इजरायलमा चर्कियो प्रदर्शन

काठमाडौं । इजरायलमा बेन्जामिन नेतान्याहु सरकारविरुद्ध प्रदर्शन चर्किएको छ । गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि यी प्रदर्शनहरू सुरु भएका हुन् ।

प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरुको रिहाईका लागि हमाससँग सम्झौता गर्नुपर्छ भन्ने जनताको माग छ । हातमा इजरायली झण्डा बोकेर तेल अवीव, जेरुसेलम र अन्य धेरै सहरहरूमा प्रदर्शनकारीहरू निस्किएका थिए ।

उनीहरूले प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्ने काम नगरेको आरोप लगाएका छन् । गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौं मानिसलाई बन्धक बनाएको थियो ।

आइतबार शान्तिपूर्ण रुपमा आन्दोलन सुरु भएको हो । तर भीडले पछि पुलिस अवरोधहरू तोड्यो र तेल अवीवका प्रमुख राजमार्गहरू अवरुद्ध गरेको मिडिया रिपोर्टमा उल्लेख छ । इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हडतालको घोषणा गरेको छ ।

बन्धकहरुको रिहाईका लागि सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उनीहरुको माग छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार दक्षिणी गाजाको रफाहमा सुरुङमा छवटा शव फेला पारेको बताएको थियो । शनिबार आइडीएफले उनीहरूसम्म पुग्नुअघि नै बन्धकहरूलाई मारेको थियो ।

प्रतिक्रिया