एमाले मोर्चा : संगठनको बेहाल

मसित हिँड्दा मसँगै चिया खाँदा पनि बात लगाउने चरित्र सुनसरीमा थियो । विद्यार्थी र युवा फाँटलाई रचनात्मक रूपमा सञ्चालन गर्ने क्षमता राख्ने हो भने अरू धेरै युवा शक्ति मोर्चा वरिपरि गोलबद्ध हुन्छन् । ठाडो ठडौरो खालको युवा, विद्यार्थी नेतृत्व र इन्चार्ज भयो भने सप्रने काम पनि बिग्रन्छ ।

प्राडा बद्रीविशाल पोखरेल

चिनियाँ राष्ट्रपति सी चिनफिङले मात्रामा कम ध्यान देऊ र गुणमा बढी भन्नुभएको छ । तर पार्टीमा र अझ जनवर्गीय संगठनमा कमिटी गठन, पुनर्गठन, सदस्यता वितरण र नवीकरणमा मात्र रमाइरहेको देखिन्छ, । यसको उदाहरण अगुवा कार्यकर्ता र नेतृत्वको अभिव्यक्तिले स्पष्ट हुन्छ । पार्टीमा समाहित वा नवप्रवेशीहरूलाई आवश्यक सहजीकरण भएजस्तो लाग्दैन । यसो हुँदा आयाराम गयाराम हुन कुनै बेर लाग्दैन । बत्ती बल्यो भने र अझ झरझर खालको बत्ती बल्यो भने भए भरका पुतली झुम्मिन्छन् । कुनै पनि तहको एउटा कार्यकर्ता र नेतामा धेरै नभए पनि २–३ वटा भए पनि प्रभाव पार्ने क्षमता हुनुपर्छ । शिक्षक भए पछि घैँटामा घाम लाग्ने गरी विद्यार्थीलाई पढाउन जान्ने हुनुपर्छ ।

लठुवा शिक्षकले आफूजस्तै विद्यार्थी तयार पार्छ । प्रदेश र जिल्लाहरू तमाम मोर्चा संगठनको संयुक्त सिर्जनात्मक अभियान सञ्चालन गर्ने हो भने जान्दा त्यसले सार रूपमा आमजनमानसलाई आकर्षित गर्छ । तर ओलीले भनेझैँ देश र जनताको हितमा अमुक एक जना मात्र छटपटाएर र चटपटाएर हुँदैन तर प्रमुख नेतृत्वले उपयुक्त खालका कार्यकर्ता र नेतालाई प्रोत्साहित पनि गर्नुपर्छ । एमालेमा युवा, विद्यार्थी र महिलालगायत विभिन्न तह र तप्काको मात्रात्मक संख्या तुलनात्मक रूपमा मनग्गे देखिन्छ । तर, तिनलाई गुणात्मक दिशातिर उन्मुख गराउने कुृरामा ध्यान बहुतै कम छ । तिनलाई सिर्जनशील र रचनाशील बनाउने कुरामा खास ध्यान पुगेजस्तो लाग्दैन । हरेक तह र तप्कामा विविध विषय, विधा र क्षेत्रका सिर्जनशील प्रतिभाहरू छन् । तिनलाई प्रोत्साहित गर्दा तिनले आमसमुदायलाई प्रभावित पार्छन् ।

उदाहरणका लागि प्रगतिशील तथा देशभक्त लोकतान्त्रिक कविता, गीत, गजल, मुक्तक, सेरोसायरी, क्यारिकेचरमार्फत् अत्यन्त कम खर्चमा जनतालाई प्रभावित पार्न सकिन्छ । तिनलाई प्रोत्साहित गर्ने हो भने त्यसबाट भित्र प्रवेश गरेर युवा विद्यार्थी र महिलाको मन राख्न र तिनको मन जित्न सकिन्छ । सबैभन्दा ठूलो कुरो जनमैत्री, विद्यार्थी मैत्री र युवा मैत्री हो । मिलनसार व्यवहारबाट पहिले त्यस क्षेत्रको मन जित्नुपर्छ र संगठनको सन्जाल तयार गर्न सकिन्छ । सबैभन्दा पहिले त्यस्ता प्रतिभा खोज्ने र तिनमार्फत् भुइँ तहदेखि नै संगठन निर्माण गर्दा धेरै सहज हुन्छ । अझ हरेक क्याम्पस, कलेज र प्लस टुमा संगठन विस्तार गर्न जाँदा त्यस क्षेत्र र जिल्लाका ज्येष्ठ, वरिष्ठ, साधनारत र अनुभवी आमश्रोता र जनतालाई मख्ख पार्न सक्ने प्रतिभा पाइन्छन् ।

तिनका मनमोहक विचारोत्तेजक कलात्मक रचना वाचनको मेलो मिलाउने हो । त्यसले त्रिआयामिक प्रभाव युवा र विद्यार्थीमा पार्छ । किनभने ती वरिष्ठ सर्जकको राजनीतिक पृष्ठभूमि अनेरास्ववियु वा युवा र महिलालगायत कुनै न कुनैसित जोडिएको कुरा उद्घोषणमार्फत् बताइन्छ । त्यस्ता प्रसिद्धि कमाएका स्रष्टाका प्रगतिशील तथा शिष्ट शृंगारिक रचना वाचन गर्ने गराउने हो भने एकै झमटमा आमविद्यार्थीमा सालोडोलो प्रभाव पर्छ । हाम्रो संगठनमा आउनुहोला भन्नुभन्दा परोक्ष रूपमा र कलात्मक रूपमा सामूहिक र व्यक्तिगत रूपमा आमन्त्रण गर्ने हो भने सहज रूपमा धेरैजसो आबद्ध हुन्छन् । यसै क्रममा जनता बहुमुखी क्याम्पस, इटहरीका नेकपा एसका विद्यार्थीहरूले बौलाहा काजीको सपना नामको नाटक इटहरीमा गरे । उक्त नाटक हेर्न सरकारी र निजी कलेज र स्कुलका विद्यार्थीहरूको व्यापक सहभागिता देखियो । यस विषयलाई कोसी प्रदेशको विद्यार्थी प्रमुखलाई मैले सुझाएँ तर उसले सुनेको नसुनेझैँ गर्यो ।

किन यसो गर्यो भन्दा उक्त विद्यार्थी नेतालाई हुकुमी फर्मान गर्नेले मेरो आलोचनात्मक पक्षलाई सहनै सक्तैनथ्यो । त्यसैले उक्त विद्यार्थी नेता मसित परपरै हुन्थ्यो र भयो । तोलको बोली खेर नै गयो । यस्तो अवस्था बारबार भोगिएको छ ।

मसित हिँड्दा मसँगै चिया खाँदा पनि बात लगाउने चरित्र सुनसरीमा थियो । विद्यार्थी र युवा फाँटलाई रचनात्मक रूपमा सञ्चालन गर्ने क्षमता राख्ने हो भने अरू धेरै युवा शक्ति मोर्चा वरिपरि गोलबद्ध हुन्छन् । ठाडो ठडौरो खालको युवा, विद्यार्थी नेतृत्व र इन्चार्ज भयो भने सप्रने काम पनि बिग्रन्छ ।

सी चिनफिङले जब हामी गुणवान् व्यक्ति देख्छौँ हामीले उनीजस्तै हुने कल्पना गर्नुपर्छ भन्नुहुन्छ । आदर्श व्यक्तित्वको अनुसरण गर्दा मात्र आफू पनि गुणीजन भइन्छ तर यहाँ त बिलकुल उल्टो पारा देखिन्छ । कसैकसैलाई कति विधि सकसक र खसखस लागेको हो अचम्म लाग्छ । हाताहाती केही पाए मात्र बोल्ने र लेख्ने जमातमा यस्ता मान्छे पनि हुँदा रहेनछन् । तर धैर्यको बाँध फुटेपछि के होला यसै भन्न सकिएन ।

जता हेर्यो त्यतै राम्रो भाँती नपुगेका देखिन्छ । जननेता मदन भण्डारीले जबजमार्फत् कुनै पनि काम र कार्यक्रम कलात्मक हुनुपर्छ भन्नुभएको छ । आफैँलाईै पनि के लाग्छ भने कुनै पनि कामको क्षेत्रलाई रहर लाग्दो, आश लाग्दो लोभलाग्दो बनाउन सकिन्छ । संयोगले कोसी प्रदेशका ज्येष्ठ कम्युनिस्ट मञ्चको जिम्मेवारी आउला जस्तो छ । नत्र कथित कार्यबाही गरेर भुइँमा पछार्दा चुइक्क बोल्ने पनि पाइँदो रहेनछ । सुनसरी जिल्ला सदस्य हुँदा पार्टीमा जुनजुन क्षेत्र थलापरेको छ, मरुभूमि छ त्यही क्षेत्र मलाई दिनु म हराभरा बनाइदिन्छु भनेको थिएँ । काम गर्ने क्षमता र सीप भएको मानिसले माटो छोए, त्यही माटो धपधप बल्छ । बौद्धिक र सिर्जनात्मक प्रतिभा र क्षमता भएको मानिस योग्यताअनुसार कुनै पदीय जिम्मेवारी नपाए पनि सिर्जनात्मक काममा निरन्तर लागिरहन्छ ।

जननेता मदन भण्डारीले भन्नुभएझैँ १० विशेषता र क्षमता भएको नेतालाई एउटा न एउटा क्षेत्रमा क्रियाशील भइरहन्छ । खानका लागि मात्र हत्ते हाल्नेले त्यो बाहेक केही जान्दैन, जानेकै छैन र सिकाएको पनि छैन । अनि अध्यक्ष ओलीले भनेझैँ एक छिन मुख खाली भयो भने खानै पाइन भनेर मेरो मुख त खाली भयो भनेर रडाको मच्चाइरहन्छ । मन्त्री र माननीयका अपहत्ते गर्छ । देश र जनताका लागि केही न केही गर्ने ध्यान र मन भएको मानिस पनि छन् । तिनले कुनै नियुक्ति, जिम्मेवारी, राजदूत, उपकुलपति, सभासद्भन्दा देश र जनताका लागि महत्वपूर्ण काम गरिरहन्छन् ।

त्यस्ता मानिस कुर्सीमा मख्ख परेर बस्न र तलब भत्ता खाने, मात्र काम त कामै होइन जस्तो लाग्छ । तर प्रायः अवस्था यस्तै
देखिन्छ । पदमा मात्र राजी हुने मान्छे पद समाप्त भए बिलाएर गएका धेरै उदाहरण छन् । त्यसैले पानी र बानी माथिबाट आउँछ भनेझैँ हर क्षेत्रका प्रमुख र इन्चार्जमा अलिअलि त उच्च विचार, ज्ञान र व्यवहार हुनुपर्छ । युवा विद्यार्थीले आफ्नो अध्यक्ष र इन्चार्जबाट केही न केही त देश र जनताका लागि सिकोस् । अहिले क्लास चढ्दै चढ्दै बिए कक्षामा पुगेको हुन्छ तर ए, बी, सी, डी पनि आउँदैन । यसरी कसरी भुइँ तहदेखि माथिसम्म पार्टी सबल बन्छ ।

युवा ज्ञानी भए देश ज्ञानी हुन्छ । युवा बलियो भए देश बलियो हुन्छ । माथि माथि नै पठन संस्कृति शून्य भएपछि मोर्चा र पार्टी संगठन मरुभूमि तुल्य हुन्छ । त्यसैले ओलीले महामारीको वर्ष कृतिमा पठन संस्कृतिको महानतम भूमिका उल्लेख गर्नुभएको छ । उहाँले समाज परिवर्तनका लागि ज्ञान अपरिहार्य छ । अझ उहाँले किताब मात्र होइन जीवनका विविध आयामको साक्षत्कारबाट पनि ज्ञान प्राप्त हुन्छ भन्नुभएको छ । तर, महिलाका क्षेत्रमा पठन संस्कृति अत्यन्त कमजोर देखिन्छ ।

ओलीले हर कसैलाई हरकाममा प्रोत्साहन जरुरी हुन्छ भन्नुभएको छ तर प्रसिद्ध लेखक मिथिला पोखरेललको प्रकाशोन्मुख महिला जागरणको सवाल नामको कृतिको आर्थिक दायित्वबिना प्रकाशक बन्न अनेम संघले पटक्कै मानेन । उक्त कृति एमाले र ओली तथा पूर्वराष्ट्रपति विद्या भण्डारीविरुद्ध लेख र लेखकविरुद्ध लेखिएका लेखहरू छन् । यस संग्रहमा अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले शुभकामना दिनुभएको छ । माओले स्वास्नी मान्छेहरूको आर्थिक राजनीतिक स्तरलाई उकास्न संयुक्त होऊ भन्नुभएको छ तर ताते गरी अनेमसंघले महिलालाई अगाडि बढाउनुको सट्टा अघि बढ्न खोजेकालाई पछाडि तान्न खोज्नु भारी अचम्मकै कुरा हो । कम्तीमा पार्टी र मोर्चा संगठनमा रहेर कत्ति पनि तह अनुसारको वैचारिक सैद्धान्तिक, सिर्जनात्मक तथा सांगठनिक काम सिकिँदैन र सिकाइँदैन भने कसरी नेता र कार्यकर्ताको बौद्धिक, वैचारिक र व्यावहारिक ज्ञानको स्तर बढ्छ ? प्रमोट गरेर माथि केन्द्रमा पनि पुगिन्छ तर तिनले मृत आत्माको चिर शान्तिको कामना गर्छन् । भाग्यवादको भर पर्छन् माक्र्सवादलाई मासु र भात मात्र ठान्छन् ।

ओलीले बालबालिकालाई मायालु पाराले नजिक पार्न सकिन्छ भनेर बताउनुभएको छ । यस लेखकले पनि बारबार र हजारबार बालबालिका केन्द्रित रचनात्मक काम र कार्यक्रम गर्नुपर्छ भनेँ । बालबालिका देशका भविष्य हुन् भनिन्छ भने त्यसअनुसार तिनलाई पनि उमेरअनुसार प्रगतिशील, देशभक्त र अनुशासित सिर्जनात्मक चस्का दिनुपर्छ । त्यसैगरी सी चिनफिङले कुँदिएको पत्थर उपयोगी भाँडो बन्न सक्तैन भनेझैँ आधारभूत तहदेखि गुणात्मक बनाउने ध्येयका साथ काम अगाडि बढाउन प्रयत्न गर्नुपर्छ । यस्ता काम घरघरबाट नै सुरु गर्दा पनि हुन्छ । हाम्रो देशको राम्रो भविष्य निर्माणका लागि हामीले हाम्रा बालबालिकालाई प्रोत्साहित गर्नुपर्छ । सी चिनफिङका अनुसार एउटा महान कार्यको थालनी सानो कामबाट सुरु भएको हुन्छ । शायद् यिनै दुरदृष्टिबाट चीन तीव्र वेगमा प्रगतिपथमा लम्किएको होला । उनले बालबालिका संवेदनशील हुन्छन् र सबै राम्रा कुरा सिक्न तयार हुन्छन् भनेका रहेछन् ।

प्रतिक्रिया