नेपाललाई अस्थिर पार्ने रणनीति

विश्वराज अधिकारी

देशभित्र ठूलो निराशा छ । देशको आर्थिक स्थिति अति नाजुक भएको यस्तो घडीमा नेपालले कुनै पनि किसिमको संघर्ष, द्वन्द्व, हिंसा धान्न सक्दैन । यदि नेपालमा कुनै पनि किसिमको द्वन्द्व, संघर्ष, हिंसा भएमा नेपालको अर्थतन्त्र झनै सुस्त हुनेछ । नेपालको अर्थतन्त्र यति नाजुक रहेको घडीमा कुनै पनि दलले सडक तताउँछौँ, संघर्ष गर्छौं भन्नु नेपाली जनताप्रति अनुत्तरदायी हुनु हो । नेपाली जनताप्रति बेइमानी गर्नु हो । जनताले यो कुरा बुझ्न आवश्यक छ ।

बंगलादेशको जन असन्तोषलाई नेपालको जनअसन्तोषसँग तुलना गरेर नेपालमा पनि जनविद्रोह हुने वा गर्नुपर्ने भन्नेहरू संख्यात्मक रूपमा धेरै नभएता पनि उनीहरूको त्यो भनाइले नेपाली समाजलाई आन्दोलनको लागि तताउने सम्भावना भने उच्च छ । उनीहरूको यो भनाइले ज्यादै निरास जनतालाई केही दलहरू (मुख्यगरी नेका र नेकपा एमाले) को विरुद्धमा सडकमा ल्याउने कार्य भने गर्न सक्छ । निरास जनताले (बंगलादेशजस्तो जनविद्रोह हुन सक्ने) त्यो भनाइ केबल उनीहरूले आफ्नो स्वार्थका लागि भनेका हुन् र जनताको हितका लागि भनेका होइनन् भनी छुट्याउन नसक्ने स्थिति भएकोले केही स्वार्थी नेताहरूले सोझासाझा जनतालाई केही दलहरूको विरुद्धमा सडकमा ल्याएर, संघर्ष गराएर, ठूलो रक्तपात गराउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

नेपाल अहिले आर्थिक रूपमा अति जर्जर भइसकेको छ । देशभित्र रोजगारी छैन । रोजगारीका लागि नेपाली युवाहरू अनेक देशहरूमा भौँतारिरहेका छन् । अनेक किसिमका जोखिमयुक्त कार्यहरू गर्न बाध्य भएका छन् । शिक्षा क्षेत्रमा ठूलो अनिश्चितता छ । १२ क्लास पास गर्नासाथ नवयुवहरू माथिल्लो तहको शिक्षाका लागि विदेशका अनेक कलेज एवं विश्वविद्यालयहरूमा पुगिरहेका छन् । स्वदेशको शिक्षाले उनीहरूलाई रोजगारी नदिने स्थिति देखेर विदेशमा कष्टकर एवं अनिश्चित विद्यार्थी जीवन बिताउनुपर्ने जोखिम लिएर पनि नवयुवाहरू उपयोगी शिक्षाको आशामा विदेश पलायन भइरहेका छन् ।

उच्च शिक्षाका लागि विदेश पुगेका युवाहरूले आफ्नो शिक्षा र बसोबास खर्च उठाउन आफू पुगेको देशमा काम गर्नुपर्ने हुन्छ । अर्कोतिर रुस–युक्रेन युद्ध, इजराइल–फिलिस्तिन युद्ध, यमनको गृहयुद्ध आदि आदिजस्ता अनेक कारणहरूले विश्व अर्थ व्यवस्था सुस्त हुन पुगेको छ । विश्व अर्थ व्यवस्था सुस्त हुन पुगेकोले नेपाली युवा विद्यार्थीहरू आफू पुगेको देशमा काम पाउन कठिन भइरहको छ । कतिपय विद्यार्थीहरू त आफू पुगेको देशमा रहने वा नेपाल फर्किने ? दोधारको मनस्थितिमा अहले छन् ।

देशभित्र ठूलो निराशा छ । देशको आर्थिक स्थिति अति नाजुक भएको यस्तो घडीमा नेपालले कुनै पनि किसिमको संघर्ष, द्वन्द्व, हिंसा धान्न सक्दैन । यदि नेपालमा कुनै पनि किसिमको द्वन्द्व, संघर्ष, हिंसा भएमा नेपालको अर्थतन्त्र झनै सुस्त हुनेछ । नेपालको अर्थतन्त्र यति नाजुक रहेको घडीमा कुनै पनि दलले सडक तताउँछाँै, संघर्ष गर्छांै भन्नु नेपाली जनताप्रति अनुत्तरदायी हुनु हो । नेपाली जनताप्रति बेइमानी गर्नु हो । जनताले यो कुरा बुझ्न आवश्यक छ ।

आउनुहोस् अब बंगलादेश र नेपालको स्थितिको तुलना गरौँ । शेख हसिनाको शासनकालमा, बंगलादेशमा आर्थिक विकास भइरहेको थियो । देशमा समृद्धि थियो । बंगलादेश ठूलो परिमाणमा तयारी पोसाक निर्यात गर्न सफल भएको थियो । एसियाका ठूला अर्थतन्त्रमध्ये एक हुन सफल भएको थियो । कुनै समयमा बंगलादेशको प्रतिव्यक्ति आय पाकिस्तान र भारतभन्दा उच्च थियो । हसिनाको कालमा केबल एक कुरा थिएन । प्रजातान्त्रिक पद्धतिले बंगलादेशमा राम्रो गरी काम गरेको थिएन । देशको शासन व्यवस्थामा हसिनाको एक किसिमले तानाशाही थयो । स्थिति यस्तो भएकोले बंगलादेशका नागरिकहरूको संघर्ष हसिनाको तानाशाही विरुद्धको थियो । केवल हसिनाप्रति लक्षित थियो ।

नेपालको स्थिति बंगलादेशभन्दा अति नै पृथक छ । नेपालमा कुनै पनि दलको, वा नेताको तानाशाही छैन । लगभग हरेक दलका नेताहरू प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री भएका छन् । सत्तामा पुगेका छन् । सरकार चलाएका छन् । सत्तामा हरेक दलले साझेदारी गर्न पाएको स्थिति छ, नेपालमा । तर बंगलादेशमा त्यस्तो थिएन । लामो अवधिसम्म हसिनाको एकछत्र शासन थियो ।

विद्रोहको सन्दर्भमा, नेपाललाई बंगलादेशसँग तुलना गर्दा, नेपालमा रहेको गरिबी र बेरोजगारीलाई केन्द्रमा राख्नुपर्छ । नेपालको मूल समस्या नै बेरोजगारी हो । गरिबी हो । अर्थात नेपालमको मूल समस्या आर्थिक हो भने बंगलादेशको मूल समस्या राजनीतिक थियो । यसरी २ अलगअलग समस्या भएको स्थितिलाई समान देखेर नेपालमा पनि बंगलादेशको स्थिति ल्याउँछाैँ भनी कुनै एक वा केही नेताहरूले धम्क्याउनु पूर्णतया गलत हो । त्यस्तो भन्ने नेताहरूको बौद्धिक स्तरमाथि हाँस्न मात्र सकिन्छ । त्यो नेता नेपाली जनताप्रति इमानदार छैन भनी ठोकुवा गर्न सकिन्छ ।

नेपालको अहिलेको मूल समस्या भनेको देशको आर्थिक विकासका लागि नेता तथा दलहरूले मिलेर काम गर्न नसक्नु हो ।
एकअर्कासँग सत्ता र शक्तिको लागि द्वन्द्वगरेर नेताहरूले देशलाई अस्थिर पार्न हो । आर्थिक विकासको गति अवरुद्ध पार्नु हो । सबै दल र नेताहरू नै अहिले प्रमुख समस्याको रूपमा देखिएका छन् । त्यसकारण नेपालको अहिलेको प्रमुख समस्या विकासका लागि नेताहरूमा मेलमिलाप भाव नहुनु हो । नेताहरू चरम स्वार्थी हुनु हो । जनताप्रति गैरजिम्मेवार हुनु हो ।

अहिले हामीले गर्नुपर्ने काम भनेको देशको आर्थिक विकासका लागि नेता र दलहरूलाई मिलेर कार्य गर्न बाध्य पार्नु हो । दलहरूलाई मिलेर अगाडि बढ्न दबाब सिर्जना गर्नु हो । अहिले जनविद्रोह हुनु वा गर्नु कुनै पनि किसिमले उचित होइन । विगतमा भएका अनेक विद्रोहरूले नेपाललाई पहिलेदेखि गरिब पार्दै आएको छ । र आज तिनै द्वन्द्व, विद्रोह र हिंसाहरूको परिणामस्वरूप नेपाल आर्थिक विकासको पथमा पछाडि परेको छ । अहिले देशमा रोजगारी छैन । देशमा चरम निराशा छ । रोजगारीका लागि ठूलो संख्यामा युवाहरू पलायन हुनुपर्ने बाध्यात्मक स्थिति छ ।

यदि दलहरूले नेपालमा आर्थिक विकास होस् भन्ने बलियो इच्छाशक्ति राखेका हुन् भने दल र तिनका नेताहरूले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारलाई काम गर्न दिनुपर्छ । मुख्य गरी माओवादी (केन्द्र) हरूले वर्तमान ओली नेतृत्वको सरकारलाई काम गर्न दिनुपर्छ । प्रधानमन्त्री ओलीलाई देशको आर्थिक विकास गर्न सहयोग पुर्याउनुपर्छ । यो विद्रोहको समय होइन । विग्रह होइन समन्वयको समय हो । संघर्ष होइन शान्तिको समय हो ।

संघर्ष, द्वन्द्व र स्वार्थले कुनै पनि देशको विकास भएको उदाहरण छैन । उल्टो देश बर्बाद भएको उदाहरण अनगिन्ति छन् । सुडान, यमन, सिरया, युक्रेन युद्द, गृहयुद्दले गर्दा आर्थिक बर्बादीको नजिक नजिक पुगेका छन् । युक्रेन, रसियासँग युद्द हुनुपूर्व, अन्नको ठूलो निर्यातकर्ता थियो । सन् २०२२ पहिले, रसियासँग युद्ध हुनु पहिले, प्रतिवर्ष ६० मिलियन टन अन्न निर्यात गर्न युक्रेन सफल भएको थियो । विश्व बजारमा युक्रेनले कुल निर्यातको १० प्रतिशत अन्न निर्यात गर्ने ख्याति पाएको थियो । युक्रेनलाई अन्नको भण्डार भन्नेहरू अहिले पनि धेरै छन् । कुनै समयको अन्नको भण्डार युक्रेन अहिले युद्धले गर्दा बर्बादीको नजिक पुगेको छ । लाखौँ युक्रेनीहरूले देश छाडिसकेका छन् । देशमा ठूलो निरासा र अनिश्चितता छ ।

देशको आर्थिक विकासका लागि शान्ति पूर्वसर्त हो । यो कुरालाई मनन गर्दै माओवादीले वर्तमान सरकारलाई राम्रो गरी काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्छ । विगतमा माओवादीले अनेकपटक सरकार बानइसक्यो । पुष्पकमल दाहाल अनेकपटक प्रधानमन्त्री भइ पनि सके । अन्य दलहरूले पनि ओली नेतृत्वको सरकार (वा कुनै पनि सरकार) लाई स्थिर भएर काम गर्न दिनुपर्छ ।

जुन दलले अहिले विभिन्न किसिमका ध्वंस, विद्रोह, संघर्ष गर्छ त्यो दललाई अब जनताले यो दल (दलहरू) विकास विरोधी हो (हुन्) भनी बुझ्न आवश्यक छ ।

प्रतिक्रिया