफै बहिस्कृत हुँदै गएका छन् । तिज महिला स्वतन्त्रता अभिव्याक्ति गर्ने पर्व हो भन्ने थाह पाएका तर यसको मर्म नबुझेका शहरमा हुर्केकका कतिपय महिलाहरु विस्तारै लयमा फर्कन थालेका छन् ।

केही दशक अघिसम्म सामान्य रुपमा मनाएको देखिने तिज पर्वले यतिबेला देशको सामाजिक तथा आर्थिक क्षेत्रलाई तरंगित बनाइ रहेको सन्दर्भमा विभिन्न कोणबाट टिका टिप्पणी तथा विश्लेषणहरु हुन थालेका छन् । तिज पर्वले नेपाली समाजलाई एकिकृत गर्दै आएको । विश्व माझ नेपालको पहिचानलाई थप बलियो बनाउँदै गएको छ । तिज पर्वका अवशरमा बढ्दै गएको सामुहिक नाचगान तथा खानपिनका कारण देशको आर्थिक क्षेत्र चलायमान हुन थालेको विश्लेषण कतिपयको छ ।

तर कतिपयले भने नेपालका अन्य चाड पर्वको जस्तै तिज पर्वको मौलिकता पनि समाप्त भएको विश्लेषण गरेका छन् । त्यति मात्रै होइन तिज मनाउने नाममा विकृति समेत सुरु भएको कतिपय आलोचकहरुले टिप्पणी गरेका छन् । बास्तवमा यी दुवै विश्लेषण तथा टिप्पणीहरु गलत होइनन् । तिज पर्वले नेपालको समाजलाई एकिकृत गर्दै लगेको कुरा सत्य हो । तिज पर्वले नेपालको आर्थिक क्रियाकलापलाई चलायमान गराउँदै लगेको पनि सत्य हो ।

सँग सँगै तिज पर्वको नाचगान तथा खानपिनका क्रममा केही विकृति सुरु भएको पनि सत्य हो । बास्तवमा तिज पर्व भनेको नेपाली संस्कृति कति संवृद्ध छ भन्ने उदाहरण झल्काउने पर्व हो ।
तिज पर्व खासगरी चेली–बेटी र माइतीबीच संवन्धको सेतु हो ।
एउटै गाउँमा सँगै हुर्केका, सँगै खाइखेली गरेका छोरी चेलीहरुरु विवाह भएर टाढा–टाढाका विभिन्न गाउँहरु पुग्छन् । उनीहरु बीच सामुहिक भेट गराउने भनेकै वर्षको एक चोटी आउने तिज पर्वले हो ।

विवाहित चेली– बेटीहरु माइतीमा गएर तिज मनाउने हाम्रो देशको चलनले पनि हामी नेपालीहरुको संस्कार कति बैज्ञानिक रहेछ भन्ने पुष्टि हुन्छ । विवाह भएर विभिन्न ठाउँहरु पुगेका चेली–बेटीहरु आपसमा भेट भइ सुख–दुख साट्ने , मीठो मसिनो खाने , नाच गान गर्ने चलन छ । आँफुले रोजेको पुरुष सँग विवाह गर्न महिलाहरुलाई धार्मिक तथा सामाजिक स्वतन्त्रता छ भन्ने सन्देश पनि तिज पर्वले दिएको छ ।

यसैगरी तिज पर्वको तेस्रो दिन बिहानै नदी तथा जलाशयमा गई अपमार्ग ( दतिवन) प्रयोग गरेर शरीर सफा गर्ने र दिउसो सामुहिक रुपमा सप्तऋषिहरुको पुजा गर्ने प्रचलन छ । यो पूजा प्रजनन उमेरका महिलाहरुमा मात्रै सिमित छ । पहिलो पटक रजश्वला भएकी किशोरीले विशेष पुजा गर्ने र रजोनिवृत्त भइसकेका महिलाहरुले पूजा गर्नु नपर्ने चलन छ । कुनै पनि किशोरी स्वास्थ्य छन् भन्ने मानक भनेको त्यतिबेलाको समयमा उमेर पुगेपछि राजश्वला हुनु हो ।

त्यसैले आफ्नी छोरी स्वास्थ्य तथा तन्दुस्त छिन अर्थात बिबाहका लागि योग्य छिन् भन्ने कुरा समाजलाई प्रदर्शन गर्न पनि यसरी पूजा गर्ने चलन सुरु भएको हुनुपर्छ । तृतिया र पन्चमीको दिन निराहर कठोर ब्रत बस्नु पर्ने भएकोले माइत आएका आफ्ना छोरी–चोलीलाई द्धितियाकै दिन मीठो मसिना खुवाउने प्रचलन छ । यसलाई दर भन्ने गरिन्छ । तिजमा ब्रत तथा पूजाको महत्व जति छ , त्यति नै महत्व मनोरन्जन तथा नाचगानको छ ।
दरखाने दिन अर्थात भाद्र शुक्ल तृतियादेखि औपचारिक रुपमा तिज सुरु भएको मानिन्छ । तर अनौपचारिक रुपमा भने एक महिना अघिदेखि नै सुरु हुन्छ । अर्थात नाच्ने गाउने अभ्यास एक महिनादेखि गरिन्छ । माइती जाँदा संगीहरुलाई नयाँ नयाँ गीत सुनाउने प्रतिस्पर्धा नै चल्छ । धार्मिक गीतहरु त हुने भइ हाले, त्यसको अलवा , सुख– दुखका , कुनै घटना विशेषका गीतहरु रचना गर्ने र गाउने गरिन्छ । समाज रुपान्तरणका गीतहरु पनि गाउने गरिन्छ ।

तर पछिल्ला दशकहरुमा यातायात, सूचना तथा संचार प्रविधि , शिक्षा तथा स्वास्थ्यको विकास भएको छ । छोरा हुन् या छोरी दुई भन्दा बढी सन्तान नजन्माउने प्रचलनका कारण हाम्रो समाजको ढाँचामा आमुल परिवर्तन भइसकेको छ । माइत जान , आफ्ना साथी संगीहरु सँग भेट्न तिज नै पर्खनु पर्ने अवस्था अहिले छैन । मीठो–मसिनो खान तिज नै पर्खनु पर्ने अवस्था छैन ।

नाच–गानका लागि पनि आधुनिक प्रविधिको विकास भइसकेको छ । समाजको ढाँचा परिवर्तन भए सँगै तिज पर्वको मनोरन्जन तर्फको शैलीमा आमुल परिवर्तन भएको छ, यसलाई अन्यथा लिनु हुन्न । तर अस्लीलता तथा तडक भडक प्रदर्शन गर्नु भनेको विकृति हो । यस्तो विकृति केही वर्ष अघिसम्म ह्वात्तै बढेको थियो । तर विकृति फैलाउन खोज्नेहरु पछिल्ला दिनमा आफै बहिस्कृत हुँदै गएका छन् ।

बास्तवमा तिज पर्वले महिलाहरूलाई कर्मघर र जन्मघरसँग जोड्छ । तजका चारदिन विवाह भएका छोरीलाई अनिवार्य रूपमा माइती लैजाने चलन छ । माइती पक्षले मीठो मसिनो खान दिने, नयाँ कपडा किनिदिने चलन छ । अघिपछि एक्लै माइती जान सकिने भए पनि तिजको वेलामा भने माइती पक्ष लिनै आउनुपर्छ । लिन आउनु भनेको ठूलो सम्मान हो । विवाह भएर टाढा–टाढा पुगेका छोरीचेलीहरू माइती गाउँमा जम्मा भएर गीत गाउँदै मनोरञ्जन गर्ने परम्परा पनि छ ।

तिजमा गाइने गीतहरू भगवानको भक्ति आराधानाका अतिरिक्त दुःखसुखसँग पनि सम्बधित हुन्छन् । एक गाउँको चालचलन तथा संस्कार र अर्को गाउँको चालचलन तथा संस्कारको समिश्रण हुने मौका यस्ता गीतहरूले प्रदान गर्छन् । हजारौँ वर्ष पहिले जुन परिवेशको समाज थियो त्यही परिवेशमा मनाउन थालिएको चाड पर्व अहिले पनि जस्ताको त्यस्तै मनाउँदै आइएको अवश्य पनि छैन होला । मनाउने विधि तथा तौरतरिका परिवर्तन हुँदै आएका छन् र आउनु पनि पर्छ ।

प्रतिक्रिया