खासमा रामकुमारीले पार्टीको उपाध्यक्ष पदमा चुनाव हारेपछि जुन खालको चर्चा भइरहेको छ, यसका बारेमा केही मन्थन आवश्यक छ । सामान्यत उनको पराजय विचारसँग जोडिएको छ । विचार समाजवादी । पार्टी समाजवादी । एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपाल । तर, रामकुमारीले यस्ता अकाट्य कुराहरूलाई बेवास्ता गरेजस्तो, हल्का रूपमा लिएजस्तो, जिम्मेवार नेता नभएर एक सामान्य कार्यकर्ताजस्तो देखिन पुगिन ।
नेपालको वर्तमान राजनीतिमा रामकुमारी झाँक्री एक सशक्त, प्रभावशाली, स्पष्ट वक्ता र क्षमतावान् नेता हुन् । यति मात्र होइन, युवाहरूको आइडल र भरोसा दुबै हुन् । राजनीति क्षेत्रमा उनको नाम नसुन्ने सायदै मानिस होलान् । त्यसैमाथि बेलाबेला भावुक बन्ने (रुन्चे दिदी) को परिचय नेपालको राजनीतिक इतिहासले नभुल्ने परिचय हो ।
पछिल्लो समय उनै रामकुमारी नेकपा (एकीकृत समाजवादी) को आन्तरिक चुनाव हारेपछि थप चर्चामा छन् । जयन्ती देवी राईसँग पराजित रामकुमारीले दिएका पछिल्ला अन्तरवार्ताहरू पार्टी पंक्ति र अन्य पक्षका निम्तिसमेत निक्कै महत्वका विषय बने । यस स्तम्भमा पनि रामकुमारीको पराजय, त्यसका कारण र परिणामका बारेमा सामान्य चर्चा गरिनेछ ।
हारको कारण
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् भंग गरेपछि माधवकुमार नेपालको नेतृत्वमा (२०७८) बनेको एकीकृत समाजवादी, पार्टी बन्ने क्रममै छ । माधव, झलनाथ, घनश्याम, रामकुमारीजस्ता सम्भावना बोकेका नेताहरूको बाहुल्य रहेको पार्टी बृहत् बन्नुपर्ने थियो । खैर, नेताअनुसारको पार्टी निर्माण नहुनुका विभिन्न कारण छन् । यसका बारेमा यहाँ चर्चा गरिने छैन ।
खासमा रामकुमारीले पार्टीको उपाध्यक्ष पदमा चुनाव हारेपछि जुन खालको चर्चा भइरहेको छ, यसका बारेमा केही मन्थन आवश्यक छ । सामान्यत उनको पराजय विचारसँग जोडिएको छ । विचार समाजवादी । पार्टी समाजवादी । एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपाल । तर, रामकुमारीले यस्ता अकाट्य कुराहरूलाई बेवास्ता गरेजस्तो, हल्का रूपमा लिएजस्तो, जिम्मेवार नेता नभएर एक सामान्य कार्यकर्ताजस्तो देखिन पुगिन् ।
पार्टीको सदस्य हुँ र ? यस्ता पार्टी… यस्ता खरानी पार्टी…यस्तै यस्तै… साँङ्गो बाङ्गो बोल्ने बानीले गर्दा पार्टी पंक्ति उनीबाट खुसी थिएन भन्ने बुझिन्छ । तर, उनले पछिल्ला केही अन्तरवार्तामा आफू सच्चिनुपर्ने बेला आएको बताएकी छन् । जो कम्युनिस्ट आन्दोलनका निम्ति राम्रो खबर हो । किनकी रामकुमारीजस्ता युवाहरूले टाउको फुटाएर ल्याएको गणतन्त्र आज पनि खतरामा छ । आज भूराजनीतिक हस्तक्षेप बढेको छ । त्यति मात्र होइन, उनी स्वयंले बनाएको भनिएको एकीकृत समाजवादी पार्टी विभिन्न संकटको सामना गरिरहेको छ । एकीकृत समाजवादी नामको विरूवा रोप्ने काम रामकुमारीहरूले नै गरेको सत्य हो । त्यो विरूवालाई पानी दिने, मल हाल्ने र स्याहार गर्ने काममा रामकुमारी जसरी लाग्नुपथ्र्यो त्यो नभएको कुरा नाङ्गो सत्य हो ।
व्यक्तिगत सम्बन्ध र विगत सबैको हुन्छ । यसो भन्दैमा रामकुमारीले अन्य पार्टी र अन्य पार्टी नेतृत्वको बचाउ गर्नुपर्ने, जयजयकार गर्नुपर्ने कुनै कारण छैन । नैतिक, राजनीतिक, वैचारिक, सैद्धान्तिक रूपमासमेत मिल्दैन । राजनीति निर्मम हुन्छ भन्ने कुरा रामकुमारीलाई जति सायदैलाई जानकारी छ । एकीकृत समाजवादीका नेता, कार्यकर्ताका गलत क्रियाकलापहरूमाथि नियन्त्रण गरेर तह लगाउने तागत पनि रामकुमारीमा छ । उक्त पंक्तिले यो तागत आज पार्टी निर्माणमा लगाएको देख्न चाहान्छन् ।
व्यावहारिक कारण
रामकुमारी पदीय जिम्मेवारीका हिसाबले ठूलो नेता हुन् । तर, उनको व्यवहार प्रायसँग साथीजस्तो, एउटा दिदीजस्तो छ । अर्थात समाजवादी पार्टीको नेतामा हुनुपर्ने गुण रामकुमारीमा छन् । तर, कहिलेकाहीँ यस्तै सरल, सहज र साथित्वको व्यवहारले नेतालाई परिपक्व देखाउने कुराबाट टाढा राख्ने रहेछ ।
रामकुमारीको जीवनमा देखिएको अर्को घामजस्तै कुरा यही हो । केन्द्रीय कमिटी सदस्यहरूले भोट हाल्ने निर्वाचनको मैदानमा रामकुमारीको परिपक्वतामाथि प्रश्न उठिरहेको सुनिन्थ्यो । बोल्दा बेलगाम बोलिदिने, हाँस्दा खुलेर हाँसिदिने र रुँदा भक्कानिएर रोइदिने रामकुमारीका व्यक्तिगत गुण हुन् । तर, रामकुमारी एक व्यक्ति मात्रै होइनन् । उनी त वर्तमान व्यवस्था र नेकपा (एकीकृत समाजवादी) नामको विचारको विरूवा रोप्ने एक सम्भावना बोकेकी क्रान्तिकारी नेता हुन् । जसको भाषणमा आगो बल्छ । निराश नारीहरू जुरूक्क उठ्ने तागत गर्छिन् । यस अर्थ रामकुमारी सुन हुन्, सुगन्ध भर्ने काम उनको सचिवालय र उनी स्वयं आफैँले गर्नुपर्छ । अर्को अर्थमा भन्दा कस्तुरी बन्ने छुट रामकुमारीलाई छैन ।
तत्कालीन समय एमाले नेतृत्व तानाशाह बन्ने बाटोमा अघि बढेपछि नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने महान अभिभाराको नेतृत्व उनै रामकुमारीजस्ता नेताहरूले गरेका हुन् । मूलतः युवा पंक्ति माधवकुमार नेपाल, झलनाथ खनालको भन्दा पनि रामकुमारीहरूको भरोसा गरेर यो आन्दोलनमा लामवद्ध बनेका हुन् । जुन कुरा रामकुमारीले हेक्का राख्नुपर्छ । साथै उनले आफ्नो पछि उभिएको युवा पंक्तिको भाग्य र भविष्यका निम्ति सचेत बन्नुपर्छ । लड्नुपर्छ । भिड्नुपर्छ । आफ्नो पछि उभिएका युवाहरूलाई निराश बनाउने छुट रामकुमारीलाई छैन । न त यो आन्दोलनबाट भाग्ने, अर्को पार्टीको गुणगान गाउने, समान्य कुरामा भावुक हुने, सामान्य कुरामा रिसाउने, झोक्किने छुट छैन । बरू उनकै भनाइअनुसार कार्पेटमुनिको धुलो लुकाउँदै पार्टी बनाउने अभियानमा जुट्नुपर्छ ।
नपत्याउने खोला
अर्को महत्वपूर्ण कुरा भनेको रामकुमारी नपत्याउने खोलामा किन बगिरहेकी छन्, यसरी उनी बग्ने अवस्था किन र कसरी आयो ? भन्ने सवालमाथि चर्चा गर्न आवश्यक छ । पहिलो कुरा राजनीति सेवा होइन । राजनीति सामुहिक जिम्मेवारी हो । सामुहिक प्रयास हो । जो संगठनबिना सम्भव हुँदैन । एक्लो सम्भव हुँदैन । रामकुमारीको कोर टिममाथि शंका किन नगर्ने ? रामकुमारी यसरी पटकपटक किन चुकिरहेकी छन् ? भन्ने अर्को बलियो सवाल छ ।
संसदीय निर्वाचनमा कहाँबाट चुनाव लड्दा ठिक हुन्छ भन्ने कुरा पत्तो नपाउने, पार्टीको आन्तरिक चुनावमा कुन पदमा उभिँदा ठिक हुन्छ भनेर ठोस् र बस्तुनिष्ठ विश्लेषण नगर्ने सचिवालय तत्काल विघटन गर्दा राम्रो हुनेछ । यसरी रामकुमारीलाई चुक्ने छुट छैन । रामकुमारी नारीहरूको एक मात्र आइडल हो । उनको भरोशा गर्नेहरू तामाम छन् । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अघि बढ्दा मात्रै समग्रतामा भलाइ हुन्छ । राजनीतिमा खोलालाई सामान्य खोला सम्झिनु भुल हुन्छ भन्ने कुरा रामकुमारीको सचिवालयले किन थाहा पाउँदैन ? त्यसैले रामकुमारी नपत्याउने खोलामा बगिन् भन्न्ने पंक्तिकारको सामान्य बुझाइ छ । जो विचारसँग जोडिएको पक्ष पनि हो । योबाहेक अन्य नेताको प्राथमिकता, कार्यकर्ताहरूको रोजाइ, चिट आदि कुराहरूले पनि प्रभावित पारे होलान् । खैर, हारको परिणाम भनेकै रामकुमारी सच्चिनु हो । सचेत बनेर आन्दोलनलाई थप बलियो बनाउने प्रण गर्नु हो । आन्दोलनलाई नयाँ उचाइ दिने काममा आफूलाई क्रियाशील बनाउनु हो । आशावादको नेता बन्नु हो ।
अन्त्यमा, रामकुमारीले आफ्नो परिचय बदल्नुपर्छ । विगतमा भएका कमी कमजोरीलाई सच्च्याएर अघि बढ्नुर्पछ । पार्टीले पनि उनलाई उचित जिम्मेवारी दिनुपर्छ । उनले आफूलाई परिपक्व राजनीतिक नेताको रूपमा उभ्याउनुपर्छ । समय र परिस्थितिसँगै आइडलहरू परिवर्तन भए जस्तै रामकुमारीले समय, परिस्थितिको बस्तुनिष्ट विश्लेषण गर्नुपर्छ । समय बदलिएको थाहा पाउनुपर्छ । सोहीअनुसार आफू र आफ्नोपछि उभिएको पंक्तिलाई सही मार्गनिर्देश गर्नुपर्छ । उनीमा अथाह क्षमता छ, तागत छ । सारा छ यस हिसाबले राजनीतिक क्षेत्रमा उनी च्याम्पियन बन्नुपर्छ । त्यो काम बाँकी छ । यही कामका लागि पराजित रामकुमारीलाई शुभकामना ।
प्रतिक्रिया